वैकल्पिक शक्ति बन्न नसकेको कारण लोसपा छाडेको हुँ

–राजकुमार लेखी
थरुहट आन्दोलनदेखि अन्य लोकतान्त्रिक आन्दोलनका चिरपरिचित नाम हो राजकुमार लेखी । आदिवासी जनजाति आन्दोलनको अगुवाको रुपमा लामो समय काम गर्नुभएका राजकुमार लेखी मधेश आन्दोलनका समय सबभन्दा बढी चर्चामा आउनु भएको थियो । मधेशवादी दलले गरिरहेको आन्दोलनका केही कुरामा फरकमत राख्दै सडकमा आउनु भएका राजकुमार लेखी त्यतिबेला एकाएक चर्चामा आउनु भएको थियो । लामो समय एमाले पार्टीमा रहेर राजनीति गर्नुभएका राजकुमार लेखीलाई आदिवासी जनजाति आन्दोलनका अगुवा नै मानिन्छ । तर पछि उहाँले एमाले छाडेर आफ्नै नेतृत्वमा नागरिक समाजवादी पार्टी बनाउनु भएको थियो । केही दिन त्यो पार्टी चलाएपछि उहाँले राजेन्द्र महतोको तत्कालिन सद्भावना पार्टीसँग एकीकरण गर्नुभयो । त्यो बेलादेखि लामो समय मधेशवादी दलको रुपमा परिचित दलमा रहेर राजनीतिमा सक्रिय रहनु भयो । पछिल्लो समय जनता समाजवादी पार्टी विभाजन भएपनि उहाँ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी सदस्य बन्नुभयो । मधेशवादी दलमा रहेर पाँच वर्षसम्म अनुभव गर्नुभएका राजकुमार लेखी ती दलले राष्ट्रिय रुप धारण गर्न सक्दैन, सानो सानो गुटमा रहेर मात्र काम गर्छन् भनि थाह पाएर उहाँ लोसपा छाड्नु भएको छ । अहिले पुनः एमालेमै जाने चर्चा सुरु भएको छ । प्रस्तुत छ, मधेशवादी दलको राजनीतिक र अगामी यात्राको बारेमा राजकुमार लेखीसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट तपाईले राजिनामा दिनुभएको छ किन ?
–मैले लामो समय एमाले पार्टीमा काम गरे । एमाले पार्टी एउटा शक्ति भएपनि वैकल्पिक शक्तिको रुपमा आइरहेको थिएन । अनि केही साथीहरुले मिलेर वैकल्पिक शक्ति निर्माणका लागि नागरिक समाजवादी पार्टी गठन गर्यौं । केही समय त्यसमा काम गर्यौं तर हामी वैकल्पिक शक्ति निर्माण गर्न सकेनौं । त्यसपछि मधेशमा विभिन्न दलहरुले काम गरिरहेका थिए । ती दलहरुमा मैले त्यो सम्भावना देखे, अनि सद्भावना पार्टीसँग एकीकरण गरेर वैकल्पिक शक्ति निर्माणका लागि राजनीतिक यात्राको सुरु गर्यौं । सद्भावना पार्टीलगायत अन्य विभिन्न छवटा दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बन्यो । मधेशमा एउटा ठूलो शक्ति निर्माण भएकोमा हामी खुशी थियौं । देशकै वैकल्पिक शक्ति बनाउने र देशको समग्र परिवर्तनमा योगदान दिने सोचका साथ अगाडि बढ्यौ । सोही क्रममा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल निर्माण गर्यौं । यो पनि ठूलो उपलब्धी थियो । वैकल्पिक शक्ति बनाउने नारा पनि दियौं । तर जुन सोचका साथ पार्टीहरु एकीकृत भइरहेको थियो त्यो सोचका साथ अगाडि बढी रहेको थिएन । आकार लिइरहेको थिएन । कतै नकतै असमञ्जसमा पार्टी फँसेको जस्तो लागि रहेको थियो । पार्टीलाई अगाडी बढाउनुपर्छ । राष्ट्रिय रुप दिनुपर्छ भने सोच नेताहरुमा मैले देखिनन् । काँग्रेस, माओवादी केन्द्र र एमालेभन्दा त्यो दलमा केही फरक थिएन । एजेण्डा, विषयवस्तु, सोचहरु पनि ती दलसँगै मिल्न थाल्यो अनि मलाई लाग्यो । यहाँ बसेर समय बर्बाद गर्नु हुँदैन, अनि मैले राजिनामा दिए ।

