Khadya Bibhag

उमेश यादवले लगाउनु भयो मातृका यादव र भरत साहमाथि गम्भीर आरोप

काठमाडौं कात्तिक २३ गते । नेकपा (माओवादी केन्द्र) का नेता उमेशकुमार यादवले पार्टीभित्रको असन्तोष र विवादको कारण पार्टी नेतृत्वकै निरंकुश र दमनकारी कार्यशैली रहेको आरोप लगाउनु भएको छ ।
मातृका यादवको निरन्तर विरोध गर्दे आउनु भएका नेता उमेश यादवले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भन्नुभएको छ, “मातृकाप्रसाद यादव र भरत साह बाहेक पनि पार्टीमा धेरै नेता कार्यकर्ता छन् भन्ने कुरा बुझ्न जरुरी छ। उहाँहरूको निरंकुशता, दमन र निषेधको राजनीतिक कार्यशैलीकै कारण आजको दुर्घटना भएको हो ।”
उहाँ भन्नुहुन्छ, “अन्यायविरुद्ध विद्रोह गर्न सिकाउने नेताहरू स्वयं अन्याय गर्न थालेपछि पीडित कार्यकर्ताहरूको पीडा बिस्फोट भएको हो।”

मधेस प्रदेशमा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवको व्यवहारले पार्टी गम्भीर संकटमा परेको आरोप लगाउँदै उहाँले लेख्नुभएको छ, “मातृकाजीको अत्याचार, दमन र निषेधले अझ थप दुर्घटनाबाट पार्टीलाई जोगाउन पार्टी हेडक्वाटर गम्भीर हुन जरुरी छ। उहाँको कार्यशैलीले हामी थुप्रै भयंकर पीडित छौं ।”

नेता उमेश यादवले “व्यापारी जोडी” भनेर टिप्पणी गर्दै माओवादीको संसदीय दल र अर्को पार्टीको संसदीय दल एकैसाथ चलाउने प्रयासले अरूको घर पनि र आफ्नै घर पनि भत्काएको गुनासो गर्नुभएको छ ।

संघीयता जितोस् र केन्द्रीयता हारोस, निरंकुशता हारोस र लोकतन्त्र जितोस भन्दै उहाँले सबैलाई जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहयोग गर्न पनि आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्रीमा जितेन्द्र सोनलले आज विश्वासको मत लिने क्रममा माओवादीका सांसद रोहबार अन्सारी र माला कर्णले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिनुभएको छ । माओवादीका नेता उमेश यादवले यसलाई पार्टीभित्रको आन्तरिक विवादलाई लिनुभएको छ। त्यसमा उहाँले माओवादीका नेता मातृका यादव र भरत शाहलाई दोषी देखाउनुभएको छ।

तपाईको प्रतिक्रिया