ओलीलाई मधेशमा १५१ किलोको माला

पर्सा पुस ८ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्सामा आज आयोजित एक कार्यक्रममा १५१ किलोको माला लगाएर स्वागत गरिएको छ । एमालेको जिल्ला समिति पर्साले जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताले उहाँलाई १५१ किलोको माला लगाइएर स्वागत गरेका थिए ।

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आउनुभएको हो । सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायतका सयौँ नेताकार्यकर्तालाई एमालेमा प्रवेश गराई स्वागत गर्नुभएको थियो । मिया नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले तत्कालै तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताउनु भएको छ । एमालेको जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि एमालेले विगतमा विभिन्न कार्य गरेको दावी गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया