Khadya Bibhag

गृहमन्त्री आर्यालको चेतावनीः “केपी ओली धेरै उत्ताउलो काम गर्नुभयो भने सरकार एक्सनमा जान सक्छ”

काठमाडौं कात्तिक ६ गते । जेनजी आन्दोलनबाट गृहमन्त्री बन्नुभएका ओमप्रकाश आर्यालले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा टिप्पणी गर्नुभएको छ । एक अनलाइनसँगको अन्तर्वार्तामा गृहमन्त्री आर्यालले पूर्वप्रधानमन्त्रीओलीका पछिल्ला अभिव्यक्तिलाई “उत्ताउलो र गैरजिम्मेवार” भन्दै सरकारले त्यसप्रति कठोर कदम चाल्न सक्ने चेतावनी दिनुभएको छ ।
गृहमन्त्री आर्यालका अनुसार, “केपी ओली धेरै उत्ताउलो काम गर्नुभयो भने सरकार एक्सनमा जान सक्छ। उहाँले राज्यको सुरक्षा लिएर राज्य सत्ता पलटको कुरा गर्न मिल्दैन।”
गृहमन्त्री आर्यालले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै भन्नुभयो, “चित्त बुझेको छैन भने अदालत जान सक्नुहुन्छ, तर उहाँलाई अदालतमाथि विश्वास नै छैन ।” उहाँले आरोप लगाउनुभयो कि अध्यक्ष ओलीले राज्यका नियुक्तिहरू पनि भागबण्डाको आधारमा गर्दै आउनु भएको थियो, र अहिले चुनावी वातावरण नै बिगार्ने प्रयास गरिरहनु भएको छ ।
गृहमन्त्री आर्यालले अध्यक्ष ओलीलाई राजनीतिक रूपमा सम्झाउने प्रयास भइरहेको बताउनुभयो । “सुरुमा उहाँलाई सम्झाई बुझाई नै गर्ने हो, तर सम्झाई बुझाई गर्दा पनि नमाने भने उहाँ मात्र पार्टीमा हुनुहुन्न नि, उहाँको सम्बन्धमा सोच्नु पर्ला, कानुन कार्यान्वयन गर्नुपर्ला,” गृहमन्त्री आर्यालले भन्नुभयो ।
उहाँ अझ अघि बढ्दै भन्नुभयो, “उत्ताउलो कुरा गर्दै, शान्ति व्यवस्था भंग गर्दै हिँड्ने काम उहाँले गर्नु भयो भने राष्ट्रिय सुरक्षामा संकट आउन सक्छ । उहाँले पहिले नै संकट निम्त्याउनुभएको थियो, जसबाट हामीले पार लगायौं ।”
गृहमन्त्री आर्यालले अध्यक्ष ओलीप्रति सरकारको पूर्व सहानुभूति स्मरण गर्दै भन्नुभयो, “उहाँलाई हामीले भिक्टिम जस्तो व्यवहार गरेका थियौं। उहाँकै घर जलेको थियो, उहाँकी श्रीमती रोइरहनुभएको थियो। उहाँलाई एउटा पीडितको रूपमा राज्यले सम्बोधन गर्न खोजेको थियो, तर उहाँ त्यस खालको रहनुभएन ।”
तर अहिलेको व्यवहारलाई लिएर गृहमन्त्री आर्यालले चेतावनी दिनुभयो कि यदि अध्यक्ष ओलीले राज्यविरुद्ध उत्पीडन दिने, सत्ता पलट गर्ने खालको अभिव्यक्ति दोहोर्याए भन्नुभयो, “उहाँसँग रहेको थप सुरक्षाकर्मी फिर्ता गर्ने अवस्था आउन सक्छ ।”
उहाँका अनुसार, “यस्तो काम गर्ने व्यक्तिले नियमले पाउने सुरक्षाकर्मी पनि पाउँदैन। उहाँलाई औकातमा ल्याउनै पर्ने देखिन्छ। आपराधिक मनोवृत्तिलाई लिएर सत्ता कब्जा गर्न उहाँले खोज्नुभएको छ ।”
गृहमन्त्री आर्यालले अन्त्यमा चेतावनी दिनुभयो, “जनविद्रोहबाट आएको सरकारले उहाँलाई त्यतिकै छाड्दैन। आवश्यक परे फौजदारी अभियोग पनि उहाँमाथि लगाउन सकिन्छ ।”
यसैबीच, उहाँले स्मरण गरे कि पूर्व प्रधानन्यायाधीश सुशिला कार्की केपी ओलीकै सिफारिसमा प्रधानमन्त्री बन्नुभएको थियो तर अहिलेको अवस्थाले अध्यक्ष ओलीको राजनीतिक दृष्टिकोण र कानुनी आचरणप्रतिको प्रश्न उठाएको उहाँले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया