देउवा, प्रचण्ड र ओलीको अनुहार लिएर भोट माग्ने अवस्था छैन
१६ पुष २०८२, बुधबार ००:४०
–सुरेन्द्र चौधरी, वैकल्पिक राजनीतिक अभियन्ता
मधेशी र थारुको अधिकार तथा पहिचानका लागि विभिन्न अभियान चलाउनु भएका सुरेन्द्र चौधरी रेशम चौधरीलाई जेलबाट निकाल्न देशव्यापी अभियान मात्र चलाउनु भएन उहाँले मधेशी र थारुलाई मिलाउने अभियान पनि चलाउनु भयो । मधेश तथा थरुहटका हरेक नेताको घरघर गएर थारु–मधेशीलाई मिलाउने अभियान चलाउनुभयो । केही हदसम्म उहाँ सफल पनि हुनुभयो । उहाँकै अभियानका कारण रेशम चौधरी रिहा हुनुभयो । पछि रेशम चौधरीसँग मिलेर नागरिक उन्मुक्ति पार्टी पनि गठन गर्नुभयो । केही समय पछि उहाँ त्यो पार्टी छाड्नु भयो र वैकल्पिक राजनीतिक अभियानमा लाग्नुभयो । त्यही अभियानमा लागेका कारण काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले बोलाएर उहाँलाई सहकार्यका लागि प्रस्ताव गर्नुभएको थियो । तर के भयो किन सहयकार्य गर्नुभएन, सहकार्य कसरी हुन्छ, अबको दिशा के लगायतका विषयमा सुरेन्द्र चौधरी जो विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा काम गरिसक्नु भएको छ उहाँसँग सहारा टाइम्सले कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंश ।
कुरा हामी कहाँबाट सुरु गर्छौं भने तपाईँ पनि पुस १० गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेट्नुभएको थियो । खासमा त्यो दिन उहाँसँग तपाईको के कुराकानी भयो ?
–उहाँ (बालेन)लाई दुई–तीन वटा कुराहरू सुझाव दिएको थिएँ । पहिलो सुझाव भनेको वैकल्पिक राजनीति गर्नुहुन्छ भने वैकल्पिक राजनीतिको जुन चरित्र हुन्छ, पहिला त्यसको डीएनए निर्माण गर्नुपर्छ । हामीले विगतमा नयाँ शक्तिलाई वैकल्पिक पार्टी भनेर बनाउँदाखेरि त्यो वैकल्पिक शक्ति पुराना दलहरू जस्तै बन्न गयो, त्यसको डीएनए निर्माण हुन सकेन । अनि वैकल्पिक शक्तिको डीएनए निर्माण भएन भने त्यसले फेरि कुनै एउटा नयाँ दल थपिने काम मात्रै हुन्छ, त्यसले कुनै दलको स्वरूप ग्रहण गर्दैन । तपाईँ अब साच्चिकै राजनीति गर्ने हो भने जुनसुकै पार्टीमा जानुस्, त त्यो पार्टीमा वैकल्पिक राजनीति भनेको पुराना दलहरूको भन्दा फरक संस्कारको चरित्र निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएको थिएँ ।
दोस्रो, पहिचान भन्ने कुरा स्वाभिमान हो, त्यसरी बुझ्नुपर्छ र नयाँ नरेटिभ क्रिएट गर्नुपर्छ । पहिचानलाई इग्नोर गर्नु हुँदैन । धार्मिक, भाषिक, सांस्कृतिक, जातीय, सामुदायिक जे–जति पहिचान छन्, त्यो हरेक मानिसको, समुदायको त्यो गौरव हुन्, त्यो स्वाभिमान हुन् । त्यसलाई हामीले स्वीकार्नुपर्छ । र तेस्रो, पार्टी निर्माण गर्दाखेरि सधैँभरि सामाजिक सद्भावको कुरा याद राख्नुपर्छ । कुनै पनि अभियानमा जानेबित्तिकै विभिन्न किसिमको भड्काउपूर्ण भाषालाई सामाजिक सद्भावसँग जोडेर हेर्ने गरिन्छ त्यसबाट जोगिनुपर्छ । यो सबैको देश हो साझा देश हो भन्ने आफ्नो सहभागिताको कुरा गर्दाखेरि त्यसलाई सामाजिक सद्भाव भड्काएको भनेर पुराना दलहरूले प्रोपागाण्डा फैलाएको हामीसँग प्रत्यक्ष अनुभव छ । सामाजिक सद्भाव भनेको धेरै बृहत् कुरा हो, व्यापक कुरा हो र यो सह–अस्तित्व पनि हो, सहकार्य पनि हो, सबैको सम्मान पनि हो, मिलेर बस्ने पनि हो । पहिलो सर्त सामाजिक सद्भाव भनेको विभेदरहित समाजको निर्माण हो । जहाँ विभेद हुन्छ त्यहाँ सामाजिक सद्भावको कल्पना गर्न सकिँदैन । यी कुरालाई तपाईँले गहन रुपमा बुझ्नु होला भनेको थिए ।
