सिरहा माघ २० गते । सिरहा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मिर्चैया नगरपालिका–११ मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चन्द्रदीप यादवसहित एमालेका झन्डै दुई सय नेता तथा कार्यकर्ता जनता समाज पार्टी (जसपा), नेपालमा प्रवेश गरेका छन्।
जसपा नेपालमा प्रवेश गर्नेहरूमा एमालेका क्षेत्रीय सदस्य सुकदेव ठाकुर, मिर्चैया–११ का वडा समिति अध्यक्ष सियाराम मण्डल, उपाध्यक्ष ललिता माझी, सचिव रुपेश कुमार यादव, सहसचिव सुरज साह र कोषाध्यक्ष सुनिता सदासहित सम्पूर्ण वडा कार्यसमिति रहेका छन्। साथै एमालेको भातृ संगठन मुक्ति समाज मिर्चैया–११ का अध्यक्ष चन्द्र सदाय, उपाध्यक्ष कुसबा सदासहित ठूलो संख्यामा नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जसपा नेपाल रोजेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै जसपा नेपालका नेता तथा सिरहा–४ का उम्मेदवार राजकिशोर यादवले नवप्रवेशी नेता–कार्यकर्तालाई अन्तरमनदेखि स्वागत गर्दै मधेश र देशको मुक्ति तथा विकासका लागि अन्तिम विकल्प जसपा नेपाल नै भएको दाबी गर्नुभयो। उहाँले यसपटक जसपा नेपालले झनै सानदार ढंगले चुनाव जित्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयस्तरमा प्रभावशाली नेता तथा संगठित कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेपछि सिरहा–४ मा पार्टीको संगठनात्मक शक्ति थप बलियो बनेको जसपा नेताहरूले बताएका छन्।


तपाईको प्रतिक्रिया