Khadya Bibhag

बालेनलाई मधेशले स्विकार गर्ने मुडमा छैन

–डा.सूर्यप्रसाद यादव
–अध्यक्ष, इन्टिलेक्चुअल फाउन्डेशन नेपाल
डा.सूर्यप्रसाद यादव भाषाशास्त्री हुनुहुन्छ । उहाँ तराई मधेशमा शैक्षिक जागरको अभियानमा लाग्नुभएको छ । इन्टिलेक्चुअल फाउन्डेसन नेपाल गठन गरेर तराई मधेशमा शिक्षाका लागि अभियान चलाउनु भएका सूर्यप्रसाद नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभाका सदस्य पनि हुनुहुन्छ । तराई मधेशमा बुद्धिजिवी सर्कलमा चिनिनु भएका सूर्यप्रसाद देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाली रहनु भएको छ । जेनजी आन्दोलनपछि देशको राजनीति कतातिर मूभ भइरहेको छ, त्यसको धरातलीय विश्लेषण गरिरहनु भएको छ । देशमा चुनावका चहल पहल बढेको छ । त्यसको मुख्य फ्याक्टर मधेश देखिएको छ । प्रस्तुत छ, सप्तरीको राजविराजमा बसेर यी सब कुरा नियाली रहनु भएका इन्टिलेक्चुअल फाउन्डेशन नेपालका अध्यक्ष डा.सूर्यप्रसाद यादवसँग चुनाव, मधेशको एजेण्डा, दलको गतिविधिलगायतको विषयमा सहारा टाइम्यसले गरेको कुराको सम्पादीत अंशः
अहिले युवाहरु धमाधम उम्मेदवारी घोषणा गर्दैछन्, यसपटक तपाईको उम्मेदवारी कहाँबाट हुन्छ ?
–होइन, म अहिलेको दौडमा छैन । र, म त्यो भिडको हिस्सा पनि बन्न चाहन्न जो भिडले जनतालाई दिग्भ्रमित गरिरहेको होस् । अहिले तपाई जति देखि रहनु भएको छ ती सबै भिड नै हो र त्यो भिडले जनतलाई भ्रमित गरिरहेको छ । त्यसबाट म टाढा नै छु । म स्थानीय तहको चुनावका लागि तयारी गरिरहेको छु । माथि टुप्पो जति हरियो भए पनि जडा बलियो भएन र त्यहाँ मलजल गरिएन भने त्यो टुप्पो चाँडै सुक्छ र त्यसको पात झर्छ । त्यो हारियो पात जो सुकेका हुन्छन् त्यो फेरि झरेर तल नै आउने हो । त्यसैले म ग्रासरुटको मान्छे, ग्रासरुटकै कुरा गर्छु । मलाई ठुलो कुरा गर्न आउदैन । अगामी स्थानीय तहको चुनावमा राजविराज नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिन्छु र त्यसको तयारीमा लागेको छु ।
तपाईले भिड र दिग्भ्रमितको कुरा गर्नुभयो यस्तो किन ?
–हो, अहिले जति पनि कुरा भइरहेका छन् ती सबै भिडको हिस्सा हो । मान्छे भिड र पपुल्यारिटीतिर दौडी रहेका छन् । न त्यसको दिशा स्पष्ट, न उद्देश्य स्पष्ट छ न गन्तव्य स्पष्ट छ । सिधै जता भिड गइरहेका छन्, त्यतैतिर सबै दौडी रहेका छन् । त्यस्ता भिडले कहिले काहीं दुर्घटना गराउँछ । भदौं २३ र २४ गते जेजनीले किन र केका लागि सहादत दिएका थिए ती सबै कुरा अहिले गौण भइसकेका छन् । अहिले कसैलाई सांसद चाहिएको छ भने कसैलाई प्रधानमन्त्री बन्नु छ । तर सांसद किन बन्नु छ, प्रधानमन्त्री किन बन्नु छ । त्यसको कुनै पनि कुरा स्पष्ट छैन । त्यसैले म भनिरहेको छु दिशाविहिन, एजेण्डा र विचारविहिन दौड भइरहेको छ । त्यसले धेरैलाई भ्रमित पारेको छ । र, अन्ततः त्यो दौडले दुर्घटना नै गराउछ ।
कस्तो दुर्घटना ?
–अहिले जुन जुन नयाँ नयाँ पार्टी देखि रहनु भएको छ नि, ती पार्टीको उद्देश्य स्पष्ट छैन । विचार, मुल सिद्धान्त स्पष्ट छैन । सिधै उसलाई एकथान प्रधानमन्त्री चाहिएको छ । एक थान सांसद चाहिएको छ । एकथान मन्त्री चाएिको छ । विचार शुन्य, विवेक शुन्य, सिद्धान्त शुन्य भएका ती प्रधानमन्त्री, मन्त्री, सांसदले के गर्छन्, देशलाई कता डोर्याउछन् ? नेपाल संघीय लोकतान्त्रिक देश हो । समानुपातिक समावेशी सिद्धान्तमा यो देश चलिरहेको छ । संविधानले त्यो अधिकार दिएको छ । मधेशी, आदिवासी जनजाति, पिछडिएको समुदायलाई उसको पहिचान र अधिकार चाहिएको छ । उसलाई गास, बास, कपास र एक रातको निद्रा चाहिएको छ । तर अहिलेको भिडलाई ती कुराहरुसँग मतलब छैन । उसको एजेण्डामा छैन । त्यस्तो भिडको हातमा यो देश गयो भने के हुन्छ तपाई आफै भन्नुस् ।
तपाई गम्भीर कुरा गर्नुभयो, तपाईलाई के लाग्छ यही र यस्तै अवस्थामा देशमा चुनाव हुन्छ ?
–चुनावको जुन महोला हुनुपर्ने हो त्यो अहिले देखिएको छैन । चुनाव हुन्छ कि हुँदैन भने आशंका आजको दिनमा पनि जनतामा छ । फागुन २१ गते चुनाव हुन्छ । झण्डै डेढ महिना बाँकी छ तर जनतामा उत्साह छैन । चुनावका लागि दलहरूको चहलपहल देखिए पनि जनतामा जुन उत्साह हुनुपर्ने हो, त्यो अहिलेसम्म देख्न पाइरहेको छैन । विगतमा चुनाव हुँदा जनतामा उत्साह देखिन्थ्यो । दुई तीन महिना अगाडिदेखि नै जनता त्यसमा समाहित भइसकेका हुन्थे । निर्वाचन आयोगले गाउँगाउँमा निर्वाचन शिक्षा सम्बन्धी कार्यक्रम चलाउथ्यो । जनतलाई निर्वाचन शिक्षा दिइन्थ्यो । जनतालाई चुनावप्रति आकर्षित गथ्र्यो । तर अहिलेको त्यो अवस्था देखिएको छैन । जनता मात्र होइन, अहिले कतिपय नेताहरु पनि चुनाव हुन्छ भने कुरामा ढुक्क छैन ।
जनतामा उत्साह नदेखिनुको कारण के हुन सक्छ ?
–मलाई यसको मुख्य कारणमा ‘अर्लिइलेक्सन’ नै हो जस्तो लाग्छ । जेनजी आन्दोलनपछि बनेको सरकारले अलि हतारमा चुनावको मिति घोषणा गरेको हो जस्तो लाग्यो । ६ महिनामा चुनाव गराउने सरकारले त भन्यो तर त्यसको तयारी पुगेको छैन । जनता ८४ को मुडमा थियो । तर बिचमै अचानक चुनाव घोषणा भयो । त्यसले गर्दा पनि अलमल देखिएको छ । यो वर्तमान सरकारले नै एक वर्षभित्र चुनाव गराउने भनेको भए यस्तो अन्योलता हुँदैन्थ्यो होला । अर्को कुरा, राजनीतिक दलको पनि चुनावी तयारी पुगेको छैन । यतिबेला उम्मेदवारको टुगों लागि सक्नुपर्ने थियो, तर हालसम्म त्यस्तो देखिएको छैन । क्षेत्रहरुमा गतिविधि सुरु भइसक्नुपर्ने थियो । त्यो पनि देखिएको छैन । पछिल्लो समय काँग्रेसमा पनि विवाद देखिएको छ । काँग्रेस विभाजनको अवस्थामा छ । देशको पुरानो र सबभन्दा ठुलो पार्टी यसरी विभाजनमा जान्छ भने त्यसले पनि चुनावलाई असर गर्न सक्छ । यी सब कुराले जनतामा अन्योल देखिएको छ ।
दलहरूको मुड कस्तो पाउनु भएको छ ?
–भित्रि कुरा भन्ने हो भने दलहरुको मन पनि चुनावमा जाने होइन, किनभने दलको तयारी पुगेको छैन । तर सरकारले घोषणा गरिसकेपछि जानैपर्ने हुन्छ भनेर सहभागी भएको जस्तो मलाई लाग्छ । कुनै पनि दल भित्रि मनले चुनावको तयारीमा जुटेको देखिदैनन् । एमाले सुरुदेखि त्यसको विरोधमा नै थियो । अन्त्यमा बाध्य भएर त्यसमा सहभागी हुन गइरहेको छ । काँग्रेस पनि सुरुदेखि असन्तुष्टि जनाइरहेको थियो । अहिले आफैमा विभाजित हुने अवस्थामा पुगेको छ । नेकपाले चुनावको कुरा गरेपनि सबभन्दा कम तयारी त्यही दलको रहेको छ । १८ वटा साना ठुला दल मिलेर बनेको नेकपामा नेता व्यवस्थापनमै समस्या छ । त्यत्रो ठुलो केन्द्रीय समिति बनाएको छ । कुन नेतालाई कुन जिम्मेवारी दिने हो, कसलाई कहाँबाट टिकट दिने हो । अहिलेसम्म अन्योल छ । बाहिरी रुपमा चुनावको चाहना व्यक्त गरे पनि भित्रि रुपमा नेकपाको पनि तयारी पुगेको छैन । मधेशवादी दलहरुको अवस्था पनि त्यस्तै छ । उसको धरातल नै कमजोर छ । त्यस कारण के गर्ने, नगर्ने कुरामै अन्योल छ । रह्यो कुरा उज्यालो नेपाल पार्टी, श्रम पार्टी, रास्वपाहरुको यी दलहरुको मौकामा चौका हान्न खोजिरहेका छन् । तयारी त यी दलहरुको पनि पुगेको छैन । तर चुनाव लम्ब्याउने पक्षमा ती दलहरु देखिएका छैनन् । नयाँ पार्टीहरुलाई थाह छ कि चुनाव जति ढिलो हुन्छ त्यति नै आफूहरुलाई घाटा हुन्छ ।
तपाईँ मधेशमा बस्नुहुन्छ, मधेशमै गतिविधिहरू गरिराख्नु भएको छ । यो चुनावप्रति मधेशको मुड कस्तो पाउनु भएको छ ?
–यो देशको राजनीतिका लागि मधेश ठुलो फ्याक्टर हो । अहिलेको अवस्थामा मधेश दुई कित्तामा विभाजित भएको छ । एउटा पक्ष पुरानै शक्ति आउनुपर्छ, ती दलसँग अनुभव, भिजन र एजेण्डा छन् भनिरहेको छ भने अर्को पक्ष नयाँ शक्ति, जेनजी पुस्ताको पक्षमा देखिएको छ । खासगरि मधेशमा भ्रष्टाचार निकै भइरहेको छ । त्यसलाई समाप्त पार्न नयाँ दल नै चाहिन्छ । युवा नेतृत्वको सरकार नै चाहिन्छ भनि बुझाई कतिपय मधेशीको रहेको छ । पुराना दलहरूको क्रियाकलापको विरुद्धमा जेनजीले जुन विद्रोह गरे । त्यसले सुशासन कायम गर्छ, भ्रष्टाचार अन्त्य गर्छ भनि भरोसा जनतामा जागेको छ । त्यही भएर जेजस्तो भए पनि चुनाव गराई हाल्नुपर्छ । सरकार गठन गरेर धमाधम काम अगाडि बढाइ हाल्नुपर्छ भनि हतार पनि देखिएको छ । अर्को पक्ष छन् जो परिपक्क जमात छन्, त्यसले देशको भविष्य बारे चिन्ता गरिरहेको छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी, धर्मनिरपेक्षतालगायतको कुरा के हुन्छ भनि चिन्ता गरेर बसेको पाएको छु । युवाहरुको क्रियाकलापप्रति सशंकित देखिनुभएको छ । युवाप्रति पूर्णरुपमा विश्वास गर्न सकिदैन कि भनि भनिरहेका हुन्छन् । यसअघि पनि वैकल्पिक शक्ति भन्दै थुप्रै युवाहरुलाई स्थानीय तहदेखि प्रदेश र संघसम्म चुनाव जिताएर पठाएकै हो तर उनीहरुले पनि केही गर्न सकेनन् भनि बुझाइ पनि जनतामा देखिएको छ । बालेन, रवि, सिके, रेशम, हर्कहरुलाई जनताले जिताएर पठाएकै हो नि । तर परिणाम सोचे जस्तो आउन सकेन । त्यो कुराले पनि जनतामा अन्योल देखिएको छ ।
यसपाली ठुला–ठुला दल या ठुला–सना दलको बिचमा प्रतिस्पर्धा हुन्छ कि पुरानो दल र नयाँ दलको बिचमा प्रतिस्पर्धा हुन्छ र पुराना दलहरु बढारिनेछन् के लाग्छ तपाईलाई ?
–पुृराना दलहरु बढारिनेछन् भनि मलाई अलिकति पनि विश्वास लाग्दैन । यसको दुईटा कारण छ, उहाँहरूको सङ्गठन छ । कुनै ‘मास बेस्ड’ पार्टी हो भने कुनै ‘सङ्गठन बेस्ड’ पार्टी हो । अहिले जुन हल्ला चलाईको छ कि पुरानालाई हटाएर नयाँ शक्ति, नयाँ दल आउँछन् त्यो सम्भव छैन । अलिअलि आउला, पुरानो दलहरुको शक्ति केही कमजोर होला, केही नेताहरु चुनाव हार्ला, त्यो बेग्लै कुरा हो तर पुरै सोतर हुन्छ भने कुरा पत्याउन गाह्रो छ । नयाँ दलहरुको संगठन छैन । ठोस विचार, एजेण्डा र सिद्धान्त छैन । होहल्लाको भरमा, भिडको भर सबै सीट जित्न सक्दैन जस्तो लाग्छ । पुराना दलसँग कम से कम संगठन छ । वडा तहमा पनि कार्यकर्ता छन् । त्यसलाई भत्काउन समय लाग्छ । त्यसैले पुरानो दल वा शक्तिलाई चुनावैबाट फाल्न गाह्रो छ । यो चुनावबाट मिश्रित परिणाम आउछ ।
तपाईँको विचारमा त्यसो भए मधेशमा अहिलेसम्म घन्टी बजेको छैन ?
–जुनखालको हल्ला छ, त्यस्तो घण्टी बजेको छैन । जेनजी आन्दोलनपछि मधेशमा अलिअलि चर्चा सुरु भए पनि जस्तो चाहना राखेको थियो, हालसम्म त्यस्तो देखिएको छैन । बालेनको पपुल्यारिटीको कारण मधेशमा कतै कतै घण्टी बजेको छ । युवा जागेका छन्, उत्साहित देखिएका छन् । मधेशले रविलाई नपत्याए पनि बालेन आएपछि थोरै भएपनि घण्टी बजेको छ । यदि त्यो टिममा बालेन, रवि, कुलमान, हर्कलगायतका नयाँ शक्ति साथमा रहेको भए अझै ठुलो म्यासेज जान्थ्यो र घण्टी जोडले बज्थ्यो । तर बालेन–रवि टीमबाट कुलमान निस्किनुभयो । उता हर्क सपाङ्गले रवि र बालेनको विरोध गरिरहनु भएको छ । मधेशमा पनि विरोध भइरहेको छ । यसले घण्टीलाई अगाडि बढ्न दिइरहेको छैन । त्यसमा पनि मधेश यो सब मामिलामा निकै निर्दय छ । जसरी देशको राजनीतिमा काठमाडौँका नेवारको भूमिका हुन्छ । त्यसरी मधेशको पनि भूमिका छ । जुनसुकै आन्दोलनमा उपत्यकाका नेवारले साथ नदिएसम्म सफल हुँदैन, त्यसरी देशको राजनीतिमा मधेशले साथ नदिएसम्म परिर्वतन हुँदैन । मधेश अहिले पनि वेट एण्ड सीको अवस्थामा छ । आंशिक रूपमा घन्टी बजे पनि जुन हिसाबले हल्ला भइरहेको छ, त्यो हिसाबको परिणाम चाहिँ इन्टर्नली मैले देखिरहेको छैन ।
मधेशकै छोरा प्रधानमन्त्री बन्दैछन् यसपालि, तैपनि मधेशमा किन घन्टी बजिरहेको छैन त ?
–यहाँको जनताको बिचमा गएर विश्लेषण सुन्दा उहाँहरूले जेनजी पुस्तालाई स्विकार गरेपनि बालेनमाथि प्रश्न उठाएको छ । बालेन मधेशी हुनुहुन्छ त्यसमा कुनै दुई मत छैन तर मधेशका हुन नसकेको गुनासो जनतामा सुनिएको छ । खासगरि काठमाडौँमा मधेशीसँग उहाँले जुन व्यवहार गर्नुभयो त्यो कुराको नोटिस मधेशी जनताले गरेका छन् । बालेन मधेशी भए पनि मधेशको हकहितको लागि अहिलेसम्म एक शब्द पनि नबोल्ने मान्छे मधेशी कसरी भयो भन्ने प्रश्न पनि तेस्र्याइरहेको छ जनताले । त्यसैले यता घन्टीको प्रभाव कम परेको जस्तो मलाई लागिरहेको छ ।
तपाईँको विचारमा बालेन के मधेसी होइन र?
–एकदम मधेशी हो, मधेशी नभएको होइन, मधेशी त पक्कै हो । तर उहाँले जुन भूमिका गर्नु पर्ने हो, मधेश प्रतिको जुन आशा थियो, त्यस्तो भएन । जसरी कि एउटा म एक्जाम्पल दिउँ तपाईँलाई, जस्तो संघीयताको विषयमा कुरा गर्ने हो भने रास्वपाले यो भन्दा अगाडि प्रदेश सभामा उम्मेदवारी नै दिएको थिएन । अहिले पनि संघीयता र गणतन्त्रको विषयमा आफ्नो धारणा स्पष्ट गरेको छैन । कुलमान घिसिङले रविको पार्टी छाड्नुको कारण त्यही हो । कुलमानले संघीयता र गणतन्त्रको बारेमा तपाईहरुको धारणा के हो लिखित रुपमा प्रष्ट गर्नुस् भन्दा रविले दिन सक्नुभएन र त्यही कारणले उहाँ त्यहाँबाट निस्किनुभयो । कुलमानको दबाबको कारण सुरुमा गणतन्त्र र संघीयताको कुरा पार्टीको दस्तावेजमा राख्ने कुरा गर्नुभएको थियो तर अहिलेसम्म कुनै दस्तावेज सच्याउनु भएको छैन । यी सब शंकाले गर्दा बालेनलाई मधेशले पूर्णरुपमा स्विकार गर्न सकेको छैन ।
फागुन २१ गते यदि चुनाव भयो भने यसपालिको चुनावमा दलहरूको मुख्य एजेन्डा के हुन सक्छ ?
–दलहरूसँग कुनै एजेण्डा छैन । उही पुरानै एजेण्डालाई पुनः पालिस गरेर जनतालाई पस्किने हो । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताको कुरा उठाएर जनतासँग मत माग्छन् । जेजनी आन्दोलनपछि थपिएको एउटा कुरा भ्रष्टाचार र सुशासन हो । त्यसलाई पनि नेताहरुले एजेण्डाको रुपमा ल्याउने छन् । तर ल्याउने मात्र हो तर त्यसमाथि विश्वास कसैले गर्दैनन् । विगतमा नेताहरुको आश्वासन सुनि सकेका कारण जनतामा विश्वास छैन । दलसँग एजेण्डा नभएपछि नारा नयाँ नयाँ बनाउन सक्छन् ।
त्यसो भए जनताले चुनावमा के कुरा उठाउनुपर्छ ?
–जनताको एक्सपेक्टेसन यति हाई छ । जनताको शिक्षा, स्वास्थ्य, रोेजगारीको अवस्था जस्ताको त्यस्तै छ । कृषिको अवस्था पनि त्यस्तै छ । तर जनताले के कुरा उठाउने, के प्राप्त हुन्छ भन्ने कुरामा कन्फ्युज छ । जनताको एउटा माग भए पो त्यसको मात्र कुरा गरोस् माग अनेक छन् । जनतलाई कन्फ्युज बनाएर राख्ने काम यिनै नेताहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया