शिक्षा सुधारका लागि कसम खानु भएका अभिशेक

एकजना विद्वानले भनेका छन्, ‘काम सवैले गरेको हुन्छ तर सफल हुने व्यक्तिहरु त्यही कामलाई फरक किसिमबाट गरेको हुन्छ ।’ यो भनाइलाई सावित गरि अरुका लागि उदाहरणीय बन्नु भएको छ , बिराटनगरका अभिशेक घिमिरे । सार्वजनिक शिक्षा सुधार नगरी नेपाल समृद्ध नहुने र आंतकवादको अन्त्य बन्दुकले होइन, शिक्षाले हुन्छ भन्ने पक्षमा वकालत गर्नु हुने घिमिरेले सार्वजनिक शिक्षाको नीतिगत, पेसागत र संरचनागत सुधारको अभियानमा हुनुहुन्छ । नेपालका ७० जिल्लाका लगभग दुई हजार विद्यालयमा पुगिसक्नु भएको छ ।

पढ्दै पढाउँदै
३७ वर्षीय अभिशेक अविवाहित हुनुहुन्छ । सायद बिहे गरेको भए, नेपालभरीका विद्यालयसम्म जान उहाँलाई गार्है हुन्थ्यो होला । हालसम्म नेपालको ७० जिल्लाका हजारौ विद्यालयमा पुगिसक्नु भएका अभिशेकको पढाई लेखाई चाख लाग्दो छ । खोटाङ्गमा जन्मिनु भएका अभिशेखको प्राथमिक तहका हेडमास्टर हुनुहुन्थ्यो । बुवा हेडमास्टर भएको विद्यालयमा उहाँहाँ कक्षा ५ सम्म पढनुभयो । बुवाको अवकाशपछि उहाँ बुवा, आमा र तीनजना बहिनीसहित बिराटनगरको पोखरीयामा बसाइ सर्नुभयो । बिराटनगरमा उहाँको आफ्नै काकाले खोल्नुभएको एक नीजी विद्यालयबाट कक्षा ८ उतीर्ण गर्नुभयो । त्यसपछि काकाकै साथीले खोल्नुभएको विद्यालयमा भर्ना हुनुभयो ।

यी सब कुरोको चाँजोपाँजो मिलाउने उहाँको काकाले गर्नु हुन्थ्यो । अभिशेक पढाइमा अब्बल नै हुनुुहुन्थ्यो । एसएलसी सकिएकै भोलीपल्टदेखि त्यही विद्यालयमा पढाउन थाल्नुभयो । २०५९ सालबाट विद्यालयमा पढाउन थाल्नु भएको अभिशेक इन्टर पढ्न भर्ना हुनुभएका कलेजमा उहाँ दुई विषय मात्र पढ्नु हुन्थ्यो । त्यसपछि विद्यालयमा पढाउनु हुन्थ्यो । यसरी पढ्दै पढाउदै अंग्रेजी विषयमा स्नातक गर्नुभएका उहाँ २०७४ देखि शिक्षा सुधारको अभियानमा लाग्नुभएको छ । काठमाडौबाट अंग्रेजीमा स्नातकोतर गर्नुभएको अभिशेक पिचडी गर्ने तयारीमा हुनुहुन्छ । शिक्षाभित्रका विकृतिलाई बाहिर ल्याउँदा सुरुमा उहाँको विरोध शिक्षकहरुले नै गरेका थिए तर अहिले त्यो अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

४० प्रतिशत विद्यालय बन्दको अवस्थामा
विद्यालयको परीक्षा र शिक्षण सिकाइ प्रकृयामा व्यापक सुधारको खाँचो रहेको बताउनु हुने शिक्षाका अभियन्ता घिमिरे हालसम्ममा ५०औं हजार शिक्षकलाई तालिम र लाखौ अभिभावकसँग भेटघाट एवम् अन्तरक्रिया गरिसक्नु भएको छ । अहिलेका शिक्षामा व्यवस्थापकीय पक्षमा सुधार र भएको लगानीको सही सदुपयोग गर्ने वातावरण बनाइएन भन्ने अबको ५÷१० वर्षभित्र अधारभूत तहका ४० प्रतिशत विद्यालय बन्द हुने उहाँको दावी छ ।

सरकारले लागू गरेको कार्यक्रम, ‘पढदै कमाउदै’ कार्यक्रमलाई राज्यको नीतीमा पार्न नीतिगत वकालत गर्नुभएका घिमिरे अमेरिकावाट प्रकाशित हुने ‘द इन्साइड सक्सेस’ को बिशेषाङ्कमा ‘द मास्ट इन्फ्ल्युन्सियल थट लिडर २०२२’ शीर्षकमा विश्वभरीका प्रभावशाली शिक्षा क्षेत्रको व्यक्तिहरुमध्ये २० जनामा पर्नुभएको छ । शिक्षामा देखिएका बेथिती र नीतिगत रुपान्तरणको आवश्यकतालाई महसुश गर्दै उहाँले २०७४ सालमा, बृहत् राष्ट्रिय शिक्षा सुधार अभियान नामक संस्थाको स्थापना गर्नुभयो ।

