Khadya Bibhag

दाइजो लेनदेन विवाह कार्यक्रममा उपसभामुख ठाकुर सहभागी नहुने

काठमाडौं वैशाख ३ गते । उपसभामुख रुवि कुमारी ठाकुरले समाजमा अझै पनि दाइजो प्रथा कायम रहेकोप्रति चिन्ता व्यक्त गर्दै विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह” भन्ने स्पष्ट सन्देश समावेश गर्न आग्रह गर्नुभएको छ।

हालै विभिन्न विवाहका निमन्त्रणापत्रहरू प्राप्त भइरहेका भए पनि तीमध्ये कुनैमा पनि दहेजमुक्त विवाहको स्पष्ट उल्लेख नभएको उहाँले बताउनुभयो । यसले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने उहाँको भनाइ छ।

उपसभामुख ठाकुरले दाइजो लिनु र दिनु मात्र नभई, दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको उल्लेख गर्नुभयो । यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने उहाँले जोड दिनुभयो ।

“यदि हामी साँच्चिकै समाज परिवर्तन र देश विकासको सपना देख्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ,” उहाँले भन्नुभयो, “व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।”

यसै सन्दर्भमा, दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी हुन नसक्ने जानकारी गराउँदै उहाँले सबैलाई दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह अभ्यासलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो।

उहाँले विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश समावेश गर्न विशेष अपिल गर्दै दाइजोमुक्त समाज निर्माणतर्फ सामूहिक पहल आवश्यक रहेको बताउनुभयो।

“आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं,” उहाँले आग्रह गर्नुभयो।

तपाईको प्रतिक्रिया