मधेश प्रदेशमा विकास भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमका बिच वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निर्णय जनता समाजवादी पार्टी (जसपा) नेपालले गरेको छ । जसपा नेपाल मधेश प्रदेश संसदीय दलको बैठकले प्रदेशमा क्रियाशील नेपाली काङ्ग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सम्मिलित वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी तयारी अगाडि बढाएको बुझिएको छ ।
जसपा नेपालका एक नेताका अनुसार हाल नीति तथा कार्यक्रम एवं बजेट निर्माणको महत्त्वपूर्ण समय भएकाले तत्काल गठबन्धन भत्काएर नयाँ सरकार गठन गर्नुभन्दा वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनु उपयुक्त हुने निष्कर्षमा पार्टी पुगेको हो । आगामी दिनमा गठबन्धनकै नेतृत्वमा कसरी अगाडि बढ्ने वा वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिने भन्ने विषयमा भने गठबन्धनभित्र थप छलफल हुने उहाँले जानकारी दिनुभयो । यस सम्बन्धमा दलहरूबीच निरन्तर संवाद चलिरहेको र चाँडै नै कुनै ठोस निष्कर्षमा पुगिने उहाँको भनाइ थियो ।
हाल मधेश प्रदेश सरकारको नेतृत्व नेपाली काङ्ग्रेसका मधेश प्रदेश सभापति एवं प्रदेश सभा सदस्य कृष्णप्रसाद यादवले गरिरहनुभएको छ । सरकारमा सहभागी डा.सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले यही जेठ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । हालसम्मको राजनीतिक परिदृश्यलाई हेर्दा जसपा नेपाल वर्तमान गठबन्धनकै पक्षमा उभिएकाले उहाँले मुख्यमन्त्री यादवलाई नै विश्वासको मत दिने सम्भावना बलियो देखिएको छ, यद्यपि यसबारे औपचारिक निर्णय भने बाहिर आउन बाँकी नै छ ।
जसपा नेपालका नेता डा. सुरेन्द्र झाले जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सिर्जना भएको नयाँ परिस्थितिका कारण मुख्यमन्त्रीज्यू विश्वासको मत लिने प्रक्रियामा जानुभएको उल्लेख गर्दै यस विषयमा पार्टीभित्र आन्तरिक छलफल भइरहेको जानकारी दिनुभयो । लामो समयदेखि पर्खाइमा रहेको पार्टीको एकता प्रक्रियालाई निर्वाचन आयोगले अन्तिम टुङ्गो लगाएको छ र यसको आधिकारिक जानकारी मधेश प्रदेश सचिवालयलाई समेत पठाइसकिएको छ । यो कानुनी प्रक्रिया सम्पन्न भएसँगै जसपा नेपाल मधेश प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्न सफल भएको छ । सबैभन्दा ठुलो दल बनेको हैसियतले जसपा नेपालले सरकारको नेतृत्वमा स्वभाविक दाबी गर्न सक्ने राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ ।
यही राजनीतिक सरगर्मीका बिच मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरिरहनु हुँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पनि जनकपुर पुग्नुभएको थियो । उहाँहरूले गठबन्धनमा आबद्ध अन्य दलका शीर्ष नेताहरूसँग भेटघाट गर्नुभयो तर उहाँहरु माहोला आफ्नो पक्षमा बनाउन चाहनुभएन । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि जसपा नेपालले एमालेसँग मिलेर सरकार बनाउने कोशिसमा लाग्यो । जसपा नेपालले मुख्यमन्त्री लिने बाँकी मन्त्रालयमा सहकार्य गर्ने गरी जसपा नेपाल र एमालेबिच लगभग सहमति बनिसकेको थियो ।
एमालेसँग सरकार बनाएर काँग्रेसलाई बाहिर राख्ने दाउमा जसपा नेपाल थियो । तर नेपाल काँग्रेसका सभापति गगन थापाले जसपा नेपालका संरक्षक महन्थ ठाकुरलाई बोलाएर मधेश प्रदेशमा गठबन्धन नभत्काउन आग्रह गर्नुभएको थियो । सभापति थापाले बरु सरकारमा के गर्न सकिन्छ त्यसमा जोड घटाउ गर्न सकिन्छ गरौला तर वर्तमान गठबन्धन नतोडौ भनेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेससँग बार्गेनिङ् गर्न थाल्नुभयो ।
मधेश प्रदेशमा एमालेलाई बाहिर राखेर सरकार पुनर्गठन गरौं र सरकारको नेतृत्व जसपा नेपाललाई दिनुपर्छ प्रस्ताग गरेको थियो । यो प्रस्ताव काँग्रेसलाई मन परेको थियो । र, उपेन्द्र यादवको यो दाउ एमालेले पनि थाह पायो । एकातिर आफूहरुसँग सरकार बनाउेन कुरा गर्ने अर्कोतिर काँग्रेससँग सत्ताको बार्गेनिङ गर्ने थाह पाएर एमाले पनि काँग्रेससँग कुराकानी गरेर जसपा नेपाल मात्र होइन सबै मधेशवादी दललाई बाहिर राखेर काँग्रेस, एमाले र नेकपाको सरकार बनाउनुपर्नेमा सहमित गरे । काँग्रेस र एमालेबिच सहमति भइसकेपछि जसपा नेपाललाई सरकारबाट बाहिर फ्याल्यो जब कि वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो । मुख्यमन्त्री कृष्ण यादवलाई विश्वासको मत दिने निर्णय जसपा नेपालले गरेको थियो । तैपनि काँग्रेस र एमालेले जसपा नेपालका मन्त्रीहरुलाई बर्खास्थ गरि दिए । जसपा नेपालले काँग्रेस र एमाले दुवैसँग खेल्न खोज्दा दुवै हातबाट गयो । मधेश प्रदेशको ठुलो दल भएपनि अहिले सरकारभन्दा बाहिर बस्न भएको छ ।
हतारमा निर्णय गर्दा जनमत पार्टी चेपुवामा
अर्कातर्फ, सरकारबाट समर्थन फिर्ता लिइसकेको जनमत पार्टी भने हाल निकै असजिलो परिस्थितिमा परेको देखिन्छ । समर्थन फिर्ता लिए पनि सो पार्टीका दुई जना मन्त्रीहरूले अझैसम्म सरकारबाट राजीनामा दिएका छैनन् । जनमत पार्टीका एक पदाधिकारीका अनुसार जसपा नेपालसँगकै सल्लाह र समझदारीमा आफूहरूले सरकारबाट समर्थन फिर्ता लिएका थिए । जसपा नेपालले पनि समर्थन फिर्ता लिने र सरकार अल्पमतमा परेर ढल्ने आकलनका साथ जनमत पार्टीले हतारहतार कदम चालेको भए तापनि जसपा नेपालले रणनीति परिवर्तन गरेपछि आफूहरू धोकामा परेको उहाँको गुनासो छ । जसपा नेपालले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने लाइन समातेपछि जनमत पार्टीका लागि सरकारमा रहने वा बाहिरिने दुवै अवस्था चुनौतीपूर्ण बनेको थियो ।
यसअघि मधेश प्रदेशमा जसपा नेपालले नेकपा (एमाले) को सहयोगमा नयाँ सरकार गठन गर्ने गृहकार्य गरिरहेको र एमालेले पनि त्यसका लागि सकारात्मक संकेत दिइसकेको स्रोतको दाबी छ । तर, नेपाली काङ्ग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा राजनीतिक रूपमा निकै सक्रिय भएसँगै परिस्थिति बदलिएको हो । वर्तमान गठबन्धनलाई अक्षुण्ण राख्नका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, काङ्ग्रेस सभापति गगन थापा र नेकपाका अध्यक्ष प्रचण्डबीच सघन छलफल भएपनि जसपा नेपालले धेरै ठुलो धोका खाएको छ ।

तपाईको प्रतिक्रिया