त्रिपाठीले काढ्यो मह, अर्कै चाट्यो हात

‘जसले मह काढ्छ उसैले हात चाट्छ’ भनाई जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीका लागि यतिखेर फिटिक्कै मिल्दैन । घरघर गएर मधेशवादी दललाई मिलाउने काम गर्नुभएका त्रिपाठी अहिले सोही एकताबाट आउट हुनुभएको छ । नेताहरुको घरघर गएर एक एक नेतालाइ कन्भिन्स गरेर उहाँले संघीय लोकतान्त्रिक मोर्चा गठन गर्न लगाउनु भएको थियो । २०८१ को मध्यतिर उहाँले प्रयास थाल्नुभएको थियो । प्रयास त्यतिबेला थाल्नुभएको थियो । एमाले र काँग्रेस बिच २०८१ असारमा सात बुँदे सम्झौता भएर गठबन्धन बनेको थियो । सो गठबन्धनले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने, दुई दलीय व्यवस्था ल्याउनेलगायतका आन्तरिक सम्झौता गरेको थियो ।

 

त्यसबाट भयभित भएर मधेशवादी दलहरु संगठित हुन थालेका थिए । त्यसको अगुवाइ त्रिपाठीले गर्नुभएको थियो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र जनता प्रगतिशिल पार्टीबिच मोर्चा बनाउन उहाँ सफल हुनुभयो ।

 

तर २०८१ चैतमा मोर्चा घोषणा हुँदा अशोक राइ नेतृत्वको जसपा सहभागी भएन । मोर्चा गठन भएपछि मधेशको राजनीतिमा सक्रिय भयो । त्यतिबेला काँग्रेस–एमाले नेतृत्वको सरकार थियो । मोर्चा निकै सक्रिय भएको थियो । मोर्चाको सचिवालय त्रिपाठीको पार्टी अफिसमा थियो । भदौं २३ र २४ गते जेनजी आन्दोलन भयो । मोर्चाको गतिविधि चलिरहेकै बेला पार्टी एकताको कुरा पनि उठ्यो । सोही क्रममा लोसपा, तमलोपा र जनता प्रगतिशिल पार्टीबिच एकता भयो । तर पूर्णता पाएको थिएन । त्यति नै बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र लोसपाबिच एकता भयो । तर त्यो एकता प्रकृयामा त्रिपाठी र वृषेशचन्द्र लालसँग कुनै सल्लाह नै भएन । फागुन २१ मा चुनावको तयारी भइरहेको बेला वृषेशचन्द्र लाल एकता प्रकृयाबाट अलग हुनुभयो ।

 

गत पुसमा २७ गते जसपा नेपाल र लोसपाबिच औपचारिक रुपमा एकता घोषणा भएको थियो । एकता भएको जानकारी निर्वाचन आयोगलाई पनि गराई सकेको थियो । फागुन २१ भएको चुनावमा दुवै पार्टी एकीकृत रुपमा चुनाव लडेका थिए । तर एकताका लागि बुझाएको कागजातमा केही नेताहरु दुईटा पार्टीमा रहेको देखिएको भन्दै त्यसलाई स्पष्ट गर्न तथा अन्य अपूग कागजात निर्वाचन आयोगले जसपा नेपालसँग माग गरिएको थियो । यसअघि भएको एकता प्रकृयामा ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी पनि सहभागी थिए । सो पार्टीका नेता डा.सुरेन्द्र झाले तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले यसअघि नै विज्ञप्ति जारी गरेर पार्टी एकताबाट अलग भएको बताउनुभयो । यता त्रिपाठीजीले आफ्नो पुरानो पार्टी बन्द नगराएको कारण यो एकता प्रकृयामा तत्काल समावेश हुन नसकेको बताउनुभयो ।

 

निर्वाचन आयोगमा जनता प्रगतिशिल पार्टी पनि अस्तित्वमा रहेको कारण एउटै व्यक्ति दुई ठाउँमा रहन नसक्ने भएकाले अहिलेको एकता प्रकृयामा त्यो पार्टीलाई समावेश नगराएको उहाँले बताउनुभयो । अध्यक्ष त्रिपाठीले निर्वाचन आयोगमा दर्तामा रहेको जनता प्रगतिशिल पार्टी बन्द गराएपछि जसपा नेपालमा समावेश गराउने उहाँले बताउनुभयो । जब कि यी दलहरुको बिच एकता वा मोर्चाबन्दी गराउन त्रिपाठीले निकै मेहनत गर्नुभएको थियो । दलहरुलाई एक ठाउँमा बसाउनका लागि उहाँले विभिन्न बहानामा बोलाउनु हुन्थ्यो । चाडपर्वको मौका पारेर नेताहरुलाई बोलाएर खुवाउने र बस्नका लागि मौका मिलाइ दिनुभएको थियो । जब कि त्यसअघि नेताहरुको बिचका बोलचाल समेत थिएन ।

त्रिपाठीका कारण नेताहरु एक ठाउँमा बस्न थाले । मोर्चा गठन भयो । केही दलको बिचमा एकता नै भयो । यसमा त्रिपाठीको ठुलो योगदान रहेको छ । तर अन्त्यमा उहाँलाई एकताबाट अलग गरियो । यसैलाई भनिन्छ, ‘महा काढेपनि हात अर्कैले चाट्यो ।’ तर त्रिपाठीले जसपा नेपाल र लोसपा नेपालसँग केही मुद्दामा कुरा नमिलेको कारण आफू अलग भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया