Khadya Bibhag

ओलीसँग मिल्न नदिन इतिहासको चिराचिरा

७५ वर्ष पुरानो पार्टी नेपाली काँग्रेस विभाजन भएको छ । काँग्रेस पार्टीको विशेष महाधिवेशने सो पार्टीका महासचिव गगन थापालाई सभापति बनाइ सकेको छ । अब शेरबहादुर देउवा अलग र गगन थापा अलग भएको हुनुभएको छ । अर्थात अब दुईटा काँग्रेस भएको छ । तर आधिकारिताको लागि कानुनी लडाइ अझै बाँकी नै छ । तर काँग्रेस किन फुट्यो ? नेतृत्वको लागि ? गगनलाई सभापति चाहिएर यो पार्टी पक्कै फुटेको होइन । पूर्णबहादुर खड्कालाई पार्टी सुम्पेर नेपाल छाडी सिंगापुर गइसक्नु भएका शेरबहादुर देउवा जसरी नेपाल फर्केर एमालेसँग गठबन्धनलाई निरन्तरता दिनुभयो, त्यसले गगन थापालाई झस्काइ दियो ।
अब पार्टी नेतृत्वमा नरहने तपाईहरु नै पार्टी चलाउनुस् भनेर महाधिवेशनसम्मका लागि पूर्णबहादुर खड्कालाई पार्टी जिम्मा लगाएर हिड्नु भएका देउवा पुनः फर्केर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जुनखालको हिमचिम बढाउनु भयो । त्यो गगन थापालाई मात्र होइन अन्तराष्ट्रिय शक्तिलाई पनि पचेको थिएन । जुन शक्तिले जेनजी आन्दोलन गराएर देउवा र ओलीलाई विस्थापित गरायो, त्यो शक्तिलाई पुनः देउवा–ओली गठबन्धन मन पर्ने कुरा नै भएन । सिंगापुरबाट फर्केपछि सबभन्दा पहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभापति देउवालाई गएर उहाँको निवासमा भेट्नुभयो र सो भेटले काँग्रेस–एमाले गठबन्धन पुनर्जिवित गरी त्यसलाई निरन्तरता दिने सहमति गर्नुभयो । यो त्यही गठबन्धन हो, जुन गठबन्धनको सरकारको विरुद्धमा जेनजी आन्दोलन भएको थियो र दुई दिनमै देश तहस नहस भयो । ७५ जना भन्दा बढी युवाले ज्यान गुमाउनु पर्यो । फेरि त्यही गठबन्धन बन्न लाग्दा, जेनजी आन्दोलन गराउने शक्तिलाई पचेन र गगन थापालाई अघि सारेर पार्टी नै कब्जा गर्न लगाइ दियो ।
गगन थापाले सभापति शेरबहादुर देउवासँग वार्ता गर्दा एउटै सर्त राख्नुभएको थियो, एमालेसँग गठबन्धन तोड्नुपर्ने । काँग्रेस पार्टीले एमालेसँग कुनै पनि प्रकारको गठबन्धन वा सम्बन्ध राख्नु हुँदेन भनि गगन थापाको माग थियो । एमालेसँग चुनावी तालमेल मात्र होइन, कुनै पनि प्रकारको सम्बन्ध राख्नु हुँदैन भनि गगन थापाको माग थियो तर देउवाले मान्नु भएन । एमाले अर्थात ओलीको साथ कुनै पनि हालतमा छाड्न सकिदैन भनि अडान देउवाले लिनुभएको थियो । देउवालाई लागेको थियो कि एमालेसँग गठबन्धन कायम राखेर चुनावमा गइयो भने दुवै दल मिलेर दुई तिहाई बहुमत ल्याउन सकिन्छ र फागुनपछि अर्को सरकारको नेतृत्व गर्न सकिन्छ । तर देउवाले मात्र चाहेर हुँदैन, जसले यो देशमा परिवर्तन गराउन चाहेको छ, जेनजी र नयाँ शक्तिलाई अगाडि ल्याउन चाहेको छ त्यो शक्तिलाई पनि मन पर्नुपर्ने हो ।
गगन थापाले विशेष महाधिवेशनको घोषणा गरेर पार्टीको बहुमत आफ्नो पक्षमा पारेर पार्टीको सभापति बन्नुभयो र देउवालाई एक्लाई दिनुभयो । देउवाका लागि यो जेनजी आन्दोलन–२ जस्तै भयो । जसरी देउवाले सोचेको भन्दा फरक ढंगले जेनजी आन्दोलन भएको थियो तर त्यसरी नै गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन भयो । र, अचानक हातबाट पार्टी गायब भयो । देउवा पक्षका नेताहरु कानुनी उपचार जाने भनिरहनु भएको छ । तर त्यहाँ पनि शुन्य हात लाग्ने गगन पक्षधर नेताहरुको दावी छ । देउवाले ओलीलाई छाड्न नमानेपछि यतिको पुरानो र ठुलो पार्टीको इतिहास चिराचिरा भयो ।

तपाईको प्रतिक्रिया