Khadya Bibhag

पानीमा डुबाएर मोबाइल नष्ट गरेको विरुद्धमा विद्यार्थीको आन्दोलन

सिरहा, जेठ २५ गते । सिरहा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका विद्यार्थीका मोबाइल फोनहरू पानीमा डुबाएर नष्ट गरिएको विरोधमा सिरहामा विरोध प्रदर्शन हुने भएको छ। संयुक्त विद्यार्थी सङ्गठनको आयोजनामा आगामी सोमबार जेठ २५ गते जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि विरोध प्रदर्शन गर्न लागिएको हो।

सङ्गठनले जारी गरेको प्रचार सामग्री अनुसार, जिल्ला प्रशासन कार्यालय सिरहाले परीक्षाका क्रममा विद्यार्थीहरूबाट खोसेका मोबाइल फोनहरू नियमसंगत रूपमा राख्नुको सट्टा पानीमा डुबाएर पूर्ण रूपमा नष्ट गरिदिएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । यस कदमलाई विद्यार्थीको व्यक्तिगत सम्पत्तिमाथिको दमन र सरासर अन्याय भन्दै विद्यार्थी सङ्गठनहरूले कडा आपत्ति जनाएका छन् ।

‘सम्पूर्ण विद्यार्थीहरू एक जुट होऔँ, विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको उक्त विरोध प्रदर्शन जेठ २५ गते सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय परिसरमा सुरु हुनेछ ।

आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले नष्ट गरिएका मोबाइल फोनहरूको उचित र न्यायोचित क्षतिपूर्ति दिनुपर्ने, विद्यार्थीको सम्पत्तिमाथि भइरहेको दमन तत्काल बन्द गरिनुपर्ने र पीडित विद्यार्थीहरूका लागि न्याय सुनिश्चित गरिनुपर्ने माग राखेको छ। अन्यायका विरुद्ध आफूहरू मौन नबस्ने चेतावनी दिँदै सङ्गठनले यस आन्दोलनमा व्यापक रूपमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया