अध्यादेश ल्याएर संघीययता कमजोर गर्दै प्रदेश सरकार’

जनकपुर कात्तिक ९ गते । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर संघीयता कमजोर पार्न खोजेको टिप्पणी गर्नुभएको छ । मंगलबार प्रदेश सरकारले मन्त्रीपरिषद् वैठकबाट विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश ल्याएसँगै सोनलले यस्तो खाले टिप्पणी गर्नुभएको हो ।

नेता सोनलले प्रदेश सरकारसँग बहुमत हुँदाहुँदै पनि प्रदेश सभालाई छलेर अध्यादेशमार्फत सरकार सञ्चालनको प्रयास गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक विधि अनुसार प्रदेश सरकारसंग बहुमत रहँदा रहँदै पनि प्रदेश सभालाई बिजनेस नै नदिई कानूनलाई आफ्नो अनुकुल खेलाँची गर्नका लागि अध्यादेश ल्याएर जनतालाई भ्रममा पार्न खोजिरहेको छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘सरकारले अध्यादेश मार्फत सरकार चलाउन खोज्यो, यसले संघीयता संस्थागत हुँदैन, बरु संघीयतालाई संस्थागत गर्नका लागि हाउसमा ल्याई प्रक्रिया अनुसार सो अध्यादेशलाई पारित गर्नुपर्ने देखिन्छ । यसले संघीयताप्रतिको उत्तरदायित्व र सरकारको दायित्व निर्वाहले पनि संघीयता संस्थागत हुन्छ ।’

उहाँले अध्यादेशमार्फत सरकार चलाउन खोजेको आरोप सरकारमाथि लगाउँदै प्रदेशसभा स्थगित रहेको अवस्थामा ल्याइएको अध्यादेशलाई कार्यान्वयन गरेमा यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो । मन्त्रिपरिषद्को मंगलबार सम्पन्न बैठकबाट प्रदेश सरकारले वीरगञ्जमा वीरगञ्ज प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया