Khadya Bibhag

नेपाल सद्भावना पार्टी र मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) बीच पार्टी एकिकरण सम्बन्धि सहमतिपत्र

स्व.गजेन्द्रनारायण सिंहको नेतृत्वमा स्थापित र अनिल कुमार झाको अध्यक्षतामा रहेको नेपाल सदभावना पार्टी देश र मधेशको राजनीतिमा क्रियाशिल रहेको तथ्य विदितै छ । त्यसैगरि सशस्त्र संघर्षका माध्यमबाट मधेश, मधेशी र मधेशवादका खातिर विगत लामो समयदेखि संघर्षरत रहदै नेपाल सरकारसँग वार्ता प्रक्रियामा रही शान्तिपूर्ण राजनीतिमा अवतरण गरिसकेको र सदियौंदेखि बहिष्करणमा पारिएका जनसमुदायहरुका लागि संघर्षशिल सम्पूर्ण राजनीतिक दलहरुका बीच एकिकरण गर्ने पवित्र उद्देश्यका साथ राजनीतिक संघर्षमा रहेको मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) आज मिति २०७२ भाद्र ७ गते सोमवारका दिन उक्त दुबै पार्टी अर्थात नेपाल सद्भावना पार्टी र मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) बीच अहिंसक, शान्तिपुर्ण र लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा राजनीतिक संघर्षका माध्यमबाट भविष्यको राजनीतिक यात्रा गर्दै लक्ष्यमा पुग्ने सहमतिका साथ दुबै पार्टीका अध्यक्षको हस्ताक्षर भइ निम्न सर्त अनुसार पार्टी एकिकरण गरियोः
तपसीलः
१.पार्टीको नामः दुबै पार्टी एकिकरण पश्चात् पार्टीको नाम नेपाल सद्भावना पार्टी हुनेछ ।
२.पार्टी को चुनाव चिन्हः हाल नेपाल सद्भावना पार्टी को चुनाव चिन्ह रहेको हात हुनेछ ।
३.पार्टीको झण्डाः माथि रातो, बिचमा सेतो तथा तल हरियो हुने गरि तिरंगा हुनेछ । बिचको सेतो भागमा हातको चिन्ह अंकित रहनेछ । अर्थात हाल नेपाल सद्भावना पार्टीको प्रयोगमा रहेको झण्डा नै एकिकृत पार्टीको झण्डा हुनेछ ।
४.पार्टीको विधान र दस्तावेजः दुबै पार्टी एकिकरण भए पश्चात हाल नेपाल सद्भावना पार्टीले प्रयोग गरिरहेको विधान, घोषणापत्र, नियमावली लगायतका दस्तावेजहरु नै एकिकृत पार्टीको आधिकारीक दस्तावेज रहनेछ । पार्टी महाधिवेशनका समयमा मधेश राष्ट्र जनतान्त्रिक पार्टीको ऐतिहासिक पक्षलाई समेत समेटेर दस्तावेजीकरण गरिनेछ ।
५.पार्टीको संघीय कार्य समितिः एकिकरण पश्चात कायम रहने नेपाल सद्भावना पार्टीको संघीय कार्य समितिलाई यथावत राख्दै मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)का प्रमुख नेताहरुलाई एकिकृत पार्टीको संघीय कार्य समितिमा सम्मानजनक र उचित स्थान दिइनेछ ।
६.एकिकृत पार्टीको तल्लो निकाय र कार्य समितिः एकिकृत पार्टीको जिल्ला, क्षेत्रिय, नगर र गाउँ कार्यसमिति तथा वर्गीय मञ्चहरुमा एकिकृत हुने मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)का पदाधिकारी र क्रियाशिल सदस्यहरुलाइ सम्मानजनक र उचित स्थान दिइनेछ ।
७.एकिकृत पार्टीले युद्धकालमा मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) को झण्डा मुनी रहेर शहादत वरण गर्नुभएका नेता तथा कार्यकर्ताहरुलाई शहिद घोषणा र शहिद परिवारको उचित सम्मान गर्नेछ ।
८.एकिकृत पार्टीले युद्धकालमा मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) को झण्डा मुनी रहेर मधेश मुक्तिका लागी लडाई लडनुभएका र हाल जेल जीवन बिताइरहनुभएका योद्धाहरुको शिघ्र रिहाईका लागी पार्टीको तर्फबाट आवश्यक पहल र समुचित सहयोग गरिनेछ ।
राम नारायण यादव (रणवीर सिंह)
अध्यक्ष, मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)
अनिल कुमार झा
अध्यक्ष, नेपाल सद्भावना पार्टी
२०७२ भाद्र ०७

तपाईको प्रतिक्रिया