गत चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह देशको प्रधानमन्त्रीमा चयन भएपछि सबभन्दा पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना तथा बधाइ दिनुभएको थियो । प्रधानमन्त्री बनेपछि मात्र होइन, चुनाव जितेपछि पनि भारतका प्रधानमन्त्री मोदीले बालेन र रास्वपाका सभापति रवि लामिछानेलाई फोन गरेर बधाइ दिनुभएको थियो ।
पछि उहाँले प्रधानमन्त्री बालेनलाई लिखित शुभकामना र बधाइ पनि पठाउनु भएको थियो ।
तर भारतले शुभकामना र बधाइ मात्र होइन प्रधानमन्त्री बालेनलाई भ्रमण पनि गराउन चाहेको थियो । त्यसका लागि भारतले औपचारिक निम्तो पनि पठायो । त्यो निम्तोलाई प्रधानमन्त्री बालेनले स्विकार पनि गर्नुभयो । निम्तो स्विकार गरेको र बालेन भारतको भ्रमण गर्न चाहेको कुरा परराष्ट्रमन्त्री शिशिर खनालले स्वयं खुलासा गर्नुभएको थियो । गते चैतमा मोरिससको भ्रमणमा गएको बेला परराष्ट्रमन्त्री खनाल गत चैत २७ गते भारतका विदेशमन्त्री एस.जयशंकारसँगको भेटमा सो खुलासा गर्नुभएको थियो ।
परराष्ट्रमन्त्रीले नै प्रधानमन्त्री बालेन निम्तो स्विकार गरेको र चाँडै नै भारतको भ्रमण गर्ने भनिसकेपछि भारत त्यसको तयारीमा जुट्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुत भएर औपचारिक निम्तो लिएर भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउन लाग्नुभएको थियो । बैशाख २८ गते नेपाल आउने र प्रधानमन्त्री बालेनसँग भेटेर भारत भ्रमणको निम्तो दिने तयारी थियो । तर बालेनले विदेश सचिव मिस्रीसँग भेट्न मान्नु भएन । प्रधानमन्त्री मोदीको दुत भएर आउने व्यक्तिलाई बालेनले भेट्न नमानेपछि भारतले त्यसलाई अपमानको रुपमा लियो । र, सबै भ्रमणहरु स्थगित गरायो । मिस्री त नेपाल आउनु भएन अन्य सानातिना भ्रमणहरु पनि स्थगित गर्यो ।
त्यसपछि भारतले नेपालको हरेक गतिविधिमा असन्तुष्टि देखाउन थाल्यो । सरकारमाथि नै असर पर्ने देखेपछि रास्वपाका सभापति लामिछाने आफै भारत भ्रमणमा जाने र ती सबै कुरालाई सल्ट्याउने निधो गरे । सभापति लामिछानेको चाहना अनुसार भारतीय जनता पार्टीले भ्रमणको लागि निमन्त्रणा पठायो । सो निम्तो स्विकार गर्दै जेठ १८ गते भारत भ्रमणमा जान तयार भयो । उहाँ भ्रमणमा गएर के के सम्झौता गर्नुहुन्छ त्यो त उहाँ फर्केपछि मात्र थाह हुन्छ तर नेपालमा यतिखेर लिपुलेक, लिम्पियाधुरा, कालापानीको सीमा विवाद उत्पन्न भएको छ ।
नेपालमा भारतको विरोध भइरहेको छ । चीन र भारतले मानसरोवरको यात्राका लागि लिपुलेकको बाटो प्रयोग गर्ने सम्झौता गरेपछि नेपालले त्यसमा आपत्ति जनाएको छ ।
भारत र चीनलाई कुटनीति नोट पनि पठाएको छ । यसले गर्दा भारतले चित्त दुखाएको छ । एकातिर प्रधानमन्त्री बालेनले आफूलाई महत्व नदिएको अर्कोतिर सीमा विवाद पनि चर्को रुपमा उठाएको भन्दै भारत रुष्ट छ । यसको असर सिधै सरकारमाथि पर्ने देखेपछि रवि लामिछाने आफै भारत जाने तयारी गर्नुभएको छ । रास्वपा नेपालका एक नेताले भन्नुभयो, ‘पछिल्लो समय भारतसँग नेपालको सम्बन्ध बिग्रको छ, यही सम्बन्ध सुधार गर्नका लागि सभापति हतार हतार भारत जान लाग्नुभएको हो ।’
भारत भ्रमण गर्ने कुरा प्रधानमन्त्री बालेनको थियो तर उहाँ जान तयार नभएपछि त्यसको ब्यालेन्सका लागि सभापति लामिछाने आफै जान लागेको ती नेताले बताउनुभयो । जसले जे भनेपनि भारतसँग सम्बन्ध चिसिनु नेपालको हितमा छैन, यो कुरा सभापति लामिछाने राम्रोसँग बुझेको कारण त्यसको ह्याण्डल स्वयं गर्न लाग्नुभएको बताउँदै उहाँले देशमा रास्वपा ठुलो पार्टी भएपनि अन्तराष्ट्रिय सम्बन्ध त्यति राम्रो छैन, त्यही सम्बन्ध बनाउन उहाँ भारत भ्रमणमा जान लाग्नुभएको बताउनुभयो ।
त्यतिकै पनि रास्वपालाई अमेरिकी निकट मानिएको छ । जेनजी आन्दोलनमा अमेरिकी प्रभाव रहेको भन्दै अन्य देशले रास्वपा नेतृत्वको सरकारलाई आशंकाको नजरले हेरिरहेको छ । त्यसलाई चिर्नका लागि पनि रास्वपाले भारतलाई आफ्नो विश्वासमा लिन जरुरी रहेको छ ।

तपाईको प्रतिक्रिया