सरकारको नेतृत्व गर (सम्पादकीय)

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण खलबलिएको नेपालको राजनीति अझै स्थिर हुने अवस्थामा छैन । नेकपाबाट एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमाले नेतृत्वको यो सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि सत्ता समिकरणको चहलपहल सुरु भएको छ । 

सत्ता समिकरणको दौडमा एमालेसहित काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल रहेका छन् । अहिलेको अवस्थामा एमालेलाई जुनसुकै दलले सहयोग गरे, सरकार बन्ने अवस्था छ । अहिलेको अवस्थालाई हिसाब गर्ने हो भने एमालेसँग १२१ जना सांसद छन् । १३८ जना सांसद भए सरकार बनाउन सकिन्छ । 

त्यसका लागि एमालेलाई माओवादी केन्द्र, काँग्रेस र जसपा नेपालमध्ये जुन दलले सहयोग गर्दा सरकार बन्दो रहेछ । 

तर विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमनकारी कदमका कारण काँग्रेस र जसपा नेपालले सहयोग गर्न हिचकिचाइ रहेका छन् । 

माओवादी केन्द्रसँग तत्काल कुनै कुरा नै भएको छैन । यद्यपी प्राधनमन्त्री केपी शर्मा ओलीले जसपा र काँग्रेस दुवै पार्टीसँग कुरा गरिरहेका छन् । दुवै दलमध्ये जुन दलले सहयोग गरे, ओलीका लागि कम्फर्टेबल हुने देखिन्छ तर प्रधानमन्त्री ओलीले काँग्रेसभन्दा बढी राजपा नेपाललाई पछ्याइ रहेका छन् । काँग्रेस ठूलो दल भएको, उसको देशैभरि संगठन छ, उ सरकारमा आएपछि पार्टीलाई सांगठनिक रुपमा असर पार्न सक्छ ।

 सरकारमा हिस्सेदारी पनि खोज्न सक्छ, बराबरको भागबण्डा मिलाउन सक्छ । तर त्यो समस्या जसपा नेपालमा देखिएको छैन । 

जसपा नेपाललाई मागे अनुसार मन्त्रालय दिएपनि उसले अन्य कुरामा त्यति भागबण्डा माग गर्दैनन् । मुद्दा कार्यान्वयनमा विशेष जोड दिएर सरकारमा बसिरहन्छन् र अरु कुरामा त्यति ध्यान दिँदैन बुझाई एमाले पार्टीको रहेको छ । यता, माओवादी केन्द्रले पनि काँग्रेस र जसपा नेपालसँग मिलेर सरकार बनाउन चाहन्छन् ।

 अनौपचारिक रुपमा ती दुवै दलले सहमति जनाए पनि औपचारिक रुपमा सहमति जनाएको छैन । त्यसको कारण हो, एमालेलाई सरकार बनाउन दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छैन । काँग्रेस र जसपा नेपालले सरकारबाट फिर्ता लिन सुझाव दिएका छन् तर माओवादी केन्द्र कुनी केको प्रतिक्षामा बसिरहेको छ । सत्ता समिकरणको कुरा हुने वित्तिकै जसपा नेपाल सरकारमा जाँदैछ भनि आलोचना सुरु हुन्छ । त्यो गलत हो । राजनीति गरेकै सत्ताका लागि हो । 

प्रधानमन्त्री, मन्त्री बन्नका लागि हो । तर खासगरि मधेशबाट जसपा नेपालको आलोचना हुनथाल्छन् । जसपा नेपाल पनि सरकारमा जानुपर्छ । सरकारमा नगएसम्म मधेशको अवस्था सधै यस्तै रहने भयो जस्तो छ ।

सरकारमा गएर आआफ्नै मन्त्रालयको तर्फबाट मात्र इमान्दारिताका साथ काम गरे भने मधेशका लागि धेरै हुन्छ । त्यही इमान्दारीताका साथ काम नगरेको कारण मधेशमा आलोचना हुने गरेको छ । तर के आलोचना हुँदैमा सरकारमा जानु हुँदैन भने होइन । 

सरकारमा नगए त्यो घाटा कसैलाई हुँदैन, मधेशलाई नै घाटा हुन्छ । एमाले, काँग्रेस र माओवादीले चाहन्छन् कि मधेशवादी नेताहरु सरकारमा नजाओस् । उनीहरु कुनै नकुनै बहानामा सरकारमा भन्दा बाहिर नै रही रहोस् । ती तीनटै दलमा कुरा मिल्दासम्म मधेशवादी दललाई कहिले खोजेको देखिदैन । जब ती तीन दलको बीचमा विवाद हुन्छ अनि मधेशवादी दललाई खोज्न थाल्छन् । यसको मौकाको फाइदा मधेशवादी दलले लिनुपर्छ जस्तो लाग्छ । सरकारमा नजानुभन्दा जानुमा फाइदा रहेको देखिन्छ । 

दुईचार जना मन्त्री भएपछि त्यसका साथमा अरु केही व्यक्तिले नोकरी पाउँछन् । आफ्नो अनुकुल सरुवा बढुवा हुन्छ । मन्त्रालय अन्तर्गत मधेशमा रोकिएका केही कामहरुको सुरुवात हुन्छ । त्यसैले सरकारमा जाँदा नै उचित हुने देखिन्छ । सरकारमा नजाँदा पनि माग पुरा भएको छैन । माग पुरा नभएसम्म सरकारमा नजाने अडान लिएर बसेको जसपा नेपालको माग कहिल्यै पुरा हुँदैन । यसको मतबल माग पुरा नभएसम्म सरकारमा जानु हुँदैन ? यो सोच नै गलत हो ।

जुन मागका लागि लडाई गरिरहेको छ । त्यो मागको विषयमा सरकारमा पनि कुरा उठाउन सकिन्छ । यहाँ त ढोका बाहिर बसेर अवाज लगाउँदा सुनिरहेको छैन । ढोकभित्र पसेर कानकै छेउमा बसेर कुरा राखेपछि किन सुन्दैन, सुन्नुपर्छ । बाहिरभन्दा अलि प्रष्ट रुपमा सुन्न सक्छ । त्यसले मधेशको माग जवर्जस्त रुपमा उठाउनका लागि भएपनि जसपा नेपाल सरकारमा जानुपर्छ । 

अहिले कतैकतै सरकारको नेतृत्वको अफर अर्थात प्रधानमन्त्री बन्नका लागि कुरा आएको सुनिएको छ । यदि त्यस्तो हो भने मौका छोड्नु हुँदैन । एकपटक मधेशका लागि इतिहास ब्रेक गर्नुपर्छ । जसपा नेपालका लागि यो ठूलो अवसर हो । मधेशलाई क्षति नहुने गरि कुनै पनि सम्झौता गरेर यदि सरकारको नेतृत्व दिन काँग्रेस, माओवादी केन्द्र र एमाले तयार हुन्छ भने त्यसलाई राजिखुशी स्वीकार गर्नुपर्छ । 

प्रधानमन्त्री पद भनेको देशका लागि कार्यकारी पद हो । त्यो पदबाट जुनसुकै काम गराउन सकिन्छ । आफ्नो क्षमतालाई प्रयोग गरेर जनताको हितमा जुनसुकै काम गर्न सकिन्छ । त्यसैले सरकारमा जाने अवसर छ भने त्यसलाई छाड्नु हुँदैन, त्यसमा पनि प्रधानमन्त्रीका लागि अफर आएको छ भने राजिखुशी लिनुपर्छ । 

तपाईको प्रतिक्रिया