अभियानले माओवादी र नेता दुवैलाई सच्चिने मौका दिएको छ

–रामेश्वर राय यादव
–केन्द्रीय सदस्य, माओवादी केन्द्र
गत भदौंदेखि माओवादीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो । वडा तहबाट सुरु गरेको सो अभियान पहिलो चरणमा तीन महिनासम्म चल्यो । तीन महिनामा अभियानको लक्ष्य पुरा नभएको भन्दै त्यसमा एक महिना थपेर चार महिने अभियान भन्यो । त्यो चार महिने अभियान पुस १६ गते समापन हुँदैछ । प्रस्तुत छ, यो चार महिने अभियानमा माओवादीले के प्राप्त गर्यो, सरकारको बारेमा जनतामा कस्तो बुझाई छ, मधेशको समस्या, र अभियानले नेतालाई के फाइदा भयो लगायतका विषयमा सहारा टाइम्सले माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रामेश्वरराय यादवसँग गरिएको कुराकानीको सम्पादीत अंशः
माओवादी केन्द्रको चार महिने अभियान भोली (पुस १६) समाप्त हुँदैछ, यो अभियानले पार्टीलाई केही फाइदा भयो कि भएन ?
–फाइदा भयो, धेरै नै फाइदा भयो । निस्कृय जस्तै रहेको माओवादी यो चार महिना निकै सक्रिय रह्यो । जनताको घरघर गएर माओवादीका नेताहरुले कार्यक्रमहरु गरेका छन् । जनताको पीर मर्काको बारेमा कुरा गरेका छन् । उसको समस्यालाई समाधान गर्ने प्रयास गरेका छन् । देशभर साँच्चै सक्रिय भएको सबैलाई महसुस भयो । त्यसक्रममा संगठन निर्माणको काम पनि भयो । त्यसले गर्दा माआृेवादीप्रति जनताको आशा र भरोसा बढेको छ ।
के यसअघि माओवादीप्रति भरोसा थिएन ?
–भरोसा थिएन भने होइन तर माओवादी निस्कृय चाहीं पक्कै भएको थियो । जनतासँग सम्बन्ध नै टुटेको जस्तो भएको थियो । देशैभर वडा तहसम्म माओवादीको संगठन रहेका छन् तर चलायमान थिएन । कुनै कार्यक्रम नै नभएको जस्तो, कुनै दिशा निर्देश नै नभएको जस्तो एक अर्काको मुख ताकेर बसेका थिए कार्यकर्ता तथा नेताहरु । त्यसैलाई सक्रिय बनाउनका पार्टीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ भनि तीने महिना चलायो । तीन महिने अभियान सकिए पछि त्यसमा अझै एक महिना थपेर चार महिना बनाएको थियो । भरोसा त पहिला पनि थियो तर त्यो भरोसा क्यास हुन्छ कि हुँदैन भन्ने चिन्ता जनतामा थियो । माओवादीले आवश्कयता पूरा गर्न सक्छ कि सक्दैन भनि जनतामा एकखालको चिन्ता थियो । अब माओवादी नेताहरुलाई जनताले आफ्नै घरमा भेटेपछि भरोसा क्यास हुन्छ अर्थात गरेको भरोस माओवादीबाट पुरा हुन्छ भन्ने विश्वास गर्न थालेको छ । जनतामा आशा र भरोसा पैदा भएको छ ।
चार महिने अभियान त चलाउनुभयो तर अधिकाँश नेताहरु सिंहदरवारकै वरिपरी देखिएका थिए त्यो अभियान कसरी चल्यो त ?
–पार्टीका ८० देखि ९० प्रतिशत नेता तथा कार्यकर्ता फिल्डमा थिए । यसपाली हरेकलाई संगठनबाट अभियानमा जोडिनका लागि पार्टीको हाइकमाण्डबाट निर्देशन थियो । भुगोल तोकेर नै पठाइएको थियो, त्यस अवस्थामा फिल्डमा नजाने कुरा नै हुँदैन । कतिपयले सुरुमा कार्यक्रम सञ्चालन गरेर पुनः त्यस ठाउँमा नगएको कुराहरु पनि आएको थियो । कोही मन्त्री छन्, कोही सांसद छन्, कोही अरु अरु पदमा छन्, उहाँहरुलाई तपाईले सिंहदरवार वरिपरी देख्नु भएको होला । तर उहाँहरु पनि सधै त्यसरी सिंहदरवार वरिपरी मात्र हुँदैन्थे । काम सकाएर अभियानको कार्यक्रममा जानु हुन्थ्यो ।
अभियानले संगठन सुदृढीकरण र विस्तार मात्र भएको छैन । नेताहरुको मूल्यांकन पनि भएको छ । कुन नेता कसरी खट्न सक्छन्, पार्टीका लागि कसरी टाइम दिनसक्छन्, उसको पंक्च्वालिटी, विश्वासनियतालगायतको मूल्यांकन हुन्छ । यो चार महिनामा धेरैको धेरै कुरामा मापन भएको छ । रुपान्तरणका लागि अभियानले एउटा आधार खडा गरेको छ । अभियानले नेता तथा कार्यकर्तामा जिम्मेवारी बोध गराएको छ । जो पार्टीमा गुट निर्माण गरी अलग थलग बस्थे, यो अभियानपछि उनीहरु पनि एकीकृत भएका छन् । पार्टीका लागि केही गर्नुपर्छ भनि बोध सबैमा भएका छन् ।
माओवादी नेतृत्वमा सरकार भएकै बेला यो अभियान सुरु भयो र अन्त्य पनि भयो । भनिन्छ, माओवादीको सरकार हो भन्ने कुराको जनताले अनुभूती नै गरेका छैनन् भन्ने कुरा अभियानको क्रममा पनि उठेको हो रे । तपाईले के थाह पाउनु भएको छ ?
–हो जनताले सरकारबाट अपेक्षा गरेको छन् । अपेक्षा अनुसार जनताले त्यसको अनुभूती नगरेको सही हो । माओवादी नेतृत्वमा सरकार बनेपछि पक्कै केही नकेही हुन्छ भने अपेक्षा सबैले गर्नु स्वभाविक हो तर त्यो सुरुवातको कुरा थियो । सरकार निर्माण हुने बित्तिकै जनताले परिणाम खोजेको थियो । त्यो प्राप्त गर्न सकिरहेको थिएन । तर पछि सुशासन, भ्रष्टाचारको क्षेत्रमा माओवादी नेृतत्वको सरकारले चालेको कदमले गर्दा जनता खुशी भएका छन् । अरु कसैले नसकेपछि माओवादीले भ्रष्टहरुलाई तह लगायो भने जनताले भन्न थालेका छन् त्यो कुरा हामीले अभियानको क्रममा पनि सुन्यौ र भोग्यौं पनि । जनतामा माओवादीप्रति एक खालको उत्साह जगाएको हो । त्यो मात्र पर्याप्त होइन । माओवादी नेतृत्व सरकारको एक वर्षको अवसरमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डज्यु स्वयंले पनि आफू आफ्नै कामबाट सन्तुष्ट छैन अझै केही गर्ने हुटहुटी छ र अब नयाँ ढंगबाट अगाडि बढ्ने भन्नुभएको छ । जनताले पनि त्यो कुराको अनुभव गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले यो एक वर्षको अवधिमा सोचे जस्तो काम किन गर्न सक्नु भएन त ?
–यो सरकार कुन परस्थितिमा कसरी बनेको छ त्यो कुरा जगजाहेर छ । माओवादी नेतृत्वको यो एकल सरकार होइन । विभिन्न सात वटा पार्टी मिलेर बनेको यो सरकार हो । पक्कै पनि कुनै विषयमा सात थरी कुरा आउँदो होला । गठबन्धनभित्र धेरै कुरा मिलाउनु पर्ने हुन्छ होला । सबै दलबाट मन्त्रि बनेका छन् । त्यही अनुसार क्याविनेटमा पनि प्रस्तुत हुन्छन् होला । प्रधानमन्त्री प्रचण्डलाई केही गर्ने हुटहुटी भए पनि मन्त्री, मन्त्रालयबाट त्यो अनुसारको रेसपोन्स न हुन पनि सक्छ । त्यही भएर सोचेको जस्तो काम नभएको हो भनि मेरो बुझाई हो । अहिले पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड अलि कडा रुपमा प्रस्तुत हुन थाल्नुभएको छ । मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाएर ब्रिफिङ लिन थाल्नु भएको छ । जहाँ त्रुटी देखिन्छ, त्यहाँ तुरुन्तै सुधार गर्नका लागि भनि रहनुभएको छ । सुधारको सुरुवात पनि भएको छ । तर त्यतिले मात्र पुग्दैन ।
भन्नाले गठबन्धन दलका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई सहयोग गर्नुभएको छैन, होइन ?
–मैले त्यो भनेको होइन । मैले भन्न खोजेको के हो भने फरक फरक दलबाट मन्त्रीहरु आउनु भएको छ । सबैको एउटै विचार नहुन सक्छ । सबैका आआफ्नै स्वार्थ हुनसक्छ । फरक फरक स्वार्थ भएपछि पक्कै पनि काम प्रभावित हुन्छ नै । प्रधानमन्त्रीज्युले मन्त्री फेर्ने कुरा गर्नुभएको छ तर गठबन्धनको सरकार भएको कारणले सक्नु भएको छैन । काँग्रेस त्यसको बाधक बनेको छ । अरु दलहरुले पनि त्यसमा खुलेर सहमति जनाएका छैनन् । कतिपय अवस्थामा प्रधानमन्त्रीलाई सहयोग गर्छु भन्दा भन्दै मन्त्रीहरुबाट परस्थितिवश सहयोग भइरहेका हुँदैन । कुनै मन्त्री पार्टीको लाइन अनुसार चलिरहेका हुन्छन् भने कुनै नेता विशेषको इसारामा चलिरहेका हुन्छन् र त्यसको असर उसको काममा परिरहेको हुन्छ । तर एउटै पार्टीका सबै मन्त्री भए भने यस्तो समस्या नआउन सक्छ भनि मैले भन्न खोजेको हुुँ । एउटै पार्टीबाट भयो भने सबै कुरा मिल्छ र काम गर्न सजिलो हुन्छ । तर नेपालको निर्वाचन प्रणाली नै यस्तो छ कि एकल सरकार बनाउन निकै गाह्रो छ । सबैलाई समेट्नु पर्ने हुन्छ र त्यसले गाह्रो सरकारलाई सधै गाह्रो बनाइरहेको हुन्छ ।
अभियान समापन हुनलाग्दा प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशको अभियानमा खटिएका नेताहरुलाई बालुवाटार बोलाउनु भएको थियो, त्यहाँ के के कुरा भयो त ?
–मुख्य रुपमा अभियानको क्रममा पार्टीको तर्फबाट मधेश प्रदेशमा भएको गतिविधिको समिक्षा भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो धारणा राख्नुभएको थियो । अभियानको क्रममा मधेशमा संगठनका लागि निकै महत्वपूर्ण कामहरु भएका छन् । संगठन सुधारन्मुख छ । तर यतिले मात्र पुग्दैन, अभियान सकिए पनि कुनै नकुनै रुपमा त्यहाँका जनतासँग पार्टीलाई जोडि रहनुपर्छ, माओवादी आफ्नो दैलोमा आएको भनि जनता निकै खुशी छन् त्यसलाई निरन्तरता दिनुपर्छ त्यसका लािग अभियान नै चलाउनुपर्छ भने होइन भनि प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो । संगठनात्मक रुपमा मधेशमा केही समस्या थियो, त्यो धेरै हदसम्म समाधान भएको कुरा आफूले बुझेको कुरा पनि प्रधानमन्त्रीज्युले राख्नुभएको थियो । केही साथीहरुको गुनासो पनि सुन्नुभयो ।
मधेश प्रदेशमा माओवादीभित्र देखिएको समस्या समाधान भयो त ?
–सात प्रदेशमध्ये मधेश प्रदेशमा अलि फरक ढंगको विवाद थियो । त्यसलाई समाधानका लागि धेरै पटक प्रयास भयो । प्रधानमन्त्री प्रचण्डले आफै पनि इन्भल्व भएर त्यसलाई मिलाउने प्रयास गर्नुभयो तर भइरहेको थिएन तर पछिल्लो समय अभियानको नाममा जसरी माओवादी मधेश प्रदेशमा छिर्यो त्यसले त्यतिबेला नै धेरै कुराको समाधान गरेको हो । अरु बेला जुन नेताहरु एक ठाउँमा बस्न चाहेका थिएनन्, ती नेताहरु अभियानको क्रममा एकै ठाउँमा एउटै मञ्चमा बसे । एक आपसमा कुरा गरे । पार्टीका लागि यो धेरै नै उपलब्धीमुलक कुरा हो तर यो कति टिकाउ हुन्छ, यो सधैभरीका लागि कसरी अगाडि बढ्छ त्यसमा चिन्तन गर्न आवश्यक छ ।
मधेशमा माओवादी निकै कमजोर देखिन्छ त किन ?
–पहिलो कुरा त पार्टीको नेतृत्व पक्षले नै मधेशलाई वेवास्त गरेको जस्तो लाग्छ मलाई । सात वटा प्रदेशमा मधेश प्रदेशबाहेक अरु प्रदेशमा जसरी ध्यान दिएका छन् र पहिला पनि दिन्थे त्यस्तो ध्यान मधेश प्रदेशका लागि दिनुभएको छैन । मधेशमा पार्टीभित्र जे गडबड चलिरहेको छ त्यसमा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड एक चोटी कडामा रुपमा प्रस्तुत हुनुभयो भने सबै आफै साइड लाग्छन् । तर त्यति ध्यान दिनुभएको छैन । उहाँले खाली मिल्नुस्, मिलाउनुस् भन्नुहुन्छ । उहाँले आफैले हस्तक्षेप गरेर अगाडि बढ्न सोच्नु भएन । जब धेरै कुरा बिग्रि सक्यो त्यसपछि माओवादीका अध्यक्ष प्रचण्डज्यु तात्नु भएको छ । धेरै कुरा सुधार भएको छ, अझै केही सुधार गर्न आवश्यक छ ।
यो अभियानले मात्र मधेशमा सुधार होला जस्तो लाग्छ तपाईलाई ?
–यो अभियानले मधेशलाई एउटा ट्रयाकमा ल्याएको छ । तर त्यो ट्रयाकलाई अब त्यतिकै छोड्नु हुँदैन । त्यसको बारेमा अझ गम्भीर भएर सोच्नुपर्छ । रणनीतिक ढंगबाट त्यहाँ जानुपर्छ । सबैको चित्त बुझ्ने काम गर्नपर्छ । कसैलाई काखा, कसैलाई पाखा पनि गर्नुहुँदैन । एउटा गुटको नेताले अर्को गुटका नेतालाई हेप्ने, पूर्वाग्रही ढंगले हेर्ने कामलाई आजैको मितिबाट अन्त्य गर्नुपर्छ । जो जो यसमा दोषी छन्, एक एक कदम पछाडि हट्दा राम्रो । त्यसले सबैलाई फाइदा नै पुर्याउँछ ।

तपाईको प्रतिक्रिया