चलचित्र ‘केडी द डेभिल’ को गीत ‘सरके चुनर’ मा महिलाको अश्लील र आपत्तिजनक चित्रण गरिएको विवादमा अभिनेत्री नोरा फतेही बैशाख २४ गते राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यू) सामु उपस्थित हुने भएकी थिइन् । आयोगले जारी गरेको पत्रको पालना गर्दै नोरा सुनुवाइका लागि आयोगको कार्यालय पुगेकी थिइन् ।
यसअघि गत महिना सोही विवादको सन्दर्भमा अभिनेता सञ्जय दत्त पनि आयोगसामु उपस्थित भइसकेका छन् । विजया राहटकरको अध्यक्षतामा रहेको राष्ट्रिय महिला आयोगले सुनुवाइका क्रममा गीतमा देखाइएको अश्लीलता र महिलाको अनुचित प्रस्तुतीकरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको नियत, सजगता र उत्तरदायित्वमाथि प्रश्न उठाएको थियो । त्यस क्रममा सञ्जय दत्तले समाजमा पर्न गएको अन्जान असरप्रति खेद व्यक्त गर्दै लिखित रूपमा माफी मागेका थिए । उनले प्रायश्चित्त स्वरूप समाज कल्याण र महिला सशक्तिकरणको क्षेत्रमा योगदान पु¥याउन ५० जना आदिवासी बालिकाको शिक्षाको खर्च बेहोर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
यो विवादित गीतको हिन्दी संस्करण गत मार्च १५ मा युट्युबमा रिलिज भएपछि यसका यौन उत्तेजक शब्दहरूलाई लिएर सर्वसाधारणले चर्को विरोध र आक्रोश व्यक्त गरेका थिए । सामाजिक दबाब र आलोचना बढेपछि निर्माण पक्षले उक्त हिन्दी संस्करणलाई युट्युबबाट हटाएको थियो, यद्यपि यो गीत अझै पनि अन्य विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा सेयर भइरहेको छ ।
अभिनेत्री नोरा फतेहीले भने यो गीतको हिन्दी संस्करणबाट आफूलाई अलग राख्ने प्रयास गरेकी छन् । उनले आफूले केवल कन्नड संस्करणका लागि मात्र सुटिङ गरेको र हिन्दी संस्करणमा सो भिडियो प्रयोग गर्न आफ्नो कुनै अनुमति नलिइएको दाबी गरेकी छन् ।

तपाईको प्रतिक्रिया