नेपालको पहिला महिला सांसद एवं मन्त्री द्वारिकादेवी

नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पु¥याउँदै आएको देन अविस्मरणीय छ ।

राणाकालीन समयमा जनताका छोराछोरी पढ्न लेख्नबाट वञ्चित थिए । जनताका छोराछोरी शिक्षित भए आफ्नो शासन ढल्ने भय राणाहरूमा थियो । त्यसैले उनीहरु देशभर स्कुलको व्यवस्था गरेका थिएनन् ।

सकभर जनतालाई शिक्षाबाट दुर नै राखेको थियो । कतिपय स्थानमा गुरुकुलमा आधारित संस्कृत पाठशाला थिए तर ती पाठशालामा सर्वसाधारणको पहुँच थिएन । राजधानीवासीकै छोरा–छोरी सबैले पढ्न पाएका थिएनन् । त्यतिबेला डोटीको सिलगढीमा स्कुल हुने थिएन । कुनै ठाउँमा स्कुल भए पनि त्यतिबेला छोरीलाई पढाउने चलन नै थिएन ।
राणाकालमा हुनेखाने सुदूरपश्चिमेलीहरू छोरालाई भने पढ्न भारततिर पठाउँथे तर छोरीचेलीलाई पठाउँदैनथे ।

भारतमा पढाउन नसक्नेले घरमै छोरा–छोरीलाई रुद्री, चण्डी पढाउँथे । खरिदार वामदेव पन्तले पनि छोरा शिवराजलाई अध्ययनका लागि भारतको मुरादावाद पठाउनु भएको थियो । तर छोरी द्वारिकादेवीका लागि बनारसबाट एक जना वृद्ध पण्डितलाई झिकाएर घरमै पठन–पाठनको व्यवस्था मिलाउनुभएको थियो । त्यतिबेला छोरीहरूले पढेमा बिग्रन्छन् भन्ने मान्यताका कारण द्वारिकादेवीले पढेको उहाँका आमाले समेत मन नपराएको कुरा ठकुरानीले बताउने गर्नुभएको थियो ।

सोही कारण केही समय आमाछोरीको बोलचालसमेत बन्द भएको थियो । त्यति हुँदा पनि द्वारिकादेवीले पढाइलाई निरन्तरता दिनुभयो । घरमै ‘लक्ष्मी संवाद’, ‘वधुशिक्षा’, ‘कौमुदी’ लगायतका ग्रन्थहरू अध्ययन गर्नुभयो । यसरी औपचारिक शिक्षा आर्जन गर्न नपाए पनि घरमै उहाँले अनौपचारिक शिक्षा पाउनु भएको थियो । उहाँलाई सग्ला अक्षर पढ्ने बुझ्ने मौका जुरेको थियो ।

अन्तरजातीय विवाह
द्वारिकादेवी ठकुरानीको विवाह १८ वर्षको उमेर भएको थियो । त्यतिबेला डडेलधुरामा पर्ने तल्लो स्वराड हाल बैतडीका उद्धवबहादुर चन्दसँग भएको थियो । द्वारिकादेवी र उद्धवबहादुर चन्दको विवाह अन्तर्जातीय थियो । त्यतिबेला ठकुरी र ब्राह्मण समुदाय बिच बिहेवारी चल्दैनथ्यो । विवाह भइहाले ठकुरी वरले ब्राह्मण वधुलाई ‘दियो–कलश’ पूजेर भित्र्याउने चलन थियो । उद्धवबहादुर चन्दले पनि द्वारिकादेवीलाई ‘दियो–कलश’ पूजेर भित्र्याउनु भएको थियो ।

उद्धवबहादुर द्वारिकादेवी भन्दा १६ वर्ष जेठो हुनुहुन्थ्यो । उद्धवबहादुरको द्वारिकादेवीसँग दोस्रो विवाह थियो । त्यसअघि उद्धवबहादुरको विवाह डडेलधुरा, चोरेलाकी बाटुलीदेवी शाहीसँग भएको थियो ।
डडेलधुराको तल्लो स्वराडका जिम्मुवाल उद्धवबहादुर वकालतको काम समेत गर्नुहृन्थ्यो । मुद्दा मामिलाकै सिलसिलामा उहाँ सिलगढी गइरहनु हुन्थ्यो । सोही क्रममा उहाँको चिनजान द्वारिकादेवीका पिता वामदेव पन्तसँग भएको थियो ।

उद्धवबहादुर नियमित घरमा आउँदा उहाँसँग द्वारिकादेवी नजिकिनु भएको थियो । त्यसपछि दुवै जना विवाहका लागि राजी हुनुभएको थियो । द्वारिकादेवीले सुरुमा बिहे नगरी आजीवन गायत्री जपेर बस्ने निधो गर्नुभएको थियो । पछि आमा राधादेवी र छिमेकी गङ्गाप्रसाद महराका बुवाले जोर गरेपछि उहाँ विवाह गर्ने निर्णयमा पुग्नुभएको थियो ।
उद्धवबहादुर र द्वारिकादेवी १९९२ सालमा वैवाहिक बन्धनमा बाँधिनु भएको थियो ।

उद्धवबहादुरले द्वारिकादेवीलाई तल्लो स्वराडको कुन्थलास्थित घरमा भित्र्याएका थिए । विवाहपछि २००७ सालअघि नै उद्धवबहादुर र द्वारिकादेवीले केही वर्ष काठमाडौँमा बिताउनुभयो । काठमाडौँ बसाइकै क्रममा दुवै जना नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध हुनुभएको थियो । दुवै जना समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । तर दुर्भाग्य ! २०१० साल कात्तिक १० गते उद्धवबहादुर चन्दको एकाएक हृदयाघातका कारण निधन भयो । श्रीमानको निधन हुँदा द्वारिकादेवीको पेटमा बच्चा थिजयो । पछि उहाँबाट आठ महिनामा जन्मेको थियो । तर छोरालाई बचाउन सकिएन । यसरी पति वियोगको पीडाले मर्माहत द्वारिकादेवीको जीवनमाथि पुत्र वियोगको अर्को पीडा थपिएको थियो ।

राजनीतिक जीवन
डोटी गौडाको सिलगढीमा शिक्षित सम्पन्न परिवारमा हुर्किनुभएका द्वारिकादेवी सामान्यतया साक्षर हुनुहुन्थ्यो । उहाँ सग्ला अक्षरसँग परिचित हुनुहुन्थेन । पिता वामदेव सरकारी जागिरे भएका कारण उहाँको घरमा विभिन्न व्यक्तिको आउजाउ भइरहन्थ्यो । समसामयिक राजनीतिक विषयमा छलफल कुराकानी हुने गथ्र्यो । ती सबै कुराकानी द्वारिकादेवीले सानै उमेरदेखि सुन्ने बुझ्ने मौका पाउनु भर्एको थियो । राणाकालमै बैतडीका दशरथ चन्दलाई प्रधानमन्त्री जुद्धशमशेरले मृत्युदण्ड दिएपछि सिङ्गो सुदूरपश्चिम स्तब्ध बनेको थियो । सुदूरपश्चिममा राणाहरूविरुद्धको आक्रोश चुलिएको अवस्था थियो ।

त्यसअघि प्रधानमन्त्री चन्द्रशमशेरसँग विद्रोह गरी बझाङकै जयपृथ्वीबहादुर सिंह निर्वासनमा गइसकेका थिए । ती सबै घटनासँग द्वारिकादेवी परिचित हुनुहुन्थ्यो ।

