–बिजेता चौधरी
समाजमा प्रायः सुनिन्छ, ‘महिला नै महिलाको सभभन्दा ठूलो शत्रु हो ।’ तर यस्ता पुरातन मानसिकता वा सोचलाई भत्काइदिएका छन् ‘सखी–बहिनपा’ मैथिलानी समूहले । सुरुमा यो एउटा फेसबुक समूह मात्र थियो । तर फेसबुक समूहकै मार्फत यति ठूलो संख्यामा महिलाको जुडाव र उपस्थिति सो समूहसँग हुन गयो कि जसको प्रवाह थामि नसक्नुको थियो । यद्यपि यतिबेला सखी बहिनपा समूह विधिवत दर्ता भएर महिलाहरूको सर्वाङ्गिन हक, अधिकार, आत्मनिर्भरता, सक्षमता, सचेतना र सुरक्षाको क्षेत्रमा कार्य गर्दै आवाज समेत उठाउँदै आएको छ ।
यसमा देश–विदेशका मैथिल महिलाहरूको उपस्थिति चमत्कृत गर्ने खालको छ । यस संस्थासँग विभिन्न वर्ग, समुदाय र जातीका महिला दिदी–बहिनीहरू स्वतःस्फुर्त रूपमा जोडिदै गएका छन् । मिथिलाका एक से एक दिग्गज महिलादेखि लिएर स्कुल–कलेज पढ्ने बालिकाहरूको समेत महत्वपूर्ण उपस्थिति र सहभागिता भेटिन्छन् र यी सबैको केन्द्रमा हुनुहुन्छ मैथिली अभियानी–मृदुभाषी श्रीमती आरती झा ।

नारी सशक्तिकरणकालागि उहाँलाई मिथिला शिरोमणि सम्मानबाट सम्मानित गरिएको छ । उहाँले उक्त सम्मान “सखी–बहीनपा”को सम्मान रहेको बताउनुहुन्छ । “अन्तरराष्ट्रिय मिथिला महोत्सव’’ का आयोजक “शाश्वत मिथिला’’ र “माँ जानकी सेवा समिति’’ बाट झालाई उक्त सम्मान प्रदान गरिएको हो ।
आरती झा समूहलाई एकजुटमा बाँधेर चलाउन सक्नेमा पूर्णतः सक्षम देखिनुहुन्छ । उहाँ समूहका सबै महिलाहरूलाई प्रत्येक क्रियाकलापका लागि प्रोत्साहित, उत्साहित र दृढ आत्मविश्वास जगाउँदै आउनुभएको देखिन्छ । जो गुण सबैमा विद्यमान हुनु दूर्लभ हो । उहाँको नेतृत्वकारी भूमिका अब्बल रहेकै कारण संभवतः उहाँ उक्त समूहमा सबैकी प्रिय हुनुहुन्छ ।
महिलाको सफलतामा पुरुषको हात
७ अक्टूबर १९७४ मा बुवा स्व.श्री सुरेन्द्र चौधरी र आमा स्व.श्रीमती रामलड्डू देवीको कोखबाट जन्मिनु भएकी आरती झा मूल रूपमा भारत, दरभंगा (बिहार) का हुनुहुन्छ । उहाँको शिक्षादीक्षा दरभंगाबाटै भयो । वनस्पति शास्त्रमा स्नातक गर्नुभएका झाको नेपालसँगको साइनो भने विवाह पश्चात जोडिएको हो । सप्तरीको राजविराज निवासी डा.अखिलेश झासँग वैवाहिक बन्धनमा बाँधिएर उहाँ नेपाल आइपुग्नु भयो । सन् १९९१ मा भएको विवाहपश्चात् केही समय राजविराजमा व्यतित गर्नुभएका झा हाल विरगञ्जमा बसोबास गर्दैै हुनुहुन्छ ।
समूहका सबै महिलाहरूलाई प्रत्येक क्रियाकलापका लागि प्रोत्साहित, उत्साहित र दृढ आत्मविश्वास जगाउँदै आउनुभएको देखिन्छ । जो गुण सबैमा विद्यमान हुनु दूर्लभ हो ।
महिलाको सफलतामा पुरुषको भूमिका अथवा तपाईंको सफलतामा श्रीमान डा.अखिलेश झाको भूमिकालाई कसरी परिभाषित गर्नुहुन्छ ? भन्ने एक प्रश्नमा संथापक झा भन्नुहुन्छ, “मलाई पतिको पूर्ण सहयोगमात्र होइन, पूर्ण प्रोत्साहन पनि प्राप्त भयो । डा. झाको सर्वाङ्गिन मैथिली विकासप्रतिको लगावले पनि मलाई आफ्नै मिथिला समाज र संस्कृतिका लागि केही गरौं भन्ने भावना जागृत हुन्थ्यो । मलाई के लाग्छ भने पति–पत्नी दुवैको भूमिका एक–अर्काको सफलताका लागि उत्तिकै महत्वपूर्ण हुन्छ ।”

सखी–बहिनपा नारी संगसंगै पुरुषको महत्वलाई कम मान्दैन किनभने नारी र पुरुष दुवै परिवार र समाजका महत्वपूर्ण अंग हुन् । नारी अगाडि बढे मात्र परिवार अगाडि बढ्छ, समाज अगाडि बढ्छ । यसका साथै असिम हर्षका साथ आरतीले भन्नुभयो, ‘मिथिलाका पुरूष समाज यो परिवर्तनलाई स्वीकार गर्नुका साथै आफ्नो घरका महिलालाई अगाडि बढ्न प्रोत्साहित गरे । मलाई स्वयं पनि थुप्रै पटक महसूस भयो कि पुरूष वर्गले हामीलाई निकै सहयोग गरि रहनुभएको छ । र म आस्वस्त छु, हामी सखीहरू आफ्नो कार्य मनले गर्यौं भने सामाजिक स्तरमा थुप्रै कार्यहरू गर्न सक्छौं ।’
मैथिल अभियानी
सामाजिक गतिविधिमा स्वतःस्फूर्तरूपमा लागिरहनु पर्ने आफ्नो स्वभावकै कारण सखी बहिनपाको परिकल्पना सम्भव भएको बताउने आरती झा मूलतः मैथिल अभियानी हुनुहुन्छ । उहाँको कुनै एउटा विशेष क्षेत्र छैन, सामाजिक गतिविधि, कसैलाई उपचारमा सहयोग अथवा शिक्षाको अवसर, महिलाका मामिला होउन कि कला साहित्य र भाषा उत्थान तथा विकासका कुरा उहाँ हरेक ठाउँमा योद्धा जस्तै उपस्थित रहनुहुन्छ ।
आज सखी बहिनपामा संलग्न प्रायः महिलाहरू सामाजिक र राजनीतिकरूपमा एउटा शक्तिको केन्द्रभएर देखापर्न थाल्नुभएको छ । रक्तदान, मातृभाषामा मैथिली लेखाउने अभियान, मिथिलाक्षरलाई पुर्नजीवन दिनेदेखि अनेक अभियानमा महिलाहरूको प्रत्यक्ष संलग्नता देखिन थालेको छ । यो सम्भव हुनुमा आरती झाको योगदान अमूल्य छ । जसलाई मिथिलाका इतिहासले बिर्सन मिल्दैन ।
आत्मनिर्भरता एक मूलमन्त्र
सखी बहिनपाको माध्यमबाट संस्थापक आरती झाले महिला सशक्तिकरण, मैथिलानीको आर्थिक आत्मनिर्भरतालगायत एकतालाई प्रमुख उद्देश्यको रूपमा लिएर अगाडि बढ्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “कुनै समाज÷राष्ट्र÷क्षेत्र तब मात्र अगाडि बढ्छ जब त्यसको महिला समुदाय पनि सरोकारको मुद्दामाथि आवाजÞ उठाउन सक्ने हुन्छन् । महिला समाज विश्वभरि नै दोस्रो दर्जा अथवा दलनमा रहेका छन् ।
धेरथोर यही अवस्था मिथिलाका नारीहरूको पनि छ । अन्य ठाउँका महिला आफ्नो पहिचान बनाइ रहेका छन् तर मैंथिलानी अहिले पनि उपेक्षित हुनुहुन्छ, आफूमाथि विश्वासको कमी स्पष्ट देखिन्छ । जब कि उहाँहरू मिहिनेतमा कोहीभन्दा कम हुनुहुन्न, विद्वतामा कम हुनुहुन्न, प्रबन्धन क्षमता कोहीभन्दा कम छैन र सो कुरा सावित पनि भइसकेको छ । कमी थियो त मात्र एकताको, विश्वासको जो सखी बहिनपाको प्रयासबाट उहाँहरूमा देखिन थालेको छ ।
सखी बहिनपाले मैथिलानीलाई आफूमाथि विश्वास, आफ्नो क्षेत्रप्रति जागरूकता, भाषाको सम्मान, आत्मनिर्भरता आदिलाई आफ्नो मन्त्र बनाइसकेको छ र त्यतातिर ‘डेग’ पनि बढाइसकेको छ ।

फेसबुकबाट अभियान सुरु
संस्थापक झाले सन् २०१५ मा फेसबुकको माध्यमबाट सखी बहिनपाको पेज निर्माण गर्नुभएको थियो । त्यतिबेला उहाँको मनमा थुप्रै किसिमका सवाल जवाफ चलिरहेको थियो, के यो समूह मैथिलानी सखीका बीच अफ्नो स्थान बनाउन सक्ला ? के यो समूहले आफ्नो मनमा चलिरहेको त्यो हाम्रो मूल उद्देश्यलाई पूरा गर्नसक्ला ? के हाम्रो पुरूष समाज यस बदलावलाई, परिवर्तनलाई मनैदेखि स्वीकार गर्नसक्लान् ?
तर आज शनैः शनैः उहाँ ती मूल उद्देश्यतर्फ बढ्दै जानु भएको छ, जुन उद्देश्यका लागि सखी बहिनपा मैथिलानी समूह बनाउनु भएको थियो ।
मिहिनेतमा कोहीभन्दा कम हुनुहुन्न, विद्वतामा कम हुनुहुन्न, प्रबन्धन क्षमता कोहीभन्दा कम छैन र सो कुरा सावित पनि भइसकेको छ । कमी थियो त मात्र एकताको, विश्वासको जो सखी बहिनपाको प्रयासबाट उहाँहरूमा देखिन थाले
आरती भन्नुहुन्छ, “मलाई खुशी लाग्छ कि सखी बहिनपा मैथिलानी समूह समाज बिच र खासमा मैथिल महिला बिच उचित स्थान बनाउँदै लगेको छ र अब यसको आधार व्यापक भएको छ ।’ अहिले त्यो संस्थामा २८ हजार भन्दा बढी सदस्य प्रत्यक्ष रुपमा जोडिएको छ भने एक सय भन्दा बढी परियोजना सञ्चालनमा छन् । १० वटा विभिन्न केन्द्रहरू छन् र तीन सय भन्दा बढी राष्ट्रिय एवम् अन्तराष्ट्रिय कार्यकारिणी समूह रहेका छन् ।
महिला सशक्तिकरण
सखी बहिनपा समूहको माध्यमबाट महिला शसक्तिकरणका लागि पनि थुप्रै प्रयासहरू भएका छन् । सखी–बहीनपा मिलन समारोह विश्वकै अनेक ठाउँहरूमा भइरहेको छ । जसमा मैथिलानीहरूलाई आर्थिक आत्मनिर्भरताको महत्व बुझाउने र सकभर अवसर प्रदान गर्नेजस्ता कामहरू भएका छन् । त्यस्तै मैथिली साहित्यमा महिला सहभागिता बढाउने प्रयास र मातृ भाषामा शिक्षाको महत्व र पहल, तीरहुता लिपिको निःशुल्क शिक्षा प्रदान गर्ने, चित्रकलालगायतका आत्मनिर्भर बनाउने अन्य सीपको विकास गराउने उद्देश्यसमेत रहेको अध्यक्ष झा बताउनुहुन्छ ।
यसो त सखी–बहिनपा एकटा फेसबुक समूह हो । यो संस्था दर्ता भए पनि डिजिटल माध्यमबाट आफ्ना अधिकांश क्रियाकलाप सञ्चालन गर्ने गरेको छ र यस संस्थाप्रति मैथिलानीहरूमा बेजोड आकर्षण देख्न सकिन्छ । संस्थापक झा सुनाउँनुहुन्छ, “यस समूहप्रति महिलाको आकर्षण लोभलाग्दो छ । यसको मूलकारण आफ्नो भाषा र संस्कृतिप्रतिको लगाव एवं आफूमाथिको विश्वास नै हो ।

यो समूह सञ्चालन गर्ने उद्देश्य भने मैथिली भाषाको प्रयोग घरघरमा होस्, मिथिलाका बालबच्चा मातृभाषामा बोलून्, जसका लागि आमाहरूलाई जागरुक गराउन आवश्यक थियो । र अर्को मूल उद्देश्य मिथिलानीमा आत्मविश्वास जगाउनु पनि थियो । आत्मनिर्भर कसरी हुने आदि थुप्रै सवालहरू रहेको आरती बताउनुहुन्छ ।
मिथिलाको अन्तराष्ट्रिय सम्बन्ध
नामअनुसार नै पुरुषहेतु भने सखी–बहिनपाको द्वार खुल्ला छैन । यसमा नारीको उपस्थिति मात्र छन् । नेपाल र भारतबाहेक विदेशमा बस्ने प्रवासी महिलाहरू पनि यस समूहमा आवद्ध हुनुहुन्छ । संस्थासँग नेपाल–भारतका मिथिला क्षेत्र लगायत मलेशिया, अमेरिका र स्ट्रेलियाका साथै सिंगापुर समेत अन्य थुप्रै देशमा छरिएर रहनुभएका मैथिल महिलाहरू सक्रिय सहभागिता रहेको छ ।
ब्रह्मणवादको आरोप
यस समूहमा ब्रह्मण महिलाकै संख्या अधिक रहेको आरोप रहेको बेलाबेलामा सुन्ने गरिन्छ । जब कि मिथिला–मधेशको सामाजिक संरचना हेर्दा अन्य जाति र समुदायकी महिललाई स्थान उपलब्ध हुनुपर्ने हो, सीमान्तकृत महिला प्राथमिकताकासाथ जोड्नुपर्ने हो । उहाँहरूका कला, हस्तकलालाई एक्सपोजर दिनुपर्ने होइन र भनि प्रश्न छ ।
त्यसमा आरती भन्नुहुन्छ, “तपाईंको अन्य जातीको सहभागिताको प्रश्नमा म यति भन्छु “सखी–बहीनपा’’ सम्पूर्ण मिथिलानीको साझा समूह हो । यसमा कुनै पनि जाति–धर्मको भेद गरिदैंन । जहाँसम्म संख्याको कुरा छ, हामी मैथिल लगभग छ करोड छौं । जसमा लगभग ५० प्रतिशत मैथिलानी (महिला) हुनुहुन्छ ।’ यद्यपि हालसम्म एक प्रतिशत मिथिलानीलाई यसमा समाहित गर्न नसकेको उहाँ बताउनुहुन्छ ।
पाक कला, सिकिकला, मिथिलाका रैथाने परिकारको व्यवसायिक प्रर्बधन र स्वरोजगार प्रति जागरूकता, विधवा विवाहको प्रयास, दहेज उन्मूलनको प्रयास, नारी शिक्षा एवं मातृभाषामा शिक्षा प्रति चेतना
भाषिक चेतना तथा आफ्नो अधिकार प्रति जसरी–जसरी सजग हुनुहुनेछ त्यसरी नै संख्यामा वृद्धि हुँदै जाने हो, कुनै जाती धर्मकै किन न होस् भनि बुझाई आरती झाको रहेको छ । सबै समुदायलाई जोड्ने प्रयासमा आफू रहेको बताउँदै उहाँले भन्नुभयो, ‘यस समूहमा सबैलाई समान एक्सपोजर उपलब्ध हुन्छ ।’
एक्सपोजरका लागि आरतीले बेलाबेला आन्तरिक रूपमै विभिन्न कलाको प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । त्यस्तै महिलाहरूलाई आन्तरिक क्षमता विकासका विभिन्न कक्षा सञ्चालन गर्ने, शैक्षिक, राजनैतिक र स्वस्थ्यसम्बन्धी परामर्श पनि उपलब्ध गराउँदै आउनु भएको छ । यसका साथै देश दर्शन, तीर्थाटन्लगायतका थुप्रै गतिविधि नियमित गर्दै आउनु भएको छ । जसका लागि उहाँले मिथिलानीसँग अनुरोध गर्नु भएको छ कि यो समूहमा अधिक संख्यामा जोदिनुस् । सखी बहिनपाको सदस्यता लिन आग्रह गर्दै यसलाई जातीधर्मको रुपमा नबुझ्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
सिपसँगै बजार व्यवस्थापन
संस्थाले विभिन्न शहरदेखि गाउँसम्ममा समूह गठन गर्दै एडमिन नियुक्त गर्छ । जसले विभिन्न स्थानको समूह संचालन गर्दै आएको छ । आरती भन्नुहुन्छ, ‘एडमिनको भूमिका कुनै पोस्ट छनोट गर्नु तथा मेम्बर रिक्वेस्ट रिव्यु गर्नु हो । यसका साथै भौतिकरूपमा हुने स्थानीय गतिविधिलाई पनि एडमिनकै निर्देशनमा चलाउने गरिएको छ ।’
यस संस्थाले प्रायः मिलन समारोहहरू गर्ने गरकोे छ, जसको फोटो र भिडियो विभिन्न सोसल साइटहरूमा देख्न सकिन्छ, यद्यपि त्यसको उपलब्धी के त ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । यस विषयमा उहाँ भन्नुहुन्छ, “विभिन्न स्थानमा सखी–बहिनपाहरूको मिलनले थुपै्र उपलब्धि प्राप्त भइरहेको छ, जस्तो ‘अरिपन प्रतियोगिता’, ’गायन प्रतियोगिता’, ’कवि गोष्ठी’, आदि ।

त्यस्तै पाक कला, सिकिकला, मिथिलाका रैथाने परिकारको व्यवसायिक प्रर्बधन र स्वरोजगार प्रति जागरूकता, विधवा विवाहको प्रयास, दहेज उन्मूलनको प्रयास, नारी शिक्षा एवं मातृभाषामा शिक्षा प्रति चेतना । साथै केही मैथिल महिलाहरू आफ्नो हस्तनिर्मित कला र रैथाने परिकार अदौरी–कुम्हरौरी(मस्यौरा), पापड, खजुर–पलकिया, ठकुवा, अचारलगायतका परिकार बनाएर बजारसम्म पुर्याउन सक्षम हुनुभएको आरतीले जानकारी दिनुभयो । सखीबहिनपाको समूह नै पनि उहाँहरूका लागि आन्तरिक बजार बनिदिएको छ ।
त्यस्तै मिथिला चित्रकला बनाइएका ब्याग, पर्स, साडीका साथै खादा, पाग–दोपटा र विवाहका अनेक विधिका समाग्री बनाएर कमाइ गरिरहनुभएको छ । यसका साथै बोल्नमा, संस्था संचालनलगायतका विभिन्न क्षेत्रमा अग्रणी हुनुभएको छ ।
मिथिलानी आफ्नो घरम मैथिली बोल्न छोड्दै जानुभएको थियो, बालबच्चाले मातृभाषामा बोल्दैन्थे तर संस्थासँग जोडिएपछि सबैले घरमा र परिवारमा मातृभाषामा बोल्न थाल्नुभएको अनुभव आरतीले सुनाउनुभयो । “सखी–बहिनपा“मा मिथिला चित्रकला केही सखीहरूद्वारा सिकाइन्छ जसको व्यावसायिक लाभ सखीहरूलाई हुन्छ नै । साड़ी तथा अन्य वस्त्रमा मिथिला पेटिंगको माँग निकै बढेको छ । हस्त कलालाई प्रोत्साहित गर्दै सखीहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरेको आरतीको बुझाई छ ।
यति विशाल महिला समूहलाई एकसाथ लिएर हिँड्नु र संस्थालाई व्यवस्थित संचालन गर्नुमा केकस्ता चुनौतिहरू सामना गर्नुपर्छ भन्ने हाम्रो एक प्रश्नमा उहाँ भन्नुहुन्छ, “म आफूलाई सौभाग्यशाली मान्छु कि मैले थुप्रैको स्नेह, प्रेम र सद्भाव पाइरहेकी छु । त्यहीभएर समूह व्यवस्थित संचालनमा कुनै त्यस्तो ठूलो विघ्न–बाधाको सामना गर्नुपर्दैन ।
सबैलाई जोड्ने प्रयास
आरतीको योजनाअन्तर्गत प्रायः सम्पूर्ण मिथिलानीलाई सखीबहिनपामा समावेश गर्ने हो, सबै जाती र समूदायलाई जोड्दै लाने हो । त्यस्तै सक्दो धेरै स्थानमा मैथिलानी मिलन तथा कार्यक्रमक संचालन, स्वरोजगार एवं मैथिलीमा शिक्षा संचालनको प्रयास तथा राजनीतिक प्रतिनिधित्वमा सहभागीता बढाउने योजनाहरू रहेको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया