Khadya Bibhag

मधेश प्रदेशको मुख्यमन्त्री बारे के गर्दैछ सर्वोच्च अदालत ?

काठमाडौँ मंसिर १५ गते । मधेश प्रदेशको मुख्यमन्त्री विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतमा आज पुनः बहस हुँदैछ। विवाद तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले कात्तिक २४ गते विहान ५ः३० बजे एक होटलमै एमाले नेता सरोज यादवलाई मुख्यमन्त्रीको रूपमा शपथ खुवाएपछि उत्पन्न भएको हो।

यस घटनापछि मधेशका सात दलको तर्फबाट कांग्रेसका संसदीय दलका नेता कृष्ण यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले यसअघि नै दुईवटा अन्तरिम आदेश जारी गर्दै सरोज यादवको नियुक्तिलाई अवैधानिक ठहर गरिसकेको छ। साथै, उनलाई दीर्घकालीन वा नीतिगत निर्णय नगर्न र विश्वासको मत समेत नलिन निर्देशन दिइएको छ।

मुद्दा दुई पटक ‘हेर्दाहेर्दै’ सारिएको भए पनि आजको बहस निर्णायक हुने धेरैको बुझाइ छ। सात दलका पक्षमा बहस बलियो देखिएको बताइँदैछ। एक अधिवक्ताले भने, “कानुनमा धेरै छिद्र हुन्छ, अन्तिम क्षणमा पनि नयाँ पाटो आउन सक्छ। तर अहिलेको माहोल सात दलकै पक्षमा देखिन्छ। अदालतका अन्तरिम आदेश पनि यही दिशामा छन्।”

यद्यपि, सर्वोच्च अदालतमा एमालेको प्रभाव रहेको चर्चा पनि उत्तिकै छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू नजिकका न्यायाधीशहरूको नियुक्ति गरेको स्मरण गर्दै, केही पक्षहरूले त्यसको प्रभाव मुद्दामा पर्न सक्ने सम्भावना नकार्न नसकिने बताइरहेका छन्।

आजको सुनुवाइपछि विषय फराकिलो मोड लिन सक्ने अनुमानसँगै मधेश प्रदेशको सत्ता–समीकरण पनि अदालतको निर्णयमा निर्भर हुने देखिएको छ।

तपाईको प्रतिक्रिया