पार्टी छाड्ने र आउने काम हरेक पार्टीमा भइरहेका हुन्छन् । अन्य नेताभन्दा मधेशी नेताहरु अलि बढी असन्तुष्ट देखिएका हुन्छन् । सानोतिनो गडबडी तथा मनमुटाव भयो भने पार्टी नै छाडि दिने रोग मधेशी नेताहरुमा बढी देखिन्छ । चाहे त्यो काँग्रेस, एमाले, माओवादी वा जसपा, लोसपा, जनमत किन नहोस् ।
ती दलका नेताहरु कहिले स्थिर रहनु भएन । केही वरिष्ठ नेताबाहेक अन्य नेताहरु कहिले यता त कहिले उता गरेर नै आफ्नो समय बिताइ रहनु भएको छ ।
पछिल्लो उदहारण नै लिने हो भने माओवादी केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छाडेर गएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सो पार्टीमा प्रवेश गर्नुभएको छ । आम जनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव पार्टी छाडेर जनता समाजवादी पार्टीमा प्रवेश गरिसक्नु भएको छ भने जसपाकै पूर्व नेतृ एवं समाजिक अभियन्ता सुनिता साह आम जनता पार्टीमा प्रवेश गर्नुभएको छ ।
आम जनता पार्टीकै उपमहासचिव कुन्दन कुशवाहा एमालेमा प्रवेश गरिसक्नु भएको छ । मधेशमा खोज्ने हो भने यस्ता थुप्रै उदाहारण भेटिन्छ । काँग्रेसमै रहेका नेताहरु विमलेन्द्र निधि, सरोज यादव, महेन्द्र यादव, कृष्ण यादवहरुको बिचमा बोलचाल पनि छैन । माओवादीकै कुरा गर्ने हो भने महेन्द्र पासवान, विश्वानाथ साह, उमेश यादव, मातृका यादव, अजय नायकहरुको बिचमा बोलचाल छैन ।
एमालेकै कुरा गर्ने हो भने रघुवीर महासेठले मधेशमा अरु नेताहरुलाई गिन्दा पनि गिन्नु हुन्न । उहाँकै कारण प्रभु साह र रामचन्द्र झाले एमाले छाड्नु भएको हो । मधेशवादी दल जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीभित्रका नेताहरु यताउती गर्नु त समान्य नै भइसकेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट सो पार्टीका दुई वरिष्ठ नेता राजेन्द्र महतो र अनिलकुमार झा पार्टीबाट बिद्रोह गरेर निस्कि सक्नु भएको छ । जसपामा रेणु यादव, इस्तियाक राइ, उमेश यादव, प्रदीप यादव, राजकिशोर यादवहरु पार्टी नेतृत्वसँग असन्तुष्ट हुनुहुन्छ । मौका पाउने बित्तिकै पार्टी छाडेर जाने लगभग निश्चित छ ।
जनमत पार्टीमा पनि गाँइगुँइ भइरहेका हुन्छ । केही दिन पहिले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले एक जना सांसदलाई कारवाही नै गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीको हालत कस्तो छ कसैबाट लुकेको छैन । श्रीमान श्रीमती (रेशम–रञ्जिता) बिचको लफडाले पार्टी विभाजनको संघारमा पुगेको छ ।
कुनै बेला एउटै पार्टीमा रहनु भएका उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव, अनिलकुमार झा, रामनरेश राय यादव, गोविन्द चौधरी, विजयकुमार गच्छदारका नेताहरु सबै सबैतिर गइसकेका छन् । सम्भव त यस्तो मधेशमा मात्र हुन्छ । र, खासगरि तराई मधेश केन्द्रीत दलमा बढी हुन्छन् । काँग्रेस, एमाले, माओवादीलगायतका अन्य दलमा पनि यस्तो आउने जाने नहुने होइन । नेताहरु आउने जाने भइरहेका हुन्छन् तर मधेश केन्द्रीत दल र मधेशी नेताहरुको बिचमा फेरबदलको खेल अलि बढी देखिएका छन् ।
२०८० बैशाखमा माओवादी छाडेर उप चुनावका लागि जनमत पार्टीमा प्रवेश गर्नुभएका रामचन्द्र कुशवाहा चुनाव हार्ने बित्तिकै सो पार्टी छाड्नुभयो । सिके राउतका विरुद्धमा अभियान सुरु गर्नुभएका कुशवाहा गत असोज १८ गते एमालेमा प्रवेश गर्नुभयो । एउटा व्यक्तिले ६ महिना भित्रमा चार वटा संगठन परिवर्तन गर्ने काम सायद मधेशमा मात्र हुन्छ भनि टिप्पणी भइरहेको छ ।
माओवादी छाडेका रामकुमार शर्मा माओवादी हुँदै फोरम, त्यसपछि मधेश फोरम, त्यसपछि तमलोपा अनिल पुनः माओवादी, माओवादीबाट नयाँ शक्ति, नयाँ शक्तिबाट पुनः माओवादी, अहिले माओवादीबाट जसपामा जान लाग्नुभएको छ । महेन्द्रराय यादव जो अहिले माओवादीमा जानु भएको छ ।
उहाँ पनि एमाले छाडेर तमलोपा गठन गर्नुभयो । तर त्यहाँ लामो समय टिक्न सक्नु भएन । आफ्नै नेतृत्वमा तमलोपा लोकतान्त्रिक गठन गर्नुभयो ।
त्यसपछि अन्य दलसँग मिलेर राजपा नेपाल बनाउनुभयो । राजपाबाट जसपा बनाउनुभयो । जसपाबाट अलग भएर डा.बाबुराम भट्टराईसँग मिलेर नेपाल समाजवादी पार्टी बनाउनुभयो । अहिले त्यो पार्टी पनि छाडेर माओवादीमा जानुभएको छ । मधेश केन्द्रीत दलका नेताहरुले यस्ता थुप्रै छलाङ लगाउदै आएका छन् । त्यसरी पार्टीमा दौडधुप गर्नेहरुको आफ्नो व्यक्तिगत स्वार्थ मात्र हुन्छ जनताको एजेण्डामा कहिले पनि त्यस्तो नगरेको टिप्पणीहरु हुने गरेको छ ।
कुनै पार्टीमा आफ्नो स्वार्थ नमिलेपछि अर्को पार्टीमा जाने गरेको कारण नै स्वार्थ नमिल्नु हो । कुनै पनि नेताहरुले पार्टीको एजेण्डा, विचार र सिद्धान्तमा फरक मत राखेर पार्टी छाड्नु भएको होइन् ।
सबैमा व्यक्तिगत स्वार्थ मात्र देखिएका हुन्छ । मन्त्री र सांसद वा अरु कुनै पद पाउनका लागि मात्र पार्टी छाडेर यताउती गरिरहेका हुन्छन् । जनता समाजवादी पार्टीका नेता किरण साह (रौतहट)ले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लड्नुभयो । उहाँले चुनाव पनि जित्नुभयो । तर लामो समय स्वतन्त्र रहन सक्नु भएन । उहाँ एमालेमा प्रवेश गर्नुभयो । माओवादी केन्द्र छाडेका रामचन्द्र मण्डल अहिले मधेश प्रदेशका सभामुख हुनुभएको छ ।
माओवादी छाडेकै ज्वाला साह अहिले एमालेबाट कृषि मन्त्री बन्नुभएको छ । माओवादीका रामबाबु यादव (बारा) महागढी नगरपालिकाको अध्यक्ष बन्न नपाएपछि उहाँ जसपामा जानुभयो ।
महोत्तरीकै माओवादी नेता बलराम यादव जिल्ला सदस्य बन्न नपाएपछि उहाँ एमालेमा जानुभयो । सप्तरीमा महेश यादव माओवादी छाडेर जनमत पार्टीमा जानुभयो । अहिले प्रदेश सदस्य हुनुहुन्छ । मन्त्री पनि बन्नुभएका थियो ।
तपाईको प्रतिक्रिया