त्यसपछि समृद्धिको कुरा भनेको थिएँ। तपाईँहरू उठाउँदै आएको विषय समृद्धि हो । समृद्धि भनेको धनी हुनु मात्रै होइन । आर्थिक समृद्धिको कुरालाई मात्रै आर्थिक समृद्धि भनिँदैन, नत्र भने नेपाली कांग्रेस जस्तै भइन्छ । कांग्रेस एउटा लिबरल डेमोक्र्याटिक पार्टी भनेर आफूलाई भन्छ, तर उसले लिबरल डेमोक्रेसी भनेको लिबरल इकोनोमी मात्रै त्यसको पहिचान बन्यो । लिबरल सोसाइटीको अवधारणालाई नेपाली कांग्रेसले बिर्सियो । त्यसकारण तपाईँले समृद्धिको कुरा गर्दाखेरि खाली धनी हुनु, धनी बन्नुको मात्रै कुरा होइन भन्ने फराकिलो बुझाइ बनाउनुपर्छ । समृद्धि भनेको तीन–चार वटा यसका खम्बाहरू छन् । त्यो नभइकन समृद्धिको परिभाषा अपूर्ण हुन्छ । पहिलो भनेको धनी हुनु पनि हो, समृद्धिको एउटा महत्वपूर्ण खम्बा हो । दोस्रो पिलर भनेको समृद्धिको समावेशी लोकतन्त्र हो । त्यसपछि सुशासन हो । यी आदि कुराहरूलाई समष्टिगत रूपमा समृद्धि भनिन्छ । तपाईँहरू पनि राजनीति गर्ने मान्छे र यसलाई व्यापक बुझ्नुपर्छ । अहिले थरूहटले, मधेसले, आदिवासी जनजाति, दलित लगायतको समुदायले जे–जति मुद्दा उठाए, नारा लागे सडकमा, ती बुझाइलाई मधेसी दल जस्तो, थारु दलले जस्तो तपाईँले बोल्नु जरुरी छैन । तर समृद्धिको बुझाइमा उहाँहरूको भावनालाई सम्बोधन गर्न सक्नुपर्छ लगायतका सुझाव दिएका थिए ।
उहाँको प्रतिक्रिया के थियो त्यसपछि ?
–उहाँले यो कुरामा म एकदमै सहमत छु, यसमा अझै विभिन्न चरणमा छलफल गरेर यसको बुझाइलाई व्यापकता लैजानुपर्छ भन्ने उहाँको भनाइ थियो र यसमा उहाँ सहमत देखिनुभएको छ ।
पछिल्लो समय यो कुलमान, बालेन र रवि बिच भएको सहमतिहरु बाहिर आउँदा उहाँहरू पहिचान, संघीयता, लोकतन्त्र, गणतन्त्रप्रति त्यति गम्भीर देखिनुभएको छैन । तपाईँसँग कुराकानी हुँदा त्यो छनक पाउनु भयो कि भएन ?
–होइन, बालेन जीकोमा त्यो बुझाइ एकदमै प्रष्ट देख्छु । उहाँले भन्नुभयो, ‘म संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र, यी तीन कुरासँग कुनै सम्झौता गर्दिन भने कुरामा उहाँ एकदम दृढ देखिनुहुन्छ । यो कुरामा उहाँको बुझाइमा मैले त्यस्तो कुनै शंका गर्नुपर्ने कुराको छनक पाइनन् । अब कुलमान जीको सवालमा उहाँको पार्टी (उज्लायो नेपाल)कै दस्तावेजमा संघीयता, समावेशी लोकतन्त्रको कुरा उल्लेख गर्नुभएको छ । त्यसैले उहाँहरुमाथि अहिले नै शंक ागर्ने अवस्था मैले देखेको छैन ।
तर उहाँहरूको बिचमा भएको सम्झौता पत्र हेर्दाखेरि संघीयता, समावेशी लोकतन्त्र तथा गणतन्त्र कुराको कतै संकेत गर्नुभएको छैन । त्यहाँ शंका गर्ने ठाउँ छ नि ?
–हो, ती सम्झौतापत्रमा ती कुराहरु किन मेन्सन गर्नुभएन त्यो थाह भएन गर्नुपर्ने थियो । त्यो सायद छुट्यो होला, हतारमा बिर्सिनुभयो होला । र मलाई लाग्दैन यो देशमा कुनै पनि दल वैकल्पिक राजनीति गर्ने मान्छेहरूले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतासँग सम्झौता गरेर जान सक्छ । यो बटमलाइन हुनुपर्छ । यो भन्दा बाहिर कसैले पनि वैकल्पिक राजनीति सोच्न पनि हुँदैन । मैले पनि उहाँहरुसँ कुराकानी गर्दा त्यस्तो कुनै शंका गर्ने ठाउँ पाइन्न् ।
उहाँहरु बिच एकता हुँदा नेपालको राजनीतिमा तुफान आएको जस्तो देखिन्छ, वास्तमा तुफान नै आएको हो अब आँधीबेहरी आउँछ त तपाईलाई के लाग्छ ?
–यी सबै कुराको टेलर जेनजी आन्दोलनले देखाइ सकेको छ । जेनजी आन्दोलन पुराना दलको कारण भएको हो । उनीहरूले ल्याएको बेथिति, उनको अकर्मण्यता, उनको अदूरदर्शिताले गर्दा जेनजी आन्दोलन भएको हो । त्यसकारणले अहिले तपाईँले भन्या जस्तो अब कुलमान घिसिङ, बालेन या रविहरू एक ठाउँमा आउँदाखेरि अब आउने दिनहरूमा जेनजीले उठाएको मुद्दालाई कसरी कार्यान्वयन गर्छन् त्यसमा आउने दिन तथा राजनीतिमा आउने तुफानको आँकलन गर्न सकिन्छ । अहिले नै राजनीति तुफान आउछ त्यो म भन्न सक्दिन । वैकल्पिक शक्तिले आउने दिनमा कसरी काम गर्छ त्यसमा भर पर्छ ।
यो पुराना शक्तिहरू डराएका हुन् यी अहिलेका नयाँ शक्तिहरूसँग ?
–डराएका पनि हुन्, सिद्धिएका पनि हुन् । तपाईँ कुनै पनि तरिकाले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाको अनुहार लिएर भोट माग्न जान सक्नुहुन्न । यो सत्य कुरा हो । उहाँहरूले विभिन्न कुरा भन्न सक्नुहोला, दाबी गर्न सक्नुहुन्छ होला । उहाँँहरूको संगठन छ । वडासम्म उहाँको कमिटीहरू छन् मान्न सकिएला तर राजनीतिमा कतिपय कुराहरूले के देखाउँछ भने अमूर्त हुन्छ, एब्स्ट्र्याक्ट फर्ममा हुन्छ, त्यसलाई महसुस मात्रै गर्न सकिन्छ । जसरी तपाईँको वरिपरि हावा छ, तपाईँले फिल गर्नुभयो हावा चलेको फिल गर्नुहुन्छ, तर देख्नुहुन्न त्यसको रङ्ग कस्तो छ, त्यसको स्वरूप कस्तो छ, त्यसको रूप कस्तो छ, आँखाले देखिँदैन तर फिल हुन्छ । त्यसकारणले हरेक मानिसले सर्वसाधारणले त्यो फिल गरिराखेको छ, कुनै नेताले गर्नुपर्छ भन्ने छैन । नयाँ दलहरूको अगाडि अब यिनी पुराना भनाउँदा दलहरूको खासगरीकन तीन जना नेताहरूको अनुहार बोकेर कोही पनि निर्वाचनमा जान सक्ने अवस्था छैन अहिले । भोट माग्न त जसले पनि पाउँछ, तर भोट पाउने अवस्था छैन अहिले ।
पुराना शक्ति समाप्त नै हुने भयो, तपाईँको विचारमा होइन ?
–हो समाप्त भयो । समाप्त हुन्छ र मलाई डर लागेको के हो भने यिनीहरूले कतै निर्वाचन त विथोल्ने होइनन् ? भोलि थारुका अनुहारहरू, मधेसका अनुहारहरू, युवाहरू पनि यो वैकल्पिक राजनीतिमा कुलमान, बालेन, रविहरू जोडिए जस्तै जोडिनुभयो भने कतै यिनीहरूले अब निर्वाचन सक्दैनौँ, हार्ने चुनाव किन लड्ने भन्ने मानसिकताले तीन वटा दलहरू बसेर निर्वाचन नहुने या हुन नदिने षड्यन्त्रमा जान्छन् कि भन्ने डर छ ।
त्यही डरको कारण अहिले पुराना शक्तिहरू अहिले एकीकृत भइराखेका हुन् त ?
–त्यस्तै देखिएको छ । कम्युनिस्टले कांग्रेसका लागि भोट दिने, कांग्रेसले कम्युनिस्टलाई भोट दिने भन्ने दुनियाँमा कतै नभएको चिज यही देशको चुनावमा भइरहेका छन् । अहिले फेरि त्यो दोहो¥याउन गइरहेका छन् तिनीहरूले । प्रचण्डले देउवालाई भन्छ मिलेर लडौँ, त्यसपछि ओलीले देउवालाई भन्छन् या देउवाले ओलीलाई भन्छन्, यो त ठूलो ठगी धन्दा हो । कम्युनिस्टको नाममा पार्टी खोल्ने, कांग्रेसको नाममा पार्टी खोल्ने, अनि कांग्रेसले कम्युनिस्टलाई भोट दियो । कम्युनिस्टले कांग्रेसलाई भोट दियो । अर्कोतिर मधेसमा पनि त्यही चरित्र देखिँदैछ । उहाँहरू पटक–पटक मिल्नुभएको र पटक–पटक फुट्नुभएको हो । मधेसमा उपेन्द्र यादव जीले मधेसको विद्रोह गरिसकेपछि मधेसको शक्ति निर्माण भएको हो । बाँकी सबै त्यसका उपजहरू हुन् । उनीहरूले आफैँ शक्ति निर्माण गरेका मानिस होइनन् । उपेन्द्र जीले विद्रोह गरिसकेपछि उनीहरु त्यसमा मिसिएका छन् । त्यसपछि पटक पटक फुटे, पटक पटक जुटे । मिल्नु भनेको त सैद्धान्तिक रूपले सोच विचार र छाती चौडा गरेर आत्मसम्मान सबैको अस्तित्व स्विकार गरेर मिल्ने कुरा हुन्छ । उनीहरुको एजेन्डामा मैले कुनै फरक देख्दिन तर कहिले मिल्छन्, कहिले फुट्छन् । समस्या उनीहरुको चरित्रमा छ, उनीहरुको स्वार्थमा समस्या छ । त्यसकारणले त्यो मिल्नु र फुट्नुको कुनै अर्थ नै छैन ।
पछिल्लो समय थारु राजनीतिमा पनि त्यस्तो देखिएको छ । केही समय तपाई संलग्न नागरिक उन्मुक्ति पार्टीको पनि हालत त्यस्तै छ । एउटा समूह नेकपामा मिसिसक्यो, अर्को चाहिँ कुनै दलमा मिसिने तरखरमा छ । यो खालको स्थिति किन उत्पन्न भयो ?
–यो ठगी गरेर पसल चलाउनेहरूले जस्तै हो । मधेसतिर पनि छ, हाम्रोतिर पनि छ सहरहरूमा । ठेलामा बेच्छ के एउटा खानेकुरा । पिठोमा अदुवादेखि लिएर सबै कुरा खुर्सानी मिक्स गरेको पिठोलाई आगोमा पोलेर बेच्छ । अनि जाडो महिनामा त खान मन लाग्छ मान्छे तातो भइरहनका लागि खान्छ । बेच्ने मान्छेले “भाइसाहब एक रुपैयाँ मे दो मजा, एक रुपैयाँ मे दो मजा ।’’ त्यसपछि मान्छेलाई लाग्छ “यो कस्तो मान्छे रहेछ, एक रुपैयाँमा दुई मजा भन्दैछ, कस्तो चिज रहेछ ?’ हेरौँ न त, खाऊँ न त, ट्राई गरौँ न त, एक रुपैयाँमा दुई मजा । त्यसपछि एक रुपियाँ दिएर खान्छन् खाइसकेपछि तपाईँलाई कान फुट्ने गरी आँखाबाट आँसु आउन थाल्छ पिरोले । अदुवाको, लसुनको, खुर्सानीको पिरो सबै त्यसमा हुन्छ । त्यसपछि एकछिन तपाईँले सोध्नुहुन्छ, “भाइसाहब क्या आपने तो कहा था दो मजा, इसमें तो कुछ मजा ही नहीं आया!“ “अरे भाइसाहब जो आपका हो रहा है ना, जो आँख से आँसु निकल रहा है, कान फुट रहा है, इतना ज्यादा कडुवा हो गया, लगा ना ? वो मजा है वो । उसके बाद दूसरा मजा आप कल पैखाने में जाएँगे तो मजा आएगा ।“ सो एक रुपैयाँमा दुई मजा, उल्लु बनाइहाल्यो ।
हो त्यस्तै नारा घन्काएर पसल खोलेर चलाउनेहरू हुन् के तिनीहरू । जय थरुहट भन्दै म यो गर्दिन्छु त्यो गर्दिन्छु । त्यसपछि त तपाईँ जसरी तपाईँले एक रुपैयाँमा दुई मजा भन्ने कुरालाई एक पटक खाएपछि दोस्रो खानुहुन्न नि । एक पटक त थारुहरु उल्लु बने । अब बन्दैनन् । तीन वर्ष अगाडि भनेको थिएँ, म जुन बेला नागरिक उन्मुक्ति पार्टी छोडेका थिए । त्यसको भोलिपल्ट मैले टेलिभिजनमा भनेको थिएँ यो पार्टी २०८४ सम्ममा विघटन भइहाल्छ । लेखेर राख्नुस्, म डेटसहित गतेसहित लेख्नुस् भनेको थिए र नागरिक उन्मुक्ति पार्टी त्यही अवस्थामा पुगेको छ । अब उनीहरु विभिन्न नाममा फेरि जाँदै छन्, कोही माओवादीमा गए, कोही कता जाँदैछन् । र यी सबै रेशम र रञ्जिताको सल्लाहले भइराखेका छन् । धेरै थारुहरू लोग्ने स्वास्नीको झगडा छ भन्छन् । उहाँसम्म कि मधेसवादी दलहरू पनि उनीहरुको गुमराहमा छन् । रेशम भन्नेको ब्रान्ड हो थारुमा भन्ने भ्रममा छन् । रेशम चौधरीको देशभरिबाट रेशम चौधरीको नाममा ३५ हजार भन्दा बढी भोट नै आउँदैन, लेखेर राख्नुस् ।
त्यसोभए अब जसरी ७९ को चुनावमा वैकल्पिक शक्तिहरूको रूपमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत केही पार्टीलाई जनताले पत्याएका थिए र ती सबै समाप्तको तरखरमा छन्, अब फेरि बन्ने नयाँ वैकल्पिक शक्तिमा कसरी विश्वास गर्ने ?
–विश्वास भन्ने कुरा त अब भविष्यवाणी कहाँ कसलाई के गर्न सकिन्छ र ? तर सबैभन्दा ठूलो कुरा त विश्वास हो नि । विश्वास भएन भने त केही पनि हुँदैन, मान्छे बाँच्ने भनेकै विश्वासले हो । तपाईँ एक पटक फेल हुनुहुन्छ त्यसपछि अर्को पटक तपाईँ जाँच किन दिनुहुन्छ ? किन तपाईँले विश्वास के हुन्छ भने अर्को पटक म सक्छु । विश्वास भएन भने त आशा मर्यो भने त त्यो सिद्धिएको हो, मरेको हो । त्यसकारणले त विश्वासको कुरा हो । अब भोलिका दिनमा हेर्दै जाऔँ राम्रै होला भनि मलाई लाग्छ उहाँहरूको तीनै जना बालेन, कुलमान, रवि जीहरू बस्दाखेरि विगतका पाठहरू उहाँले सिक्नुभएको छ, झेल्नुभएको छ, त्यो कुरा नै सबैभन्दा ठूलो टिक्ने आधार हुन्छ जस्तो लाग्छ ।
उहाँहरूसँग तपाईँको सहकार्यको सम्भावना कतिका छन् ?
–धेरै छन्, सम्भावना छ । म त यो देशमा कांग्रेस, एमाले, माओवादी चाहिँ नष्ट गर्नुपर्छ भन्ने पक्षमा छु । यिनीहरूलाई नष्ट गर्न सकिएन भने यिनले देश नै नाश गर्दिन्छन् । त्यसकारणले देशलाई बचाउनु छ, जोगाउनु छ, एउटा लोकतन्त्रलाई ट्रयाकमा ल्याउनु छ भने यिनी तीनै पार्टीलाई नष्ट गर्नुपर्छ । त्यसकारणले नष्ट गर्नको लागि चाहिँ जो–जो लोकतन्त्रको लागि समावेशी लोकतन्त्रका पक्षधरहरू छन्, त्यसपछि आउने दिनको एउटा जसले राष्ट्र निर्माणको प्रक्रिया सुरु गरेर स्टेट क्राफ्टिङको सपना देखिराछ, त्यो काम पूरा गर्नलाई यी तीन वटा दल बाधक हुन् । यिनी तीन वटा दललाई नष्टै गर्नुपर्छ ।
तपाईँसँग विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुमा काम गरेको अनुभाव छन्, देशमा जुन परिवर्तन आयो, भदौ २३, २४ को आन्दोलन भयो यी सबै भूराजनीतिका कारण भएको भनाई पनि आइरहेका छन् तपाईको अनुभव के छ ?
–विगतमा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा लामो समयसम्म काम गरेको अनुभवको आधारमा भन्नुहुन्छ भने यो अहिले जुन राजनीतिक परिस्थिति उत्पन्न भयो यो देशमा, जेनजी आनदोलन भयो यी सबैैमा कुनै भूराजनीतिको प्रभाव छैन । अर्थात कुनै संलग्नता छैन । नेपालमा पहिलो कुनै राजनीतिक विद्रोह भएको छ भने अर्गानिक, नेपाली जनताले आफ्नो बलबुतामा भएको विद्रोह जेनजी विद्रोह नै हो । यसमम कुनै पनि देश अर्थात भारत, चीन या अमेरिकालाई दोष दिन मिल्दैन । यो स्वस्फूर्त भएको हो । विगतमा लोकतन्त्रको लडाइँमा, गणतन्त्रको लडाइँमा छिमेकी राष्ट्रले देखाएको सदासयता, सहयोग, सद्भावलाई स्मरण गर्न सकिन्छ तर जेनजी आन्दोलनमा कसैको साथ सहयोग थिएन । जसरी मधेस आन्दोलन स्वस्फूर्त भयो, जसरी थरूहट आन्दोलन स्वस्फूर्त भयो, त्यसरी नै यो जेनजी विद्रोह स्वस्फूर्त भएको हो ।
भन्नाले अहिलेको पोलिटिक्स जुन दिशामा गइरहेको छ त्यो सही हो त ?
–मैले त सुरुमै भनेको छु आजको दिनमा नेपालको राजनीति भनेको कम्पास हराएको राजनीति हो । कम्पासविहीन राजनीति हो । सुशीला कार्कीले को सरकार गठन गर्दाकै प्रक्रियामा चुक्नुभएको छ उहाँहरू । संसारमा धेरै ठाउँमा म राजनीतिक विद्रोह भइसकेपछि निर्वाचनहरूमा सहभागी भएको छु, द्वन्द्व निरूपण गर्न संयुक्त राष्ट्रसंघको तर्फबाट म धेरै देशहरूमा हेरेको छु । जहाँ यस्तो खाले ठूलो विद्रोह हुन्छ, राजनीतिक विद्रोह पछिको ६ महिनामा कहिँ पनि निर्वाचन हुँदैन । त्यो सुशीला कार्कीले के देखेर गर्नुभयो थाहा भएन । प्रधानमन्त्रीको कुर्सी र दुई–चार जना केही मन्त्री बनाएर सरकार चलाउनु र निर्वाचन गराउनु सोच्नुभएको थियो, त्यही नै उहाँको स्टेप बिग्रेको हो । कम्पास हराइसकेको छ भने त कुनै बेला पनि दुर्घटना हुन सक्छ ।
तपाईको प्रतिक्रिया