Khadya Bibhag

एक अर्काको विरुद्धमा भिडे मोर्चाका नेताहरु

तराई मधेशका सात वटा दल मिलेर गठन गरेकोे संघीय लोकतान्त्रिक मोर्चा अहिले छिन्न भिन्न भएको छ । काँग्रेस–एमालेको गठबन्धन बन्दा संविधान संशोधनका लागि दबाव दिन गठन भएको मोर्चा चुनाव केन्द्रीत भएको थियो । २०८२ फागुन २१ गते चुनाव हुने घोषणा भएपछि मोर्चा पुरै चुनाव केन्द्रीत भएको थियो । मोर्चा एक साथ चुनाव लड्ने निर्णय पनि गरेको थियो । तर राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबाहेक कुनै पनि दलको बिचमा चुनावी सहकार्य हुन सकेन ।
अहिले मोर्चामा रहेका दलहरु नै एक अर्काको विरुद्धमा चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । सहकार्यका लागि प्रयास नगरेको होइन, तर सहमति नभएको कारण चुनावमा सहकार्य हुन सकेन । बरु मोर्चामा रहेका दलहरु जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीबिच एकता भएर जनता समाजवादी पार्टी नेपाल कायम भयो ।
अहिले मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समावादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल मात्र छन् । यी दलहरुको बिचमा कतै तालमेल भएको छैन ।
त्यही कुरा मिलाउन प्रयास गर्दा सिके राउत र उपेन्द्र यादव बिच कुरा नमिल्दा उपेन्द्र यादव सप्तरी–२ छाडेर सप्तरी–३ मा जानुभएको बताइएको छ । मोर्चामा सहमति बन्न नसकेपछि यस्तो समस्या आएको बताइएको छ । सप्तरी–२ मा सिके राउत उठ्नु भएको छ । त्यहाँ जसपा नेपालले उमेश यादवलाई उठाएको छ भने उपेन्द्र यादवको उठेको सप्तरी–३ मा जनमत पार्टीले सुरेन्द्र मधेशीलाई उठाएको छ । यता सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो उम्मेदवारी दिनुभएको छ । त्यहाँ जसपा नेपालले भरत चौधरीलाई टिकट दिनुभएको छ । जनमत पार्टीले पनि विपिन कापरलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले उपेन्द्र यादव उठेको सप्तरी–३ मा गजेन्द्र मण्डललाई उठाएको छ भने जनमत पार्टीका अध्यक्ष सिके राउत उठेको सप्तरी–२ मा अनिस अन्सारीलाई उठाएको छ । महोत्तरी–३ मा जसपा नेपालका संरक्षक महन्थ ठाकुरले आफ्नो छोरी मिनाक्षी झालाई उम्मेदवार बनाउनु भएको छ । त्यहाँ जनमत पार्टीले अरविन्द ठाकुरलाई उम्मेदवार बनाएको छ । जसपा नेपालले महोत्तरी–२ मा शरतसिंहलाई उठाएको छ भने त्यही जनमत पार्टीले जयकुमार पाण्डेयलाई उठाएको छ । यसरी देशैभरि मोर्चामा रहेका दलका नेताहरु विरुद्ध मोर्चामै रहेका दलका नेताहरु उम्मेदवारी दिएका छन् । कुनै पनि क्षेत्रमा मोर्चाभित्र सहमति हुन सकेको छैन ।
जसपा नेपालका नेता रामकुमार शर्माले मोर्चामा समय अभावका कारण सहमति हुननसकेको दाबी गर्नुभयो । हतार भएको कारण दलहरुले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन्, पछिसम्म पनि सहमति बनाउने प्रयास हुने उहाँले बताउनुभयो ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहताले चुनावमा मोर्चा तालमेल गर्न नसक्नु दुखद रहेको बताउनुभयो । संघीय, लोकतान्त्रिक गणतन्त्र बचाउनका लागि दलहरुको बिचमा एकता हुनु जरुरी रहेको बताउँदै उहाँले मोर्चामा रहेका दलहरुको बिचमा चुनावी तालमेल हुनुपथ्र्यो तर हुन नसकेको बताउनुभयो ।
यता मधेशी मोर्चा एक ढिक्का नरहेको भन्दै जसपा नेपालका नेता डा.शिवजी यादवले सो पार्टी नै छाड्नु भएको छ । लोकतान्त्रिक मोर्चाको सचिवालय संयोजक समेत रहनु भएका उहाँले जुन उद्देश्यका लागि मोर्चा गठन भएको थियो त्यसमा कोही अडिग नरही आआफ्नो तरिकाले चुनावमा भाग लिएको गुनासो गर्दै जसपा नेपाल नै छाड्नु भएको छ । उहाँले मोर्चा एक ढिक्का रहन नसक्नुमा आफूलाई दोष देखाउँदै मोर्चाका साथै जसपा नेपालको साधारण सदस्य समेत छाडेर रास्वपा नेपालमा प्रवेश गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया