नेपाली राजनीतिको रङ्गमञ्चमा एक प्रभावशाली, तार्किक र दूरगामी दृष्टिकोण भएका नेताको रूपमा ४९ वर्षीय गगन थापाको नाम अग्रपंक्तिमा आउँछ । उहाँको राजनीतिक जीवनको कथा केवल एक व्यक्तिको प्रगति विवरण मात्र होइन, बरु यो समकालीन नेपालको लोकतान्त्रिक आन्दोलन, गणतन्त्रको स्थापना र राजनीतिक पुस्तान्तरणको एउटा जीवन्त इतिहास पनि हो । तर २०८२ फागुन २१ गते भएको चुनावमा पराजित भएपछि देशको एउटा सम्भावनाको अन्त्य भएको चर्चा सुरु भएको छ । त्यो पनि काँग्रेसका पूर्व नेता डा.अमरेश कुमार सिंहबाट । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा गगन थापाले २२ हजार ८३१ मत मात्रै ल्याउनुभयो । काठमाडौं–४ बाट चुनाव जित्दै आउनु भएका थापा पहिलो पटक मधेश झर्नुभएको थियो ।
प्रधानमन्त्रीको उम्मेदवारको रुपमा सर्लाही–४ बाट गगन थापाले उम्मेदवारी दिनुभएको थियो । उहाँले सर्लाहीबाट उम्मेदवारी दिएको कारण मधेशमा एउटा तरङ्ग नै ल्याएको थियो । बालेन भर्सेज गगन भएको थियो । मधेशमा मात्र होइन, देशभरमै काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बिच प्रतिस्पर्धा रहने दावी आंकलन गरिएको थियो । किनभने जेनजी आन्दोलनपछि एक मात्र पार्टी नेपाली काँग्रेसको नेतृत्व पुस्तान्तरण भएको थियो र त्यसको नेतृत्व गगन थापाले गर्नुभएको थियो । विशेष महाधिवेशनबाट गगन थापाले काँग्रेसको नेतृत्व लिएर चुनावमा होमिएपछि एकखालको आश जगाएको थियो । तर चुनावको समयमा पार्टीका सभापति शेरबहादुर देउवाको असहयोगका कारण गगन थापा पराजित भएको धेरैको आँकलन रहेको देखिन्छ । तर अझै गगन थापामाथि काँग्रेसको मात्र होइन, धेरै युवाहरुको विश्वास छ ।
यद्यपी २०४६ सालको जनआन्दोलनमा एक किशोर विद्यार्थीका रूपमा सडकमा ओर्लिएदेखि आज नेपाली कांग्रेसको सभापति पदसम्म आइपुग्दा उहाँले पार गरेको यात्रा निकै प्रेरणादायी र संघर्षपूर्ण रहेको छ । गगन थापाको राजनीतिक यात्राको जग विद्यालय तहदेखि नै बस्न सुरु भइसकेको थियो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका बेला उहाँ कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो । एउटा सामान्य विद्यार्थीका रूपमा भए पनि उहाँमा रहेको राजनीतिक चेतले उहाँलाई निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी हुन प्रेरित ग¥यो । तर, उहाँको व्यवस्थित र संगठित राजनीतिक यात्राको वास्तविक अध्याय भने काठमाडौंको त्रिचन्द्र क्याम्पसमा भर्ना भएपछि सुरु भयो ।
त्रिचन्द्र क्याम्पस नेपालको विद्यार्थी राजनीतिको एउटा यस्तो केन्द्र हो, जहाँबाट धेरै प्रभावशाली नेताहरू जन्मिएका छन् । गगन थापाले पनि सोही विरासतलाई थप उचाइमा पु¥याउने काम गर्नुभयो । क्याम्पस पढ्न थालेपछि उहाँ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध हुनुभयो । उहाँको प्रखर भाषण गर्ने क्षमता, स्पष्ट वैचारिक दृष्टिकोण र युवाहरूलाई गोलबन्द गर्न सक्ने जादुमयी शैलीले गर्दा उहाँले विद्यार्थी राजनीतिमा छिट्टै आफ्नो स्थान बनाउनुभयो ।
विद्यार्थी राजनीति
२०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्यमा निर्वाचित हुनुभएका थापाको यात्रा त्यहीँ रोकिनु भएन । उहाँ क्रमशः त्रिचन्द्र स्ववियुको सदस्य सचिव हुँदै सभापति बन्न सफल हुनुभयो । क्याम्पसको नेतृत्व गर्दा उहाँले विद्यार्थीका हकहितका लागि मात्र होइन, राष्ट्रिय राजनीतिमा देखिएका विकृतिविरुद्ध पनि आवाज उठाउनुभयो । २०५५ सालमा त्रिचन्द्रको स्ववियु सभापति बनेपछि उहाँको प्रभाव नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा देखिन थाल्यो । उहाँले संगठनको उपाध्यक्षसम्म बन्नुभयो । महामन्त्रीका रूपमा २०५९ देखि २०६१ सालसम्म निकै महत्वपूर्ण र चुनौतीपूर्ण समयमा काम गर्नुभयो । यो त्यस्तो समय थियो, जब नेपालको राजनीतिमा राजा ज्ञानेन्द्रको सक्रियता बढ्दै थियो र लोकतन्त्रमाथि संकट मडारिएको थियो ।

यही समयमा गगन थापाले आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो र साहसी निर्णय लिनुभयो । तत्कालीन समयमा नेपाली कांग्रेसले विधिवत् रूपमा गणतन्त्रको एजेन्डालाई स्वीकार गरिसकेको थिएन । पार्टीको मूल नेतृत्व संवैधानिक राजतन्त्रकै पक्षमा उभिएको बेला गगन थापाले नेविसंघको मञ्चबाट “राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना“ हुनुपर्ने माग राख्दै सडक आन्दोलनको नेतृत्व गर्नुभयो । उहाँको यो अडानले पार्टीभित्र ठूलो हलचल ल्यायो । उहाँले राजद्रोहको मुद्दा खेप्नुभयो, पटक–पटक जेल पर्नुभयो, तर आफ्नो अडानबाट कहिल्यै विचलित हुनुभएन । २०५१ मा पहिलो पटक हिरासमा बस्नुभएको थियो । त्यतिबेला गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । नेवि संघले आन्दोलन गर्दा गगन थापा पटक पटक जेल पर्नुभएका थियो ।
२०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रीको कार्यकालमा उहाँसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो । त्यसपछि उहाँको अधिकांश समय सडक आन्दोलनमा बित्न थाल्यो । माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन । उहाँ पक्राउ पर्दै छुट्दै गर्नुभयो । लोकतान्त्रिक आन्दोलनमा उहाँको प्रखर भाषणले प्रसंशा हुन थाल्यो । युवा उहाँको दिवाना हुनथाल्यो । देशको राजनीतिका ध्यान आफूतिर तान्न सफल हुनुभयो त्यसपछि उहाँले राजनीतिमा कहिले पछाडि फर्केर हेर्नुभएन । २०६२÷६३ को जनआन्दोलन सफल बनाउन र नेपालमा गणतन्त्र स्थापना गर्न गगन थापाको वैचारिक नेतृत्व र युवा परिचालनको भूमिका अविस्मरणीय छ ।
संसदीय राजनीति
राष्ट्रिय राजनीतिमा स्थापित भइसकेपछि उहाँको संसदीय यात्रा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट सुरु भयो । सो निर्वाचनमा उहाँ समानुपातिक तर्फबाट सभासद चयन हुनुभयो । संविधानसभाभित्र रहँदा उहाँले संविधान निर्माणका जटिल विषयमा आफ्नो तार्किक र अध्ययनशील प्रस्तुतिमार्फत सबैको ध्यान खिच्न सफल हुनुभयो । उहाँको संसदीय प्रभावकारिता र लोकप्रियता यति बढ्यो कि दोस्रो संविधानसभा निर्वाचन २०७० मा उहाँ काठमाडौं क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बन्नुभयो र भारी मतका साथ निर्वाचित हुनुभयो । यो जितले उहाँलाई केवल सडकको नेता मात्र होइन, जनताको प्रत्यक्ष अनुमोदन प्राप्त गर्ने एउटा परिपक्व राजनीतिज्ञको रूपमा प्रमाणित ग¥यो । दोस्रो संविधानसभामा उहाँले कृषि तथा जलस्रोत समितिको सभापतिको रूपमा काम गर्दै देशको आर्थिक विकासका आधारभूत क्षेत्रहरूमा नीतिगत सुधारको प्रयास गर्नुभयो ।
गगन थापाको राजनीतिक उचाइ तब थप बढ्यो, जब उहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोस्रो प्रधानमन्त्रीकालमा स्वास्थ्य मन्त्री बन्नुभयो । उहाँको स्वास्थ्य मन्त्रीको कार्यकाललाई अहिले पनि नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमा सबैभन्दा उपलब्धिमूलक कार्यकालको रूपमा लिइन्छ । मन्त्री हुँदा उहाँले गफभन्दा बढी काम गरेर देखाउनुभयो । नेपालमा ‘स्वास्थ्य बीमा’ को अवधारणालाई कानूनी र व्यवहारिक रूपमा अघि बढाउने श्रेय उहाँलाई नै जान्छ । विपन्न नागरिकहरूका लागि सरकारी अस्पतालमा निःशुल्क औषधि, मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा र क्यान्सर जस्ता जटिल रोगको उपचारमा राज्यले दिने सहयोगको दायरा बढाउने जस्ता जनपक्षीय निर्णयहरू उहाँकै पालामा भएको थियो । उहाँले मन्त्रालयमा रहेर गरेको सुधारका प्रयासले जनतामा “राजनीतिज्ञले चाहेमा परिवर्तन सम्भव छ“ भन्ने आशा जगायो ।
गणतन्त्र नेपालको पहिलो आमचुनाव
२०७४ सालको आम निर्वाचन नेपाली कांग्रेसका लागि निकै कठिन थियो । देशभर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ‘वाम गठबन्धन’ को लहर थियो । कांग्रेसका धेरै प्रभावशाली नेताहरू पराजित भइरहेको बेला पनि गगन थापाले काठमाडौं क्षेत्र नं. ४ बाट पुनः जित हासिल गर्नुभयो । यो जितले उहाँको व्यक्तित्व कुनै पार्टीको लहरमा मात्र निर्भर छैन, बरु उहाँको व्यक्तिगत कार्यक्षमता र जनतासँगको प्रत्यक्ष सम्बन्धमा टिकेको छ भन्ने पुष्टि ग¥यो । संसदमा उहाँले प्रमुख प्रतिपक्षी दलको सांसदको रूपमा सरकारका गलत नीतिहरूको खरो आलोचना गर्ने र रचनात्मक सुझाव दिने काम गरिरहनुभयो । २०७९ पनि काठमाडौँ–४ बाट चुनाव जित्नु भएको थियो । त्यसपछि पार्टीमा पुस्तान्तरणका लागि अभियान चलाउनु भएका गगन थापा पार्टीमा सफल भएपनि २०८२ को चुनावमा सफल हुन सक्नुभएन । राजनीति जीवनमा यो उहाँको पहिलो हार हो ।
पार्टीको आन्तरिक संगठनमा पनि गगन थापा सधैं सुधार र लोकतन्त्रीकरणको पक्षमा उभिनुभएको छ । २०६७ मा भएको कांग्रेसको १२ औँ महाधिवेशनमा उहाँले सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । १३ औँ महाधिवेशनमा उहाँले कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीको उम्मेदवारी दिनुभयो । यद्यपि सो समयमा उहाँ पराजित हुनुभयो, तर उहाँले प्राप्त गरेको मतले उहाँ पार्टीभित्रको एउटा शक्ति हुनुहुन्छ भन्ने प्रष्ट पा¥यो । पराजित भए पनि पार्टी नेतृत्वले गरेका गलत निर्णयका प्रति प्रश्न उठाउनुभयो, सरकारका कामकारबाहीबारे सदनमा खबरदारी गरिरहनु भयो ।
