यसपटकको चुनावमा सप्तरी त्यति चर्चामा छैन । गत चुनावमा जनता समाववादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत एउटै क्षेत्र सप्तरी–२ बाट चुनाव लडेपछि सप्तरी चर्चाको केन्द्रमा थियो । तर यसपटक उपेन्द्र यादव र सिके राउत छुट्टा छुट्टै क्षेत्रबाट चुनाव लडेपछि खासै चर्चा छैन ।
सप्तरी–२ छाडेर यसपटक उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लड्नु भएको छ । २०७४ मा सप्तरी–२ बाट चुनाव जित्नु भएका उहाँ २०७९ मा त्यहाँबाट पराजित हुनुभएको थियो । त्यसपछि उहाँ बारा–२ मा भएको उपनिर्वाचनबाट चुनाव जितेर संसदमा जानु भएको थियो । २०७४ मा उहाँ सप्तरी–२ बाट २१ हजार ६२० मत ल्याएर विजय हुनुभएको थियो । त्यतिबेला तत्कालिन राजपा नेपालको पनि उहाँलाई साथ थियो । राजपा नेपालले उपेन्द्र यादवलाई साथ दिएपछि सोही पार्टीका नेता जेपी ठाकुर स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । उहाँले तेस्रो स्थान ल्याउनु भएको थियो ।
तत्कालिन माओवादीका नेता उमेश यादव जो अहिले उपेन्द्र यादवको पार्टीमा हुनुहुन्छ उहाँ दोस्रो स्थान हात पार्नुभएको थियो । उहाँले त्यतिबेला ११ हजार ५८० मत ल्याउनु भएको थियो । २०७० दोस्रो संविधान सभाको चुनावमा उहाँ मोरङ र सुनसरीबाट लड्नु भएको थियो । उहाँ मोरगंमा पराजित हुनुभएको थियो । २०६४ को संविधान सभा मोरगं र सुनसरी दुवैबाट चुनाव जित्नुभएको थियो । पछि मोरगंलाई छाडेर सुनसरीलाई कायम राख्नुभएको थियो ।
त्यसपछि सप्तरीदेखि बारासम्म पुगेर पुनः अहिले सप्तरी–३ मा पुग्नु भएको छ । सप्तरीका कतिपयको बुझाइ अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका लागि सप्तरी–२ धेरै सुरक्षित थियो किनभने उहाँ मन्त्री हुँदा सो क्षेत्रका लागि धेरै काम गर्नुभएको छ । पुनः चुनाव जित्ने उद्देश्यका साथ उहाँले विकास निर्माणका काम गर्नुभएको थियो । त्यसको तुलनामा सप्तरी–३ मा केही गर्नुभएको छैन । बारा–२ बाट चुनाव जितेपनि उहाँको ध्यान सप्तरी–२ मा नै थियो । सप्तरी–२ बाट नै चुनाव लड्ने उहाँको तयारी थियो । तर जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग कुरा नमिलेपछि उहाँ सप्तरी–३ मा सर्नुभएको हो । आठ जना स्वतन्त्रसहित २२ जना उम्मेदवार सप्तरी–३ रहेका छन् । गत चुनावमा त्यहाँबाट नेपाली काँग्रेसका दिनेशकुमार यादव जित्नु भएको थियो ।
एमालेका ताराकान्त चौधरी दोस्रो हुनुभएको थियो । जसलाई जसपा नेपालले पनि सघाएको थियो । तेस्रो जनमत पार्टी भएको थियो । चौथो भएको लोसपा नेपाल अहिले जसपा नेपालसँग एकता गरिसकेको छ । अहिले पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग एमालेबाट ताराकान्त चौधरी र काँग्रेसबाट दिनेश यादवले प्रतिस्पर्धामा उत्रिनु भएको छ । अध्यक्ष उपेन्द्र यादवका लागि अर्को चुनौती अमरकान्त चौधरी बन्नुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठ्नु भएको छ । अमरकान्त चौधरी चन्द्रकान्त चौधरीका छोरा हुनुहुन्छ । चन्द्रकान्तको निधन केही पहिले भएको हो ।
चन्द्रकान्त चौधरी २०७४ को चुनावमा सोही क्षेत्रबाट जित्नुभएको थियो । सो क्षेत्रमा उहाँलाई जानधार भएको नेता मानिन्छ । समाजिक काममा उहाँको धेरै ठुलो लगानी छ । चन्द्रकान्तको निधनपछि छोरा अमरकान्त रास्वपाबाट चुनाव लड्नुभएको छ । एमालेबाट चुनाव लड्नु भएका चन्द्रकान्त चौधरी अमरकान्तका आफ्नै काका हुनुहुन्छ । काका–भतिजा मिल्ने प्रयास पनि भइरहेको छ । स्रोतहरु भन्छन्, ‘सो क्षेत्रमा काका भतिजा मिल्नुभयो भने उपेन्द्र यादवलाई गाह्रो हुनक्छ ।
दुवै जना अलग अलग चुनाव लड्दा नै फाइदा हुने देखिएको छ ।’ जनमत पार्टीले सुरेन्द्रप्रसाद शर्मालाई उठाएको छ भने राष्ट्रिय मुक्ति पार्टीले गजेन्द्र मण्डललाई सोही क्षेत्रबाट उठाएको छ । उज्योलो पार्टी नेपालबाट प्रमेश्वर लाल साह, श्रम संस्कृति पार्टीबाट जयनारायण मण्डल, नेपाली कम्युनिष्ट पार्टीबाट अरुणकुमार साह, आम जनता पार्टीबाट धनिकलाल चौधरी, बहुजन एकता पार्टीबाट महादेव राम, नेपाल जनता पार्टीबाट सन्तोष कुमार चमन, नेपाल मजदुर किसान पार्टीबाट प्रभु प्रसाद साह, राप्रपाबाट उम्देश्वर प्रसाद साहु उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै, कौशलकुमारी चौधरी, हरिनारायण पासवान, सरिता कुमारी यादव, ओमप्रकाश विश्वकर्मा, दुवी लाल यादव, कौशिला देवी पासवान, रजिया देवी सदा र प्रभु नारायण चौधरी स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा पहिलो जनसँख्या यादवको समुदायको रहेको छ भने दोस्रो जनसँख्या थारुको रहेको छ । जातको हिसाबले पनि अमरकान्त चौधरी र उपेन्द्र यादवबिच प्रतिस्पर्धा हुने सम्भावना देखिएको क्षेत्रका स्थानीयहरु बताउँछन् । सप्तरी–३ मा पाँच वटा पालिका छन् । त्यसमध्ये जसपा नेपाल–१ र लोसपा–१ गरी जसपा नेपालले दुई पालिका जितेको छ । एमाले–२ र नेकपा (एस)–१ पालिको जिेतका छन् । स्थानीय मत हेर्दा प्रतिनिधि सभामा एमाले र जसपा नेपालबिच प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहमा काँग्रेस दोस्रो प्रतिस्पर्धा रहेको देखिएको छ ।
तपाईको प्रतिक्रिया