अगामी असार ७ गते महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अन्तरिक विवाद चुलिएको छ । देशभर भइरहेको जिल्ला, पालिका तथा प्रदेश अधिवेशनहरुमा देखिएको विवाद केन्द्रसम्म सल्किने सम्भावना देखिएको छ । त्यसको असर सिधै महाधिवेशनमा देखिने निश्चित छ । विवादै विवाद बिच पालिका, जिल्ला तथा प्रदेशबाट चुनिएका प्रतिनिधि नै महाधिवेशनमा आउने छन् र त्यसको प्रत्यक्ष प्रभाव त्यहाँ देखिने राजनीतिक विश्लेषकहरु बताउछन् ।
त्यसको मुख्य कारण मधेश हुने देखिएको छ । फागुन २१ गते भएको चुनावमा खुलेर साथ दिएको मधेशमा यतिखेर जताततै रास्वपामा कुटाकुट भइरहेको छ । कतिपय ठाउँमा घाइते भएर अस्पताल समेत भर्ना भएका छन् भने अधिकाँश ठाउँको अधिवेशन स्थगित भएका छन् । जेठ १७ गतेभित्र पालिका अधिवेशन सक्नुपर्ने रास्वपाको कार्यतालिका छ । तर, विवादका कारण अधिकांश ठाउँमा पालिका अधिवेशन हुन सकेको छैन । केन्द्रीय कार्यालयले प्राविधिक कारण देखाउदै स्थगित गराउँदै आएको छ । सबभन्दा ठुलो विवाद बारा जिल्लामा देखिएको छ । त्यहाँको अधिवेशनमा विवाद हुँदा कार्यकर्ता तथा नेताले बारा जिल्लाबाट सांसद बनेकाहरुलाई कार्यक्रमस्थलबाट लेखेटेका थिए ।
बारा जिल्लामा एकपक्षीय ढंगले जिल्ला कार्यसमिति गठन गर्न लागेको आरोप लगाउँदै एउटा समूहले विरोध गरेको थियो । विवादपछि झगडा हुन थालेपछि पार्टीका सांसदहरुलाई कार्यकर्ताहरु लखेट्न थालेपछि उहाँहरुले प्रहरीको सहारा लिनु भएको थियो । गएको वैशाख २७ गते बारा जिल्ला कार्यसमिति केन्द्रीय समितिले विघटन गर्दै केहीलाई निष्कासित गरेका थिए । निष्कासित पक्षधरहरूले विरोध गरेको आरोप प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले लगाउँदै आउनु भएको छ । तर, अर्को पक्ष भने भुइँ तहमा काम गर्ने पार्टीका सक्रिय सदस्यहरूलाई बाइपास आरोप लगाएको छ । रास्वपा केन्द्रीय कार्यसमितिले बारामा जिल्ला कार्यसमिति गठन नगरी वडा र पालिका अधिवेशन गर्न निर्देशन दिइसकेको छ ।
महोत्तरीमा जेठ १४ गते पालिका अधिवेशन हुँदै गर्दा विवाद भयो । जलेश्वर नगरपालिकामा आयोजित रास्वपाको नगरसभामा दुई पक्षबीच विवाद भयो । त्यहाँ सभापति पदका लागि दुईजना आकांक्षी हुनुहुन्छ । अजय साह र विनय राय दुवै जलेश्वर नगरपालिका सभापति पदका आकांक्षी हुनुहुन्छ । एक पक्षले सर्वसम्मत् सभापति चयन हुनुपर्ने अडान लिएको थियो भने अर्को पक्षले निर्वाचनबाट सभापति चयन हुनुपर्ने जिकिर गरेको थियो । त्यही विषयमा दुवै पक्षबीच होहल्लासहित विवाद भएको महोत्तरी जिल्ला रास्वपाका सभापति शुभमकुमार यादवले बताउनुभयो ।
सबैलाई पदमै जाने इच्छा हुन्छ, तर सबैलाई दिनखालको पद हुँदैन, एक जनाले पद पाएपछि अर्कोलाई चित्त दुख्ने स्वभाविक हो त्यही भएर यस्तो विवादहरु हुने गरेको उहाँले बताउनुभयो । नयाँ पार्टी हो, यो पार्टीको सम्भावना देखेपछि पार्टीप्रति आकर्षण बढेको हो र पार्टीमा आएका नेता तथा कार्यकर्तालाई व्यवस्थापन गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो । पार्टीले आफ्नो विधि अनुसार नै अधिवेशन गर्ने र सबैलाई व्यवस्थापन गर्ने बताउँदै उहाँले अनुशासन विपरित काम गर्नेलाई कारवाही पनि हुने चेतावनी पनि दिनुभयो ।
धनुषामा पनि विवादकै कारण १८ मध्ये चार पालिकामा मात्र अधिवेशन भएकोे छ । रास्वपा धनुषा सभापति लक्षमेश्वर यादवका अनुसार मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा मात्र अधिवेसन हुन सकेको छ । धनुषाधाम नगरपालिकामा जेठ ९ गते नै अधिवेशनको मिति तोकिएको थियो । तर, विवाद हुँदा अधिवेशन हुन नसकेको सभापति यादवले बताउनुभयो । उहाँका अनुसार शुक्रबार तदर्थ समिति बनाएर अधिवेशन हुन्छ । यहाँ पनि दुई समूह छन् । हाल पालिका संयोजक राजकुमार ठाकुर र अर्को जेनजी उमेरका युवा सभापतिका आकांक्षी हुनुहुन्छ ।
रास्वपा मधेश प्रदेश आरएटी विभाग संयोजक शम्भुप्रसाद साहले पनि जिल्ला सभापतिले सबै पालिकामा एकलौटी गरिरहेको आरोप लगाउनुभएको छ । सभापति यादवले अधिवेशनमा तानाशाही प्रवृत्ति देखाएको उहाँको गुनासो छ । सबै पक्ष र सक्रिय युवालाई बाइपास गरेको उहाँको आरोप छ । सिरहामा पनि सुरुदेखि विवाद चलिरहेको छ । त्यहाँ पनि नेतृत्वलाई लिएर पालिकाहरुमा विवाद चलिरहेका छन् ।
कसैले कसैलाई स्विकार गर्ने पक्षमा देखिएको छैन । ठाउँ ठाउँ झडप भइरहेको छ । सिरहा जिल्ला अधिवेशनमा १७ मध्ये १५ वटा पालिकालाई मात्र सहभागी गराइएको छ । विवाद भएका दुई पालिका भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिकालाई सहभागी गराइएको छैन । यी दुई पालिकामा तदर्थ समिति गठन हुँदा पनि विवाद भएको थियो ।
सर्लाहीमा जिल्ला अधिवेशनका लागि बनेको प्रतिनिधिको सूचीमै विवाद छ । यसका कारण त्यहाँ अधिवेशनबारे अन्योलता छ । पर्सामा पनि यो समाचार तयार पार्दासम्म विवाद जारी छ । रौतहट जिल्लाको अधिवेशन पनि विवादित छ । त्यहाँ बाहिरका प्रतिनिधि पनि राख्नुपर्ने प्रतिनिधिसभा सदस्यहरूको अडानका कारण विवाद भएको छ । विवादकै कारण बारा जिल्ला अधिवेशन अन्योल बनेको थियो । सभापति रहेका चन्दन स्वर्णकारलाई कारबाही गरेर पार्टीबाट निकालेपछि विवाद बल्झिएको थियो । त्यसका कारण केही दिनअघि जिल्लामा बसेको विस्तारित बैठकमा प्रतिनिधिसभा सदस्यहरू नै चपेटामा पर्नुभयो । त्यहाँ भागाभागको अवस्था सिर्जना भएको थियो । सप्तरीमा पनि दुई गुटबिच विवाद हुँदा अधिवेशन स्थगित गरेको छ ।
गत फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा मधेशमा रास्वपाको अप्रत्यासित परिणाम आयो । ३२ मध्ये धनुषा–१ र रौतहट–४ बाहेक ३० वटै सिट रास्वपाले जितेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को इन्ट्रीले मधेशमा चुनावी माहोल नै फेरियो । नपत्याइएका उम्मेदवारहरू भारी मतान्तरले विजयी हुनभयो । देशैभरि १८२ सिटसहित रास्वपाले चुनावी परिणाम ल्यायो । मधेशमा यसरी सीट हातेपारेपछि पार्टीप्रति ह्वातै आकर्षण बढेको पर्साबाट चुनाव जितेका रोहवरण अन्सारीले बताउनुभयो । देशकै ठुलो पार्टी भएको कारण केही सानोतिनो विवाद हुनु अस्वभाविक होइन, यी विस्तारै मिल्दै जाने बताउनुभयो ।
मधेश प्रदेश रास्वपाका महामन्त्री मनिष साहले भन्नुभयो, ‘अधिकाँश ठाउँमा पार्टीबाट चुनाव जितेका सांसदहरुकै कारण विवाद भइरहेका छन्, उहाँहरु चुनावको बेला विभिन्न आश्वासन दिनुभएको थियो त्यही आश्वासन पुरा गर्ने क्रममा विवाद देखिएको हो ।’ चुनावको समयमा उहाँहरुले विभिन्न व्यक्तिलाई विभिन्न पद भित्रभित्रै बाँड्नु भएको थियो । विभिन्न आश्वन दिनुभएको थियो ।
अहिले त्यही आश्वासन पुरा गर्न खोज्दा आन्तरिक विवाद देखिएको हो । अर्को कुरा, आगामी स्थानीय तथा प्रदेशसभा चुनावमा टिकट हात पार्ने र टिकट वितरणमा आफ्नो पकड कायम गर्न नेता–कार्यकर्ताले चाहेको देखिन्छ । त्यसले गर्दा पनि पार्टीको पदमा आउन मरिहत्ते गरिरहेको जानकारहरु बताउँछन् । यस्तो रास्वपामा मात्र होइन, हरेक पार्टीमा देखिएको छ । मधेश प्रदेशमा हरेक पार्टीमा विवाद छ । माओवादी जो अहिले नेपाली कम्युनिष्ट पार्टी बनेको छ । सो पार्टीको विवाद कहिले समाधान हुनसकेन । काँग्रेसमा अहिलेसम्म विवाद जारी छ । एमाले पार्टीमा स्पष्ट रुपमा गुटबन्दी देखिएको छ । जसपा नेपालको विवाद छताछुल्ल छ । त्यसैले भन्ने गरिएको छ, मधेशमा घण्टीलाई त्यति सजिलो छैन ।

तपाईको प्रतिक्रिया