काठमाडौं, फागुन २५ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको अवस्थामा पनि निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका अनुसार निर्वाचन आयोगको २०८२ फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको थियो । उक्त निर्णयपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिएको र मत परिणाममा नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको घोषणा गरिएको पार्टीले जनाएको छ।
नेकपाले आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको उल्लेख गरेको छ। तर परिणाम सार्वजनिक भइसकेपछि पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरी ढिलाइ गर्नु निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीत भएको पार्टीको भनाइ छ।
उम्मेदवारी नै कानुनसम्मत रूपमा खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित कारण देखाएर प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिने पार्टीले जनाएको छ।
नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न, कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको छ। साथै न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले उचित निर्णय गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
यो वक्तव्य नेकपाका निर्वाचन परिचालन समितिको कार्यालयका सचिव गोविन्द आचार्यले जारी गर्नुभएको हो ।


तपाईको प्रतिक्रिया