Khadya Bibhag

सिंहदरबारको आगजनी बारे बालेनले दिए यस्तो स्पष्टीकरण

काठमाडौं, असोज २१ गते । सिंहदरबारमा आगलागी हुँदा काठमाडौं महानगरपालिकाको दमकल किन सक्रिय भएन भन्ने प्रश्न उठिरहेका बेला मेयर बालेन शाहले स्पष्टीकरण दिएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा मेयर शाहले आफू र आफ्नो टिममाथि लागेको “सिंहदरबार जलाउने नै बालेन शाह हो” भन्ने आरोपलाई अस्वीकार गर्दै सो आरोपलाई आधारहीन अफवाह भनेका छन्।

शाहले भनेका छन्, “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” भन्ने प्रश्न उठाउनु नागरिकको अधिकार हो, तर हुदै नभएका गलत आरोप फैलाउनेहरुलाई तथ्यका साथ जवाफ दिनु जरूरी ठानें।”

उनका अनुसार भदौ २४ गते देशभर अराजकता थियो। “त्यो दिन देशमा सरकार थिएन, सुरक्षा संयन्त्र काम गर्न सकेको थिएन। त्यस्तो परिस्थितिमा पनि महानगरको टिमले आफ्नो दायित्वबाट पछाडि हटेन,” उनले लेखेका छन्।

शाहका अनुसार काठमाडौँ महानगरपालिकाका न्युरोड, बालाजु र रामहिटीमा रहेका पाँचवटा दमकलले सो समय अवधिमा सिंहदरबारसहित विभिन्न स्थानमा ५५ पटकभन्दा बढी आगो निभाउने काम गरेको थियो।
“सिंहदरबार जलेको लगत्तै दमकल पठाउने प्रयास भए पनि आन्दोलनकारीले रोक्दा जान नसकेको हो,” उनले स्पष्ट पारे। “भिड शान्त भएपछि २४ गते साँझ ८:१५ बजे नै काठमाडौँ महानगरको दमकल सिंहदरबार पुगेको थियो।”

शाहले थपे, “हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।”

उनले दमकल परिचालनका साथै स्वास्थ्यकर्मी, औषधि, रगत, खाना, लजिस्टिक र लास व्यवस्थापनसम्मको समन्वय महानगरले गरेको जानकारी दिए। “संघीय सरकारले घोषणा गर्नुअघि नै महानगरले सम्पूर्ण अस्पतालसँग निशुल्क उपचारका लागि सहकार्य गरिसकेको थियो,” उनले भने।

मेयर शाहले जनतालाई सत्य बुझ्न र अफवाह नफैलाउन आग्रह गर्दै मिडियालाई पनि तथ्य खोजेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरे।
“हामीलाई जस होइन, कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि दिन खटिनेहरूप्रति सम्मानजनक दृष्टि राखौं,” उनले भने।

अन्त्यमा उनले भने, “देशलाई अहिले एकता र सत्यको आवश्यकता छ, हल्ला र झुटको होइन।”

तपाईको प्रतिक्रिया