चाहे कांग्रेससहितको प्रचण्ड नेतृत्वको सरकार होस् या ओली नेतृत्वको सरकार होस् उहाँले गलत निर्णयहरूलाई गलत भनिरहनुभयो । नरहरि आचार्यसहितका कांग्रेस नेताहरूले थालेको पार्टी सुधारको अभियानमा २०५८÷०५९ बाटै संलग्न रहेका गगन थापाले सुधारकै लागि भनेर विशेष महाधिवेशनको नेतृत्व गर्नुभएको थियो ।
२०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा भने उहाँ थप तयारीका साथ मैदानमा उत्रिनुभयो । उहाँले कोइराला परिवारको विरासत र डा.शेखर कोइरालाको समूहसँग मिलेर महामन्त्रीको उम्मेदवारी दिनुभयो । त्यतिबेला कांग्रेसका आम कार्यकर्ताले उहाँलाई अभूतपूर्व विश्वास देखाउँदै अत्यधिक मतका साथ पार्टीको महामन्त्रीमा निर्वाचित गरेको थियो । महामन्त्रीका रूपमा विजय भएपछि काँग्रेस पार्टीलाई झन चलायमान बनाउनुभयो । २०७९ मा चुनाव जितेपछि उहाँले पार्टीमा आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुभयो । त्यसका लागि उहाँले पनि प्रयास पनि गर्नुभयो । तत्कालिन सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा चुनाव लड्नु भयो तर उहाँ २५ मतले पराजित हुनुभएको थियो । तर संघर्ष त्याग्नु भएन ।
उहाँ पार्टीको संगठनलाई आधुनिक र प्रविधिमैत्री बनाउने, युवाहरूलाई आकर्षित गर्ने र पार्टीभित्र नयाँ विचारको बहस चलाउने काममा केन्द्रित हुनुभएको थियो । उहाँ केवल सत्ताको खेलमा मात्र होइन, बरु नेपालको विकासको मार्गचित्र कस्तो हुनुपर्छ भन्नेमा स्पष्ट दृष्टिकोण राख्नुहुन्छ । उहाँले ’मिसन २०८४’ जस्ता अवधारणाहरू मार्फत आगामी निर्वाचनमा कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने संकल्प लिनुभएको थियो । उहाँका भाषणहरूमा उद्यमशीलता, जलवायु परिवर्तन, शिक्षा र स्वास्थ्यको गुणस्तर जस्ता आधुनिक र समसामयिक विषयहरू प्राथमिकतामा पर्ने गर्नुभएको थियो ।
सभापतिमा चयन
पार्टीमा सुधारको कुरा गरिरहनु भएको थियो । भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनमा पार्टीलाई धेरै ठुलो क्षति भयो । पार्टीका तत्कालिन सभापति देउवा र उहाँका पत्नी आरजु राणा देउवा आन्दोलनकारीको घेरामा परेर कुटाइ खानुभएको थियो । उपचारको बहानामा उहाँ नेपाल छाडेर सिगांपुर जानुभयो । सिंगापुर जानुभन्दा पहिले देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाउनुभएको थियो । जुन कुरामा गगन थापाले असहमति जनाउनु भएको थियो । महाधिवेशन गराएर पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने समयमा सभापति देउवाले कार्यवाहक दिएर नेपाल छाड्नु गैरजिम्मेवारी काम रहेको धारणा गगन थापाले राख्नुभएको थियो ।
कार्यवाहक सभापति खड्काले पनि महाधिवशेन गराउने पक्षमा देखिनु भएको थिएन । त्यसपछि गगन थापाले विशेष महाधिवेशनको आह्वान गर्नुभयो । २०८२ पुसमा उहाँले विशेष महाधिवेशन बोलाउनुभयो । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार माग गरेपछि बोलाएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेको थियो । सभापति चयन भएपछि पार्टीमा झन विवाद उत्पन्न भयो । चुनावकै मुखमा भएको विशेष महाधिवेशनपछि गगन थापा झन शक्तिशाली हुनुभएको थियो । फागुन २१ भएको चुनावमा उहाँले आफूलाई प्रधानमन्त्रीको दाबेदारसहित चुनावमा भाग लिनुभयो ।
सर्लाहीबाट चुनाव लड्नु भएको थियो तर उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.अमरेशकुमार सिंहसँग उहाँ हार्नुभयो । तर पार्टीमा विवाद अझै मिलेको छैन ।
गगन थापाको व्यक्तित्वमा अध्ययनशीलता र स्पष्टवक्ता हुनु दुईवटा महत्वपूर्ण गुणहरू छन् । उहाँ कुनै पनि विषयमा बोल्नुअघि गहिरो अध्ययन र तथ्याङ्कको विश्लेषण गर्नुहुन्छ । यही कारणले गर्दा उहाँका विपक्षीहरू पनि उहाँसँग तर्कमा उत्रिन डराउँछन् । यद्यपि, नेतृत्वमा रहँदा उहाँले विभिन्न चुनौती र आलोचनाहरूको पनि सामना गर्नुपरेको छ । पार्टीभित्रको गुटबन्दी, संस्थापन पक्षसँगको शक्ति सङ्घर्ष र कहिलेकाहीँ उहाँमाथि लाग्ने “महत्वाकांक्षी“ को आरोप उहाँका लागि चुनौती हुन् । तर, उहाँले यी आलोचनाहरूलाई आफ्नो सुधारको अवसरको रूपमा लिँदै अघि बढ्ने प्रयत्न गरिरहनुभएको छ ।
नेपाली जनताले गगन थापालाई भविष्यको सम्भावित प्रधानमन्त्रीको रूपमा हेरेका छन् । उहाँमा रहेको युवा जोस, प्रशासकीय अनुभव र स्पष्ट भिजनले देशलाई नयाँ दिशा दिन सक्छ भन्ने आम विश्वास छ । उहाँले सधैं जोड दिने कुरा के हो भने राजनीति सेवाको माध्यम हुनुपर्छ र यसले मानिसको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन सक्नुपर्छ । कांग्रेसको ‘लिगेसी’ लाई जोगाउँदै यसलाई बदलिँदो समय अनुसार रूपान्तरण गर्ने गह्रौँ जिम्मेवारी अहिले उहाँको काँधमा छ ।
गगन थापा काँग्रेसको हट सीटमा बस्नुभएको छ । त्यो सीटबाट पार्टीको मात्र होइन, देशलाई पनि एउटा गन्तव्य कसरी दिनसक्छन् उहाँको जिम्मेवारी पनि हो । गगन थापा नेपाली राजनीतिको एउटा यस्तो दियो हुनुहुन्छ, जसले अन्धकारमा पनि आशाको किरण देखाउँछ। त्रिचन्द्रको सानो विद्यार्थी कोठाबाट सुरु भएको उहाँको यात्राले आज देशको मूलधारको राजनीतिलाई नै प्रभावित पारेको छ ।
उहाँको प्रोफाइल केवल सफलताको सूची मात्र होइन, यो निरन्तरको संघर्ष, अध्ययन र जनसेवाको प्रतिफल हो । नेपाली कांग्रेसलाई नयाँ उचाइमा पु¥याउन र नेपाललाई एक समृद्ध लोकतान्त्रिक राष्ट्र बनाउन गगन थापा जस्ता नेताको भूमिका आगामी दिनमा झन् बढी निर्णायक हुने देखिन्छ । उहाँको राजनीतिक यात्रा अझै धेरै बाँकी छ र नेपाली जनता उहाँको नेतृत्वमा एउटा नयाँ र समृद्ध नेपालको सपना साकार भएको हेर्न प्रतीक्षारत छन् ।
गगन थापाको जन्म २०३३ साउन ४ गते सोलुखुम्बुमा भएको हो । पछि काठमाडौँ बस्न थाल्नुभयो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाका छोरा थापाले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँका बुबा विद्युत प्राधिकरणका जागिरे हुनुहुन्थ्यो । उहाँका दुई जना छोरी छन् । उहाँकी पत्नी काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीका छोरी डा.अञ्जना केसी हुनुहुन्छ । अञ्जनासँग सन् २००८ मा विहे भएको हो ।

तपाईको प्रतिक्रिया