सिँचाई अभावमा घट्यो गहुँको उत्पादन

गहुँको सिजनका लागि भारतीय पक्षले गण्डक नहरमा पानी नछाडेपछि सिँचाई अभावमा यस वर्ष पर्सामा गहुँ उत्पादन घटेको छ । भारतीय पक्षले त्रिवेणीस्थित वाल्मिकी नगरदेखि ईनरवासम्मको ९३ किलोमिटर नहर सफाई गर्ने जनाउर्दै पानी गण्डक नहरमा नछाडेपछि सिँचाई अभावमा यस वर्ष पर्सामा गहुँको उत्पादन घटेको हो । कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत वर्ष जिल्लामा २३ हजार २० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो । प्रतिहेक्टर ३.७३ मेट्रिक टन उत्पादन दरका आधारमा ८५ हजार ८ सय ६५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो तर, यस वर्ष २३ हजार २ सय हेक्टरमा खेती विस्तार भए पनि प्रतिहेक्टर उत्पादन २.६ मेट्रिक टनमा झरेपछि कुल उत्पादन ६० हजार ३२० मेट्रिक टनमा सीमित भएको छ ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरका अनुसार हिउँदे वर्षा नहुँदा गहुँबालीले आवश्यक प्राकृतिक सिँचाइ पाएन भने गण्डक नहरमा पानी नआउदाँ सिँचाइ अभाव भएपछि उत्पादनमा असर परेको हो । नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगञ्जका निमित्त प्रमुख सुरेश प्रसाद साहका अनुसार विगतका वर्षहरुमा पुस १० गतेदेखि चैत ११ गतेसम्म नहरमा पानी आउने गथ्र्यो तर गत कात्र्तिक ८ गतेदेखि नहरमा पानी आएकै छैन ।
भारतीय पक्षले मंसीरमा नै पानी नछाड्ने जानकारी दिएकाले किसानहरुलाई गहुँ बालीका लागि नहरमा पानी नआउने विषयमा सुचित गराईएको उहाँले बताउनु भयो ।

सम्झौता अनुसार भारतीय पक्षले ८५० क्यूसेक पानी दिनुपर्ने तर त्यति नदिएर करिब ६ सय क्यूसेक पानी मात्र आउने गरेको नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगञ्जका निमित्त प्रमुख साह बताउनु हुन्छ । उहाँका अनुसार धान बालीका लागि बैशाख २१ गतेदेखि कात्र्तिक ८ गतेसम्म पानी छाड्नु पर्नेमा भारतीय पक्षले असार १५ गते पछि मात्र पानी छाड्ने गरेको बताउनु हुन्छ । गहुँ बालीका लागि पनि पुस १० देखि नै नहरमा पानी छाड्नु पर्नेमा भारतीय पक्षले समयमा नछाड्ने गरेको उहाँले बताउनु भयो ।

स्थानीय उत्पादन घटेसँगै भारतबाट गहुँ आयात भने बढेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको वैशाखसम्मको अवधिमा १७ करोड रुपियाँ बराबरको ३५ लाख ३८ हजार किलो मात्र गहुँ आयात भएको थियो । चालु आर्थिक वर्षको सोहि अवधिमा २८ करोड रुपियाँ बराबरको ६५ लाख १९ हजार किलो गहुँ आयात भएको छ । वीरगञ्ज नाका खाद्यान्न तथा कृषि उपज आयात हुने नाकामध्ये मुलुककै एक प्रमुख मानिन्छ ।

तपाईको प्रतिक्रिया