यत्रो लामो समय बसेर मधेशवादी दलमा काम गर्नुभयो, अनुभव गर्नुभएको होला नि कि किन वैकल्पिक शक्ति बन्न सकेन ?
–मैले अघि भने नि कि मधेशवादी दलका नेताहरुमा काँग्रेस, माओवादी केन्द्र, एमाले जस्ता दलको सोच भन्दा फरक सोच छैन । ठूला दलको नक्कल गरेर राजनीतिक गरिरहेका छन् । ठूला दलको जस्तै स्कूलिङ, सोच र विचार छन् उनीहरु अर्थात केही फरक छैन । त्यही भएर यी साना साना दलहरुलाई राजनीतिक दल बन्नमा नै धेरै समय लाग्छ । सानो सानो चित्त लिएर ती दलका नेताहरुले काम गरिरहनु भएको छ । ठूलो र वृहत्त उद्देश्यले काम गर्न सुरु गरेपछि सोच पनि त्यस्तै राख्नुपर्छ त्यो कुरा ती दलका नेताहरुमा म पाउन सकिन्न । सानो सानो कुरामा विवाद उत्पन्न हुने, अर्काअर्कालाई नेता अस्वीकार गर्ने, सबैजना मसिहा नै बन्न खोज्ने । हेर्नु नै भयो होला, राजपा र समाजवादी पार्टी मिलेर जसपा नेपाल बनेको एक वर्ष पनि पुगेको थिएन । पार्टीभित्र विवाद उत्पन्न भयो र विभाजन पनि भयो । मलाई लाग्छ, पार्टी विभाजन नै हुने खालको त्यस्तो कुनै विवाद नै थिएन, त्यसलाई बसेर सल्टाउन सकिन्थ्यो तर उहाँहरुको बीचमा बोलचाल समेत बन्द भयो, संवादहिनताको अवस्था सृजना भयो र त्यसले गर्दा पार्टी विभाजन भयो । अनि यो अवस्थामा एउटा वैकल्पिक शक्ति कसरी निर्माण हुन्छ तपाई आफै भन्नुस् ।

तपाईसँग त्यत्रो राजनीतिकको अनुभव छ । थरुहट आन्दोलन हाक्नु भएको छ, एमालेमा त्यत्रो लामो समय काम गर्नुभएको छ, मधेशवादी दलको साथमा पनि काम गर्नुभयो, आदिवासी जनजातिहरुको संगठनमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभयो । यतिका अनुभव हुँदा हुँदै पनि तपाई त्यही रहेर त्यो पार्टीलाई बनाउन सक्नु हुन्थ्यो नि ?
–तपाई ठिक भन्नुभयो । गर्न सकिन्थ्यो, मैले त्यो अनुसारको प्रयास पनि गरे । नेताहरुसँग संवाद गरे । यसरी जाउ पनि भने तर मेरो कुरा सुन्ने कोही भएन । म मात्रै होइन, त्यो पार्टीमा रहेका अन्य होनहार युवाहरु जो केही गर्ने जोशजाँगरका साथ त्यसमा लाग्नु भएको छ, उहाँहरुले पनि प्रयास गर्नुभयो । पटक पटक शीर्ष नेताहरुलाई भेटेर योजनाहरु सुनाउने काम भयो तर ती नेताहरुले कसैको कुरा सुन्ने पक्षमा हुनुहुन्थेन । ती दलका ठूला नेताहरुले पार्टी साना नेता अर्थात तल्लो तहका नेताहरुलाई गिन्दा पनि गिन्नु हुन्न । कुनै भ्यालु नै दिँदैन । उहाँहरुको मनमा जे लाग्यो त्यही गर्ने । आआफ्नो गोजीबाट पार्टी चलाउनु हुन्छ । हाम्रो कुरा सुन्ने उहाँहरुलाई फुर्सद थिएन ।

मधेशवादी दलमा तपाई पाँच वर्ष बिताउनु भयो । यो कम समय होइन, आधा दशक नै हो, त्यो पार्टीलाई बुझ्नका लागि यतिका समय किन लाग्यो त ?
–सायद तपाईले याद गर्नुभएको छैन होला । मैले सुरुमै भनेको थिए कि मधेशवादी दलमा सद्भावना पार्टीबाट लागेको हुँ । म त्यो पार्टीमा प्रवेश गरेको होइन, हाम्रो पार्टीबीच एकीकरण भएको थियो । एकीकरण भएपश्चात मधेशमा रहेका अन्य साना दलहरुको बीचमा एकीकरणको प्रयास सुरु भएको थियो । अलग अलग रहेको विभिन्न ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बनेको थियो । त्यो बेला हामी पनि उत्साहित भएका थियौं । राजपा नेपाल बनेपनि त्यो पार्टीले पूर्णता लिइरहेको थिएन । पार्टीभित्र बेलाबेलामा आन्तरिक विवादहरु चलिरहेको थियो । अगाडि बढी रहेको थिएन । यता, उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी एक्लै थियो । त्यो पार्टीसँग एकीकरण गर्ने भनि राजपा नेपालसँग वार्ता चलिरहेको थियो । वार्ता लामो समय चल्यो, एक समय यस्तो आयो कि रातारात एकीकरण भयो र जसपा नेपाल बन्यो । ठूला ठूला नेता भएको पार्टी बन्यो । वैकल्पिक शक्ति बनाउने कुरा भयो । अब अगाडि बढ्छ कि जस्तो लागेको थियो तर एक स्टेप पनि अगाडि बढेन बरु आन्तरिक विवादका कारण जसपा नेपाल विभाजन भयो र अर्को लोकतान्त्रिक समाजवादी पार्टी नेपालको जन्म भयो । त्यसपछि म निराश पनि भए र चिन्तित पनि भए । यसरी त अग्रमन र लोकतन्त्रका लागि राजनीतिक गर्ने नेताको भविष्य नै खराब हुन्छ । यहाँ बस्नु भन्दा अलग बस्नु नै ठिक भनेर म लोकतान्त्रिक समाजवादी पार्टीबाट राजिनामा दिएको हुँ ।

भनाईको मतलब तपाईको सद्भावना पार्टीदेखि जसपासम्मको यात्रा आशावादी थियो तर जब त्यो पार्टी विभाजन भयो अनि तपाई निराश हुनुभयो ?
–हो, सुरुदेखि नै सानो सानो पार्टीहरु एक आपसमा मिल्दै संगठित भइरहेका थिए त्यसले गर्दा मभित्र एउटा आशा पलाएको थियो । पार्टीले अरु केही नगरेपनि संगठित हुँदैछ, यसले भोली गएर देशकै वैकल्पिक शक्ति बन्छ भने मलाई लागेको थियो । तर उहाँहरुमा मेलै संगठन बनाउनु भन्दा पनि चुनाव कसरी जित्ने, आफू नेता कसरी हुने, मन्त्री कसरी बन्ने जस्ता उद्देश्य मात्र पाए । मैले त्यो पार्टी छाडेपछि त्यसका कुनै नेता वा व्यक्तिप्रति गुनासो छैन । सबैसँग मेरो व्यक्तिगत रुपमा राम्रै सम्बन्ध थियो । पार्टीको कार्यकारिणीमा मलाई राखेकै थियो तर म सिस्टमको कुरा गर्छु । नयाँ पार्टी भएपनि परम्परागत सोचबाट पार्टी चलिरहेको थियो । त्यो सोचको विकास अन्य नेताहरुमा पनि हुँदै गइरहेको थियो । त्यही भएर म त्यहाँबाट समयमा नै निस्कनुमा बुद्धिमानी ठाने ।

अब तपाई के गर्नुहुन्छ ?
हेरौं साथीहरुसँग सल्लाह हुँदैछ । राजनीतिक गर्ने मान्छे हुँ यसरी नै बस्न त सकिदैन तर के गर्ने, कसो गर्ने विषयमा साथीहरुसँग सल्लाह गर्दैछु ।

तपाई त कम्युनिस्ट ब्याकग्राउण्डका नेता हुनुहुन्छ । लामो समय एमालेमा बसेर काम गर्नुभएको छ, सोही पार्टीमा जाने चर्चा ब्यापक छ नि ?
–त्यसको पनि सम्भावना छ । म त्यहाँ लामो समय काम गरेको छु, चिनेजानेका नेताहरु पनि हुनुहुन्छ । मैले सबैलाई बुझेको पनि छु । त्यही भएर त्यो पनि सम्भावना पनि छ तर टुगों लाग्न बाँकी छ । कुराकानी चलिरहेको छ । एमालेसँग मात्र होइन, अन्य ठाउँहरुमा पनि कुराकानी भइरहेको छ । के गर्ने भनि साथहिरुको बीचमा पनि छलफल भइरहेको छ । चाँडै नै तपाईहरु कुनै नयाँ खबर पाउनु हुन्छ ।

तपाईको प्रतिक्रिया