त्यसको मनोवैज्ञानिक असर द्वारिकादेवीमा परेको थियो । भारतको मुरादावादमा अध्ययनरत भाइ शिवराज पन्त ‘भारत छोड’ आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । द्वारिकादेवीका श्रीमान् उद्धवबहादुरसमेत प्रगतिशील विचारधाराका थिए । राणाकालमै द्वारिकादेवी काठमाडौँ आइपुग्नु भएको थियो । त्यसैले राजनीतिमार्फत समाज सेवा गर्ने चस्का उहाँमा पसिसकेको थियो । यिनै कारण द्वारिकादेवीले २००५ सालमा काठमाडौँमा बीपी कोइरालाको हातबाट नेपाली कांग्रेसको सदस्यता प्राप्त गरी राजनीतिमा होमिनु भएको थियो । द्वारिकादेवीलाई राजनीतिमा ल्याउन उहाँका श्रीमान् उद्धवबहादुर र डडेलधुराका युवा नेता एनडीप्रकाश चटौतको ठुलो भूमिका थियो ।

पहिलो महिला सांसद
२००७ सालको क्रान्तिपछि नेपालमा पहिलो पटक २०१५ सालमा आम निर्वाचन भएको थियो । द्वारिकादेवी २०१५ सालको चुनावमा निर्वाचित पहिलो र एक्ली महिला नेतृ हुनुहुन्छ । २०१४ सालमा सिमराबाट काठमाडौंका लागि उडेको प्लेन दुर्घटनामा नेपाली कांग्रेस डडेल्धुराका युवानेता नारायणीदत्त चटौत (एनडी प्रकाश चटौत) को निधन भएको थियो ।

सोही कारण २०१५ सालको आमचुनावमा उहाँले डडेल्धुरा क्षेत्र नं. ६६ का लागि टिकट पाउनु भएको थियो र कांग्रेसबाट उहाँ उम्मेदवार बन्नुभएको थियो । नेपाली कांग्रेसकी उम्मेदवार ठकुरानीले संयुक्त प्रजातन्त्र पार्टी, नेपालका उम्मेदवार लक्ष्मीदत्त भट्टलाई हराउनुभएको थियो । निर्वाचनमा ठकुरानीले तीन हजार ९०३ मत प्राप्त गर्नुभएको थियो । २०१५ साल फागुन ७ देखि सुरु भई २०१६ साल वैशाख २५ गते सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ सिट जितेको थियो ।

निर्वाचनमा बहुमत प्राप्त दल नेपाली कांग्रेसबाट मन्त्रीहरूको नाम पेस भएपछि राजा महेन्द्रले २०१६ साल जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार गठन भएको घोषणा गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा ११ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।

प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारमा द्वारिकादेवी उपमन्त्री बन्नुभएको थियो भने उहाँका भाइ शिवराज पन्त मन्त्री बन्नुभएको थियो ।

मन्त्रीमण्डल गठन हुँदा मन्त्रीहरूको जिम्मेवारी तोकिएको थिएन । दोस्रो दिन अर्थात् २०१६ साल जेठ १४ गते मात्रै मन्त्री तथा उपमन्त्रीहरूको कार्यविभाजन भएको थियो । कार्यविभाजनपछि द्वारिकादेवी ठकुरानी स्वास्थ्य र स्वायत्त शासन सहायकमन्त्री बन्नुभएको थियो । २०१६ साल जेठ १३ गते गठित सरकार नेपाल अन्तरिम शासन विधान, २००७ अनुसार बनेका कारण नेपाल अधिराज्यको संविधान, २०१५ भने २०१६ असार १६ गते लागू गरिएसँगै कोइराला सरकार पुनर्गठित गरिएको थियो । पुनर्गठित मन्त्रीमण्डलमा द्वारिकादेवीको मन्त्रालय र जिम्मेवारी उही रह्यो ।

पहिलो महिलामन्त्री
नेपालमा मन्त्री हुने पहिलो महिला द्वारिकादेवी ठकुरानी हुनुहुन्छ । ठकुरानी प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वको सरकारमा उप–मन्त्री बन्नुभएको थियो । २०१६ असार १६ गते ‘उप–मन्त्री’ पदलाई ‘सहायकमन्त्री’ बनाइएको थियो । त्यसपछि द्वारिकादेवी ठकुरानी सहायकमन्त्री बन्नुभएको थियो । द्वारिकादेवी ठकुरानीले २०१७ पुस १ गतेसम्म कुल १८ महिना १८ दिन ‘स्वास्थ्य र स्वायत्त शासन सहायकमन्त्री’ भएर काम गर्नुभएको थियो ।

उसो त वि.सं. २००७ सालको क्रान्तिताका पाल्पा जनसरकारमा सुश्री तरुलता भट्टराई शिक्षामन्त्री बन्नुभएको थियो । २०१७ साल पुस २३ गतेको पाल्पा जनसरकार पुनर्गठन भएको थियो । त्यसपछि मुख्यमन्त्री काशीनाथ गौतमको नेतृत्वमा २००७ साल माघ ३ गते अर्को जनसरकार बनेको थियो । उक्त जनसरकारमा तरुलता भट्टराई शिक्षामन्त्री रहनु भएको थियो । तरुलता भट्टराई विद्रोही शक्तिद्वारा गठित पाल्पा जनसरकारकी मन्त्री भए पनि नेपाल सरकारकी वैधानिक मन्त्री हुनुहुन्थेन । त्यसैले नेपाल सरकारकी पहिलो वैधानिक महिलामन्त्री द्वारिकादेवी ठकुरानी नै हुनुहुन्छ भनि पुष्टी हुन्छ ।

त्यसैगरी एसिया तथा दक्षिण एसियामा मन्त्री हुने पहिलो महिला को हुन् भन्ने विषय चर्चामा रहेको पाइन्छ । अधिकांशको बुझाइमा एसिया तथा दक्षिण एसियाबाट मन्त्री हुने पहिलो महिला द्वारिकादेवी ठकुरानी नै हुनुहुन्छ भन्ने चर्चा पनि हुने गरेको छ तर हालसम्म त्यसको पुष्टिछ भएको छैन । ‘द्वारिकादेवी ठकुरानी र शहीद मीनबहादुर चन्द स्मृति प्रतिष्ठान’द्वारा प्रकाशित पुस्तकमा समेत द्वारिकादेवी ठकुरानीलाई दक्षिण एसियाको पहिलो महिला मन्त्री भनेर उल्लेख गरिएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका नेता भक्तबहादुर बलायरले द्वारिकादेवी ठकुरानीलाई एसियाकी पहिलो महिला मन्त्री भनेर लेख्नुभएको छ । प्रा.डा. जयराज पन्तले पनि द्वारिकादेवी ठकुरानीलाई ‘दक्षिण एसियामै प्रथम महिलामन्त्री बनी नेपाली नारीको इतिहासमा आफ्नो नाम स्वर्णाक्षरले लेखाउन सक्षम’ भनेर उल्लेख गर्नुभएको छ । तर एसिया र दक्षिण एसियाबाट मन्त्री हुने पहिलो महिला भने भारतकी ‘राजकुमारी बीबीजी अमृतकौर’ हुनुहुन्छ ।

अमृतकौर सन् १९४७ अगस्त १६ मा गठित प्रधानमन्त्री जवाहरलाल नेहरू नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बन्नुभएको थियो । भारतमा प्रान्तीय सरकारमा मन्त्री हुने पहिलो महिला भने विजयालक्ष्मी पण्डित (स्वरूपकुमारी नेहरू) हुनुहुन्थ्यो । सन् १९३७ मा प्रान्तीय विधान सभामा चुनाव जितेपछि पण्डितलाई युनाइटेड प्रोभिन्स (वर्तमान उत्तर–प्रदेश)की स्थानीय स्वायत्त सरकार तथा जनस्वास्थ्यमन्त्री बनाइएको थियो ।

एसियामा मन्त्री हुने दोस्री महिलामा उत्तर कोरियाकी ‘हो जोङ सुक’ र दक्षिण–कोरियाकी ‘यिम योङ सी’ हुन् । सुक सन् १९४८ मा उत्तर–कोरियाकी संस्कृतिमन्त्री बन्नुभएको थियो भने सीलाई सन् १९४८ मा नै दक्षिण–कोरियाकी वाणिज्य तथा उद्योगमन्त्री बनाइएको थियो । त्यसैगरी ‘सी लियाङ’ सन् १९४९ मा चीनकी न्यायमन्त्री बन्नुभएको थियो । बर्मामा मन्त्री हुने पहिलो महिला ‘खिन की’ हुनुहुन्छ । की सन् १९५३ देखि १९६० सम्म बर्माकी सामाजिक कल्याणमन्त्री हुनुहुन्थ्यो । त्यसैगरी ‘विमला विजेवर्दने’ सन् १९५६ मै श्रीलङ्काकी स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।

त्यसैगरी भारतमै तार्केश्वरी सिन्हा सन् १९५८ मै अर्थराज्य मन्त्री बनाउनुभएको थियो । नेपालमा द्वारिकादेवी ठकुरानी सन् १९५९ मे २७ (२०१६ जेठ १३) मा उप–मन्त्री बन्नुभएको थियो । जापानमा मन्त्री हुने पहिलो महिला मासा नाकायामा हुनुहुन्छ । नाकायामालाई सन् १९६० जुलाई १९ मा जापानको स्वास्थ्य तथा कल्याणमन्त्री बनाइएको थियो ।
उल्लिखित तथ्यहरूका आधारमा द्वारिकादेवी ठकुरानी एसियामा मन्त्री हुने सातौँ तथा दक्षिण एसियामा मन्त्री हुने चौथो महिला हुनुहुन्छ । अनौठो संयोग दक्षिण एसियाबाट मन्त्री हुने भारतकी राजकुमारी बीबीजी अमृतकौर, श्रीलङ्काकी विमला विजेवर्दने र नेपालकी द्वारिकादेवी ठकुरानी सबै स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।

सहायकमन्त्री भएपछि ठकुरानीले केही उल्लेख्य काम गर्नुभएको थियो । ठकुरानी नेपाल परिवार नियोजन सङ्घकी संस्थापक अध्यक्ष हुनुहुन्छ । २०१६ साल असोज २ गते गठन हुँदा परिवार नियोजन सङ्घको नाम ‘परिवार नियोजक समिति’ थियो । आफ्नो कार्यकालमा सहायकमन्त्री ठकुरानीले देशका विभिन्न जिल्लाको भ्रमण गर्नुभएको थियो । स्वास्थ्य सहायकमन्त्री द्वारिकादेवी ठकुरानीको पहलमा बैतडीमा पहिलो पटक महेन्द्र डिस्पेन्सरी स्थापना भएको थियो । सहायकमन्त्री ठकुरानीले बैतडीमा २०१६ साल मङ्सिर ७ गते ‘महेन्द्र डिस्पेन्सरी’को उद्घाटन गर्नुभएको थियो ।

विदेश भ्रमण
द्वारिकादेवी ठकुरानी सोभियत सङ्घ (हाल रुस)को औपचारिक भ्रमण गर्ने पहिलो नेपाली महिला मन्त्री हुनुहुन्छ । ठकुरानीले २०१७ असोज १९ गतेदेखि २०१७ साल कात्तिक २२ गतेसम्म रुस भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँ रुसका लेलिनग्राद लगायतका विभिन्न सहरमा पुग्नुएको थियो ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले सत्ता हातमा लिएसँगै प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार विघटन भएको थियो । सरकार विघटनसँगै प्रधानमन्त्री कोइरालालाई थापाथलीस्थित तरुण दलको कार्यक्रममा बोलिरहेको बखत गिरफ्तार गरी सिंहदरबारस्थित ‘विलियार्ड’ हाउसमा राखिएको थियो । प्रधानमन्त्री कोइरालासँगै गिरफ्तार भएका अन्य नेता तथा मन्त्रीलाई बरफबागमा राखियो । पुस १ गते नै सहायकमन्त्री ठकुरानीलाई सिंहदरबारस्थित मन्त्रालयबाटै गिरफ्तार गरी बरफबागमै राखिएको थियो ।

द्वारिकादेवी ठकुरानीले राजाको कदमप्रति समर्थन जनाउनु भएन । उहाँलाई १५ दिनपछि छोडियो । उपप्रधामन्त्री सुवर्णशमशेर भने राजाको कदमको अघिल्लो दिन नै कोलकाता पुगिसक्नुभएको थियो । त्यसैले रिहाइ भएपछि द्वारिकादेवी कोलकातामा सुवर्णशमशेरको सम्पर्कमा जानुभएको थियो । राजा महेन्द्रबाट आम माफी पाएपछि उनी २०२५ सालमा नेपाल फर्किनुभएको थियो । द्वारिकादेवीका घर, जग्गा, गरगहना सबै सर्वस्वहरणमा परेका थिए । तैपनि उहाँलाई प्रहरीले अनावश्यक दुःख दिन छाडेको थिएन ।

अनि उहाँ भारतीय सीमाभित्र गएर बस्न थाल्नुभयो ।

दशवर्ष जति भारतमा बसे तापनि बेलाबखत यहाँ आई जनचेतना जगाउने काम उहाँले गर्नुहुन्थ्यो । यिनै कार्यले गर्दा उहाँलाई धेरैले ‘दिदी’ भन्थे । धेरैका लागि उहाँ ‘कांग्रेसकी दिदी’ बन्नुभएको थियो । तुम्बा भिरेर महाकाली नदी तरी आवत–जावत गर्नुहुन्थ्यो उहाँ । प्रहरीले थाहा पाई तुम्बा, चिण्डा सब फोडिदिएका थिए । उतिबेला, प्रहरीलाई बाघ भनिन्थ्यो । यहाँ बाघ लागिरहेछ भनेर कराएको सुनेपछि उहाँ बुझ्नु हुन्थ्यो र सतर्क हुन्थ्यो । नबुझ्नेहरू चाहिँ गाई, बाख्रा बाँध्न थाल्थे । प्रजातन्त्र पुनस्र्थापन भएपछि उहाँको सर्वस्वहरण भएको सम्पत्ति फिर्ता गरियो ।

पूर्व–प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको अध्यक्ष्यतामा ‘राजनीतिक पीडित उद्धार समिति’ बनेको थियो । आचार्य समितिले देशैभरका राजनीतिक पीडितहरूलाई जमिन वितरण गरेको थियो । द्वारिकादेवीलाई पनि आचार्य समितिले कैलालीको जुगेडामा तीन बिघा जमिन उपलब्ध गराएको थियो । ठकुरानी २०३६ सालमा कैलालीको जुगेडामा बसाइँ सर्नुभएको थियो ।

द्वारिकादेवीका अन्तिम दिनहरू कैलालीको धनगढीमा बितेका थिए । जीवनको उत्तराद्र्धमा उहाँ स्तन क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । २०५९ साल मङ्सिर २२ गतेको साँझ खाना खाएर सुतेकी उहाँ खाटबाट लडेर बेहोस हुनुभयो । त्यसपछि उहाँलाई सेती अञ्चल अस्पताल पु–याइयो तर उहाँको स्वास्थ्यमा सुधार हुन सकेन । अन्ततः २०५९ साल मङ्सिर २४ गते उहाँको निधन भयो ।
(गोरखापत्र, हिमाल खबर, सिलापत्रलगायतका सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

तपाईको प्रतिक्रिया