Khadya Bibhag

टिकट पाउनकै लागि पार्टी परिवर्तन !

फागुन २१ गते हुने चुनावका लागि दलहरु फिल्डमा उत्रि सकेका छन् । प्रत्यक्षतर्फ १६५ सीटका लागि विभिन्न दल तथा स्वतन्त्रका गरी तीन हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै समानुपातिकतर्फ ११० सीटका लागि तीन हजार १३५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ २५ देखि ३५ वर्ष उमेरसमूहका कूल ५३८ उम्मेदवार छन् । त्यसमध्ये २९४ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । ६६ वर्षभन्दा माथिका २०१ जना उम्मेदवार छन् । यसमध्ये ९४ जना स्वतन्त्र उम्मेदवार रहेको आयोगले जनाएका छन् ।
चुनावको चहल पहल सुरु भइसकेको छ । उम्मेदवारहरु चुनाव प्रचारमा मात्र होइन, दलबदलमा पनि सक्रिय भएर लागेका छन् । हुन त चुनावको मिति घोषणा भएसँगै नेताहरु यो पार्टीबाट त्यो पार्टी, त्यो पार्टीबाट यो पार्टीमा आउने जाने सुरु गरेका थिए । टिकटका लागि सुरु भएको दल बदल अहिले टिकट पाइसकेका केही नेताहरु पार्टी छाडेर अन्य पार्टीमा जान थालेका छन् । यो क्रम मतदान हुने दिनसम्म नै चल्ने छन् । चुनावमा टिकटका लागि पार्टी परिवर्तन गर्ने काम सबभन्दा बढी मधेश प्रदेशमा भएका छन् ।

पछिल्लो समय पार्टी छाडेकामध्ये अधिकाँश नेता चुनावमा टिकट पाउनकै लागि आफ्नो पार्टी छाडेर अन्य पार्टीमा गएका छन् । अहिले सबभन्दा बढी चर्चा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाको छ । उहाँको राजनीति यात्राको मधेश केन्द्रीत दलबाट नै भएको थियो । उहाँ तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर नेपाल सद्भावना पार्टीका अध्यक्ष बनेको धेरै भएको थिएन । अहिले नेपाल सद्भावना पार्टीको पञ्जा छापबाट होइन काँग्रेसबाट चुनाव लड्नु भएको छ । चुनाव जित्नकै लागि उहाँ आफै अध्यक्ष रहेको पार्टी छाडेर काँग्रेसमा जानु भएको हो । अनिल झा भन्नुहुन्छ, ‘मैले पार्टी छाडेको होइन, काँग्रेसको चुनाव चिन्हबाट चुनाव लडेको हुँ ।’ रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्नु भएको उहाँले चुनाव जित्नमा आफू विश्वस्त रहेको बताउनुभयो ।

त्यस्तै, अन्तिम समयमा नेपाली कम्युनिष्ट पार्टी छाडेर रामेश्वर राय यादव र उमेश यादव पार्टी छाडेर जनता समाजवादी पार्टी नेपालमा गएर चुनाव लड्नु भएको छ । रामेश्वर राय यादव सर्लाही–४ बाट उम्मेदवारी दिनुभएको छ । सर्लाही–३ मा नेकपाले यादवलाई टिकट नदिएर पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई दिएको छ । त्यही कारण देखाएर रामेश्वर रायले पार्टी छाडेर जसपा नेपालमा प्रवेश गरेर सर्लाही–४ बाट चुनाव लड्नुभएको छ ।

सर्लाही–४ मा काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.अमरेशकुमार सिंहसँग उहाँले कडा प्रतिस्पर्धा हुने बताइएको छ । उहाँले भन्नुभयो, ‘म टिकट नपाएर भन्दा पार्टीले ममाथि अन्याय गरेको महसुस गरेर पार्टी छाडेको हुँ, गोर्खाबाट चुनाव लड्ने नेतालाई मधेशमा ल्याएर चुनाव लडाउनु मधेशमाथि अपमान हो, पार्टीमा मधेशी नेताको अवमूल्यन हो, बरु मलाई टिकट नदिएर पार्टीका अन्य कुनै मधेशी नेतालाई दिएको भए त्यो मान्न सकिन्थ्यो तर पहाडीलाई चुनाव लडाउनु भनेको मधेशीको अपमान हो ।’

जसपा नेपालको निर्णयको आधारमा आफू सर्लाही–४ बाट चुनाव लडेको बताउँदै उहाँले विगतमा पनि यो क्षेत्रमा काम गरेको कारण यहाँ जनताको मायाका कारण सो क्षेत्रमाा गएको र आफूले चुनाव जित्ने दावी गर्नुभयो । सो क्षेत्रमा काँग्रेसका उम्मेदवार बहिरिया हुनुहुन्छ, सर्लाहीका जनताले बहरियालाई जिताउँदैन भन्दै उहाँले अमरेश सिंह राष्ट्रिय ठग रहेको कुरा सबैले थाह पाएका कारण उहाँको चुनाव जित्ने कुनै सम्भावना नरहेको उहाँले दावी गर्नुभयो ।
त्यस्तै नेकपा छाडेर जसपा नेपालमा गएर उमेश यादवले सप्तरी–२ का लागि टिकट पाउनु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सो क्षेत्र छाडेपछि उमेश यादव उम्मेदवारी दिनुभएको हो । सोही क्षेत्रबाट २०७० को चुनाव जित्नुभएका उहाँ पछिल्लो दुईटा चुनाव हार्नुभएको थियो ।

यसपटक जसपा नेपालबाट टिकट पाएर उहाँ फिल्डमा उत्रिनु भएको हो । उहाँ भन्नुहुन्छ, ‘म नेकपामा टिकट नपाएर पार्टी छाडेको होइन, पार्टीले मलाई टिकट दिन तयार थियो, टिकट लिन भनिरहेको थियो तर पार्टीका केही मधेशी नेताको घेराबन्दीका कारण त्यहाँ बस्न गाह्रो भयो र पार्टी छाडेको हुँ ।’ विगतमा पनि आफूलाई त्यही घेराबन्दीका कारण चुनाव हराएको दावी गर्दै उहाँले त्यो घेराबन्दी तोडेर निस्केर जसपा नेपालबाट चुनाव लडेको बताउनुभयो ।
जसपा नेपालका नेता उमेश यादवको प्रतिस्पर्धा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग हुनुहुन्छ । जनमत पार्टीका अध्यक्ष सिके राउत यसअघि सोही क्षेत्रबाट चुनाव जित्नु भएको थियो । कुनै पनि नेता सो क्षेत्रमा दोहोर्याएर चुनाव नजितेको कारण यसपटक अध्यक्ष राउत पनि नजित्ने उमेश यादवको दावी छ । राउत चुनाव जितेर गए पनि गफबाहेक अरु केही गर्न नसकेको कुरा यहाँ जनताले नै भनिरहेको भन्दै उहाँले आफू चुनाव जित्ने निश्चित रहेको दावी गर्नुभयो ।

त्यस्तै अन्तिम समयमा जसपा नेपाल छाडेर एमालेबाट प्रदीप यादव पनि टिकट लिएर पर्सा–१ बाट चुनाव लड्नुभएको छ । अशोक राय नेतृत्वको जनता समाजवादी पार्टी छाडेर डा.विरेन्द्र महतो जनमत पार्टीबाट सिरहा–४ मा चुनाव लड्नुभएको छ । अन्तिम समयमा जसपा छाडेर रञ्जु ठाकुर नेपाल जनता पार्टीबाट टिकट लिएर सप्तरी–२ बाट चुनाव लड्नु भएको हो ।

त्यस्तै जसपा छाडेर इस्तियाक राइ एमालेको टिकट लिएर बाँकेबाट चुनाव लड्नुभएको छ । जसपा नेपाल छाडेर प्रमोद गुप्ता जनमत पार्टीबाट टिकट लिएर बारामा चुनाव लड्नु भएको छ । त्यसैगरि जसपा नेपाल छाडेर हरिनारायण यादव महोत्तरी ४ बाट स्वतन्त्रमा चुनाव लड्नु भएको छ । जसपा नेपाल छाडेर डा.शिवजी यादव रास्वपामा प्रवेश गर्नुभएको छ । आफ्नो श्रीमतीलाई टिकट दिलाएर चुनावमा होमिनु भएको छ ।

यस्ता थुप्रै छन् जो आफू रहेको पार्टीबाट टिकट नपाउने भएपछि अन्तिममा अरु पार्टीबाट टिकट लिएर चुनावी मैदानमा हुनुहुन्छ । जसपा नेपाल छाडेर एमालेमा गएर टिकट लिइ चुनाव लडेका प्रदीप यादव भन्नुहुन्छ, ‘जसपा नेपालमा मलाई टिकटको समस्या थिएन, नेताहरुको मानसिकता ममाथि ठिक थिएन त्यही भएर पार्टी छाडेको हुँ ।’ टिकट दिने तर चुनाव हरार्ई दिने सो पार्टीका नेताहरुको रणनीति थाह पाएपछि रातारात आफूले पार्टी छाडेर एमालेमा गएको बताउँदै उहाँले आफूले लामो समय काम गर्दै आएको पार्टी छाड्न कसैलाई रहर हुँदैन तर नेताहरुले बाध्य बनाएपछि त्यस्तो अप्रिय निर्णय लिनुपरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया