मधेशका पिडित महिलाको सहारा रिंकु यादव

“जब एउटी महिला न्यायको ढोका ढकढक्याउन पुग्छे, तब उसले केवल कानुनको अक्षर मात्र खोजेकी हुँदैनन् । उसले आफ्नो भत्किएको आत्मसम्मान, गुमेको पहिचान र एउटा भरोसायोग्य काँध खोजिरहेकी हुन्छिन् ।’’ मधेशको तप्त घाम, जहाँ सामाजिक रूढिवादी र पितृसत्तात्मक सोचका संरचनाहरू अझै पनि बलिया छन्, त्यहाँ केही वर्षयता एउटा नाम न्यायको बलियो पर्याय बनेर उभिएको छ, अधिवक्ता रिंकु कुमारी यादव ।

विसं २०७६ देखि मधेश प्रदेश मात्र होइन, सम्पूर्ण देशलाई नै तरंगित बनाउने चारवटा ठूला र दर्दनाक महिला हिंसाका घटनाहरू सतहमा आए ।

ती घटनाहरू थिए, महोत्तरीकी कुमारी आमा निहारिका सिंह राजपूतको अनवरत संघर्ष, जनकपुरकी एसिड पीडित आरती साहको कारुणिक कथा, दाइजोका कारण आफ्नै परिवारबाट प्रताडित नेहा चौधरीको पीडा र दाइजोकै कारण रहस्यमय ढंगले मारिएको दाबी गरिएकी अर्की आरती साहको मृत्यु तथा आफ्नै श्रीमानबाट बोक्सीको आरोप खेपी घर निकालमा पर्नुभएका महोत्तरी पिपराकी काजल दास प्रकरण प्रकरण ।

यी पाँचवटै घटना केवल कानुनी मुद्दा मात्र थिएनन्, बरु मधेशका महिलाहरूले भोग्दै आएका विभेद, हिंसा र उत्पीडनका चरम रूपहरू थिए । समाजका शक्तिशाली र पहुँचवाला पक्षहरू विरुद्ध यी असहाय महिलाहरूको पक्षमा उभिनु आफैंमा एउटा ठूलो आँटको विषय थियो । तर, ३६ वर्षकी युवा अधिवक्ता रिंकु कुमारी यादवले डर, धाक, धम्की र समाजको संकुचित दृष्टिको प्रवाह नगरी अडिग रुपमा उभि यी पीडितहरूका लागि निःशुल्क कानुनी लडाइँ लड्ने साहस गर्नुभयो । आज उहाँ केवल एक कानुन व्यवसायी मात्र हुनुहुन्न, मधेशका पीडित महिलाहरूका लागि आशाको एउटा चम्किलो किरण र “महिलावादी वकिल’’ बन्न सफल हुनुभएको छ ।

मनभित्र पलाएको वकालतको सपना
महोत्तरीको एकडारा गाउँपालिका वडा नं. २ मा बेला गाउँमा बुबा रामविलास यादव र आमा शान्ति देवीको कोखबाट जन्मिनु भएकी रिंकु परिवारका कान्छी छोरी हुनुहुन्छ । उहाँ यस्तो पृष्ठभूमिबाट आउनुभएको छ, जहाँ राजनीतिक र सामाजिक बहसहरू दैनिक जीवनका हिस्सा थिए । उहाँका बुबा रामविलास यादव राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिष्ठित नेता हुनुहुन्थ्यो । उहाँ विसं २०५१ सालमा नेपालको उपसभामुख र २०५३ सालमा उद्योग तथा वाणिज्य मन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको थियो । मन्त्री र उपसभामुखका छोरी भएकाले रिंकुको बाल्यकाल सुखसयलमा बित्न सक्थ्यो ।


तर, उहाँको बाल मस्तिष्कमा अर्कै कुराले घर बनाइरहेको थियो । बुबाको राजनीतिक र सामाजिक कदका कारण दैनिक रूपमा गाउँघरका अनगन्ती अन्यायमा परेका, गरिब र पीडित मानिसहरू न्यायको याचना गर्दै उनीहरूको घरसम्म आउने गर्थे । कतिपय महिलाहरू रोएर आफ्ना पीडा सुनाउँथे । बुबाले उनीहरूको समस्या सुन्ने र समाधानका लागि छलफल गर्ने गरेको दृश्य रिंकुले निकै नजिकबाट नियाल्नु भएको थियो ।

त्यो बाल्यकालको अनुभवलाई स्मरण गर्दै रिंकु भन्नुहुन्छ, ‘“बुबा छलफलमा बस्नुहुन्थ्यो । पीडितहरू घरसम्म आउँथे । उनीहरूको दयनीय अवस्था र आँसु देख्दा मेरो मनमा गहिरो दया जाग्थ्यो । म सोच्ने गर्थें ठूलो भएर वकिल बन्न पाए त म यी पीडितहरूको न्यायको लागि आफैं अदालतमा लड्न सक्थेँ होला । त्यही समयदेखि नै मेरो मनको कुनाभित्र वकिल बन्ने इच्छाको बीजारोपण भएको थियो ।’’

संघर्षपूर्ण शैक्षिक यात्रा
बुबा राम विलासको इच्छा भने छोरी वकिल बनोस् भन्ने थिएन । वकालत पेशामा हुने भागदौड, अदालती दाउपेच, र सुरक्षाको जोखिमका कारण उहाँ आफ्नी कान्छी छोरीले कुनै बैंकमा सुरक्षित र सम्मानित जागिर खाएको हेर्न चाहनु हुन्थ्यो । बुबाको सपना थियो, छोरी पढेर बैंकको म्यानेजर बनोस् ।

बुबाको त्यही चाहनालाई शिरोधार्य गर्दै रिंकुले म्यानेजमेन्ट (व्यवस्थापन) विषय रोज्नुभयो । यही बिचमा, विसं २०६५ सालमा एउटा ठूलो पारिवारिक बज्रपात आइलाग्यो । उहाँका बुबा रामविलास यादवको ५७ वर्षको अल्पायुमै हृदयघातका कारण निधन भयो । त्यतिबेला रिंकु स्नात्तक प्रथम वर्ष (बीबीएस) मा पढ्दै हुनुहुन्थ्यो । घरको मुख्य खम्बा ढलेपछि परिवार ठुलो संकटमा पर्यो । बुबाको मृत्युले रिंकुलाई मानसिक रूपमा विक्षिप्त बनाए पनि उहाँले आफ्नो अठोटलाई टुट्न दिनुभएन उहाँले बुबाको सपना पूरा गर्न म्यानेजमेन्टको पढाइलाई अगाडि त बढाउनुभयो ।

उहाँ व्यवस्थापनमा स्नातकोत्तर गर्नका लागि काठमाडौंको नेपाल कमर्स क्याम्पसमा भर्ना हुनुभयो र स्नातकोत्तर पहिलो बर्षको परिक्षा चलिरहेकै बेला काठमाण्डौ स्थित नेपाल ल क्याम्पसमा वि.स. २०६९ मा एल.एल.वि.मा भर्ना भई विसं २०७२ सालमा नै एकसाथ सफलतापूर्वक व्यवस्थापन संकायमा स्नातकोत्तर तथा कानुनमा स्नात्तक उतिर्ण गरी दुवै डिग्री एकसाथ हासिल पनि गर्नुभयो । तर, म्यानेजमेन्ट पढेर बैंकको क्यास काउन्टर वा म्यानेजरको कुर्सीमा बस्ने सोच उहाँलाई कहिल्यै सन्तुष्टि दिएन । उहाँको भित्री चेतनामा तिनै गाउँका उत्पीडित मानिसहरू र तिनका आँसुहरू घुमिरहन्थे ।

रिंकुका लागि यो यात्रा सहज थिएन । बुबाको देहावसानपछि परिवारका अन्य सदस्यहरू, विशेष गरी उहाँका दाइ शशिरञ्जन यादव, रिंकुले वकालत पढोस् भन्ने चाहनु भएको थिएन । उनीहरूका लागि वकालत जोखिमपूर्ण र असुरक्षित पेशा थियो । दाइले वकिल पेशा निकै जोखिमपूर्ण र असुरक्षित छ । म्यानेजमेन्ट पढेकी छौ, बैंकतिरै काम खोज भन्ने गर्नुहुन्थ्यो । एक पटक त दाइले मधेश आन्दोलनमा नाकाबन्दी चलिरहेको बेला बार काउन्सिलको परीक्षा दिन जानबाटै समेत रोक्नु भएको रिंकुले स्मरण सुनाउनुभयो ।

तर उहाँ आफ्नो अडानमा कायम रहनु भएको थियो । आफू सही कामको लागि नै काठमाण्डौ जानुपर्ने भएको हुनाले घर परिवारसँग लडेर भएपनि परीक्षा दिनका लागि काठमाडौँ आउनु भएको थियो र परीक्षा पनि दिनुभयो । पास पनि हुनुभयो । २०७३ असार २८ गते कानुन व्यवसायीको प्रमाणपत्र पनि प्राप्त गर्नुभयो । र हाल निजले फौजदारी कानुन तथा न्यायमा स्नातकोत्तर समेत गरिसक्नु भएको छ ।

नेपाल बार एशोशिएसन जनकपुरको वि.सं. २०७५ सालमा कार्यसमिति सदस्य, वि.सं. २०७८ सालमा कोषाध्यक्ष पदमा समेत अत्याधिक भोटले निर्वचित भएकी थिईन भने नेपाल भरका ९० बार युनिटबाट भएको नेपाल बार एशोसिएसनको २७ औ केन्द्रिय कार्य समितिको निर्वाचन २०८०\८२ मा तेस्रो सार्वाधिक भोट लयाएर केन्द्रिय कार्यसमिति सदस्यमा निवर्वाचित रहेकी छिन साथै केन्द्रिय महिला समितिको सदस्य सचिव पदमा रहेर महिलाको हक हितमा पनि पेशागत रुपले समेत आवाज उठाउदै आईरहेकी छिन ।

नेपालका चर्चित अनलाइनखबर डट कम अनलाइनले ४० वर्ष मुनिका ४० प्रभावशाली युवामा उहाँलाई पनि चयन गरिएको थियो । अन्ततः बुबाले चाहेको विषयभन्दा फरक बाटो रोजे पनि रिंकुलाई लाग्छ कि उहाँले आफ्ना दिवंगत बुबाले देखाएको सामाजिक सेवा र न्यायको मार्ग दर्शनलाई कहिल्यै बिर्सिनु भएन, बरु त्यसलाई आफ्नो जीवनको मूलमन्त्र बनाउनुभयो ।

पेशागत यात्रा
नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएपछि काठमाडौंको सहरभन्दा उहाँलाई आफ्नै माटो र समाजले बढी पुकारिरहेको थियो । आफ्नै समाजका गरिब असहाय तथा पिडितहरुको न्यायिक लडाइमा सहयोग गर्न पाउन जस्तो महसुस भइरहेको थियो ।

विसं २०७३ सालमा उहाँ कानुनी अभ्यास (प्र्याक्टिस) का लागि जनकपुर फर्किनुभयो । जनकपुरमा रहेको अचार्य ल फर्ममा बसेर छ वर्ष भन्दा पनि बढी सोही फर्ममा अधिवक्ताको रुपमा वकालतको व्यावहारिक ज्ञान र अनुभव बटुल्न थाल्नुभयो । उहाँको प्रतिभा र लगनशीलतालाई हेरेर वि।स।ं २०७५ असोज १५ गते मधेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयमा प्रदेश कानुन सहायता अधिकृतको रूपमा उहाँ करारमा नियुक्त हुनुभयो । जागिर, निश्चित तलब र सामाजिक प्रतिष्ठा धेरैका लागि यो एउटा सुनौलो अवसर थियो । तर रिंकुको उद्देश्य केवल व्यक्तिगत करियर निर्माण गर्नु मात्र थिएन ।


मुख्य न्यायाधिवक्ताको कार्यालयमा काम गर्दा उहाँले एउटा ठूलो कानुनी र व्यावहारिक सीमाको सामना गर्नु पर्यो । प्रदेश कान’नी सहायता अधिकृत भएपछि मधेशमा रहेको पिडितहरुको समस्या तथा पिडालाई बुझ्ने तथा नागरिकता विहिन रहेका पिडितहरुको पिडा बुझ्ने राम्रो अवसर प्राप्त गरे तर तोकिएको मुख्य न्यायधिवक्ता कार्यलयबाट तोकिएको मुद्दाबाहेक अन्य मुद्दा हेर्न नपाउने गरी बन्देज लगयो । सो पश्चात केही मुद्दाहरूमा मात्र केन्द्रित हुनुपथ्र्यो । समाजका ती असहाय, गरिब र हिंसा पीडित महिलाहरू जो सरकारसँग होइन, आफ्नै परिवार, समाज र शक्तिशाली व्यक्तिहरूसँग लडिरहेका थिए, उनीहरूको व्यक्तिगत मुद्दामा हात हाल्न वा बहस गर्न सरकारी नियमले बन्देज लगाएकोले बहस पैरवी गर्न मिल्दैनथ्यो ।

एकै पटक दुईवटा डुङ्गामा खुट्टा राख्नु र आफ्नो आत्माको आवाजलाई दबाउनु रिंकुका लागि असम्भव बन्दै गयो । उहाँ सो बन्धनमा बसेर सरकारका पहुँच नभएका ती उत्पीडित महिलाहरूको रोदन टुलुटुलु हेरेर बस्न सक्ने अवस्थामा थिइनन् । अन्ततः विसं २०७८ असोज १५ गते, ठीक तीन वर्षको सेवा पछि, उहाँले आफ्नो पदबाट राजीनामा दिनुभयो ।

त्यो निर्णयबारे रिंकु भन्नुहुन्छ, “मुख्य न्यायाधिवक्ताको कार्यालयमा रहँदा मैले धेरै कुरा सिक्ने मौका त पाएँ, तर म जुन वर्गका लागि म वकिल बनेकी थिएँ, उनीहरूका लागि काम गर्न पाइरहेकी थिइनँ । अरू व्यक्तिगत मुद्दामा बहस पैरवी गर्न कानुनी रूपमा गाह्रो हुन्थ्यो । त्यसैले मैले जागिर छोड्ने निर्णय गरेँ । राजीनामा दिएपछि मलाई स्वतन्त्र रूपमा असहाय पीडितहरूको पक्षमा वकालत गर्न र उनीहरूलाई न्याय दिलाउन सहज भयो ।

त्यसपछि उहाँले उच्च अदालत जनकपुरमा विसं २०७८ मा एक वर्ष वैतनिक वकिल (अदालतले गरिब तथा असहायका लागि तोकि दिने निःशुल्क वकिल) का रूपमा पनि काम गर्नुभयो । यस अवधिमा उहाँले दर्जनौँ त्यस्ता मुद्दाहरू हेर्नुभयो, जहाँ पीडितसँग कोर्ट फि तिर्ने वा वकिललाई दिने न्यूनतम पैसा समेत हुँदैनथ्यो ।

चार चर्चित मुद्दा
रिंकुकुमारी यादवको वकालत यात्राको सबैभन्दा सुनौलो र चुनौतीपूर्ण अध्याय तब सुरु भयो, जब उहाँले मधेशका अत्यन्तै चर्चित र संवेदनशील मुद्दाहरू आफ्नो काँधमा लिनुभयो ।

१. कुमारी आमा निहारिका सिंह राजपूतको संघर्ष
आफ्नो बच्चाको डिएनए परीक्षण र आफूमाथि बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै लामो समयसम्म काठमाडौँको माइतीघर मण्डलामा अनशन बसेकी निहारिका सिंह राजपूतको कथा कसैको मानसपटलबाट मेटिएको छैन । तर, काठमाडौँ आउनुअघि उहाँको कानुनी लडाइँको जग जनकपुरमै कोरिएको थियो । धनुषा जिल्ला अदालत र उच्च अदालत जनकपुरमा निहारिकाको पक्षमा उभिने कोही थिएन ।

समाजले उनलाई “कुमारी आमा’’ को लाञ्छना लगाएर बहिष्कृत गरिसकेको थियो । शक्तिशाली प्रतिपक्षका विरुद्ध सरकारी वकिलबाहेक उहाँको पक्षबाट वकालत गरिदिने कोही प्राइभेट वकिल तयार थिएनन् । त्यस्तो कठिन घडीमा रिंकु यादव निहारिकाको सहारा बनेर उभिनु भएको थियो । निहारिकाको मुद्दाको पहिलो जाहेरी लेख्नेदेखि लिएर जिल्ला र उच्च अदालतमा अन्तिमसम्म निःशुल्क बहस पैरवी रिंकुले नै गर्नुभयो । निहारिका आज पनि रिंकुलाई सम्झिँदा भावुक बन्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मेरो मुद्दाको जाहेरी लेख्नेदेखि न्यायका लागि जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरमा अन्तिमसम्म बहस पैरवी रिंकु दिदीले गर्नुभयो । सहयोगी बनेर आउनेहरू धेरै हुन्छन् तर रिंकु दिदी फरक हुनुहुन्छ । यो लामो लडाइँमा उहाँले आजसम्म मेरो हातबाट एक कप चिया पनि खानुभएको छैन । बरु उल्टै, मसँग रिक्साभाडा वा बसभाडा नहुँदा, मेरो सानो बच्चा भोकले रुँदा खानेकुरा किनेर मलाई आर्थिक र मानसिक रूपमा सहयोग गर्नुभएको छ ।’’

। लामो कानुनी लडाइँपछि निहारिकाको बच्चाको डिएनए म्याच भयो र अदालतले उनलाई न्याय दियो । यो सफलतामा रिंकुको निःशुल्क र निस्वार्थ पैरवीको ठूलो भूमिका थियो

२. एसिड पीडित आरती साहको न्याय
जनकपुरकी आरती साहमाथि तेजाब (एसिड) प्रहार गरी उहाँको अनुहार र जीवन नै कुरुप बनाइदिने प्रयास गरिएको थियो । एसिड प्रहारका मुद्दाहरूमा समाज र कानुन दुवै निकै संवेदनशील हुनुपर्नेमा पीडितले न्याय पाउन निकै सकस थियो । रिंकुले यस मुद्दालाई पनि आफ्नो प्रतिष्ठाको विषय बनाउनुभयो र यो मुद्दा पनि आरती साहको तर्फबाट निशुल्क रुपमा बहस पैरवी गरी न्यायिक लडाइमा साथ दिने अठोट गर्नुभयो । आरती साहबाट अदालतमा बलियो कानुनी तर्कहरू पेश गर्नुभयो । अन्ततः अदालतबाट दोषीलाई सजाय भयो र आरतीले समेत उचित क्षतिपूर्ती प्राप्त गरी न्याय पाउनुभयो ।

३. नेहा चौधरी र दाइजो विरुद्धको लडाइँ
महोत्तरीकी नेहा चौधरीको घटना मधेशमा दाइजो प्रथाको क्रूर रूपको जीवन्त उदाहरण थियो । राम्रो घर र पढे–लेखेका श्रीमानसँग विवाह भए पनि थप दाइजोको माग गर्दै नेहामाथि शारीरिक र मानसिक यातना दिइयो, र अन्ततः घरबाट निकालियो । समाजमा महिला अधिकारका नाममा रहेका केही अभियन्ताहरुले नेहाको मुद्दा बिग्रनेतर्फ समेत लागेको भनि निहारीकाले देख्नु भएको थियो । त्यस पश्चात निहारीकाले नै नेहालाई रिंकुसँग चिनजान गराई दिएको र रिंकुले नेहाको सबै घटना क्रम बुझेपश्चात आफूले यो मुद्दा पनि निशुल्क लड्छु भन्दै नेहाको पक्षमा रिंकुले अदालतमा डिभोर्स, घरेलु हिंसा र दाइजो सम्बन्धी मुद्दाहरूमा जोडदार बहस गर्नुभयो । र लामो न्यायिक लडाइपछि यो मुद्दा पनि अदालतबाट टुङ्गिएको छ र नेहाले आफ्नो अधिकार र न्याय प्राप्त गरेकी छन् ।

४. मृतक आरती साहको मुद्दा
दाइजोकै कारण हत्या गरिएको दाबी गरिएको जनकपुरकी अर्की आरती साहको मृत्यु प्रकरण अझै पनि अदालतमा विचाराधीन छ । यस मुद्दामा पीडित परिवार अझै पनि आन्दोलन र कानुनी लडाइँमा छन् । रिंकुले यस मुद्दामा पनि पीडित पक्षको तर्फबाट निःशुल्क पैरवी गरिरहनुभएको छ । र उहाँ भन्नुहुन्छ, “यो मुद्दा अझै चलिरहेको छ, आरतीको परिवारलाई न्याय दिलाउन निरन्तर रुपमा लागिपर्नेछु ।’’

No photo description available.

५. काजल दास बोक्सीको आरोप
अटुट आत्मबल
महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ की काजल दासको कथा पनि रिंकुको सेवाको अर्को एउटा जीवित प्रमाण हो । काजललाई उहाँका पतिले झुक्याएर, किर्ते कागजातमा हस्ताक्षर गराएर छोडपत्र (डिभोर्स) गराई बोक्सीको आरोप लगाइ घरबाट सडकमा निकालिदिएका थिए । घट्ना जलेश्वरको रहेको र तत्कालै जाहेरी लेख्नुपर्ने भएकोले जलेश्वरका केही पत्रकार र मानवअधिकारकर्मीहरुले विना पैसा कसैले जाहेरी लेख्न नमानेको र तपाईले धेरै जनलाई सहयोग गर्नु भएको छ । काजललाई सहयोग गरीदिनु भनि आग्रह गरेकोले रिंकुले जनकपुरमा रहेको आफ्नो मुद्दा बहस पैरवीलाई सोहि बेला व्यवस्थापन गरी तत्कालै जलेश्वर गई जाहेरी समेत लेखि दिनुभएका थियो ।

महोत्तरी जिल्ला अदालतदेखि उच्च अदालत जनकपुरसम्म काजलको मुद्दा लेख्नेदेखि वहस पैरवी समेत निशुल्क रुपमा गर्नुभएको थियो । काजल आज आफ्नो विगत र वर्तमानलाई दाँज्दै भन्नुहुन्छ, “म त पूर्ण रूपमा सडकमा पुगेकी थिएँ, मेरो सहारा कोही थिएन । रिंकु दिदीले मलाई विस्थापित भएकै दिनदेखि ओत दिनुभयो । मेरो जाहेरी लेखिदिनेदेखि लिएर महोत्तरी जिल्ला अदालतमा चलिरहेको मुद्दामा उहाँले नै निःशुल्क बहस गर्नुभयो । उहाँ जस्तो वकिल नपाएको भए म सायद कहिल्यै न्यायको लागि लड्ने आँट नै गर्ने थिइनँ । उहाँ मेरो भगवान् जस्तै हुनुहुन्छ ।’’

‘अयांश ल चेम्बर’ र दैनिक दिनचर्या
वीरगञ्ज महानगरपालिका वडा नं. २८ स्थायी घर भएकी रिंकु विगत १० वर्षदेखि जनकपुरलाई नै आफ्नो कर्मथलो बनाएर बसिरहनु भएको छ । विसं २०७५ फागुन ९ गते उहाँको विवाह अरुण यादवसँग भयो, जो पेशाले इन्जिनियर हुन् र वीरगञ्जकै ‘क्विस्ट फर्मा’ औषधि कम्पनीमा कार्यरत हुनुहुन्छ । श्रीमान तथा घरपरिवार वीरगञ्जमा भए पनि रिंकु आफ्ना छ वर्षका छोरा अयांशसँग जनकपुरमा डेरा लिएर बस्नुहुन्छ ।

दुवै जना अलग अलग पेशमा रहेका तथा कार्य क्षेत्र पनि फरक रहेको भएतापनि श्रीमान अरुण यादवको अटुट साथ रहेको छ । घर परिवार र श्रीमान विरगंजमा बस्दै आएको र आफु एक्लैै छोराको हेरचाह गर्नु र अदालतको कडा बहसको सामना गर्नु आफैंमा एउटा ठूलो महाकाव्य जस्तै हो । सुरु सुरुमा उहाँको दाइले वकालत नपढ्नको भन्नुभएको थियो ।

तर रिंकुले पिडितलाई गरेको सहयोग देखेर दाइ शशिरञ्जन यादव, आमा शान्ति देवी र भाउजु अणु यादवले रिंकुलाई घरयासी कामदेखि लिएर बच्चालाई स्याहर्नमा खुब सहयोग गरिरहनु भएको छ । यसरी माईत र घरपिरवार र श्रीमानको निरन्तर सहयोगले गर्दा रिंकु निरन्तर रुपमा घर परिवारदेखि टाढा जनकपुरमै आफ्नै ल चेम्बरमा होमिनु भएको छ । उहाँको दिनचर्या प्रत्येक बिहान सबेरै सुरु हुन्छ । विहान सबैले उठि घरायसी कामकाज गरी छोरालाई स्कुल पठाएर मात्र उहाँको व्यावसायिक जीवन सुरु हुन्छ ।

जनकपुरको मुख्य हुलाक कार्यालयको छेउमा उहाँले आफ्नै एक मात्र छोरा अयांश यादवको नामबाट एउटा ल फर्म खोल्नुभएको छ, ‘अयांश ल चेम्बर’ । बिहान छोरालाई स्कुल पठाएपछि उनी सिधै चेम्बर पुग्नु हुन्छ । त्यहाँ दैनिक रूपमा मुद्दाहरूको सूची (कजलिष्ट) केलाउनु, नयाँ पीडितहरूका जाहेरी लेख्नु र कानुनी मस्यौदा तयार गर्नु उहाँको नियमित काम हो । दिउँसो पेशी परेका मुद्दाहरूमा बहस गर्न उहाँ धनुषा जिल्ला अदालत र उच्च अदालत जनकपुरका इजलासहरूमा कालो कोट लगाएर दृढताका साथ उभिनु हुन्छ ।

महिलावादी वकिल
अदालतमा बहस गर्नु मात्र वकालत होइन । रिंकुको ल फर्ममा आउने असहाय महिलाहरूले व्यापक कानुनी सहायकता पाउँछन्, पिडितहरुको न्यायिक आवाज रहेकी रिकुंलाई पिडितहरुले निजको फेसबुकमा खोजेर सहयोगको लागि भन्ने तथा त कहिले पत्रकार तथा समाजसेवी मार्फत समेत रिंकुको अफिसमा आएर सहयोग माग्ने गर्छिन । कहिलेकाही अन्य जिल्लाहरुबाट समेत पिडितले बहस पैरवी गरिदिनु भनी भने पछि अन्य जिल्लामा समेत वहस पैरवी गरिदिने गरेकी छिन् ।

निशुल्क कानुनी सहायतामा जाहेरी तथा उजुरी लेखनका साथै प्रहरी वा अदालतमा दिइने सुरुवाती निवेदनहरूलाई प्राविधिक रूपमा बलियो बनाउनु । अदालती बहस पैरवीमा अदालतको इजलासमा पीडितको तर्फबाट प्रखर रूपमा आवाज बुलन्द गर्नु जस्ता कार्य उहाँले गरिरहनु भएको छ ।

No photo description available.
यसको सबैभन्दा ठूलो सामाजिक प्रभाव के परेको छ भने, मधेशका गाउँ–गाउँमा हिंसा सहेर बसेका महिलाहरूमा अब एउटा आत्मविश्वास जागेको छ, “हाम्रो कोही नभए पनि जनकपुरमा हाम्रा लागि निःशुल्क बोलिदिने एउटी दिदी छिन् ।” यही निस्वार्थ सेवाका कारण जनकपुर क्षेत्रका अन्य नामुद वकिलहरूले समेत पैसा तिर्न नसक्ने गरिब र असहाय पीडितहरूलाई रिंकु कहाँ पठाइदिने गरेका छन् । रिंकु मुस्कुराउँदै भन्नुहुन्छ, “विशेष गरेर महिला हिंसाका पीडितहरू मकहाँ आउँछन् । अन्य नाम चलेका वकिल कहाँ पैसा नभएर अलपत्र परेकाहरूलाई उहाँहरूले नै ’रिंकु कहाँ जाऊ, उहाँले निःशुल्क सहयोग गरिदिनुहुन्छ’ भनेर पठाइदिनुहुन्छ । म उनीहरूलाई कहिल्यै खाली हात फर्काउँदिनँ ।’’

यही निरन्तरताका कारण समाज र अदालतमा उहाँको परिचय नै “पिडितको वकिल” का रूपमा स्थापित भएको छ । यो पहिचान यति बलियो छ कि पुरुष पीडितहरू वा पुरुष जाहेरवालाहरू उहाँको फर्ममा आउन अक्सर हिचकिचाउँछन् । पुरुषहरूलाई लाग्छ कि रिंकु केवल महिलाहरूको अधिकारका लागि मात्र लड्छिन्, जुन एक किसिमले सत्यको नजिक पनि छ ।

चुनौतीका पहाड
न्यायको बाटो कहिल्यै पनि फूलैफूलले भरिएको हुँदैन, विशेष गरी पितृसत्तात्मक समाजमा । जब रिंकुले शक्तिशाली पुरुषहरू र स्थापित परिवारका विरुद्ध महिलाहरूको तर्फबाट वकालत गर्न थालिन्, तब उनीमाथि अनेकौँ लाञ्छना र प्रहारहरू सुरु भयो ।

निहारिका सिंह राजपूतको मुद्दा लड्दा उहाँले भोगेको तनाव सम्झँदै उहाँ भन्नुहुन्छ, “सुरुमा निहारिकाको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्नै मानेको थिएन । समाजका धेरै प्रतिष्ठित भनाउँदा मानिसहरू यो मुद्दालाई अदालत बाहिरै दबाउन र मिलाउन चाहन्थे । तर तीन महिनाकी गर्भवती भएकी एउटी असहाय युवतीको आँसुले मलाई पछि हट्न दिएन । त्यो मुद्दा लड्दा मलाई बद्नाम गर्ने, मलाई आर्थिक प्रलोभन दिने यस्तो मुद्दामा हात नहाल तिम्रो वकालत पेशा सुरु हुनु भन्दा पहिले नै समाप्त हुन्छ भन्दै केही कानुन व्यवसायीबाट धम्की आएको थियो ।’ तर त्यस्ता धम्कीबाट रिंकु डराउनु भएन ।

निहारीकालाई साथ दि एभने वकालत नै बन्द गराई दिनेसम्मको धम्की उहाँलाई आएको थियो । तर उहाँ कसैको धाक धम्कीबाट डराउनु भएन । निहारिकालाई साथ दिइरहनुभयो । यस्ता जोखिमयुक्त मुद्दाहरु नलड्न उहाँका घरपरिवारले समेत सुझाएको थियो । उहाँ भन्नुहुन्छ, ‘छोरा र श्रीमानलाई समझेर कहिलेकाँहि आफ्नो सुरक्षाको चिन्ता नभएको होइन, त्यो चिन्ता र डरलाई बाहिर जाहिर हुन नदिई हौसलाका साथ काम काज गरिरहेको हुन्छु ।’’

त्यस्तै, नेहा चौधरीको पक्षमा जब जनकपुरमा सडक आन्दोलन भयो, तब स्थानीय प्रहरी र प्रशासनलाई लाग्यो कि यी सबै आन्दोलन पछाडि अधिवक्ता रिंकु यादवको हात छ र उहाँकै उक्साहटमा महिलाहरू सडकमा उत्रिएका हुन् । एसिड पीडित आरती साहको मुद्दामा जब सुरुमा अदालतबाट विपक्षमा फैसला आयो, तब अदालत परिसरमा ठूलो हंगामा भएको थियो ।

त्यतिबेला पनि केही तत्वहरूले न्यायाधीशहरू समक्ष ‘यस हंगामाको मुख्य नाइके रिंकु यादव नै हुन्’ भन्ने गलत सन्देश पु¥याएर उहाँलाई कानुनी र व्यावसायिक रूपमा संकटमा पार्ने खेल खेलेका थिए । तर, रिंकु यी कुनै पनि आँधीबेहरीबाट डगमगाउनु भएन । उहाँ भन्नुहुन्छ, “तनाव त हुन्छ, म पनि मान्छे नै हुँ । तर जब फैसला पीडितको पक्षमा आउँछ र उहाँहरूको अनुहारमा एउटा सुखद् मुस्कान देखिन्छ, तब मेरा सबै दुःख, तनाव र थकाइहरू एकै क्षणमा मेटिएर जान्छन् ।’’

अन्त्यमा,
अधिवक्ता राजकुमार महासेठ जस्ता समकालीन कानुन व्यवसायीहरू पनि नयाँ पुस्ताका वकिलहरूमा रिंकुको काम अनुकरणीय र प्रशंसनीय रहेको स्वीकार गर्नुहुन्छ । पैसाको पछि दौडिने आजको उपभोक्तावादी समाज र पेशागत बजारमा, आफ्नो कमाइको ठूलो हिस्सा र समय निःशुल्क समाज सेवामा लगाउनु आफैंमा एउटा दुर्लभ उदाहरण हो ।

No photo description available.
रिंकु यादवले आज मधेशका ती महिलाहरूलाई एउटा नयाँ पहिचान र आत्मबल दिनुभएको छ । जसलाई समाजले कमजोर र दोस्रो दर्जाको नागरिक भनेर थिचेर राखेको थियो । उहाँका श्रीमान् अरुण यादवको निरन्तरको नैतिक समर्थन र उहाँको आफ्नो अठोट नै उहाँको सफलताको मुख्य चाबी हो । भविष्यमा के गर्ने चाहना छ त ? अधिवक्ता रिंकुकुमारी यादव दृढ स्वरमा भन्नुहुन्छ, पैसा कमाउन सजिलो छ तर सम्मान कमाउन गाह्रो छ । भगवानको कृपाले माइत र श्रीमानको घर सम्पन्न नै छ, आफ्नो पेसामा लागेको कारण जिविका चलाउन समस्या छैन ।’

रिंकुको यो यात्रा केवल एउटा कानुनी पेशा मात्र होइन, यो त मधेशको सामाजिक रूपान्तरणको एउटा मौन तर अत्यन्तै शक्तिशाली क्रान्ति हो । न्यायका लागि भौंतारिएका अनगन्ती आँखाहरूका लागि रिंकु वास्तवमै एउटा शीतल छहारी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया