Khadya Bibhag

कसले ध्वस्त बनाउन चाहन्छन् सिंहदरवार ?

देशको सर्वोच्च निकाय सिंहदरवारमाथि पटक पटक आक्रमण हुने गरेको छ । नजानिदो तरिकाले नेपालकै सर्वोच्च निकाय सिंदरवारलाई कसैले ध्वस्त बनाउन चाहन्छन् तर राज्य त्यसप्रति सचेत भएको पाइदैन । २०३० असार २५ गते आगजनी गराएर ध्वस्त बनाएको सिंहदरवारको रहस्य पत्ता नलाग्दै भदौं २४ गते जेनजी आन्दोलनको नाममा पुनः जलाइएको छ ।
५२ वर्षअघि राति १० बजे सिंहदरवारमा अकस्मात आगो लागेको थियो । विजुली सर्ट भएर आगो लागेको भनिएको छ तर त्यसको सत्यतथ्य कुरा बाहिर आएको छैन । तर गत भदौ २४ गते मध्यान्ह त्यो पनि नेपाली सेना ड्युटीमा बसेकै बेला सिंहदरबारलाई दोस्रो पटक आगजनी गरेर ध्वस्त बनाइएको छ । यो पनि रहस्यमय रहने निश्चित देखिएको छ । सिंहदरवार रक्षाकै लागि त्यसभित्रै नेपाली सेनाको ड्युटी छ । सिंहदरवारकै अगाडि नेपाली सेनाको हेडक्वाटर छ । तर त्यसलाई जोगाउने प्रयास नेपाली सेना मात्र होइन, सरकारी संयन्त्रका कोही पनि गरेनन् ।
बालेन शाह नेतृत्वको गरेको काठमाडौँ महानगरपालिका पनि छ । तीन किलोमिटर दुरीमा त्यसको आगो निभाउने दमकल छ । तर सिंहदरवारमा लागेको आगो निभाउन मेयर बालेन शाहले दमकल पठाउन मान्नु भएन । यो रहस्य होइन भने के हो ? जनमानसबाट प्रश्न उब्जिएको छ । सिंहदरवार जलाउने विषयमा त्यसको सत्यतथ्य छानविनका लागि छुट्टै आयोग बन्नुपथ्र्यो । सत्य कुरा के हो कुरा बाहिर ल्याउनु पथ्र्यो तर त्यसमा सरकारको कुनै चासो छैन । सिंहदरवार जलेपछि प्रधानमन्त्री सुशिला कार्कीको कार्य कक्ष रातारात अर्को बन्दै गरेको नयाँ भवनमा तयार भयो तर त्यो सिंहदरवार कसरी जल्यो त्यसमा कसैले चासो लिइरहेका छैनन् । यो पनि ध्रुव सत्य हो कि कुनै शक्ति छन् जो सिंहदरवार ध्वस्त बनाउन चाहन्छन्, त्यहाँ भएका प्रमाण नष्ट बनाउन चाहन्छन् । तर त्यो शक्ति के हो ? त्यसको छानविन गर्न कसैले चासो लिदैनन् ।
२०३० मा आगलागी हुनुपुर्व सिंहदरबार एसियाकै सबैभन्दा ठुलो प्रशासनिक भवन थियो । आगलागीले दरबारको पूर्वी भाग ध्वस्त भएको थियो भने दरबारको बाँकी भाग जोगाउनका चीनको सहायता मागिएको थियो । नेपाली सेनाले जलेको भाग र बाँकी भाग छुट्याउन बम विस्फोट गराइएको थियो । जल्न बाँकी रहेको भागलाई सेनाले बमले बिस्फोट गराएको कुरा पनि रहस्यमय रहेको धेरैको बुझाई छ । त्यसलाई खोतल्ने काम कसैले गरेनन् । त्यतिबेला पनि सेनाको भूमिका शंकास्पद रहेको धेरैको बुझाई रहेको छ । नैतिकताका आधारमा तात्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टले आफ्नो पदबाट राजिनामा दिनुभएको थियो ।
तत्कालिन सहअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘‘देशकै मुख्य प्रशासनिक भवनमा यसरी आगो लाग्नु र लगाउनु रहस्समय हो, यसको गम्भीर छानविन हुनुपर्छ, २०३० असारमा राती १० बजे आगो लाग्दा म पनि अवलोकनका लागि त्यहाँ पुगेका थिए तर अहिलेको जस्तो विध्वंश भएको थिएन, त्यतिबेलाको आगजनीको छानविन भएन अहिले पनि कसैको चासो लिइरहेको छैनन् जब कि देशकै यस्तो संवेदनशिल ठाउँमा आगो लगाएर ध्वस्त बनाएको छ त्यसको छानविन हुन आवश्यक हुन जान्छ ।’ त्यतिबेलाका प्रधानमन्त्री किर्तिनिधि विष्टले नैतिकताका आधारमा राजिनामा दिनु भएको थियो र छानविन हुनुपर्छ भन्नुभएको थियो तर तत्कालिन सरकारले कुनै चासो लिएको थिएन ।
त्यतिबेला सिंहदरबारको पुर्ननिर्माणका लागि देशभरका हरेक घरबाट १०÷१० रुपैयाँ संकलन गरी तत्कालिन प्रधानपञ्चहरूले काठमाडौं पठाएका थिए तर हालसम्म पनि सिंहदरबारमा भएको आगलागीको कारण खुल्न सकेको छैन । अहिले पनि जेनजीको नाममा सिंहदरवार ध्वस्त भएको छ तर त्यसको छानविनको लागि कसैले चासो लिएको छैन । यसअघि सन् २०७२ को विनाशकारी भूकम्पले पनि सिंहदरबार भत्काएको र त्यसबेला प्रबलीकरण विधि अन्तर्गत उक्त संरचना ७० महिना लगाएर पुनर्निर्माण गरिएको थियो ।
भदौं २४ गते जलेको सिंहदरवार क्षतिको तथ्याङ्क अझै संकलन गरेको छैन । पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले सिंहदरबारमा यस्तो क्षति भएको छ कि त्यसको क्षति आँकलन गर्ने अवस्था नरहेको बताउनुभयो । यसअघि पनि (२०३०) मा आगजनी भएको थियो तर यो तरिकाको विध्वंश भएको थिएन, भुकम्पमा पनि भत्किएको थियो तर अहिलेको जस्तो विध्वंश भएको थिएन । उहाँले भन्नुभयो, ‘‘सिंहदरवारमा केही छैन, सबै खण्डहर भएको छ, त्यसलाई निर्माण गर्न के कति क्षति भयो भनेर त्यसको मूल्यांकन गराउने प्रयास भइरहेको छ तर कुनै पनि समान, कागजात काम लाग्ने अवस्थामा छैन ।’’ उहाँको यो भनाइबाट पुष्टि हुन्छ कि कसैले सिंहदरवार ध्वस्त बनाएर महत्वपूर्ण कागजात तथ प्रमाणहरु नष्ट बनाउन चाहेको थियो ।
हुन त काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइ दिने खुल्ला चुनौती दिनुभएको थियो । उहाँले दिनु भएको त्यो चुनौती अहिले पुष्टि भएको छ तर त्यसको तथ्य र प्रमाण केही छैन । प्रमाणको रुपमा जलिरहेको सिंहदरवार निभाउन उहाँले दमकल समेत नपठाएको कुराले शंक गर्ने ठाउँ रहेको धेरैको बुझाई रहेको छ । नेपाल अहिले भूराजनीतिको चँगुलमा छ । पटक पटक नेपाललाई यसको थ्रेट आइरहेको छ ।
चाहियो भने नेपालमा जुनबेला जे पनि गर्न सक्छ भनि संकेत पटक पटक दिएकै हो तर नेपाल त्यसमा सचेत देखिएको छैन । नारायणहिटी राजदरवारभित्र छिरेर राजासहित उहाँ परिवार नष्ट गर्नु पनि देशका लागि ठुलै संकेत हो । सुशिल कोइराला, मदन भण्डारीको दुर्घटना पनि ठुलै संकेत हो । तर राज्यका निकाय गम्भीर देखिदैन ।

तपाईको प्रतिक्रिया