मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा कृषि उत्पादन वृद्धि हुने भएपछि आर्थिक वृद्धिदर बढ्ने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । मधेशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको ३६.७० प्रतिशत छ । सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१५ प्रतिशत छ ।
गत आर्थिक वर्षमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रुपियाँ रहने अनुमान तथ्यांक कार्यालयको रहेको छ । त्यस्तै मधेशको जीडीपी उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब रहने अनुमान गरेको छ । राष्ट्रिय जीडीपी आधारभूत मूल्यमा ३.९९ प्रतिशतले वृद्धि हुने र मधेशमा ३.८८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
मधेश प्रदेशमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा १०.२७ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा १.४९ प्रतिशत र फलफूल तथा मसला बालीले ओगटेको क्षेत्रफलमा क्रमशः २५.२० र ७.९४ प्रतिशतले घटेको तथ्यांक कार्यालयले जनाएको छ । २०८१÷०८२ मा खाद्य तथा अन्य बाली उत्पादनमा १४.०१ प्रतिशतले वृद्धि भएको छ । तरकारी तथा बागवानी उत्पादनमा ९.७९ प्रतिशत, फलफूल उत्पादन ९.०७ र मसला उत्पादनमा १०.५३ प्रतिशतले कमी आएको छ ।
मधेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ६२ अर्ब ९८ करोड कर्जा प्रवाह भएको छ । यो रकम मधेशमा प्रवाहित कुल कर्जाको १२.७० प्रतिशत हो । गत आव मधेशका उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४६.४७ प्रतिशत छ । २०८१÷८२ मा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा ५.११ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब ९ करोड पुगेको छ । अघिल्लो आव यसै अवधिमा यस्तो कर्जा १ खर्ब २१ अर्ब ८७ करोड थियो ।
यस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१.७६ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३७.३९, धातु उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स एवं धातुका सामान उत्पादनतर्फ ४.१३, निर्माण उद्योगतर्फ ५.२६, खानी उद्योगतर्फ ०.८९ र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ ०.५८ प्रतिशत छ । गत आव मधेशका होटलमा कार्यरत कर्मचारी संख्यामा २०.४२ प्रतिशतले कमी आएको छ । तर, पर्यटक आगमनमा १८.२५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । गत आव घरजग्गा रजिस्ट्रेसन संख्या ३४.१७ प्रतिशतले वृद्धि भएको छ भने त्यसबाट संकलित राजस्व १९.२९ प्रतिशतले घटेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप १६.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ७३ करोड छ भने कर्जा ३.६२ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ८६ करोड पुगेको छ ।
गत आव मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या एक लाख ९३ हजार ९०२ छ । यो संख्या मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २३.१० प्रतिशत हो । अर्थात मधेशमा वैदेशिक रोजगारमा जानेको सँख्यामा वृद्धि हुने क्रम बढ्दै छन् ।


तपाईको प्रतिक्रिया