अधिकाँश सिनेकर्मीको जमानत जफत

यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा फिल्मकर्मी रिल लाइफबाट रियल लाइफमा होमिनु भएको थियो तर रियल लाइफमा रिल लाइफको जस्तो परिणाम ल्याउन सकेनन् । हार्नेको जमानत जफत भएको छ । प्रत्यक्षमा सफलता हात पार्न सकेनन् ।

समानुपातिकबाट आउने आश गर्न सकिन्छ तर समानुपातिकमा प्राप्त गरेको मत हेर्दा त्यसमा पनि पर्ने सम्भावना कमै देखिएको छ ।
राष्ट्रिय सभा सदस्य रहिसकेकी गायिका कोमल वलीले नेकपा (एमाले)बाट दाङ ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी थिइन् । उनलाई कांग्रेसका दीपक गिरीले पराजित गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ ३ मा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापालाई पनि कांग्रेसका सुनिलकुमार शर्माले पराजित गरे ।

काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले १७३ मत ल्याएर पराजित भएका छन् । जमानत पनि जोगाउन सकेनन् । काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले पराजित गरेका छन् । काठमाडौं १ को प्रदेश (२) मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट उम्मेदवारी दिएका फिल्म अभिनेता करण श्रेष्ठ पनि बुरीतरह पराजित हुनु भएको छ । उनलाई कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछाने हराएका छन् । अभिनेता मुरलीधर मिझार सिरहा २ मा राप्रपाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए, उनलाई जसपाका राजकिशोर यादवले पराजित गरको छन् ।

यस्तै कमेडियन हिमेश पन्त, टेलिभिजन शंखृला ‘सक्किगो नि’मा ‘सिते बा’ को भूमिकाबाट परिचित मधुसुधन पाठक, कलाकार सम्राट सापकोटा, कलाकार राज तिमल्सेनाले पनि नराम्रो गरि हारेका छन् । यता, कांग्रेसबाट प्रदेश सभा सदस्यतर्फ धादिङ १ (१) बाट उम्मेदवारी दिएका निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ र प्यूठान–१ को (२) बाट प्रदेश सभा सदस्यतर्फ उम्मेदवारी दिएका फिल्म निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) निर्वाचित भएका छन् ।

मोरङबाट फिल्म निर्माता, निर्देशक, प्रदर्शक तथा वितरक उद्धव पौडेल राप्रपाबाटै प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवार छन् । यही पार्टीबाट फिल्म निर्माता तथा प्रदर्शक प्रदीपकुमार उदय लुम्बिनी प्रदेश सभाको समानुपातिक उम्मेदवार हुन् । राप्रपाको लुम्बिनी अध्यक्षसमेत रहेका उदय केही वर्षयता फिल्मभन्दा पनि राजनीतिमा सक्रिय छन् ।

कालोपोथी निर्देशन गरेर चर्चा कमाएका फिल्म निर्देशक मीनबहादुर भाम नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार हुन् । फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्लिम खुलातर्फको समानुपातिक उम्मेदवार छन् । नेपाल जनता दलको वरिष्ठ उपाध्यक्षसमेत रहेका फिल्म निर्माता रघु परियार समानुपातिकतर्फ उम्मेदवार हुन् ।

तपाईको प्रतिक्रिया