काठमाडौँ असोज २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव मनिष कुमार मिश्रले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लामो समयदेखि विद्यार्थी राजनीतिबाट सक्रिय रहँदै जनसेवामा समर्पित मिश्रले आफ्नो उम्मेदवारीलाई केवल राजनीतिक अवसरको रूपमा होइन, “जनताको लामो संघर्षको प्रतिनिधित्व गर्ने जिम्मेवारी” का रूपमा व्याख्या गर्नुभएको छ ।
मिश्रको राजनीतिक यात्रा कुनै अचानक प्राप्त पद वा अवसरको उपज होइन । विद्यार्थी राजनीतिदेखि शुरू भएको दुई दशक लामो यात्रामा उहाँले संगठन, विचार र व्यवहार तीनै तहमा अभ्यास गरेर आफ्नो पहिचान बनाउनुभएको छ । तत्कालीन तराई मधेस विद्यार्थी फ्रन्टको पहिलो केन्द्रीय महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएर मिश्रले देश र विदेशमा विद्यार्थी नेताको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभयो । मधेश आन्दोलनका निर्णायक क्षणमा उहाँ मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, पिछडावर्ग र गरिब वर्गको अधिकारका लागि अग्रपंक्तिमा रहेर आवाज उठाउने युवा नेताका रूपमा उदाउनुभयो ।
उहाँको राजनीतिक सोचमा सामाजिक न्याय, समान अवसर र संघीयताको भावना केन्द्रमा रहन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विद्यार्थी आन्दोलनदेखि नै मिश्रले मधेशी विद्यार्थीको आरक्षण, लोकसेवामा प्रणालीगत आरक्षण र संघीय संरचनाको संस्थागत सुनिश्चितताका लागि आवाज उठाउँदै आएका छन् । उहाँका अनुसार, “राजनीति पदको लागि होइन, परिवर्तनको लागि हो ।”
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राजनीतिक आदर्शका रूपमा मान्दै मिश्रले पार्टीभित्र विभिन्न तहका जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । पार्टीका साधारण सदस्यदेखि विद्यार्थी संगठन, सह–महासचिव हुँदै हाल केन्द्रीय महासचिवको हैसियतमा उहाँले पार्टीभित्र स्थायित्व, संवाद र संगठन विस्तारमा अग्रणी भूमिका खेल्दै आउनुभएको छ । देश र विदेशमा रहेका कार्यकर्ताहरूसँग निरन्तर सम्पर्कमा रहँदै उहाँले पार्टीलाई एउटा संगठित र विचार–आधारित आन्दोलन को रूपमा स्थापित गर्न योगदान पुर्याउँदै आएका छन् ।
मिश्रको जनसेवामुखी दृष्टिकोण केवल भाषण वा घोषणामा सीमित छैन । आफ्नै क्षेत्र सर्लाहीमा रहँदा उहाँले बाढी–प्लेगले पिडित जनजीवन सहज बनाउन बाग्मती नदीको धार परिवर्तन गराउन सफल हुनुभएको थियो । त्यसपछि स्थानीय जनतालाई वर्षौँपछि चैनको सास लिन पाएका थिए । खैर्वा क्षेत्रमा कमर्सियल बैंक (तत्कालीन मेघा बैंक) ल्याउनु, सडक ढलान, पानी ट्यांकी निर्माण, विद्यालयमा सौचालय र पुल निर्माण जस्ता भौतिक पूर्वाधारका कामहरू उहाँको पहलमा सम्पन्न भएका उल्लेखनीय उदाहरण हुन् ।
युवाहरूलाई बिजुलीका लागि संघर्षरत देख्दा मिश्रले आफ्नै पहलमा हेटौँडाबाट ट्रान्सफर ल्याएर गाउँमा पहिलोपटक बत्ती बाल्न सफल भएको प्रसंग अझै पनि स्थानीय जनताले सम्झन्छन् । स्वीस सरकारको सहयोगमा झुलुङ्गे पुल निर्माणदेखि मधेश प्रदेश सरकारको सहकार्यमा विद्यालय भवन, सडक र नदी नियन्त्रणका कामसम्म, उहाँका कार्यहरूले जनजीवनमा ठोस परिवर्तन ल्याएको छ ।
राजनीतिलाई “जनताको सशक्तिकरणको माध्यम” मान्ने मिश्र हालसम्म कुनै पनि राज्यको उपल्लो निकायमा नपुगे पनि, ईमानदारी, मिहिनेत र जनसम्पर्कको बलमा केन्द्रदेखि गाउँसम्म सशक्त छवि बनाउन सफल नेता हुन् । उहाँका अनुसार, “यदि बिना पद र हैसियत यति गर्न सकिन्छ भने जनताबाट निर्वाचित भएपछि कति गर्न सकिन्छ, त्यसको निर्णय जनताले नै गर्नेछन् ।”
राजनीतिक जिम्मेवारीसँगै मिश्र औषधिजन्य र उर्जा क्षेत्रमा व्यवसाय गरेर आत्मनिर्भर जीवनयापन गर्दै आउनुभएको छ । शिक्षाको महत्व बुझ्ने व्यक्ति भएकाले उहाँले विधावारिधी (PhD) अध्ययन जारी राख्नुभएको छ, जसले उहाँको नेतृत्वलाई शिक्षित र विवेकशील राजनीतिक सोच सँग जोड्दछ ।
तपाईको प्रतिक्रिया