लक्ष्य निर्धारण गरेर अगाडि बढेका छौं, पछाडि फर्किने कुरा हुँदैन

–रामनरेश राय यादव, राजनीतिकर्मी
नेपाल सद्भावना पार्टीको स्थापनाकालदेखि मधेश राजनीतिमा सक्रिय रहनु भएका रामनरेश राय यादव यतिखेर राष्ट्रिय मुक्ति मुक्ति क्रान्तिका लागि अभियानमा लाग्नुभएका राजेन्द्र महतोलाई साथ दिनुभएको छ । २०४७ मा नेपाल सद्भावना पार्टी स्थापना भएदेखि मधेश राजनीतिभन्दा उहाँ कहिले अलग हुनुभएन । नेपाल सद्भावना पार्टी टुटफुटको भुँमरीमा फँस्दै गएपछि रामनरेश यादवको राजनीति यात्रामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा गएर विराम लागेको थियो । एक वर्ष राजनीतिमा निस्कृय रहेका रामनरेश राय यादव हाल राजेन्द्र महतोसँग राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा लाग्नु भएको । अभियानमा सहभागि, अगामी यात्रा र मधेशको एजेण्डालगायतको विषयमा सहारा टाइम्सले नेता रामनरेश राय यादवसँग गरेको कुराकानीको सम्पादीत अंश
तपाई अहिले राजेन्द्र महतोसँग राष्ट्रिय मुक्ति क्रान्तिमा लाग्नु भएको छ, अचेल जहिले पनि राजेन्द्र महतो छेउमा देखिन्छ तपाईलाई, यो संयोग कसरी जुड्यो ?
–राजेन्द्र महतोजी एउटा मिसन सुरु गर्नुभएको छ । जो राष्ट्रको हितमा छ । जनताको हितमा छ । त्यसमा म पनि जोडिनुपर्छ लागेर नै म त्यसमा जोडिएको हो, त्यो कुनै संयोग होइन । राष्ट्रिय मुक्तिका लागि अब नयाँ ढंगबाट आन्दोलन गर्नुपर्ने खाँचो देखिएको छ । अब परम्परागत ढंगले आन्दोलन गरेर केही प्राप्त हुँदैन । विगतमा पनि थुप्रै आन्दोलनहरु भए । त्यसमा धेरैले बिलदानी दिए । त्यसबाट उपलब्धी प्राप्त पनि भयो तर त्यो उपलब्धीलाई संस्थागत नै हुन दिएन । प्राप्त राजनीति उपलब्धीलाई बिकृत बनाउने काम भयो । प्राप्त उपलब्धीलाई सत्तासँग साटफेर गर्ने काम भयो । सबै कुरालाई सत्ता र सरकारसँग जोडेर नै हेर्यो । र, त्यसले गर्दा भ्रष्टाचारले प्रश्रय पायो । देशमा अहिले भ्रष्टाचारले यसरी जाडा गाडेको छ कि जनतालाई यो संघीयता र गणतन्त्रमाथि नै घृणा हुन थालेको छ । संघीयता र गणतन्त्रमाथि नै प्रश्न उठाउन थालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र सबभन्दा उत्कृष्ट प्रणाली हो । यसलाई संस्थागत गर्न, व्यवस्थित गर्न र सबैको साझा प्रणाली बनाउनका लागि आन्दोलनको् आवश्यकता परेको हो । यी हाम्रो साझा एजेण्डामा कुरा मिलेपछि हामी एक ठाउँमा आएका हौं ।
तपाई दुई जना पुरानो राजनीतिक सहकर्मी हुनुहुन्छ । राजेन्द्र महतोले तपाईलाई खोज्दै जानुभयो कि तपाई खाज्दै आउनुभयो ?
–कसले कसलाई खोज्नुभयो त्यो ठूलो कुरा होइन । एउटा राजनीतिक एजेण्डामा एक ठाउँमा आउनु, एकीकृत हुनु नै ठूलो कुरा हो । अहिलेलाई यति बुझौ हामी एक अर्काको साथमा छौं । र, यो यात्रा लामो दुरीका लागि तय भएको हो । यो चानचुनै लडाई होइन । यो राष्ट्रिय मुक्तिको लडाई हो । पहिला अधिकारका लागि लडाई गरेका थियौं यो मुक्तिको लागि लडाई हो । अयातित विचार, सिद्धान्त विरुद्धको लडाई हो । स्वदेशवादका लागि लडाइ हो । कसैलाई लाग्दो होला, त्यही राजेन्द्र महतो, त्यही रामनरेश, त्यही फलानोले आन्दोलन सुरु गरेका छन् जो पहिला पनि आन्दोलन गरिसकेका छन् । उनीहरुबाट के नै हुन्छ र भनि भन्न सक्छन् । तर त्यस्तो होइन । राजनीतिका विभिन्न आरोह अवरोह, उचार चढाव देखि सकेका व्यक्तिले केही गर्न खोजेका छन् भने पक्कै पनि त्यसले केही नयाँ गर्न खाजेका छन् भनि बुझ्नु पर्छ । त्यहाँको त्यस तजुर्बा (अनुभव)ले काम गर्छ । हामी लामो समयदेखि मधेश राजनीतिमा थियौं । त्यही अनुभव तथा एक अर्कालाई चिनेको, बुझेको आधारमा एक ठाउँमा आएका हौं । सबैको साथ सहयोग पायौं भने अभियानले सफलता पाउँछ ।
तपाईहरु त मधेश मुक्तिको लडाईमा हुनुहुन्थ्यो यो राष्ट्रिय मुक्तिको लडाईमा कसरी आउनुभयो ?
–जसको लागि लड्ने पनि राष्ट्रका लागि नै लड्ने कुरा हुन्छ । राष्ट्रिय मुुक्ति सफल भयो भने मधेश मुक्ति आफै हुन्छ । मधेश मुक्ति भयो राष्ट्रिय मुक्ति नै हुन्छ । राष्ट्रिय मुक्ति क्रान्तिमा लागेका छौं, यसको मतलब हामी मधेशलाई छाडेका छौं, मधेश मुक्तिको सवाललाई छाडेका छौं भने होइन । मधेशको कुरा अझ बृहत रुपमा उठाइ रहेका छौं । मधेशको मुक्तिका लागि मधेशीले मात्र आन्दोलन गरेर हुँदैन, जनजातिको आधिकारका लागि आदिवासी जनजातिले मात्र लडेर मात्र हुँदैन । यसमा एक अर्काको सहयोग चाहिन्छ । विगतमा एक्लै एक्लै लडाई लड्दा आन्दोलन सफल नभएको हो । क्रान्ति अधुरा रह्यो । देशका हरेक उत्पीडित समुदाय एक साथ आउनुपर्छ ।
विगतमा तपाईहरुले गर्नुभएको आन्दोलनमा कहाँ त्रुटी भएको थियो जो अहिले सच्याएर अगाडि बढ्न लाग्नु भएको हो ?
–विगतमा भएको आन्दोलन असफल भएको हो भनि म मान्दिन । त्यसको व्यवस्थापन नभएको मात्र हो । त्यसमा एउटा कुरा के मान्नुपर्छ भने विगतमा भएको आन्दोलनहरु विभिन्न कलस्टरहरुले छुट्टा छुट्टै आन्दोलन गरे । थारुको आन्दोलन छुट्टै थियो, मुस्लिमको आन्दोलन छुट्टै थियो, महिलाको आन्दोलन छुट्टै थियो, आदिवासी जनजातिको आन्दोलन छुट्टै थियो । त्यसले आन्दोलन अलिकति कमजोर भएकै हो । र, यी कलस्टरहरुलाई एक ठाउँमा आउन नदिने काम राज्यबाट नै भएको थियो । मधेशी–थारु मिल्ने प्रयास गर्दा त्यसलाई फुटाउने काम भयो । यहाँसम्म कि थारुहरुबाट मधेश आन्दोलनको विरुद्धमा आन्दोलन नै गर्न लगायो । मुस्लिमहरुलाई पनि संगठित रुपमा आउन दिएन । मुस्लिमहरु आफूहरु मधेशी होइन भन्न थाले । त्यसका लागि छुट्टै सरकारले छुट्टै कलस्टर बनाई दियो । अब त्यस्तो हुँदैन । अब सम्पूर्ण उत्पीडित समुदाय एक ढिक्का हुन्छन् । आफ्नो पहिचान र अधिकारका लागि एक भएर लड्छ ।
मधेश आन्दोलन र अहिले तपाईहरुले गर्न लाग्नुभएको आन्दोलनमा के फरक छ ?
–सारमा फरक देखिए पनि रुप एउटै हो । फरक यति मात्र हो कि त्यो मधेशमा केन्द्रित भएर आन्दोलन भएको थियो । एजेण्डा राष्ट्रिय भएपनि आन्दोलन मधेशमा केन्द्रित थियो । अहिले राष्ट्रिय इस्यु बनाएर आन्दोलन थालिएको हो । यसमा सबै बर्ग र समुदायको साथ छ । पहिला भएको मधेश आन्दोलनलाई सम्प्रदायी भनेर राज्यबाट दमन भएको थियो । आन्दोलनलाई भारतको आन्दोलन हो भन्यो । पहाड विरुद्धको आन्दोलन पनि भन्यो । जब कि त्यो आन्दोलन कसैको विरुद्ध वा समर्थनमा थिएन । राज्यको विरुद्धमा आन्दोलन थियो । पहाडी खस शासकको विरुद्धमा आन्दोलन थियो । तर त्यसलाई अर्कै रंग दिएर बदनाम गराउने काम गरेको थियो । त्यसले त्यो आन्दोलनलाई निकै घाटा लागेको थियो । त्यही कारणले अधुरो रहेको क्रान्ति पुरा गर्न हामी अगाडि बढेका छौं ।
तपाईले त एक समय राजेन्द्र महतोको साथ छाडेर छुट्टै पार्टी बनाएर अगाडि बढ्नु भएको थियो, अहिले एक ठाउँमा आउनु भएको छ त्यतिबेलाको अवस्थालाई कसरी सम्झनु हुन्छ ?
–मान्छेले भुत (बितेको)लाई सम्झनु हुँदैन, वर्तमानलाई टेकेर भविष्यका लागि लम्किनुपर्छ । बितेको कुरा सम्झदा दुख मात्र हुन्छ । त्यही भएर भन्छन्, अग्रमणको कुरा सोच्नेले पछाडि फर्केर हेर्दैनन् । त्यही भएर विगतमा के भएको थियो त्यतातिर नजाउ । त्यो त्यतिबेलाको परस्थिति थियो अहिले नयाँ परस्थिति बनेको छ । परस्थिति सधै एकनाशको रहदैनन् । हुनसक्छ त्यतिबेला राजेन्द्रजीसँग कुनै कुरामा मतभेद भएको होला र चित्त नबुझेर त्यहाँबाट निस्केको होला । अहिले पनि त्यही अवस्था छैन । अवस्थामा परिवर्तन आएको छ । सोचमा परिवर्तनमा आएको छ । त्यही परस्थितिले पुनः हामीलाई एक ठाउँमा ल्याइ दिएको हो ।
यो सहकार्य कति लामो जान्छ ?
–मैले अघि पनि भनेको थिए कि यो नयाँ सोचका साथ अगाडि बढेका छौं । लक्ष्य निर्धारण गरेर यात्रामा निस्केका छौं । पछाडि फर्किने काम हुँदैन यद्यपी भविष्य कसैको हातमा हुँदैन । भविष्यमा के हुन्छ अहिले भन्न सकिदैन तर आशा गरौं लक्ष्यमा पुगेर मात्र विश्राम लिन्छौं ।
तपाईको राजनीति यात्रा नेपाल सद्भावना पार्टीबाट सुरु भएको थियो, जसपासम्म आएर टुगिंएको हो, जसपामा के भयो त्यस्तो कि पार्टी छाड्नुपर्ने अवस्था आयो ?
–म जसपामा राजपाको साथमा गएको थिए । राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको हो । जब जसपाबाट महेन्थ ठाकुरजीहरु बाहिर निस्किनुभयो म त्यही जसपामा नै बसे । त्यतिबेला काँग्रेस र माओवादी बिचको गठबन्धन थियो । २०७९ को चुनाव हुँदा जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गर्नुभयो । त्यसमा मेरो असहमति थियो । एक हप्ताअघिसम्म एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाइएको थियो अनि अहिले कुन आधारमा कसरी एमालेसँग गठबन्धन गर्ने भनि मेरो प्रश्न थियो । जुन एमाले पार्टीको विरुद्धमा मधेशवादी दल पटक पटक आन्दोलन गर्यो । जुन एमाले पार्टीले मधेशी जनतालाई पटक पटक अपमानित गर्यो त्यहीं दलसँग पुनः कसरी गठबन्धन गर्न लागेको भनि मेरो जिज्ञासा थियो । तर मेरो कुराको कुनै सुनुवाई भएन । एमालेसँग गठबन्धन गरेको कारण म पार्टी छाडेर हिडे । प्रदेश सभामा म स्वतन्त्र उम्मेदवारी पनि दिएका थिए । सम्मानजनक मत आएको थियो । चुनाव हारे पनि म राजनीति रुपमा निस्कृय थिइनन् । राजनीतिक तथा समाजिक काममा सक्रिय नै थिए त्यही क्रममा राजेन्द्रजीसँग कुराकानी भयो । म यतातिर लागे ।
राजेन्द्र महतोकै साथ किन रोज्नु भयो त ?
–म जसपा छाडेपछि मसँग कुरा गर्नका लागि काँग्रेस, एमाले, माओवादी, जनमत, लोसपाका नेताहरु पनि आउनु भएको थियो । म त्यतिबेला कसैलाई केही भनिन् । म विचार गर्छु मात्र सबैलाई भने । तर म अब पोल्टिक्समा गए भने अलि फरक ढंगले जान्छु भनि सोच बनाएका थिए । अरु दलहरुसँग कुरा गर्दा त्यही पुरानै सोच, पुरानै ढर्राका राजनीति लाइनका कुरा गर्थे तर राजेन्द्रजीसँग कुरा हुँदा उहाँले केही फरक कुरा गर्नुभयो । मधेशको राजनीति, देशको राजनीतिलाई फरक ढंगले अगाडि बढाउने उहाँले योजना सुनाउनु भयो । म उहाँको कुरा सुनेर कन्भिन्स भए र त्यसपछि यो अभियानमा लागेको हुँ । र, मलाई विश्वास छ कि अरु दलभन्दा यो अभियानले अवश्य केही फरक गर्छ ।
यो अभियानलाई पार्टी बनाउनु हुन्छ कि सधै अभियानकै रुपमा अगाडि बढाउनु हुन्छ ?
–भन्नुहुन्छ भने अहिलेसम्म अभियान पनि आधिकारिक रुपमा घोषणा भएको छैन । अभियान औपचारिक रुपमा घोषणा भएपछि केही समय काम गर्ने त्यसपछि राजनीतिक दल बनाउने कि यसै गरि आन्दोलन गर्ने त्यसको बारेमा छलफल हुन बाँकी छ । अहिलेलाई अभियानकै रुपमा बलियो बनाएर अगाडि बढ्ने, देशैभर संगठन बनाउने योजना रहेको छ । देशैभरी एउटा संगठनको रुपमा लिइसकेपछि सबैको सल्लाहमा कसरी बढ्ने छलफल हुन्छ । मैले बुझे अनुसार एउटा समाजिक संस्था वा अभियानले समाजमा चेतना फैलाउन सक्छ । आफ्नो अधिकार र पहिचानप्रति सचेत गराउन सकिन्छ तर त्यसलाई प्राप्त गर्नका लागि राजनीतिक दल नै चाहिन्छ । तर यी सब विषयमा छलफल हुन बाँकी नै छ ।

तपाईको प्रतिक्रिया