‘जसपाभित्रै मधेशीहरु अल्पमतमा’

काठमाडौँ साउन १८ गते । ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी ९जसपा० नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु । तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको ब्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’

यो जनता समाजवादी पार्टी नेपालकी नेतृ रेणु यादव वीरगञ्जमा असार २९ गते बसेको केन्द्रीय समितिको बैठकमा बुझाउनु भएको राजीनामा पत्रमा उल्लेख भएको कुरा हो । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै राजीनामा दिएको आज २२ दिन भइसक्यो, उहाँले दिनु भएको राजीनामा स्वीकृत पनि भएको छैन ।

नेतृ यादव अहिले पार्टीको सम्पर्कमा हुनुहुन्न । उहाँ संसद्को बैठकबाहेक अन्य कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुनुहन्न । पार्टीकै असन्तुष्ट नेताहरूको सम्पर्कमा रहनु भएको यादव जसपामा रहने वा अर्को कुनै नयाँ पार्टीमा जाने बारेमा अझै निश्चित भएको छैन । यद्यपि, जसपा अध्यक्ष उपेन्द्र यादव भने रेणुलाई पार्टीमै फर्काउन चाहनु भएको छ । स्रोतका अनुसार उपेन्द्र यादवले आफ्ना निकट नेताहरूमार्फत रेणु यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरिरहनु भएको छ । तर यसको विषयमा हालसम्म पार्टीले औपचारिकरुपमा केही बोलेको छैन ।

नेतृ रेणु यादवले भन्नुभयो, ‘म पार्टीको जवाफको प्रतीक्षामा छु, मैले वीरगञ्जमा राजीनामा दिँदा पार्टी नेतृत्वसँग केही प्रश्न गरेका थिए तर अहिलेसम्म न मलाई मेरो प्रश्नको जवाफ आएको छ न राजीनामाको बारेमा पार्टीले केही भनेको छ ।’ पार्टीमा बढ्दै गएको वेथितिको विरुद्धमा आफूले राजीनामा दिएको बताउँदै उहाँले ती वेथितिमा अझैसम्म केही सुधार नभएको गुनासो गर्नुभयो ।

वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकमा नेताहरूले थुप्रै वेथितिका कुराहरू उठेका थिए । स्थानीय तहमा पार्टीकै नेताहरूबाट अन्तर्घात भएको भन्दै कारबाही गर्ने कुरा पनि उठेको थियो । यी सबै समस्यालाई सम्बोधन गर्नुपर्ने थियो तर ती सबै जस्ताको त्यस्तै रहेको नेतृ यादवको गुनासो छ । स्थानीय तहको चुनावमा अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गरेको उहाँको आरोप छ ।

अशोक राईको प्रतिवेदनमा नै स्थानीय तहमा केही नेताहरूबाट अन्तर्घात भएको उल्लेख भए पनि त्यसमा पार्टीले कुनै एक्सन नलिएको उहाँको गुनासो छ । विचार र सिद्धान्तले मात्र पार्टी नचल्ने बताउँदै उहाँले कहिलेकाहीँ व्यवहारिक कुरा पनि गर्नुपर्ने नेतृ यादव जिकिर गर्नुभयो । पार्टीमा नियम सबैका लागि हुने तर जसपामा त्यस्तो अवस्था नरहेको उहाँले बताउनुभयो । अब आगामी कदम कस्तो चाल्ने भन्ने बारेमा पार्टीका नेता, साथी भाइ तथा आफन्तसँग छलफल गरिरहेको बताउँदै उहाँले जसपामा फर्किने वा अरू नयाँ निर्णय लिने बारे केही दिनमै एउटा निष्कर्षमा पुग्ने पनि उहाँले जानकारी दिनुभयो ।

जसपाले तीनजना मन्त्रीलाई मात्र फिर्ता बोलाएको विषयमा उहाँको सबैभन्दा बढी असन्तुष्टि रहेको छ । मन्त्रीबाट चारैजनालाई फिर्ता बोलाउने पार्टीमा सहमति भए पनि राजेन्द्र श्रेष्ठलाई छाडेर बाँकी तीनजनालाई मात्र फिर्ता बोलाउनु पार्टीको नीति र निर्णय विपरीत रहेको नेतृ यादवको बुझाई छ । ‘पार्टी एउटा सिस्टममा चल्नुपर्छ, अंशबन्डाले मात्र पार्टी चल्दैन,’ भन्दै उहाँले पार्टीमा असन्तुष्टि जनाउँदै आउनु भएको छ ।

यता जसपाबाट महन्थ ठाकुर पार्टी छाडेर गएपछि उनीसँगै अध्यक्ष पद पनि गएको तर्क अध्यक्ष उपेन्द्र यादवको छ । सोही तर्कको आधारमा उहाँले अर्को अध्यक्ष नियुक्त उहाँले गर्नुभएन । अहिले जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पनि पार्टी छाडेर जानु भएको छ । तर त्यो पदमा उहाँले तत्कालै अशोक राईलाई नियुक्त गर्नुभएको छ । संघीय परिषद्को अवधारणा बाबुराम भट्टराईको नै थियो । उहाँ परिषद्कै अध्यक्षमा बस्न चाहनु भएको थियो । उहाँ गइसकेपछि महन्थ ठाकुरको अध्यक्ष पदजस्तै खारेज हुनुपर्ने थियो तर त्यस्तो नभएकोमा पनि नेतृ यादवको गुनासो रहेको छ ।

जसपाभित्र मधेसी नै अल्पमत अवस्थामा रहेको कुरा पनि उहाँले पार्टीमा राख्दै आउनु भएको छ । उहाँले पार्टीमा भन्नु भएको छ, ‘आन्दोलन गरेर जनताका लागि बलिदान दिने मधेसी जनता, भाग पाउने अशोक राई ? यो भागबन्डाका कारण जसपाभित्रै मधेसी नेताहरू अल्पमतमा पर्न थालेका छन् ।’

स्रोतः रातोपाटी

तपाईको प्रतिक्रिया