प्रदर्शनपछि सिके राउतको पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

काठमाडौँ  जेठ २५ गते  । जनमत पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई एक ज्ञापनपत्र बुझाउँदै विगतमा भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न जोडदार आग्रह गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलज्यूमार्फत जनमत पार्टीले प्रधानमन्त्रीज्यूलाई उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउनका लागि पार्टीका महासचिव चन्दन सिंहज्यूलगायतका वरिष्ठ नेताहरू जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।

ज्ञापनपत्रका मुख्य मागहरू

ज्ञापनपत्रमा मधेश, थरूहट तथा ‘स्वराज आन्दोलन’ का क्रममा नेपाल सरकारले गरेका क्रमशः २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौताअनुसार बाँकी रहेका कामहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ । यसका साथै राजनीतिक आन्दोलनका क्रममा मुद्दा लागेका अभियन्ताहरूलाई हिरासत तथा जेलमुक्त गर्न र उनीहरूमाथि लगाइएका मुद्दाहरू फिर्ता लिनसमेत जनमत पार्टीले माग गरेको छ । त्यस्तै, लाल आयोगको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरिएको छ ।

नेपाली सेनासहितका सुरक्षा निकायहरूमा समावेशिताको सिद्धान्त पूर्ण रूपमा लागू गर्न जनमत पार्टीले विशेष आग्रह गरेको छ । सुरक्षा निकायहरूमा मधेशी, थारू र मुस्लिम समुदायको सहभागितालाई समानुपातिक समावेशी बनाउन युवाहरूको समूहगत भर्ती तत्काल सुरू गरिनुपर्ने अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतज्यूको माग रहेको छ ।

यसैगरी, मधेशमा भइरहेको प्रतिरोध र आन्दोलनमा सहभागी आन्दोलनकारीहरूमाथि धरपकड र दमन नगरी वार्ता तथा संवादको सौहार्दपूर्ण वातावरण सिर्जना गर्न जनमत पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रमकै सन्दर्भमा जनमत पार्टीले आज काठमाडौँको माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शनसमेत गरेको छ । उक्त प्रदर्शनलाई सम्बोधन गर्नुहुँदै पार्टीका अध्यक्ष माननीय डा. चन्द्रकान्त (सीके) राउतज्यूले मधेशकै बलमा सरकार बनाउने तर अधिकार दिने बेलामा भने सधैँ षड्यन्त्र हुने गरेको गुनासो पोख्नुभयो ।

उहाँले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेशका न्यायपूर्ण माग र अधिकारप्रति राज्य सधैँ अनुदार रहँदै आएको धारणा व्यक्त गर्नुभयो ।

May be an image of text

May be an image of text

May be an image of text

तपाईको प्रतिक्रिया