दूधमा बिचौलिया

नेपाली किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउनु÷नपाउनु अब कुनै नौलो कुरा रहेन । हरेक किसानले उत्पादन लागतभन्दा सस्तो मूल्यमा कृषि वस्तु बिक्री गर्न बाध्य छन् भने उपभोक्ताले महँगो मूल्य तिर्न । बिचौलियाकै कारण किसान कृषि क्षेत्रबाट नै पलायन हुनु पर्ने बाध्यता छर्लङ्ग छ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका १६ का सागर आचार्य पनि बिचौलियाबाट बच्न सक्नु भएन ।

२०७० सालदेखि गाई पालन गर्दै आउनु भएका उहाँले पहिला पाइचारी (साइकल, बाइकमा दूध सङ्कलन गर्दै हिँड्ने) लाई बिक्री गर्दै आउनु भएको थियो । त्यतिखेर चारवटा गाई मात्र पालन गर्नुहुन्थ्यो । गाउँमा एउटा पनि डेरी थिएन । उहाँ मात्र होइन गाउँमा व्यावसायिक रूपमा पशु पालन नगरे पनि हरेकले २÷४ वटा गाई÷भैँसी पाल्ने गर्थे । उक्त गाई÷भैँसीबाट दूध राम्रै उत्पादन हुन्थ्यो तर बिक्री गर्ने बजार हुँदैन थियो । दूधबाट चिया, मही, दही र घिउ मात्रै बन्थ्यो । कसै कसैले मात्र पाइचारीलाई बिक्री गर्थे ।

‘त्यतिखेर त अहिले जस्तो कहाँ जति पनि दूध बिक्री हुन्थ्यो र ? उहाँले ती दिन सम्झँदै भन्नुभयो, ‘कति बिक्री हुँदैन थियो । बिक्री भए पनि कम मूल्यमा बिक्री हुन्थ्यो ।’ त्यति मात्र हैन, दूध बिक्री भए पनि समयमा भुक्तानी पाइदैंन थियो । गाउँमा धेरै किसानले बिक्री गरेको दूधको मूल्य हालसम्म पनि पाएका छैनन् । ‘पहिला बाइक, साइकलमा दूध सङ्कलन गर्नेलाई बिक्री गथ्यौं । कम मूल्यमा बिक्री गर्नु पर्ने बाध्यता थियो । त्यही पनि उधारो लैजान्थे’ उहाँले दुखेसो गर्दै भन्नुभयो । तर अहिले बुटवल उपमहानगरपालिका १४ देखि १९ नम्बर वडाका किसानलाई गाउँमा नै साना किसान कृषि सहकारी मार्फत डेरी सञ्चालनमा आएसँगै दूध बिक्रीका लागि कुनै समस्या छैन ।

सागरले पनि गाउँमा नै डेरी सञ्चालनमा आएसँगै व्यवसाय बढाउँदै जानुभएको छ । हाल उहाँको गोठमा आठवटा जर्सी गाई छन् । दैनिक ६० लिटर दूध सहकारीलाई बिक्री गर्दै आउनु भएको छ । । ‘अहिले अफसिजन भएर थोरै मात्र दूध बिक्री गरिरहेको छु’ दूध बिक्रीका लागि कुनै समस्या नरहेको भन्दै उहाँले भन्नुभयो, ‘सहकारीले डेरी सञ्चालनमा ल्याएसँगै धेरै सहज भएको छ । भुक्तानी पनि समयमा पाएका छौँ । यहाँका किसान अहिले पशुपालनमा आकर्षित भएका छन् ।’

गाउँमा पशु पालन गर्न थालेसँगै त्यहाँका किसानले मनग्य आम्दानी गर्न सफल भएका छन् । सो सहकारी २०५८ सालमा स्थापना भएको हो । अढाईसय जना सेयर सदस्यबाट स्थापना भएको सहकारीमा अहिले २६ सय भन्दा बढी जोडिएको साना किसान कृषि सहकारी बुटवलका अध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । त्यसमध्ये पनि धेरै सदस्य पशु पालनमा आकर्षित छन् । हाल १४ देखि १९ नम्बर वडामा करिब २ हजार गाई भैँसी छन् । डेरी सञ्चालन हुनु अघि २÷३ वटा गाई भैँसी पालन गर्दै आएका किसानले अहिले ठुला ठुला फार्म नै दर्ता गरेर व्यवसाय सञ्चालन गरिरहेको उहाँको भनाई छ । ‘पहिला एउटा किसानले २÷३ वटा गाई भैँसी पाल्थे । त्यही पनि दूध बिक्री गर्ने ठाउँ थिएन । अहिले त ३५ भन्दा बढी ठूला ठूला फार्म सञ्चालनमा आइसकेका छन्, उहाँले खुशी हुँदै भन्नुभयो ।

गाउँमा सहकारी सञ्चालनमा आएको धेरै वर्ष भए पनि डेरी सञ्चालन भएको आठ वर्ष मात्र भएको छ । डेरी सञ्चालनमा आएको दिन डेढ सय लिटर मात्र दूध सङ्कलन भएको थियो । किसानले सहजै दूध बिक्री गर्ने ठाउँ पाएसँगै पछिल्लो समय दूधको कारोबार बढेको उहाँ बताउनु हुन्छ । हाल सहकारीले दैनिक २५ सय लिटर दूध सङ्कलन गर्दै आएको छ । अहिले अफसिजन भएर कम दूधको कारोबार भएको भन्दै उहाँले सिजनमा दैनिक ६ हजार लिटरसम्म दूध बिक्री हुने बताउनुभयो ।

हाल सहकारीले दूध सङ्कलन मात्र नभई दूधबाट बन्ने प्रडक्ट पनि बनाउँदै आएको छ । दैनिक सात सय लिटर दूधबाट नौनी, पनीर, खुवा बनाउँदै आएको छ । साथै चाडपर्वको समयमा उपभोक्ताको मागको आधारमा मिठाईका परिकार पनि बनाइने गरिएको छ । अहिले मासिक करिब ३ हजार लिटर दूधको मात्र परिकार बनाएर बिक्री गरिन्छ । अहिले अफसिजन भएकाले कमै दूध सङ्कलन हुने हुँदा मिठाईको परिकार नबनाएको बताएको छ । परिकारको पनि माग धेरै छ । अब बिस्तारै सङ्कलित सबै दूधको परिकार बनाउने योजना रहेको पनि उहाँले बताउनुभयो । यसरी दूध बिक्री गर्दा भन्दा परिकार बनाएर बिक्री गर्दा डबल आम्दानी हुने पनि उहाँको अनुभव छ । अध्यक्ष पौडेलले भन्नुभयो, ‘दूध मात्र बिक्री गर्दा सहकारीलाई खासै फाइदा छैन ।’

तपाईको प्रतिक्रिया