विद्रोहले जन्मिनु भएका सरिता, जसको अभिनयमा पनि विद्रोह छ

‘फगुनिया’ पछि ‘ढकिया मे नागरिकता’

मधेशमा नागरिकता विक्रि हुन्छ । मधेशमा भारतीयलाई नागरिकता दिइन्छ । मधेशमा नागरिकता फालाफाल छन् भनि सदावहार आरोप छ तर अर्कोतिर मधेशकै जनता नागरिकता विहिन छन् किन ? यही कुराले बन्यो ‘ढकिया मे नागरिकता’ नाटकको कन्सेप्ट । ‘ढकिया मे नागरिकता’ अर्थात टोकरीमा नागरिकता । यो राज्यप्रतिको एउटा व्यग्यं हो । मधेशी जनता विभिन्न कारणले नागरिकता विहिन छन् तर त्यही मधेशीमाथि आरोप लाग्ने गरेको छ कि मधेशमा टोकरीका टोकरी नागरिकता बिक्रि हुन्छ ।


कलाकार सरिता साहको निर्देशनमा ढकिया मे नागरिकता नाटक माघ १ गतेदेखि शिल्पी थिएटर बत्तिसपुतलीमा प्रदर्शन हुन गइरहेको छ । यस नाटकका लागि कालाकार छनोट भइ रिहसल पनि सम्पन्न भइसकेको छ । सहारा टाइम्सले निर्देशक सरिता साहलाई फोनमा सोधेको थियो, ‘यो विवादस्पद विषयलाई नै किन तपाई नाटकको कथावस्तु बनाउनु भयो । यो त धेरै झन्झटिलो तथा भेग विषय हो यसलाई तपाई एक घण्टामै कसरी देखाउनु हुन्छ ।’

अनि उहाँको जवाफ थियो, ‘मधेशको मुख्य समस्या नै नागकिरता हो, नागरिकता नभएपछि मधेशको विकासको क्रम रोकिएको छ, मधेशीको पहिचान गुमेको छ, मधेशी विभेदको सिकार भएको छ, यो अवस्था हेर्दा मलाई निकै पीडा भयो र म एउटा कलाकारले यो क्षेत्रमा के गर्न सक्छु भनि लाग्यो । म एउटा कलाकार कलाकारिताको माध्यमबाट नै यो विषयलाई उठाउँदा राम्रो सहयोग हुन्छ बुझेर नै यो नाटकको तयारीमा लागेको हुँ ।’

यो देशमा नागरिक छन् तर नागरिकताविहिन छन् । नागरिकता नभएकै कारणले यो देशमा आत्महत्या जस्ता घटना पनि भएका छन्, जसले सरिता साहलाई यो नाटक बनाउने उत्प्रेरित गर्यो । नागरिकताका लागि वर्षौदेखि नेपालमा संघर्ष भइरहेको छ । मधेशी जनताले नागरिकता पाउनकै लागि संघर्ष गर्दै आइरहेका छन् तर मधेशीका लागि नागरिकता अझै सहज भएको छैन । त्यो संघर्षमा केही बल पुगोस् भनेर नै सरिता साहले ‘ढकिया मे नागरिकता’ को प्रदर्शन गर्ने तयारीमा लाग्नु भएको छ ।

यो नाटकको लेखिका तथा निर्देशिका सरिता साहले नाट्कको माध्यमबाट जन्मसिद्ध नागरिकता पाएका आमा बुवाको छोराछोरीले वंशजको आधारमा नागरिकताविहीन हुन पुगेको, विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता न पाएको कारण राज्यले दिने विभिन्न सेवा सुविधाहरुबाट बञ्चित हुन पुगेको, भूमि नभएको कारण नागरिकता नपाएको जस्ता समस्यालाई उजागर गर्ने प्रयास गर्नुभएको छ ।

धेरैका जग्गा जमिन छन् तर उसँग नागरिकता छैन अनि उसले कसरी जग्गा धनी लालपूर्जा पाउने त ?
आमाको नामबाट नागरिकता दिने सर्वोच्च अदालतले निर्णय गरेको छ तर जिल्ला प्रशासन कार्यालयमा जाँदा बुवाकै नागकिरता माग गर्छन् किन ?

कुनै महिलाको बलात्कार हुन्छ तर उसँग नागकिरता नहुँदा बलत्कारीमाथि मुद्दा पनि हाल्न सक्दैन किन ?
संविधानले जन्मसिद्ध नागरिकलाई वंशजको नागरिकता दिइने अधिकार दिएको छ तर कानुन नबनेको कारण धेरैजना नागकिरता विहिन छन् किन ?

१० कक्षा पास गरिसके तर उच्च शिक्षाका लागि नागरिकताका कारण बाहिर जान पाएको छैन । बैंकमा खाता पनि खोल्न सकेको छैन । जागिरका लागि निवेदन पनि दिन सकिरहेको छैन । अर्थात नागकिरता नहुनेको जीवन ठप्प परेको छ कसरी ? त्यही विषयवस्तुलाई यस नाटकमा उतार्ने प्रयास गरिएको छ ।


राज्य सत्तामा रहेका व्यक्तिले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानुनहरु कार्यान्वयन नगर्ने, अदालतको आदेश सिडिओले नमान्ने जस्ता समस्यालाई पनि नाटकको माध्यमबाट देखाउने प्रयास सरिता साहले गर्नु हुनेछ । नागरिकता जस्तो संवेदनशिलवस्तुलाई नाटकको रुपमा ल्याउनु भएको छ, नाटकका लागि राज्यसँग कुनै अनुमति लिनुभएको छ कि छैन भनि जिज्ञासामा उहाँको जवाफ थियो, ‘यसको बारेमा मैले केही सोचेको छैन, नाटक हुन्छ राज्यलाई चित्त नबुझे त्यसलाई बन्द गराउन सक्छ तर राज्यसँग अनुमति लिनुपर्छ वा केही त्यस्तो गर्नुपर्छ भन्ने बारेमा मैले सोचेको छैन ।’

सरिता साहको विशेष जोड पुरुषवादी र नश्लवादी सोचका कारण खास गरि महिलाहरुलाई नागरिकता लिन समस्या देखिएको छ र त्यसलाई नाटकमार्फत देखाउने प्रयास हुनेछ । एक घण्टा २० मिनेटमा नागरिकताको अभावमा नेपाली जनताले खासगरि मधेशीले कसरी समस्या झेलेका छन्, त्यसमा को को दोषी छन् लगायका विषयलाई नाटकमा उतार्ने प्रयास गरिएको छ । समाजमा भोगेका आफैले अनुभव गरेका कुरालाई पनि कलाकारहरुले नाटकीय रुपमा देखाउने प्रयास गरिने सरिता साह बताउनु हुन्छ ।

यो विषय नै किन ?
सरिता साहको अभिनय यात्रा हेर्दा जहिले पनि विद्रोही तथा क्रान्तकारी विषय रोज्नु भएको छ । समाजमा हुने भेदभावलाई उहाँले मुख्य विषयवस्तु बनाउँदै आउनु भएको छ । त्यसैको अर्को प्रस्तुतीत हो ‘ढकिया मे नागरिकता’ । सरिता साहले नयनराज पाण्डेद्वारा लिखित ‘लु’ उपन्यासलाई नाटक बनाएर खेल्नु भएको छ । त्यस्तै, सहिद दुर्गानन्द झाका श्रीमती काशीदेवी झाको राजनीतिक संघर्षमा आधारिता नाटक खेल्नु भएको छ । त्यस्तै, एउटा लघु फिल्म ‘फगुनिया’ खेल्नु भएको छ ।

‘लु’ मा नेपाल–भारत बीचको सीमा समस्याको बारे देखाइएको छ । काशीदेवी झाको राजनीतिक संघर्ष पनि राजनीतिक विषयवस्तु नै भयो । फगुनिया एक बालिकाको बलत्कार घटनालाई विष्यवस्तु बनाइएको लघु फिल्म हो । जुन समाजमा गरिने विभेद र भेदभावको एउटा शृङ्खला हो ।

तपाई यस्तै यस्तै विषय किन रोज्नु हुन्छ भनि जिज्ञासामा उहाँले भन्नुभयो, यी सबै विषयवस्तु म आफ्नै समाजमा देखेको छु, कतिपय आफै पनि भोगेको छु, त्यही भएर यस्ता विषयवस्तु मेरो रोजाईमा पर्ने गरेको हो ।’

म एउटा कलाकार हुँ, कलाकारले मनोरञ्जन मात्र दिदैन समाजलाई शिक्षा र चेतना दिने काम पनि गर्छ भनि सन्देश दिन खोजेको हुँ, उहाँले सहारा टाइम्ससँगको कुराकानीमा भन्नुभयो, काशीदेवी झा मधेशका एउटा यस्तो महिला हुनुहुन्छ जसलाई सबै चिनेका छन् । तर उहाँलाई धेरैले बुझ्नु भएको छैन । उहाँले जानी नजानी नेपालको राजनीतिमा ठूलो त्याग गर्नु भएको छ । नेपालको राजनीतिमा उहाँको ठूलो लगानी छ तर त्यो कुरा बाहिर आइरहेको थिएन । मैले त्यो ल्याउने प्रयास गरे ।’ तीन वर्ष लामो अनुसन्धानपछि लेखिएको नाटक काशीदेवीमा सरिताको निर्देशनले निकै निखारिएको थियो, जसको प्रसंशा उहाँले बटुलि सक्नु भएको छ ।

भारत नेपालको सबभन्दा नजिकको ठूलो छिमेकी देश हो तर भारतबाट नेपाल कति हेपिएका छन् त्यो कुरा कसैबाट लुकेको छैन, कतिपय अवस्थामा कसैले त्यसको बारेमा बोल्ने साहस पनि गर्दैन तर मैले उठाउने प्रयास गरेको छु, उहाँले अगाडि भन्नुभयो, भारतले नेपालको सीमा मिचेको, नेपाली जनतालाई भारतीय एसएसबीले हेपेको कुरा मैले आफै पनि कतिपटक देखेको छु र भोगेको पनि छु तर जब मैले नयनराज पाण्डेको उपन्यास ‘लु’ पढे अनि नाटक नै बनाएर खेल्ने सोच आयो र मैले त्यो नाटक खेले त्यो नाटक बनाउन कति समस्या झेले त्यसको कथा पनि बेग्लै छ तर मैले सारा चुनौती मोल लिएर ‘लु’ नाटक बनाए ।


नाटकको तालिमका लागि सरिता साह केही दिन पहिले सुस्ता पुग्नु भएको थियो । त्यहाँ उहाँलाई कसैले नेपाल–भारतका लागि सुस्ता विवादीत ठाउँ हो भनेका थिए । उहाँले त्यसको अवलोकन गर्ने सोच बनाउनुभयो । केही साथी लिएर सुस्ताको विवादीत ठाउँमा जानुभयो । त्यहाँका स्थानीयहरुसँग भेट्नुभयो र कुराकानी पनि गर्नुभयो । सुस्तावासीमाथि भारतीय एसएसबीहरुले गरेको ज्यादती भनि साध्य छैन सरिता साहले भन्नुभयो, सुस्तावासीहरुको कुरा सुन्दा त यस्तो पनि छिमेकी हुन्छ, जसले पीडा मात्र दिन जानेको छ भनि सोच्न बाध्य भए ।’

अहिले त्यहाँ सशस्त्र प्रहरीको क्याम्प बसेपछि ज्यादतीमा केही कमी आएको छ तर सुस्तावासीको पीडा कम भएको छैन । भारतका एसएसबीले सुस्तावासीलाई भारतको विहार घोषणा गर्न दवाव दिएको कुरा पनि आफूले उनीहरुको मुखबाट सुनेको बताउँदै सरिता साहले एक किसिमले त्यहाँ भारतीय एसएसबीको हुकुमत चल्ने गरेको आफूले अनुभूती गरेको बताउनुभयो ।

