सिरहा, कात्तिक १२ गते ।
सामाजिक अभियन्ता एवं राजनीतिककर्मी रामरिझन यादवले जिल्लामा मौजुदा शैक्षिक माफिया र दलालीकरणलाई समूल अन्त्य गर्ने अठोट व्यक्त गर्नुभएको छ। उहाँले आफ्ना पिता विश्वनाथ यादवको १४औं स्मृतिदिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता जनाउनुभएको हो।
यादवका अनुसार कार्यक्रममा दुई महिनाको लगातार प्रयासपछि जिल्लाका १८८ सामुदायिक र संस्थापक (पब्लिक तथा बोर्डिङ) माध्यमिक विद्यालयमध्येका १४ जना प्रधानाध्यापक, १२ जना सहायक प्रधानाध्यापक, ६ वटा बोर्डिङ विद्यालयका प्रिन्सिपल तथा १७ स्थानीय पालिकामध्येका ४ जना शिक्षा अधिकृतहरूलाई एउटै मञ्चमा भेला पार्न सकिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य नेपालका प्रख्यात शिक्षाविद् डा. विद्यानाथ कोइरालाको मुखारबिन्दबाट हालको धर्मराउँदो माध्यमिक शिक्षा प्रणालीबारे व्याख्यान सुन्ने र सिरहामा हुने एसईई परीक्षालाई कसरी मर्यादित र सुव्यवस्थित बनाउने भन्ने प्रस्ताव पारित गर्ने रहेको थियो।
“जबसम्म कक्षाकोठाभित्रको चिटचोरी रोकिँदैन, तबसम्म गुणात्मक र स्तरयुक्त शिक्षाले फड्को मार्न सक्दैन,” यादवले भन्नुभयो । उहाँले सिरहाको शैक्षिक पतनको मूल कारण नै “गुण्डाराज र माफियाकरण” रहेको बताउँदै त्यसको अन्त्यका लागि निर्णायक कदम चाल्नुपर्नेमा जोड दिनुभयो।
उक्त कार्यक्रममा अवकाशप्राप्त शिक्षक अनिरूद्ध ठाकुरले ‘सिरहामा विसं २०८१ सालको एसईई परिणाम विश्लेषण’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो, जसलाई सहभागीहरूले अत्यन्त सशक्त र तथ्यपरक रहेको टिप्पणी गरेका थिए।
अभियन्ता यादवले जिल्लाका अधिकांश विद्यालयका प्रधानाध्यापक र पालिका शिक्षा अधिकृतहरूले जिल्ला शिक्षा तथा समन्वय इकाईद्वारा पठाइएको आधिकारिक निमन्त्रणालाई बेवास्ता गरेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सिरहामा व्याप्त शैक्षिक गुण्डाराजलाई ध्वस्त पार्न अब शब्द होइन, विशेष कदम चाल्न आवश्यक छ । बाँकी जीवन सिरहाको शिक्षा सुधारमा समर्पित हुनेछ ।” कार्यक्रममा उपस्थित सहभागीहरूले यादवको अठोटलाई स्वागत गर्दै, शैक्षिक सुधार अभियानलाई “सिरहा विकास मञ्च” मार्फत संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए।
डा. कोइरालाले कार्यक्रममा शिक्षाको महत्त्वबारे चर्चा गर्दै जोन डेवी, डा. भीमराव आम्बेडकर र डा. ए.पी.जे. अब्दुल कलामका भनाइ उद्धृत गर्दै भने, “शिक्षा नै जीवन हो — यदि शिक्षालाई शुद्ध, पारदर्शी र मर्यादित बनाउन सकियो भने समाजका सबै क्षेत्र स्वतः सुधारिन्छन् ।”


तपाईको प्रतिक्रिया