जेनजी आन्दोनलले छोएन महन्थ र उपेन्द्रलाई

नेपाली राजनीतिको इतिहासमा युवा विद्रोह र आन्दोलनहरूले सत्ताको समीकरण मात्र बदलेका छैनन्, पार्टीका आन्तरिक संरचनाहरूलाई समेत हल्लाउने काम गरेका छन् । भदौ २३ र २४ गते देशव्यापी रूपमा सञ्चालन भएको ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको अभूतपूर्व आन्दोलनले नेपाली राजनीतिमा एउटा गम्भीर र दीर्घकालीन परिवर्तनको जग बसालेको छ । यो आन्दोलन केवल सडक प्रदर्शनमा मात्र सीमित रहेन, यसले दशकौंदेखि राज्यका विभिन्न अंग र राजनीतिक दलहरूको शीर्ष तहमा कब्जा जमाएर बसेका पुराना नेताहरूलाई विश्राम लिन र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न एउटा कडा राजनीतिक म्यान्डेट जारी भयो ।

यस आन्दोलनको राप र तापका कारण देशका धेरै क्षेत्र तथा पुराना राजनीतिक शक्तिहरूमा परिवर्तनको प्रत्याभूति हुन थालेको छ । युवाहरूको चेतना र आक्रोशका अगाडि स्थापित दलहरू आफ्ना पुराना रणनीति बदल्न बाध्य भइरहेका छन् । तर विडम्बनाको कुरा, नेपाली राजनीतिको एउटा प्रमुख हिस्सा मानिने मधेशवादी दलहरूमा भने यो ऐतिहासिक युवा आन्दोलनको कुनै पनि सकारात्मक अनुभूति हुन सकेको छैन । सिंगो देश पुस्तान्तरण र नेतृत्व परिवर्तनको दिशामा अगाडि बढिरहँदा मधेशका पार्टीहरू भने अझै पनि पुराना अनुहारकै छहारीभित्र संकुचित बनेका छन् ।

वर्तमान समयमा नेपालका साना–ठूला सबै राजनीतिक दलहरूमा पुस्तान्तरणको बहस निकै जोडतोडका साथ उठिरहेको छ । सडकदेखि सदनसम्म र पार्टीका भुइँतहका कार्यकर्तादेखि बुद्धिजीवी वर्गसम्मले अब पुराना नेताहरूले अभिभावकीय भूमिकामा बसेर युवा पुस्तालाई कार्यकारी अधिकार सुम्पनुपर्ने माग गरिरहेका छन् । तर, यो व्यावहारिक परिवर्तनको अभ्यास नेपाली कांग्रेसबाहेक अरू कुनै पनि राजनीतिक दलमा हुन सकेको देखिँदैन । नेपाली कांग्रेसभित्र पनि आन्तरिक संघर्ष र विवाद नभएका होइनन्, तर युवाहरूको चर्को दबाब र बदलिँदो जनभावनालाई कदर गर्दै त्यहाँ ठूलो राजनीतिक क्रमभंगता गरियो ।

ठुला दलको हालत पनि त्यस्तै
पार्टीमा विशेष महाधिवेशन गराएरै भए पनि दशकौंदेखि सत्ता र शक्तिमा रहेका शेरबहादुर देउवालाई रिप्लेस गर्दै युवा नेता गगन थापा पार्टीको सभापति बन्न सफल हुनुभयो । कांग्रेसको यो कदमले देशैभरिका युवाहरूमा एउटा ठूलो आशाको सञ्चार गरायो र नेपाली राजनीतिमा वास्तविक पुस्तान्तरण सम्भव छ भन्ने कुराको प्रत्यक्ष अनुभूति गरायो । कांग्रेसबाहेकका अन्य ठूला दलहरू जस्तै नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमा भने नेतृत्व परिवर्तनको कुनै पनि ठोस गुन्जाइस अहिलेसम्म देखिएको छैन। ती दलहरूमा अझै पनि संस्थापन पक्षकै पुराना नेताहरूको पकड बलियो छ र उनीहरू नयाँ पुस्तालाई बाटो छाड्न कत्ति पनि तयार देखिँदैनन् ।

यसको सबैभन्दा स्पष्ट उदाहरण नेकपा एमालेभित्रको राजनीतिक परिदृश्यलाई लिन सकिन्छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीभित्र र बाहिरबाट नेतृत्व हस्तान्तरणका लागि चौतर्फी दबाब सिर्जना भइरहेको छ । तर, उहाँले जुनसुकै परिस्थिति आए पनि पार्टीको नेतृत्व तत्काल नछाड्ने कुरा स्पष्ट रूपमा सार्वजनिक गरिसक्नुभएको छ । एक सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले आफूले पार्टीको नेतृत्व छाड्छु भन्ने कुरा कसैले नचिताए हुन्छ भन्दै आफ्ना विरोधी र पुस्तान्तरणका पक्षधरहरूलाई खुला चुनौती दिनुभयो ।

उहाँको यो अभिव्यक्तिले एमालेभित्र तत्काल नयाँ पुस्ताले अवसर पाउने सम्भावनाको ढोका बन्द गरिदिएको छ । यस्तै हठ र यथास्थितिवादी चरित्र विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा पनि स्पष्ट रूपमा देखिएको छ । पार्टीभित्र नयाँ र ऊर्जावान् विकल्प दिनुपर्ने समयमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफैंलाई सधैं केन्द्रमा राखिरहनुभयो । वास्तविक रूपमा पार्टीको नेतृत्व परिवर्तन गर्ने यो नेकपाका लागि एउटा ठूलो र ऐतिहासिक चान्स थियो । तर, प्रचण्ड आफैं अघि सरेर नेतृत्व हत्याउनुभयो भने अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई सहसंयोजकको भूमिकामा सीमित पारिदिनुभयो । पार्टीमा न्यायोचित पुस्तान्तरण र नेतृत्व परिवर्तन नभएकै कारण असन्तुष्ट बन्दै प्रभावशाली नेता जनार्दन शर्माले पार्टी नै परित्याग गर्नुभयो । शर्मासँगै अरू केही पुराना र स्थापित नेताहरूले पनि पार्टी छाडेर हिँडे, तर प्रचण्डले आफ्नो अडान बदल्नुभएन र नेतृत्व छाड्न कहिल्यै चाहनुभएन ।

ठुलो दलका छायाँ मधेशी दलमाथि
ठूला कम्युनिष्ट पार्टीहरूको यही अनुदारवादी प्रवृत्तिको हुबहु छाया मधेश केन्द्रित दलहरूमा पनि प्रष्ट रूपमा देखा परेको छ। मधेशको अधिकार, पहिचान र क्षेत्रीय उत्थानका नाममा राजनीति गरिरहेका मधेशकेन्द्रित दलहरूमध्ये कुनै पनि दलका अध्यक्ष वा शीर्ष नेताहरू पार्टीको नेतृत्व नयाँ पुस्तालाई सुम्पने पक्षमा कत्ति पनि देखिनुभएका छैनन् । जेनजी आन्दोलनले समग्र देशलाई नै नेतृत्व परिवर्तन तथा युवा पुस्तान्तरणको स्पष्ट र कडा म्यान्डेट दिएको भए तापनि मधेशका पुराना नेताहरूमा कुर्सीको मोह अलिकति पनि घटेको छैन ।

पार्टीभित्र समयसापेक्ष नीति र नेतृत्वमा कुनै परिवर्तन नल्याएपछि सजग भइसकेका मधेशका जनताले चुनावमा त्यसको कडा र नराम्रो परिणाम पनि देखाइसकेका छन् । गत फागुन २१ गते भएको चुनावमा मधेशका मतदाताले परम्परागत मतपेटिकाको राजनीतिलाई बदल्दै मधेशवादी दलहरूलाई करिब–करिब शून्यको अवस्थामा झारिदिए । यो लज्जास्पद पराजय मधेशी नेतृत्वका लागि एउटा ठूलो पाठ र सच्चिने अन्तिम मौका थियो । तर, यति ठूलो राजनीतिक धक्का लाग्दा पनि मधेशका शीर्ष नेताहरूले अझै चेतेका छैनन्। उनीहरूले जनभावना बुझेर युवालाई अगाडि सार्नुको साटो उल्टै आफ्नो अस्तित्व जोगाउनका लागि पुरानै राजनीतिक जोडघटाउ र शक्ति सन्तुलनको पुरानो खेल सुरु गरे ।

यसैको परिणाम स्वरूप, चुनावको ठूलो हारपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका बीचमा हतार–हतार पार्टी एकताको घोषणा गरियो। एकीकृत पार्टीको नाम पुरानै शैलीमा ‘जनता समाजवादी पार्टी नेपाल’ अर्थात् जसपा नेपाल नै कायम राखियो । तर, यति ठूलो सांगठनिक पुनर्गठन र एकता प्रक्रिया हुँदा पनि पार्टीको नेतृत्व तहमा कुनै पनि तात्विक परिवर्तन वा सुधार ल्याइएन । एकीकृत पार्टीको सर्वोच्च र कार्यकारी अध्यक्षको पदमा पुनः उपेन्द्र यादव नै आसिन हुनुभयो भने अर्का ज्येष्ठ नेता महन्थ ठाकुरलाई पार्टीको संरक्षकको भूमिकामा राखियो । पार्टीका अन्य महत्वपूर्ण र पदाधिकारी पदहरूमा पनि तिनै पुराना, घुमीफिरी सत्ताको स्वाद चाखिरहेका नेताहरूलाई नै व्यवस्थापन गरियो ।

यो एकताले मधेशका आम युवा कार्यकर्ता र सर्वसाधारण जनतामा ठूलो निराशा पैदा गरिदियो, किनकि उनीहरूले यसपटक मधेशको राजनीतिमा केही नयाँ अनुहार र नयाँ सोचको अपेक्षा गरेका थिए । नेतृत्वको यही तानाशाही र यथास्थितिवादी चरित्रका कारण जसपा नेपालभित्र आन्तरिक कलह र विद्रोहको आगो सल्किएको छ । पार्टीका वरिष्ठ नेता रामकुमार शर्मालगायतका केही जुझारु नेताहरूले अब मधेशी दलहरूमा अनिवार्य रूपमा नेतृत्व परिवर्तन हुनुपर्छ भन्दै पार्टीको आन्तरिक बैठक र मञ्चहरूमा जोडतोडले आवाज उठाउनुभयो । उहाँहरूले जेनजी आन्दोलनको भावना र फागुन २१ गतेको चुनावको परिणामलाई आत्मसात गर्दै युवाहरूलाई नेतृत्व सुम्पन नेतृत्वलाई बारम्बार आग्रह गर्नुभयो । तर, पार्टीको शीर्ष तहमा कुनै पनि हालतमा नेतृत्व परिवर्तन नहुने र पुराना नेताहरूले कुर्सी नछाड्ने निश्चित देखिएपछि नेता रामकुमार शर्माले अन्ततः पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभयो ।

शर्माको बहिर्गमनसँगै अर्का प्रभावशाली नेता राजकिशोर यादव पनि पार्टीका गतिविधिहरूबाट पूर्ण रूपमा निष्कृय भएर बस्नुभएको छ । पार्टीभित्र नयाँ सोच राख्ने थुप्रै युवा नेताहरू अहिले घोर असन्तुष्ट भएर बस्न बाध्य भएका छन्, तर नेतृत्वको कडा कारबाही र राजनीतिक भविष्यको डरले गर्दा उनीहरू सार्वजनिक रूपमा नेतृत्व परिवर्तनको नाम समेत लिन सकिरहेका छैनन् । यसको विपरित, संस्थापन पक्षका नेताहरू भने अझै पनि पुरानै नेतृत्वको अन्धभक्त बचाउमा लागेका छन् । जसपा नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका सांसद लालबाबु राउतले अहिलेको परिस्थितिमा उपेन्द्र यादवको विकल्प खोज्ने बेला कत्ति पनि नभएको दाबी गर्नुहुन्छ ।

उहाँका अनुसार मधेशको अधिकारको लडाइँ अझै बाँकी नै रहेकाले मधेशमा अझै पनि उपेन्द्र यादवकै नेतृत्व अपरिहार्य र आवश्यक छ ।

पार्टीका अर्का नेता शैलेन्द्र साहले पनि देशको वर्तमान जटिल राजनीतिक परिस्थिति र राष्ट्रिय राजनीतिको सन्तुलन अनुसार मधेशको समग्र राजनीतिमा अझै लामो समयसम्म उपेन्द्र यादवको अनुभव र आवश्यकता रहेको तर्क गर्नुहुन्छ । यसरी नेतृत्वको वरिपरि रहेका नेताहरूले पुरानै शक्तिको चाकडी गरिरहँदा पार्टीको जग भने भित्रभित्रै भत्किँदै गइरहेको छ ।

राजीनामा दिनुभएका नेता रामकुमार शर्माको विश्लेषण भने योभन्दा बिल्कुलै फरक र चेतावनीपूर्ण छ । उहाँले मधेश केन्द्रित दलहरूमा यदि तत्काल नेतृत्व परिवर्तन र युवा पुस्तान्तरण भएन भने आगामी निर्वाचनमा मधेशी दलहरूको अवस्था योभन्दा पनि झन् भयानक र बुरा हुने दावी गर्नुभयो । शर्माका अनुसार फागुन २१ गतेको चुनावको परिणाम मधेशका जनताले मधेशवादी दलहरूलाई पूर्ण रूपमा बहिष्कार गरेको नभई केवल अन्तिम पटक सच्चिने र गल्ती सुधार्ने एउटा मौका दिएका हुन् । तर यदि यो ऐतिहासिक अवसरमा पनि नेताहरू नसच्चिने हो भने आगामी आम चुनावमा यी दलहरूले सिंगो देशमा एउटा पनि सिट जित्न सक्ने छैनन् र कुनै पनि इमानदार नेता तथा कार्यकर्ता पार्टीमा बाँकी नरहने निश्चित छ ।

उहाँले उपेन्द्र यादव र महन्थ ठाकुरलाई पार्टी जोगाउनका लागि भए पनि अब स्वेच्छाले कार्यकारी ठाउँ छाडिदिनुपर्ने सल्लाह दिनुभयो । पार्टीमा उहाँहरूको योगदानको कदर गर्दै कुनै उचित र सम्मानजनक संरक्षकको ठाउँ व्यवस्थापन गर्न सकिने भए पनि यदि उहाँहरूले आफ्नो हठ नत्यागे मधेशी आन्दोलनको यो विरासत बिस्तारै पूर्ण रूपमा सखापको अवस्थामा पुग्ने दाबी शर्माले गर्नुभएको छ ।

लगातार नेतृत्वमा
मधेशको राजनीतिमा उपेन्द्र यादवको इतिहासलाई नियाल्ने हो भने उहाँ विगत २९ वर्षदेखि लगातार पार्टीको शीर्ष नेतृत्वमा रहँदै आउनुभएको छ । वि.सं. २०५४ सालमा सुरुमा एउटा गैरसरकारी वा सामाजिक संस्थाको रूपमा गठन भएको ‘मधेशी जनअधिकार फोरम नेपाल’ को केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बन्नुभएको थियो । पछि वि.सं. २०६३ सालको ऐतिहासिक मधेश आन्दोलनको जगमा जब यो संस्था राजनीतिक पार्टीको रूपमा निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भयो, तब पनि उहाँ नै यसको संस्थापक अध्यक्ष रहनुभयो । वि.सं. २०६३ देखि हालसम्मको लामो राजनीतिक यात्रामा पार्टीभित्र विभिन्न उतारचढाव आए र अनेकौं पटक नाम परिवर्तन गरिए तापनि अहिलेसम्म पार्टीका केवल दुईवटा मात्र महाधिवेशन सम्पन्न भएका छन् । र, अचम्मको कुरा त के छ भने ती दुवै महाधिवेशनबाट घुमीफिरी उपेन्द्र यादव नै निर्विकल्प अध्यक्ष बन्नुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल पार्टीको रूपमा राजनीतिक मूलधारमा आएपछि वि.सं. २०६५ मा यसको पहिलो ऐतिहासिक महाधिवेशन भएको थियो, जसमा उपेन्द्र यादव सर्वसम्मतिले अध्यक्ष पदमा चयन हुनुभएको थियो । त्यसको झण्डै १६ वर्षपछि बल्ल वि.सं. २०८१ मा पार्टीको अर्को महाधिवेशन सम्पन्न भएको थियो, जसमा पनि लोकतान्त्रिक पद्धतिको धज्जी उडाउँदै उहाँ आफैं पुनः अध्यक्ष बन्नुभयो । वास्तवमा, पार्टीभित्र नेतृत्व फेर्नुपर्छ भनि उठ्ने हरेक आवाजलाई दबाउन उपेन्द्र यादवले एउटा विशेष रणनीतिको प्रयोग गर्दै आउनुभएको देखिन्छ ।

जब–जब पार्टीको नियमित महाधिवेशन गर्ने समय नजिक आउँथ्यो, तब–तब उहाँले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चुनावलाई टार्नका लागि कुनै नकुनै साना वा ठूला राजनीतिक दलहरूसँग हतार–हतार एकता गर्ने गर्नुहुन्थ्यो । दलहरूबीच एकता भएपछि विधानतः फेरि ‘एकता महाधिवेशन’ गर्ने नयाँ घोषणा गरिन्थ्यो र महाधिवेशनको समयलाई थप केही वर्ष पछाडि धकेलिन्थ्यो । फेरि जब त्यो एकता महाधिवेशन आउने समय हुन्थ्यो, उहाँले फेरि अर्को कुनै दल फेला पारेर एकताको नाटक मञ्चन गर्नुहुन्थ्यो र महाधिवेशन टार्नुहुन्थ्यो। यही राजनीतिक चतुरता र रणनीतिका कारण उहाँ पार्टीमा विगत तीन दशकदेखि सदाबाहार अध्यक्षको रूपमा टिकिरहन सफल हुनुभएको हो ।

अर्कातर्फ, मधेशी राजनीतिका अर्का स्तम्भ मानिने महन्थ ठाकुरको अवस्था पनि योभन्दा फरक छैन । उहाँ पनि विगत १९ वर्षदेखि लगातार कुनै नकुनै मधेशी पार्टीको सर्वोच्च अध्यक्ष रहँदै आउनुभएको छ । वि.सं. २०६३ सालमा नेपाली कांग्रेसको लामो र स्थापित राजनीति त्यागेर मधेश आन्दोलनको भावना अनुसार तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गर्दा ठाकुर त्यसको अध्यक्ष बन्नुभएको थियो ।

उहाँलाई पनि समय–समयमा पार्टीभित्र नेतृत्व युवा पुस्तालाई छाड्न र नयाँ नेतृत्व तयार गर्न ठूलो दबाब नपरेको होइन, तर उहाँले कहिल्यै पनि आफ्नो पद छाड्न मान्नुभएन । अहिले आएर उहाँले फेरि उपेन्द्र यादवसँग पार्टी एकता गरेर एकीकृत जसपा नेपालको संरक्षक पद सम्हाल्नुभएको छ । प्राविधिक रूपमा यो कुनै दैनिक कार्यकारी पद नभए पनि मर्यादा र शक्तिका हिसाबले यो अध्यक्षभन्दा पनि माथिल्लो र ठूलो पद मानिन्छ । वि.सं. २०६३ मा तमलोपाको रूपमा सुरु भएको उहाँको पार्टी यात्रा विभिन्न विभाजन, मोर्चाबन्दी र एकताका चरणहरू पार गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको थियो, जुन अहिले फेरि जसपा नेपालसँग मिसिन पुगेको छ ।

महन्थ ठाकुरको नेतृत्वमा पनि वि.सं. २०६५ सालमा केवल एक पटक मात्र पार्टीको महाधिवेशन भएको थियो र त्यसयता उहाँले कहिल्यै पनि विधिवत रूपमा अर्को महाधिवेशन गराउनु भएन । हाल ८१ वर्षको पाको उमेर भइसक्दा र शारीरिक रूपमा शिथिल बन्दा समेत उहाँ अझै पनि पार्टीको सर्वोच्च संरक्षक र राज्यको माथिल्लो निकाय राष्ट्रिय सभाको प्रभावशाली सदस्य बनिरहनुभएको छ । सिंगो देश र मधेशका युवाहरूले सडकमा रगत र पसिना बगाएर गरेको जेनजी आन्दोलनको वास्तविक चाहना र उद्देश्य पटक्कै यो थिएन ।

युवाहरूको मुख्य माग नै पुराना, नीतिहीन र अक्षम भइसकेका नेतृत्वको पूर्ण विस्थापन र ऊर्जावान् युवाहरूको नेतृत्वमा मुलुक तथा क्षेत्रीय राजनीतिको पुस्तान्तरण गर्नु थियो । तर, मधेशको भूगोल र भावनाको प्रतिनिधित्व गर्ने दाबी गर्ने जसपा नेपालमा भने यसको ठीक उल्टो अवस्था देखिएको छ । निर्वाचनमा जनताले दिएको शून्य सिटको चेतावनी र सडकमा युवाहरूले गरेको विद्रोह दुवैलाई लत्याउँदै महन्थ र उपेन्द्रले कायम गरेको यो पारिवारिक तथा गुटीय विरासतले मधेशको समग्र राजनीतिक भविष्यलाई नै एउटा अनिश्चित र अन्धकार सुरुङतर्फ धकेलिदिएको छ । यदि समयमै यी पुराना नेताहरूले आफ्नो हठ त्यागेर युवा पुस्तालाई बाटो नछाड्ने हो भने मधेशको अधिकारको आन्दोलन इतिहासको पानामा मात्र सीमित हुने खतरा बढेर गएको छ ।

तपाईको प्रतिक्रिया