महेन्द्र राजमार्गदेखि ३०–४० किलोमिटर दक्षिण भारत बिहार बोर्डरकै किनारमा अवस्थित बरियारपट्टी गाउँपालिका– श्रीपुरका २१ वर्षीय सत्यनारायण साफी एमबीबीएसको फुल स्कलरसीपमा नाम निकाल्न सफल भएपछि उहाँको चर्चा नेपालमा मात्र होइन, अन्तराष्ट्रिय रुपमा भइरहेको छ । उहाँको चर्चा यसकारणले भइरहेको छैन कि दलित भएर पनि एबीबीएसमा नाम निकाल्न सफल हुनुभयो अब दलितका छोरा पनि डाक्टर हुनेभएछ, कारण यो हो कि उहाँ गरिब परिबारका हुनुहुन्छ र मजदुरी गरेर भएपनि आफ्नै मेहनतले नाम निकाल्न सफल हुनुभयो ।
आफ्नो मेहनताले नाम निकाल्न सफल त हुनुभयो तर अब पढ्नका लागि उहाँको घरको आर्थिक अवस्थाले धान्न सक्दैन । यहाँसम्म कि कलेजमा बसेर पढ्नका लागि चाहिने कापी, किताब तथा अन्य खर्च तिर्ने अवस्था पनि छैन सत्यनारायण साफीको । तर विस्तारै सहयोगी हातहरु अगाडि बढी रहेका छन् । सहयोग जुटिरहेका छन् । उहाँ आर्थिक अवस्थाका कारण उहाँ पढाइबाट बन्चित हुँदैन भने कुरा लगभग निश्चित नै भएको छ ।
साफीको सफलतापछि देखिएको चौतर्फी सहयोगले नेपाली समाजमा अझै पनि मानवीय संवेदना जीवित छ भन्ने देखाएको छ । सञ्चारमाध्यम, सामाजिक अभियानी, स्थानीय जनप्रतिनिधि र राजनीतिक व्यक्तिहरूबाट आएको सहयोग सराहनीय छ । तर यसले अर्को प्रश्न पनि उठाउँछ । राज्यको छात्रवृत्ति पाएपछि पनि किन यस्ता विद्यार्थीलाई पढाइ निरन्तरताका लागि समाजकै भर पर्नुपर्ने अवस्था छ ? छात्रवृत्ति केवल भर्ना गर्ने माध्यममा सीमित नरही जीवनयापन र अध्ययन सहज हुने गरी व्यवस्थित हुन आवश्यक छ ।
सत्यनारायण साफी आज केवल एक विद्यार्थी होइनन्, उहाँ हजारौँ सीमान्तकृत युवाहरूका लागि आशाको प्रतीक बन्नुभएको छ । उहाँको यात्राले देखाएको छ, सही नीति, व्यक्तिगत संघर्ष र सामाजिक साथ मिलेमा परिवर्तन सम्भव छ । अब राज्यको दायित्व यस्ता सफलताहरूलाई अपवाद होइन, सामान्य बनाउने हो । अनि मात्र आरक्षणको सार्थकता र समावेशी लोकतन्त्रको अर्थ पूर्ण हुनेछ ।
जहाँ लाखौं रुपियाँ खर्च गरेर छोराछोरीलाई पढाउछन् तैपनि नाम निकाल्न सक्दैन त्यही सत्यनारायण साफीले दिनभर मजदुरी गरी रातभर पढेर डाक्टर पढ्नका लागि नाम निकाल्न सफल हुनुभएको छ । दिनभर मजदुरी र रातभर पढाइ, यो कुनै नारा होइन, साफीको जीवन संघर्षको वास्तविक चित्र हो । डाक्टर पढ्न मेहनत गरिरहेका अन्य विद्यार्थीका लागि पनि सत्यनारायण प्रेरणाको स्रोत बन्नुभएको छ । इच्छाशक्ति र लगनशिलता भयो भने जस्तोसुकै अवस्थामा पनि शिक्षा आर्जन गर्न सकिन्छ । सत्यनारायण साफीको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, यो नेपालको समावेशी नीति, विशेषतः आरक्षण व्यवस्थाको ठोस परिणाम पनि हो । विपन्न मधेसी दलित परिवारमा जन्मिएका साफीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न नाम निकाल्नु राज्यका नीतिहरू सही दिशामा प्रयोग भएमा सीमान्तकृत समुदायका सपनाले पनि आकार लिन सक्छन् भन्ने उदाहरण बनेको छ ।
काठमाडौंको कोचिङ सेन्टर छाडेर आर्थिक अभावकै कारण गाउँ फर्किन बाध्य हुनु, मजदुरीको कमाइबाट किताब किन्नु र जोगाएको पैसाले प्रवेश परीक्षा दिनु, यी सबै कुरा हाम्रो समाजमा अवसर र पहुँच कति असमान छन् भन्ने प्रमाण हुन् । तर यिनै कठिनाइका बिच उहाँले पहिलो प्रयासमै एमबीबीएसमा नाम निकाल्नु असाधारण मेहनत, धैर्य र दृढ संकल्पको परिणाम हो ।
नेपालमा पहिलो मधेस आन्दोलनपछि सुरु भएको आरक्षण व्यवस्था आज पनि बहसको विषय बन्दै आएको छ । तर साफीको कथा हेर्दा स्पष्ट हुन्छ, आरक्षण कुनै ‘अनुचित सुविधा’ होइन, ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायलाई प्रतिस्पर्धाको मैदानसम्म ल्याउने माध्यम हो । संविधान २०७२ ले व्यवस्था गरेको सकारात्मक विभेदले गरिब दलित, मधेसी, आदिवासी जनजातिका छोराछोरीलाई डाक्टर, इन्जिनियर, प्रशासक बन्ने ढोका खोलेको छ । यो संविधानको उज्यालो र गर्व गर्न लायक पक्ष हो ।


तपाईको प्रतिक्रिया