आश्विनीलाई सगरमाथा कला सम्मान

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित सम्पन्न सातौँ संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान गरिएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा उहाँलाई मोडलिङ क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । संगीत तथा ग्ल्यामर क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा झाको कामप्रति खुलेर प्रशंसा गरिएको थियो ।
सम्मान ग्रहण गर्दै झाले आफूले मोडलहरूलाई केवल आकर्षक देखिने मात्र होइन, प्रभावकारी प्रस्तुति र आत्मविश्वासका साथ अभिव्यक्ति दिन सक्षम बनाउने लक्ष्यका साथ काम गर्दै आएको बताउनुभयो । “यस सम्मानले अझ जिम्मेवारी थपिएको महसुस भएको छ,” उहाँले भन्नुभयो । लामो समयदेखि मोडलहरूलाई तालिम, ग्रुमिङ तथा व्यक्तित्व विकासमा सक्रिय रहेका झाले तयार पारेका मोडलहरू ¥याम्प, फोटोसुटदेखि म्युजिक भिडियोसम्म प्रभावकारी रूपमा प्रस्तुत हुँदै आउनु भएको छ । उहाँ प्रशिक्षार्थीहरू क्यामेराअघि र पछाडि दुवै क्षेत्रमा सक्षम हुने भएकाले निर्देशकहरूका लागि समेत सहज हुने गरेको बताइन्छ ।
कार्यक्रममा वरिष्ठ सितार वादक विजया शर्मालाई नगदसहित ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । यस्तै वरिष्ठ पत्रकार ध्रुव लम्साललाई ‘सगरमाथा कला पत्रकारिता रजत सम्मान’, सञ्चारकर्मी शिरोमणि दवाडीलाई रेडियो पत्रकारिता सम्मान प्रदान गरियो । त्यसैगरी गीतकार खेमनाथ दाहाल, लोकराज अधिकारी लगायतका स्रष्टा तथा समाजसेवीहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो । कार्यक्रममा संगीत क्षेत्रका उत्कृष्ट स्रष्टा तथा कलाकारहरूलाई विधागत प्रतिस्पर्धाअन्तर्गत पुरस्कारसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया