पतिसँग मौनीको दुरी बढ्दै

मनोरञ्जन क्षेत्रमा सम्बन्ध कहिले बन्ने र कहिले बिग्रिने भन्ने अनुमान गर्न कठिन हुन्छ । भारतीय टेलिभिजन तथा बलिउड अभिनेत्री मौनी राय यतिबेला व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । मौनी र उनका पति सुरज नामवियारबीच सम्बन्धमा दूरी बढेको चर्चा भइरहेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा दुवैले एकअर्कालाई पछ्याउन छाडेपछि उनीहरूको सम्बन्ध बारे विभिन्न अड्कलबाजी सुरु भएको हो । रोमान्टिक तस्बिरले भरिएका उनीहरूका सामाजिक सञ्जाल खातामा अहिले दूरी देखिन थालेपछि प्रशंसक अचम्मित भएका छन् । मौनीले विवाहसँग सम्बन्धित केही तस्बिरसमेत हटाएकी छन् ।
दुवैले सामाजिक सञ्जालमा नियमित रूपमा संयुक्त तस्बिर तथा भिडियो सार्वजनिक गर्ने गर्थे ।

यद्यपि, उनीहरूबीच सम्बन्ध विच्छेद हुन लागेको भन्ने विषय आधिकारिक रूपमा पुष्टि भएको छैन । दुवैले यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । मौनी र सूरजले सन् २०२२ मा गोवामा विवाह गरेका थिए । एकता कपूर निर्मित टेलिभिजन धारावाहिक नागिनबाट मौनीले व्यापक लोकप्रियता हासिल गरेकी हुन् । त्यसपछि उनले चलचित्र तथा ओटीटी माध्यममा पनि काम गर्दै आएकी छन् । सूरज नाम्बियार भने मनोरञ्जन क्षेत्रभन्दा बाहिरका व्यक्ति हुन् । उनी लगानी बैंकर तथा व्यवसायीका रूपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया