जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जहिले पनि जोरजाड गरेर आफूलाई शक्तिशाली बनाउदै आउनु भएको छ । मधेश विद्रोहपछि २०६४ मा भएको संविधान सभा चुनावमा शक्तिशाली भएर उदय भएको तत्कालिन मधेशी जनअधिकार फोरम त्यसपछिका हरेक चुनावमा कमजोर हुँदै गयो तर अध्यक्ष उपेन्द्र यादवले अन्य दलभन्दा आफूलाई ठुलो देखाउन समय समयमा विभिन्न दलसँग एकता गर्नुभयो ।
मधेशमा कुनै दलभन्दा कमजोर भएपछि वा संघमा मधेश केन्द्रीत दलभन्दा कमजोर देखिए पछि कुनै उपाय निकालेर कुनै नकुनै दलसँग एकता गरी ठुलो दल बनाउनु हुनुहुन्थ्यो र आफूलाई शक्तिशाली देखाउनुहुन्थ्यो । तर उहाँले आफ्नो सामथ्र्यले कहिले ठुलो बन्नु भएन ।
२०७० को चुनावमा विजयकुमार गच्छदार अध्यक्ष रहेको तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक भन्दा कमजोर भएपछि अशोक राइ अध्यक्ष रहेको तत्कालिन नेपाल संघीय समाजवादी पार्टीसँग एकता गरी उहाँले ठुलो पार्टी बनाउनु भएको थियो । संघमा जति पनि मधेशवादी दलहरु थिए सबैभन्दा सँख्याको हिसाबले सबभन्दा ठुलो पार्टी उहाँले बनाउनु भएको थियो । त्यसपछि २०७४ मा आमचुनाव भयो । त्यो चुनावमा पनि उहाँले गतिलो नतिजा ल्याउन सक्नु भएन । तत्कालिन राष्ट्रिय जनता पार्टीभन्दा कमजोर हुनुभयो । आफूलाई शक्तिशाली देखाउनका लागि डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीसँग एकता गर्नुभयो ।
त्यतिले मात्र नभएपछि उहाँले महन्थ ठाकुर नेतृत्व गरेको तत्कालिन राष्ट्रिय जनता पार्टीसँग पनि उहाँले एकता गर्नुभयो । त्यतिबेला प्रतिनिधि सभामा जसपा नेपाल चौथो ठुलो पार्टी बनेको थियो । त्यो उपेन्द्र यादवले जनताबाट मत पाएर होइन, विभिन्न दललाई जोडेर बन्नुभएको राजनीतिक विश्लेषकहरु बताउछन् । २०७९ को चुनावमा पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल गतिलो नजिता ल्याउन सकेन । उपेन्द्र यादव स्वयं जनमत पार्टीका अध्यक्ष सिके राउतबाट चुनाव हार्नुभएको थियो । त्यसपछि उहाँले तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डलाई भनेर बारा–२ बाट चुनाव जित्नु भएका रामसहाय यादवलाई उपराष्ट्रपति बनाउनु भयो र आफू त्यहाँबाट चुनाव जितेर संसदमा आउनुभयो ।
उहाँ आफू संसदमा आए पनि निकै कमजोर हुनुहुन्थ्यो । तैपनि विभिन्न दलसँग गठबन्धन गर्दै सत्ताको वरिपरी नै आफूलाई राख्नुभयो । माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा अोलीले नै मिलेर अशोक राइलाई अलग गरेर उहाँको पार्टी विभाजन गरेपछि नैतिकताको हिसाबले सरकारबाट उहाँ अलग हुनुभएको थियो । र, उहाँ पाँच जना सांसदको नेता रहनुभयो । सात जना सांसद लिएर अशोक राइ अलग भएपछि संसदमा उपेन्द्र यादव झन कमजोर हुनुभयो । त्यसपछि उहाँ कहिले लोसपासँग पार्टी एकता गर्ने जोरजाममा लाग्नुभयो भने कहिले डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीसँग एकता गर्ने दौडधुपमा लाग्नुभयो ।
संसदमा हरेक मधेशवादी दलभन्दा कमजोर पार्टी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल थियो । त्यही भएर उहाँले अन्य दलसँग एकता गर्न मरिहत्ते गरिहनुभएको थियो । महन्थ ठाकुर अध्यक्ष रहेको लोसपा नेपालसँग एकताका लागि दौडधुप गर्न थाल्नुभयो । महन्थ ठाकुरको घरमै गएर पटक पटक छलफल गर्नुभयो । जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि पटक पटक छलफल गर्नुभयो । अन्ततः लोसपा नेपाल र जसपा नेपालबिच एकता गर्ने सहमति भयो । अन्य पार्टीसँग एकताका लागि उपेन्द्र यादवले बल गरिरहनु भएको थियो । तराई मधेश केन्द्रीत सात दलको संघीय लोकतान्त्रिक मोर्चा पनि थियो । तत्कालिन लोसपाका एक नेताका अनुसार त्यो मोर्चालाई एकतामा परिणत गर्न पनि उपेन्द्र यादवको जोडबल थियो ।
मोर्चामा रहेका दलहरुबिच एकता हुनुपर्छ भनि पहिलो प्रस्ताव उपेन्द्र यादवको नै थियो । त्यसका लागि आन्तरिक रुपमा छलफल पनि भइरहेको थियो । यता जसपा नेपाल र लोसपा बिच एकता गर्ने सहमति भइसकेको थियो । भदौंमा जेनजी आन्दोलन भएपछि प्रतिनिधि सभा विघटन भयो । तैपनि दुई दलबिच एकता घोषणा भयो । अध्यक्ष को बन्ने कुरामा सहमति नहुँदा अन्य दलहरुसँग एकता हुन सकेन । लोसपा नेपालसँग एकता भएपनि संघमा केही प्रभाव नपरेपछि मधेश प्रदशको प्रदेश सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सबभन्दा ठुला दल बनेको छ । त्यसमै उपेन्द्र यादवले गर्व गरिरहनु भएको छ । यसरी उहाँले २०७० देखि आफ्नो क्षमताले होइन अन्य दलहरुसँग एकता गर्दै शक्तिशाली नेताको रुपमा रहदै आउनुभएको हो ।

तपाईको प्रतिक्रिया