आफ्नै पिडा
सरिता साहमाथि उहाँको आफ्नै घरबाट विभेद सुरु भएको थियो । उहाँ ६ दिदी वहिनी हुनुहुन्छ । उहाँको दाजु भाइ छैन । पितृसतात्मक समाजले छोरीहरुमाथि गर्ने व्यवहार सरिता साहले आफै भोग्नु भएको हो । उहाँ भन्नुहुन्छ, ‘घरमा सबैले खाई सकेपछि मात्र हामीलाई खान दिनुहुन्थ्यो, केटा मान्छेले खाइसकेपछि थालमा बँचेखुचेका हामीलाई खान दिनुहुन्थ्यो, जसको घरमा छोरा मान्छे हुन्थ्यो उसको घरमा चहल पहल बढी हुन्थ्यो हाम्रो घरमा त्यति चहल पहल हुँदैन्थ्यो ।’

बाल्यकालमा एकदिन सरिता साह जोडले हाँस्नुभयो । त्यसरी हाँसेको सुनेपछि घरका मान्छेले उहाँलाई निकै गाली गरेका थिए । ‘छोरीहरु घरमा यसरी हाँस्नु हुँदैन, बाहिरका मान्छेहरु राम्रो मान्दैन’ भनि सरिता साहलाई गाली गर्दै त्यतिबेला सम्झाइएको थियो । त्यसपछि उहाँ हाँस्नका लागि पनि सोच्नु पथ्र्यो उहाँ घरमा मात्र होइन, कतै बाहिर जाँदा पनि हाँस्नका लागि सोच्नै पथ्र्यो ।

त्यति मात्र होइन, पहिलो पटक उहाँले साइकल चलाउन खोज्दा उहाँको घरका मान्छेलाई थाह भयो । त्यसपछि उहाँलाई डोरीले बाँधेर घरमा उल्टो झुण्ड्याएर दण्ड दिएको थियो । अब आइन्दा साइकल नचलाउने कसम खाएपछि सरिता साहको डोरी खोलिएको थियो । सरिता साह भन्नुहुन्छ, ‘यो दोष मेरो परिवारको मात्र थिए, पुस्तौंपुस्तादेखि पुर्खाहरुले निर्माण गरेको समाजको थियो । र, त्यो समाजको विरुद्ध जाँदा यस्तै यस्तै दण्ड भोग्नुपथ्र्यों ।’

सरिता साहले भन्नुभयो, ‘यतिसम्म कि हाम्रो आमा–बुवामाथि समाजले विभेदपूर्ण नजरले हेथ्र्यो, मानौ समाजका लागि छोरी अभिसाप नै थियो । कोही आफन्त हाम्रो घरमा आउँदा खाने कुरा कोसेली ल्याउँदा छोरा मान्छे हुने घरमा अलि बढी दिन्थे र हामीलाई एकदमै थोरै दिन्थे । यस्ता यस्ता विभेद म आफ्नै घरमा देखेको छु, अनुभव गरेको छु, त्यही भएर आज ती विषयवस्तुलाई नाटक, फिल्म, गीतहरुको माध्यमले उठाउन मन लाग्छ ।’


मधेशी समाज छोरीका लागि खासै उदार छैन । छोरीले घरभित्रै गर्न सकिने कामहरू गर्नुपर्छ सकभर घर बाहिर निस्किनु हुँदैन भन्ने मान्यता अहिलेसम्म पनि मधेशी समाजमा पाइन्छ । छोरी, बुहारीलाई स्वतन्त्र भई बाहिर उसले रोजेको काम गर्न दिने सोचमा अझै विकास भएको छैन । मधेशी समाजमा अहिले पनि छोरीहरुलाई घरबाट निस्किन कम्ती गाह्रो छैन ।

सरिता साहकै एउटा अर्को प्रसङ्ग छ । उहाँलाई सानैदेखि टिभी हेर्न निकै मन पथ्र्यो । टिभीमा आउने फिल्म र नाटकहरु हेरेर उहाँ एक्लैमा त्यस्तै त्यस्तै अभिनय गर्नुहुन्थ्यो । कहिले काहीं टोलका केटाकेटीलाई भेला पारेर नाटक गराउनु हुन्थ्यो र त्यसको निर्देशन गर्नुहुन्थ्यो । एकदिन उहाँको घरको टिभी बिग्रिएको थियो । फिल्म वा कुनै सिरियल आएको बेला अरुको घरमा हेर्नका लागि जानु हुन्थ्यो । अरुको घरमा टीभी हेर्न जानका लागि सरिताले भए भरका बहाना बनाउनु हुन्थ्यो । एकदिन ट्युशन पढ्ने बाहानामा घरबाट निस्केर अर्काको घरमा टिभी हेर्न गएको कुरा घरका मान्छेले थाह पाएछन् ।

घरका मान्छेले त्यहाँबाट ल्याएर घरमा उहाँलाई सजाय दिएको थियो । त्यसपछि अरुको घरमा टिभी हेर्न जानका लागि उहाँले सोच्नै पथ्र्यो । उहाँको दिमागमा के छोरीहरु साइकल चलाउनु हुँदैन, के छोरीहरु टिभी हेर्नु हुँदैन, के छोरीहरु छोराहरु जस्तै बाहिर चौरमा खेल्नु हुँदेन जस्ता कुराले चक्कर लगाउँथ्यो । यस्ता कार्य छोरी मान्छेले किन गर्न हुँदैन भनि उहाँले आफैलाई पटक पटक प्रश्न गर्नुहुन्थ्यो । यस्ता कुरा गरेर बेलाबेला घर तथा समाजबाट विद्रोह गर्नुहुन्थ्यो । तर समाजलाई उहाँलाई दवाउथ्यो । यद्यपी समाजले उहाँलाई धेरै दिनसम्म दवाएर राख्न सकेन र विद्रोह गरेर निस्किनुभयो । अहिले त्यही विद्रोहको प्रतिविम्व उहाँका नाटक तथा फिल्महरुमा देखिन्छ ।

कलाकारितामा प्रवेश
महोत्तरीको भोइल टिमकियाका बुवा रामचन्द्र साह र आमा रामप्यारी साहका छोरी सरिता साहलाई गाउँबाट निस्किन कम्ती गाह्रो थिएन । सरिता साहको विद्रोहले आमा–बुवालाई पनि हैरान पारेको थियो । सरिता साहको कलाकार बन्ने कुराले उहाँहरुलाई सुरुमा निकै हैरान बनाएको थियो । छोरी विग्रिने हो कि चिन्ता थियो । सरिता साहको बारेमा गाउँका मान्छेहरु पनि अनेक कुराहरु उहाँहरुलाई सुनाउँथ्यो त्यसले झन चिन्तित हुन्थे र सरिता कडा निगरानीमा पर्नु हुन्थ्यो ।

सरितालाई एसएलसी दिएपछि जनकपुर गएर पढ्नसम्म दिने सोच उहाँको आमा–बुवाको थिएन । छोरी जात धेरै पढ्नु हुँदैन । समान्य शिक्षा प्राप्त भयो अब विहे गरेर उसको घर पठाइ दिने सोचमा हुर्केका समाजले पनि सरितालाई जनकपुर गएर पढ्ने इजाजत दिइरहेको थिएन तर सरिता पनि कम्ती जिद्धी होइन, समाजवाट विद्रोह गरेर आमा–बुवालाई मनाउनु भयो र जनकपुर पुग्नुभयो ।

उच्च शिक्षाका लागि जनकपुर जानु भएको सरिता साह त्यहाँको स्थानीय रेडियो टुडे एफएममा काम गर्न थाल्नुभयो । उहाँले सानैदेखि एफएम तथा रेडियोहरु सुन्ने गर्नुहुन्थ्यो र एकदिन आफै पनि यसरी नै बोल्ने भनि कल्पना गर्नुहुन्थ्यो । र, त्यो कल्पना सकार हुँदैछ देखेर सरिता साह निकै रोमञ्चित हुनुहुन्थ्यो । रेडियोमा उहाँले स्थानीय समस्याहरूको विषयमा नाटकको माध्यमले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थाल्नु भएको थियो । जुन उहाँले सपना देखेकै विषय थियो ।

रेडिया नाटकबाट उहाँले निकै प्रसंशा पाउनु भयो । र, त्यो प्रशंसाले उहाँलाई अझै अगाडि बढ्ने प्रेरणा दियो । सोही क्रममा उहाँले अर्को अवसर पनि पाउनु भयो । त्यतिबेला जनकपुरकै एकजना कलाकार रवीन्द्र झासँग उहाँको सम्पर्क भयो । रवीन्द झाले संगोर रेडियो नाटक बनाउने योजनामा हुनुहुन्थ्यो । त्यसका लागि उहाँ कलाकारको खोजीमा हुनुहुन्थ्यो । त्यसका लागि सरिता साह परफेक्ट लागेको थियो रवीन्द्र झालाई ।

रवीन्द्र झाले सरिता साहको नाटक रेडियामा सुन्नु भएको थियो । त्यसैका आधारमा सरितालाई फोन गरेर सम्पर्क गर्नुभएको थियो । सरिता साह संगोर नाटकका लागि छनौट हुनुभएको थियो । त्यो नाटकमा सरिता साहले दुई वर्षसम्म काम गर्नुभएको थियो ।

काठमाडौँको यात्रा
सामान्य परिवारका उहाँको परिवारमा ६ दिदीबहिनी हुनाले उहाँको रुचिलाई सुरुमा खासै महत्व दिँदैन्थ्यो तर उहाँले नाटक खेल्ने अठोट लिनुभएको थियो र त्यो पुरा गरेर नै छाड्नुभयो । दुई वर्ष ‘संगोर’ मा काम गरेपछि २०६९ सालतिर शिल्पी थिएटरमा एक नाटकमा काम गर्ने मौका पनि पाउनुभयो त्यो पनि रवीन्द्र झाको माध्यमबाट ।

रवीन्द्र झाले सुरुमा आफ्नो श्रीमतीका लागि प्रस्ताव गर्नुभएको थियो तर उहाँका श्रीमतीले सो सडक नाटक खेल्न नचाहेपछि रवीन्द्रले शिल्पी नाट्य समूहका घिमिरे युवराजसँग सरिता साहको नाम सफारिस गर्नुभएको थियो । काठमाडौँ त जाने तर कसरी, घरका मान्छेले जान दिएन भने समस्या हुन्छ भनि सोचेर सरिता चिन्तित हुनुभएको थियो । सरिताले घरमा आमालाई सबै कुरा भन्नुभयो । सुरुमा त मनाउन गाह्रो भयो । तर पछि आमाले जानुस् तर ठिकसँग जानुस् आफ्नो ख्याल गर्नु भनेर जान दिनुभयो ।


सबै कुरा मिलेपछि सरिता काठमाडौं आउनुभयो । शिल्पी थिएटरमा लगातार चार वर्षसम्म आफ्नो मेहनत र कलाकारिताको बलमा उहाँले आफ्नो पहिचान बनाउन सफल हुनुभयो ।

शिल्पीको कचहरी नाटक सकिएपछि सरिता जनकपुर फर्किनुभयो । करिब एक वर्ष जनकपुरमा विभिन्न नाटकहरु खेलेर समय बिताउनुभयो । शिल्पीबाट सरितालाई फेरि फोन गयो । काठमाडौँमै राखेर कलाकारलाई नाटक सिकाउँछौ तिमी आउन इच्छुक छौ भनि आउनु भनि उहाँलाई भनेको थियो । उहाँले केही नसोचिकन हुन्छ भन्दिनु भो । उहाँ फेरि आमा बुवालाई मनाएर काठमाडौँ बस्ने गरि नै आउनु भयो । त्यतिबेला उहाँको बास अन्य कलाकारहरुसँग शिल्पी थिएटरमै थियो । थिएटर बन्दै गर्दा उहाँले पहिले स्टेज नाटक ‘कोमा अ पोलिटिकल सेक्स’ मा अभिनय गर्नुभएको थियो ।

त्यो नाटक गर्दा उहाँलाई निकै समस्या भएको थियो । सबभन्दा ठूलो समस्या भाषाको थियो । उहाँ तराई मधेशबाट भर्खर भर्खर आएको हुनाले नेपाली बोल्दा तराई मधेशको टोन आउँथ्यो र त्यो अभिनयमा पनि देखिन्थ्यो । त्यसले गर्दा उहाँलाई निकै समस्या भएको थियो । त्यतिबेला सरितालाई लागेको थियो कि ‘म यो नाटक बेकारमा किन गर्न आएको छु ।’

पछि ‘एल्लो कमेडी’, ‘झोलेन्द्रप्रसादको लिला’ नाटकबाट उहाँले राम्रो प्रशंसा पाउनु भएको थियो । ‘झोलेन्द्रप्रसादको लिला’ नाटकमा सरिताको नाम डिम्पल भुजले थियो तर मधेशी टोन आएको कारणले डिम्पल मण्डल बनाइएको थियो । त्यसमा सरिता साहको चित्त बुझेको थिएन । शिल्पी थिएटरमा मात्र होइन, त्यो समस्या उहाँले धेरै ठाउँमा झेल्नु भएको थियो ।

मधेशी मूलका भएका कारणले उहाँलाई त्यस्तै त्यस्तै रोल दिने गथ्र्यो तर सरिताले त्यसलाई इन्कार गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, मबाट अभिनय गराएर जोकर बनाउन खोज्नु हुन्थ्यो, मबाट मधेशीमाथि मजाक गर्न लगाउन चाहनु हुन्थ्यो, जुन मबाट कहिले भएन ।’ जेका लागि यत्रो विद्रोह गरे त्यही कुरा गर्न थाल्यो भने त्यो विद्रोहको केही अर्थ रहँदैन, उहाँले भन्नुभयो, ‘मलाई फिल्महरुमा मधेशी चरित्रमा अभिनय गर्न भन्थे, त्यो पनि होच्याउने खालको । जहाँ जहाँ मधेशीलाई होच्याउने वा उसको भेषभुषालाई होच्याउने अभिनय हुन्थ्यो त्यसलाई म छाड्दै यहाँसम्म आएको हुँ ।’


त्यही भएर सरिता साहले लु, फगुनिया, काशी देवी झा, ढकिया मे नागरिकता जस्ता नाटकहरु खेल्न र खेलाउन थाल्नु भएको हो । सरिता साहले नेपाली फिल्म लुटेर २, चक्कर, अनागत, समान लगायतमा काम गर्नुभएको छ भने हिन्दी फिल्म बेलाबोस, डिजायर अफ अडलमा अभिनय गर्नु भएको छ । त्यस्तै, चुलबुल के बुलबुल, मेन्टल आशिक जस्ता भोजपुरी भाषाको फिल्ममा अभिनय गर्नुभएको छ । दुई दर्जनभन्दा बढी स्टेज नाटक र पाँचसय भन्दा सडक नाटक गर्नु भएको सरिताले थुप्रै गीतहरुमा मोडेलको रुपमा काम गर्नुभएको छ । सरिता साहको योगाको प्रसंशा पनि भइरहेका हुन्छन् । उहाँले स्वस्थ्य रहनका लागि योगा आवश्यक छ र सबैलाई सो गर्नका लागि अभिप्रेरित गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया