सिराहा जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिराहा जिल्ला कार्यसमिति र क्षेत्रीय समितिको निर्वाचन सम्बन्धी तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सिरहा जिल्ला अधिवेशन विवादित बन्न पुगेको छ । जिल्लाको नेतृत्व चयनको विषयलाई लिएर अधिवेशन विवादमा परेको हो । यसरी विवादमा परेपछि कार्यसमितिका लागि चुनाव हुने भएको छ । चुनावका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
आइतबार अधिवेशनको खुल्ला सत्र सकेपछि रास्वपाको मधेश प्रदेश सभापतिसमेत रहेका सिरहा ४ का सांसद तपेश्वर यादव, क्षेत्र नम्बर २ का सांसद शिव यादव, क्षेत्र १ का सांसद बब्लु गुप्ता, क्षेत्र नम्बर ३ का सांसद शम्भु यादव र समानुपातिक सांसद पुरुषोत्तम यादवले यीमध्ये एकका नाममा सहमति जुटाउने प्रयास गरेका थिए ।
तर, सांसद र सभापतिका आकांक्षीहरूको आआफ्नै अडानका कारण सर्वसम्मत कार्यसमिति चयनको प्रयास सफल भएन । यसरी नभएपछि निर्वाचन समितिले निर्वाचनबाटै नेतृत्व चयन हुने र सोमबार चुनाव हुने जानकारीसहित सूचना जारी गरेको थियो । केन्द्रीय निर्वाचन प्रतिनिधि इन्द्रजीत प्रसाद महतोले उक्त सूचना टाँस्नुभएका थियो ।
निर्वाचन समितिका कायममुकायम निर्वाचन संयोजक डा. ईन्द्रजीत प्रसाद महतोद्वारा हस्ताक्षरित सूचनाअनुसार निर्वाचन यही २०८३ साल जेठ २५ गते सम्पन्न हुँदैछ ।
निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समितिले ७ बुँदे विशेष नियम तथा प्रक्रियाहरू तय गरेको छ:
१. मतदानको समय र प्रवेश अवधि
-
मतदान समय: जेठ २५ गते अपराह्न २:३० बजेदेखि साँझ ५:०० बजेसम्म मतदानको समय तोकिएको छ ।
-
प्रवेश समय: मतदान गर्न चाहने मतदाताहरू अपराह्न ४:३० बजेभित्रै अनिवार्य रूपमा मतदान स्थलमा प्रवेश गरिसक्नुपर्नेछ ।
२. मतदान केन्द्र र आवश्यक कागजात
-
केन्द्रहरू: सिराहाका ४ वटा निर्वाचन क्षेत्रका लागि ४ वटा नै मतदान केन्द्रहरू तोकिएका छन् ।
-
परिचय-पत्र: मतदान प्रक्रियामा सहभागी हुनका लागि मतदाताले आफ्नो प्रतिनिधि परिचय-पत्र अनिवार्य रूपमा साथमा बोक्नुपर्नेछ ।
-
पोर्टल अद्यावधिक प्रमाण: विभागीय मतदाताहरूको हकमा पार्टीको डिजिटल पोर्टलमा विवरण अद्यावधिक (Update) भएको प्रमाण अनिवार्य गरिएको छ ।
३. मतगणना र नतिजा घोषणा
-
संयुक्त रोहवरमा मतगणना: मतदान प्रक्रिया सम्पन्न भएलगत्तै उम्मेदवारहरू र निर्वाचन समितिका प्रतिनिधिहरूको संयुक्त रोहवरमा मतगणना कार्य सुरु गरिनेछ ।
-
घोषणा र शपथ: मतगणना कार्य पूर्ण रूपमा सम्पन्न भएपश्चात विजयी उम्मेदवारहरूको आधिकारिक घोषणा गरिने र सोही क्रममा उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइने निर्वाचन समितिले जनाएको छ ।


तपाईको प्रतिक्रिया