नख्खु जेलमा रहनु भएका संजय साह (टकला)ले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेखेर आफ्नो बारेमा सत्यतथ्य छानविन गरी न्याय दिलाउन आग्रह गर्नुभएको छ । नख्खु जेलका जेलरमार्फत उहाँले प्रधानमन्त्री कार्यालयसम्म सो पत्र पुर्याउनु भएको छ । जेनजी आन्दोलनको क्रममा जेलबाट भाग्न सफल उहाँ सरकारको आग्रहमा पुनः जेल फर्किनु भएको छ । उहाँले आफूलाई जेनजी आन्दोलनको समर्थक भन्दै न्यायका लागि आग्रह गर्नुभएको छ ।
जनकपुरमा भएको काण्डको आरोपमा १२ वर्षदेखि जेलमा रहनुभएका टकलाले आफू निर्दोष रहेको र त्यसको बारेमा सत्यतथ्या जाँच गराई दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ छ । उहाँले आफ्नो मुद्दामाथि अदालतबाट तत्काल निष्पक्ष सुनुवाई हुने व्यवस्था मिलाइदिन माग गर्दै उहाँले आफूविरुद्ध लागेका भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण एवं ज्यान सम्बन्धी दुवै मुद्दाहरू आधारहीन रहेको दाबी गर्नुभएको छ । आफ्नो बुबाको नाममा रहेको र आफू नाबालक छँदै खरिद गरिएको जग्गालाई समेत भ्रष्टाचार गरेर आर्जन गरेको भनि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले मुद्दा चलाएको साहको दावी छ ।
उहाँले आफ्ना बुबाले पैतृक सम्पत्तिको रुपमा प्राप्त गरेका र आफू नाबालक हुँदै नै खरिद गरेको तत्कालिन गाविस कपिलेश्वर वडाको जग्गाहरु अहिले जनकपुर उपमहानगरपालिका वडा नम्बर १६ मा परेको निवेदनमा उल्लेख गर्नुभएको छ । उहाँले आफ्ना बुबा साधु साह सुडिको नाममा रहेको तत्कालिन गाविस लोहनाको जग्गा पनि खरिद गरेर बुबाको नाममा राखेको दावी गर्नुभएको छ । यद्यपी अख्तियारले त्यसमा पनि मुद्दा दायर गरेको बताउँदै उहाँले भन्नुभयो, ‘मेरो जन्म हुनुभन्दा पहिलेको जग्गाहरु मैले खरिद गरी बुबाको नाममा राखि सम्पत्ति शुद्धिकरण गरेको भनि मुद्दा दायर गरिएको छ ।’
आफ्नो व्यापारिक फर्मको सात वर्षको कुल कारोबारलाई नै अकुत सम्पत्ति मानेर बिगो कायम गरिएको तर सो रकम कुनै पनि समयमा निक्षेपका रूपमा मौज्दात नरहेको उहाँले दावी गर्नुभएको छ । त्यसैगरि उहाँले ज्यान सम्बन्धी मुद्दामा आफ्नो ‘पोलिग्राफ जाँच’ हुँदा निर्दोष देखिएको तर सो रिपोर्ट अदालतमा नबुझाई आफूलाई जन्मकैदको फैसला सुनाइएको उहाँले पत्रमा लेख्नुभएको छ । जसले आफूमाथि आरोप लगाएका छन् त्यसको पनि पोलिग्राफ जाँच हुनुपर्ने माग गर्दै संजय साहले पोलिग्राफको रिर्पोटले निर्दोष देखाए पनि अदालतका न्यायधिशले त्यसलाई हेर्दै नहेरी जन्मकैदको फैसला गरेको भन्दै उहाँले हाल सो मुद्दा लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको उल्लेख गर्नुभएको छ ।
साहले आफूलाई बदनियतपूर्वक दोषी ठहर गर्ने तत्कालीन विशेष अदालत र उच्च अदालत जनकपुरका न्यायाधीशहरूको नामै किटेर उहाँहरूमाथि कारबाहीको माग गर्नुभएको छ । उहाँले विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्ति सिंह थापा, र चन्द्र बहादुर सारु तथा उच्च अदालत जनकपुरका न्यायाधीशहरू प्रमोद कुमार श्रेष्ठ वैद्य र डाल कुमार खड्काले प्रमाणको वास्ता नगरी फैसला गरेको आरोप लगाउनु भएको छ । अदालतहरूमा चर्चित मानिसहरूलाई दोषी ठहर गरिदिँदा आफू इमान्दार देखिने मानसिकता न्यायाधीशहरूमा देखिएको आरोप लगाउदै उहाँले आफ्नो मुद्दा सर्वोच्च अदालतमा वर्षौँदेखि विचाराधीन अवस्थामा रहेको र कानुन अनुसार ६ महिनाभित्र हुनुपर्ने सुनुवाई विभिन्न बहानामा अगाडि नबढाएको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया