Khadya Bibhag

इतिहास रच्दै सुशिला बन्नुभयो पहिलो महिला प्रधानमन्त्री

–विजेता चौधरी
२५ जेठ २००८ मा मोरङको शंखरपुरमा जन्मिनु भएका सुशिला कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रच्नु भएको थियो भने पहिलो महिला प्रधानमन्त्री बनेर अर्काे इतिहास रच्नुभएको छ । यस्ता इतिहास रच्ने महिला शताब्दियौंमा जन्मिन्छन् । सुशिला कार्की पहिलो महिला प्रधानन्यायाधीश बन्दाको एउटा सुखत स्मृति छ । २०७३ सालको कुरा हो, बाह्खरी अनलाइनमा संवाददाताको रूपमा प्रवेश गरेको केही समयपछि नै मलाई ‘ज्युडिसल’ अर्थात न्याय तथाकानुन बिट हेर्ने जिम्मा दिइयो । त्यसअघिसम्म म जिल्ला संवाददाता र अञ्चल प्रमुखको रूपमा काम गर्दासम्म सबै विषयमा समाचार लेख्थेँ । यद्यपि कानुनका विषयमा कलम निर्वाधरूपमा चलाएको थिइनँ । त्यतिबेला मुलुक द्वन्द्वकालमै थियो । बाह्खरी संचालन भएकै वर्ष म उक्त टिमसँग जोडिएँ र यहाँ मलाई पहिले शिक्षा बिट हेर्ने जिम्मा दिइयो ।

कला–साहित्य मेरो रुचिको विषय भएको हुनाले उक्त विषयमा स्वतन्त्र रिपोर्टिगं गर्थें नै । तर बाह्खरीकालागि कानुन र न्याय विषयमा रिपोर्टिंग गर्ने जिम्मा पाएकै समय मेरा लागि विशेष बन्नपुग्यो, कारण थियो २०७३ मा देशले पहिलो महिला प्रधानन्यायाधीशको रूपमा सुशिला कार्कीलाई पाउनु । देशको कुनै पनि ऐतिहासिकविषय र मामिलाको साक्षी हुनपाउनु निश्चय पनि गौरवको विषय हो । त्यसमाथि त्यो विषय महिलासँग जोडिएर आएको छ भने झनै उत्सवको माहौलजस्तै हुन्छ । देशको पहिलो महिला न्यायमूर्ति बारे समाचार लेख्दा मैले निकै गौरवबोध गरेकी थिएँ । र त्यसको लामो अन्तरालपछि देशले पहिलो महिला प्रधानमन्त्री पाएको गौरवबोध लेख्नु मेरो लागि विशेष हो ।
पहिलो महिला प्रधानन्यायाधिशको यात्रा
विराटनगरको महेन्द्र मोरङ कलेजबाट बिए र बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी कार्कीले २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उहाँले २०३५ मा वकालत थाल्दा विराटनगरमा महिला कानुन व्यवसायी थिएनन् । पछि केही संख्यामा महिला कानुन व्यवसायीको प्रवेश भए पनि टिकि रहन सकेनन् । यतिवेला कानुन व्यवसायी महिलाहरूको उल्लेख्य संख्या देखिए पनि आजभन्दा झण्डै ४०–४५ वर्ष अघिसम्म उक्त पेसाप्रति महिलामा त्यति आर्कषण र उत्साह नहुनु स्वभाविक हो । तर, सुशिला कार्की वकालतमा टिकिरहनु भयो र उहाँले तत्कालीन अञ्चल अदालतदेखि पुनरावेदन अदालतसम्मको वकालतको अनुभव संगाल्नु भयो । (न्याय, सुशिला कार्की)
वकालतको २७ वर्षपछि वरिष्ठ अधिवक्ता बन्नुभएका उहाँ २०६५ मा सर्वाेच्च अदालतको अस्थायी न्यायाधीश बन्नुभयो । २०६७ मा न्यायाधीश नियुक्त हुनुभयो । र, त्यसको सात वर्षपछि १ वैशाख २०७३ मा कायम मुकाय प्रधानन्यायाधीश बन्नुभयो । त्यसको तीन महिनामा प्रधानन्यायाधीश बन्नुभएका उहाँ १५ महिना सर्वाेच्च अदालतको नेतृत्व गर्नुभयो । तर, उहाँले सर्वाेच्चको नेतृत्वको कार्यकाल भने पूरा गर्न पाइनन्, महाभियोगको सामना गर्नुप¥यो  । यद्यपि, सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण महाभियोग निस्तेज भएपछि दलहरूले महाभियोग फिर्ता लिएका थिए । त्यतिवेला पनि नेपाली कानुन क्षेत्र र राजनीतिमा निकै तरंग उठेको थियो ।
कार्कीले आफ्नो प्रधानन्यायाधीश कार्यकालमा सरकार र संसदलाई कानुन र संविधानको परिधि मिच्न दिनु भएन । राजनीतिक विश्लेषकहरूका मान्यताअनुसार न्यायाधीशका रूपमा सुशीलाको चर्चा चलेको भ्रष्टाचार मुद्दाबाट हो । उहाँले आफ्नो कानुनी करियरमा थुप्रै राजनीतिक नेताहरू विरूद्धका भ्रष्टाचार मुद्दा किनारा लगाउनु भएको थियो । जसमा मन्त्री जयप्रकाश गुप्ताको मुद्दा पनि चर्चित रहेको छ ।
कार्कीले आफ्नो इजलासबाट तत्कालीन बहालवाला मन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गरेर जेल पठाउनु भएको थियो । त्यो बेला अन्य थुप्रै उच्चपदस्थ व्यक्तिहरू मुछिएका तर हद म्याद जस्तो प्राविधिक कारण देखाएर विशेष अदालतबाट सफाइ पाएका भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन थियो । सुशीलाले त्यस्ता मुद्दालाई ‘तथ्यका आधारमा फेरि सुनुवाइ गरेर फैसला गर्नु’ भन्दै विशेषमा पठाइ दिनुभयो । यसमा पूर्वमन्त्री गोविन्दराज जोशी, रवीन्द्र शर्मा लगायतका मुद्दा थिए ।

उहाँले न्याय सेवामाथिको राजनीतिक हस्तक्षेप अस्वीकार गर्दै थिति बसाल्ने काम पनि गर्नुभएको थियो । तर त्यसैबिचमा उहाँमाथि नेपाली कांग्रेस र माओवादी केन्द्रबाट महाअभियोग लगाउने प्रयास भएको थियो । कांग्रेस र माओवादी केन्द्रले २०७४ वैशाख १७ गते कार्की विरूद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेका थिए । जसले उहाँ नेपालका पहिलो महिला प्रधानन्यायाधीश जस्तै महाअभियोग दर्ता भएको पहिलो प्रधानन्यायाधीश समेत बन्नुभयो ।
त्यति बेला प्रतिपक्षी नेकपा एमालेले महाअभियोग प्रस्तावको विरोध गरेको थियो । त्यसको केही दिनपछि वैशाख २२ गते सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले उक्त महाअभियोग प्रस्ताव निष्प्रभावी बनाउन अन्तरिम आदेश जारी गरेको थियो । त्यही आधारमा कार्की पुनः सर्वोच्च अदालत फर्किनु भएको थियो । त्यसको ठिक एक महिनापछि जेठ २४ गतेबाट उहाँको प्रधानन्यायाधीशको कार्यकाल सकिएको थियो ।
पूर्वप्रधानन्यायाधीश कार्की सर्वोच्चमा राम्रो, स्वच्छ छवि र निर्णय लिन नडराउने निर्भीक न्यायाधीशका रूपमा चिनिनु हुन्छ । उहाँले २०७३ असार २७ देखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधीशको पद सम्हाल्नु भएको थियो ।
प्रधानमन्त्रीको जोड–घटाउ
मध्यमवर्गीय परिवारमा जन्मिनु भएका सुशिला कार्की विराटनगर निवासी डिल्लीबहादुर कार्कीका पाँच छोरी र दुई छोरामध्ये सबैभन्दा जेठी सन्तान हुनुहुन्छ । प्रधानमन्त्री कार्कीले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका खेल्नुभएको थियो । २०४६ को जनआन्दोलनताका कार्की पञ्चायतविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ पनि पर्नुभएको थियो । जेन–जी युवाहरूको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभयो । राष्ट्रपति कार्यालयले संविधानको धारा ६१(४) अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको हो । सो धारामा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ । यसैअनुसार जेन्जी–जी आन्दोलनपछि उत्पन्न राजनीतिक रिक्तताको अवस्थामा संवैधानिक संकट उत्पन्न हुन सक्ने देखेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानका संरक्षकका हैसियतमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो ।
जेन–जी युवाहरूको भदौ २३ र २४ गतेको आन्दोलनमा राज्यबाट भएको बल प्रयोगमा युवाहरूको ज्यान गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभयो । त्यसपछि आन्दोलनरत जेन–जी पुस्ताको चाहना काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा अन्तरिम सरकार बनोस् भन्ने थियो । तर उहाँ सरकारको नेतृत्व सम्हाल्न तयार हुनुभएन । उहाँले नै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउन प्रधानसेनापति अशोकराज सिग्देललाई सुझाउनु भएको कुरा बाहिर आएको छ ।
श्रेष्ठले आफ्नो उमेर धेरै भइसकेको र विगतमा खिलराज रेग्मी नेतृत्वको अन्तरिम सरकारविरूद्ध परेको रिटमा संवैधानिक इजलासबाट लेखेको रायका कारण पद स्विकार्न चाहनु भएन । कल्याण श्रेष्ठ पन्छिएपछि बालेनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सार्नुभएको स्रोतहरुको दाबी छ । त्यसैअनुसार जेन–जी युवाहरूको समूहले बुधबार दिनभरि नै सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा छलफल गरी अबका दिनमा देश चलाउन र निर्वाचन गर्न गठन हुने अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा सहमति ग¥यो । अनलाइन भोटिङ पनि भएको थियो । त्यसमा ५० प्रतिशत भन्दा बढी उहाँले ल्याउनु भएको थियो । मतदानबाट सबभन्दा बढी मत ल्याएको कारणले पनि सुशिला कार्कीलाई प्रधानमन्त्रीमा जान दबाव बढेको थियो । त्यसपछि जेनजी समूहको प्रतिनिधिले राष्ट्रपति पौडेल र प्रधानसेनापतिसँग छलफल गरेर प्रधानमन्त्रीको रुपमा अगाडि बढाएको थियो ।
दुर्गा सुवेदीसँग बिहे
विराटनगर–२, शंकरपुर तीनपैनीमा रहेको जनता माविबाट स्कुल शिक्षा पूरा गर्नुभएका सुशिला कार्की बुद्धिजीवी दुर्गा सुवेदीकी पत्नी हुनुहुन्छ । सुवेदी कांग्रेस राजनीतिमा लागेका र २०३० सालको हवाइ जहाज अपहरण काण्डमा संलग्न भएको नेता हुनुहुन्छ । सुवेदी पहिले कांग्रेसका सक्रिय कार्यकर्ता भए पनि हाल नागरिक समाजका अगुवाका रूपमा चिनिनु भएको छ  । यी दुवैले प्रेम विवाह गर्नुभएको छ ।
सुशिला कार्कीले दुर्गा सुवेदीलाई भन्नभएको थियो, ‘मैले सबै कुरा सोच–विचार गरेर विवाहको प्रस्ताव राखेको हो । तपाईंको सादगीपूर्ण जीवन र स्वभाव मसँग मिल्छ । म विवाह गरेर विलासी जीवनयापन गर्ने पक्षमा भएको भए उहिल्यै बिहे भइसक्ने थियो ।’ सुवेदी आफ्नो पुस्तक ‘विमान विद्रोह’मा लेख्नु भएको छ, ‘हार्दिक छलफलपछि हामी विवाह गर्ने टुंगोमा पुग्यौं । १३ साउन २०४६ मा विराटनगरमा बिहे गर्ने निर्णय भयो । त्यति बेला विराटनगरको महेन्द्र चोकमा मेरा अनन्य मित्र टीकाप्रसाद उप्रेतीको एउटा रेस्टुराँ थियो । त्यसैको छतमा विवाह समारोह गर्ने कुरा भयो । जलपानको प्रबन्ध टीकाजीले आफ्नै तर्फबाट गरिदिनुभयो । हाम्रो विवाह समारोहमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, नोना कोइराला, शैलजा आचार्य, विराटनगर पञ्चायतकी भूतपूर्व प्रधानपञ्च शान्ता पोखरेल, भरतमोहन अधिकारी, देवी घिमिरे, माधव भट्टराई, शान्तिराम भण्डारीलगायत सरिक हुनुभएको थियो ।’
विमान विद्रोह पुस्तकमा सुवेदी लेख्छन्, विवाहमा हामी दुवै परिवारका कोही पनि उपस्थित नभएकाले कसैले अभिभावकत्व लिनुपर्ने कुरा उठ्यो । त्यसपछि गिरिजाप्रसाद कोइराला मेरो र मनमोहन अधिकारी सुशीलाको अभिभावक बन्नुभयो । विवाहमा कुनै धार्मिक रीति–रिवाज भएन । माला लगाउने र सिन्दुर लगाइ दिने मात्र काम भयो । हाम्रो समाजमा मागी विवाह गर्ने चलन छ । रोजी विवाह त्यति प्रचलनमा छैन । जात, उमेर, धर्म र धन–सम्पत्ति हेरेर मात्र मागी विवाह हुन्छ । जुन बेला हामीले विवाह गर्यौं, त्यस बेला पनि हामी दुईमा मेल खाने कुरा निकै थोरै थिए । यसैले होला, हाम्रो विवाहमा परिवारका कोही पनि उपस्थित भएनन् । सुशीला कार्की र मैले २०४६ सालमा रोजी विवाह गरेका हौं ।’
सुवेदी आफ्नो विवाहलाई वेमेल विवाह मान्थे, कारण थियो तात्कालिन समाजमा छुट्याउने जातपात र सामाजिक अवस्था । उहाँले आफ्नो पुस्तक विमान विद्रोहमा लेख्नुभएको छ, ‘सुशीला सम्पन्न क्षेत्री परिवारकी उच्च शिक्षा प्राप्त नारी हुनुहुन्थ्यो भने म ब्राह्मण कूलको त्यसमा पनि राजनीतिक विद्रोहमा सामेल हुँदा सर्वस्वहरणमा परेको । भारतमा जेलनेल र यातना भोगेर आएको । विमान अपहरणको मुद्दामा तारेखमा छुटेको । हामीबीच यस्तो विजातीय विवाह हुँदा उहाँको परिवारले स्वीकार्ने कुरै थिएन ।’

राजनीतिक पृष्ठभूमि
प्रधानमन्त्री सुशिला कार्कीको पारिवारीक पृष्ठभूमि पनि राजनीतिक नै हो । उहाँले विद्यार्थी राजनीतिमा समेच चासो लिनुभएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनःबहालीका लागि कांग्रेस र वाममोर्चा मिलेर संयुक्त जनआन्दोलन प्रारम्भ गरे । त्यसको पक्षमा देशभरका वकिलहरूले प्रदर्शन गर्न थालेका थिए ।् विराटनगरमा वकालत गरिरहनुभएका कार्की पनि वकिलको प्रदर्शनमा सहभागी हुनुभयो । उहाँलाई पक्राउ गरेर जेल चलान गरिया े। आन्दोलन सफल भएर सुशीला कार्की जेलमुक्त हुनुभएको थियो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको ४६औँ प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको छ । यससँगै हृुाले देशको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रच्नुभएको छ । गत २३–२४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनको म्यान्डेटअनुसार गठित कार्की नेतृत्वको नागरिक सरकारलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य जिम्मेवारी छ । र साथै प्रधानमन्त्रीका रूपमा पनि उनलाई विगतका भ्रष्टाचारको छानबिन गर्ने म्यान्डेट पनि छ ।

तपाईको प्रतिक्रिया