उहाँले स्थापना गर्नुभएको इन्टरनेसनल एसोसिएसन अफ एजुकेशनल लिडर नामक संस्थामा संसारभरका शिक्षा क्षेत्रका २० औ हजार अभियन्ताहरु जोडिएका छन् । अहिले नेपाल सरकारले विद्यालयहरुमा लागुगरेको ‘पढदै कमाउदै’ कार्यक्रमको नीतिमा पार्ने काम उहाँकै संस्था बृहत् राष्ट्रिय शिक्षा सुधार अभियानले गरेको हो ।

ेइन्टरनेशनल एसोसिएसन अफ एजुकेशनल लिडर नामक संस्थामार्फत हप्ताको २÷३ दिन हुने सेमिनारमा, घिमिरेले युद्ध र हतियारमा हुने लगानी शिक्षामा गर्नुपर्छ भनेर बोल्ने सम्भवतः उहाँ पहिलो नेपाली हुनुहुन्छ । भारतमा ठूला ठूला ‘एजुकेशनल कन्फ्रेन्स’ भइरहन्छ तर हाम्रो नेपालमा गरिदैन, घिमिरे बताउनु हुन्छ । घिमिरे आफैले स्थापना गरेको उक्त संस्थामार्फत अल्पविकसित राष्ट्रका बालबालिकाको शैक्षिक हक र अधिकारको विषयमा समेत अन्तराष्ट्रिय समुदायसँग अपिल गर्दै आइरहनु भएको छ ।

१–२ प्रतिशत मात्र राम्रा विद्यालय
सार्वजनिक शिक्षाको खस्कदो अवस्था, परीक्षा प्रणालीमा सुधार, सिकाउने तरिकामा सुधार गर्नुपर्ने विषयमा गहन बहस चलाउने उद्देश्यका साथ शिक्षाका अभियन्ता घिमिरेले २०७४ सालमा पत्रकार सम्मेलन गरी नेपालभरीकै विद्यालयमा जाने उद्घोष गर्नुभएको थियो ।

जब विद्यालयहरुमा जान थाल्नुभयो । त्यसपछि एकहजार भन्दा बढीको विद्यालयमा एकसय भन्दा कम विद्यार्थी रहेको पता लगाउनुभयो । केही राम्रा विद्यालयहरु पनि छन । त्यस्ता १÷२ प्रतिशत विद्यालयहरु मात्र रहेको दावी गर्नुहुने घिमिरेले कतिपय यस्ता पनि विद्यालयहरु छन् जहाँ साधन स्रोत छ, सम्पत्ति छ तर पनि विद्यालय जीर्ण अवस्था छन् ।

कतिपय यस्ता पनि विद्यालय छन् जहाँका नेतृत्वले राम्रो गर्न खोजेका छन् तर स्रोतको अभावमा सकिरहेको अवस्था छैन । यस्ता पनि बिद्यालय छन् जहाँको व्यवस्थापन राम्रो न रहेको र लगानीको दुरुपयोग मात्र भएको छ । जथाभावी अनुमती दिने तर स्रोत न दिइने कारणले पनि शिक्षामा रुपान्तरण न भएको, प्रधानाध्यापक अलि बढी उमेरको भएको, राजनीतिक दलसँग पकड बनाइ राखेको तर व्यवस्थापन समितिको कठपुतली पनि रहेकोले शिक्षामा सुधार न भएको उहाँको निष्कर्ष छ ।

सामुदायिक विद्यालय सुधार्नुपर्छ भनि राज्यको प्राथमिकता परेन । नीजी विद्यालय खुली सकेपछि, शिक्षाका हाकिमहरुको छोराछोरी उतै रहेकाले त्यतातिर खासै ध्यान दिएको देखिएन । असक्षम मान्छेहरुलाई शिक्षामा नियुक्ति गरियो । विद्यालयमा राजनीति हावी भयो । कोचिङ्ग पढेको भरमा शिक्षक भयो ।

राज्यको अनुदान एकद्वार प्रणालीबाट वितरण भएन । पहुँच भएकाले पाउँछन्, पहुँच नभएकाले पाउदैन । शिक्षण सिकाइको प्रक्रियामा खासै सुधार भएन । यस्ता कुरालाई नजिकबाट नियालेका घिमिरे यसअघि बेलायतबाट प्रकाशित, “द एक्सलिजेन्ड नामक पत्रीकाले विश्वभरिका उत्कृष्ट १०० शिक्षाकर्मीको सूचिमा समेत समावेश भइसक्नु भएको छ ।

९० प्रतिशत हेडमास्टर असक्षम
अहिलेका हेडमास्टरमध्ये ९० प्रतिशत असक्षम रहेको दावी गर्दै उहाँले विभिन्न कार्यक्रमहरुमा बोल्न थाल्नु भएको छ । अहिलेका अधिकाँस हेडमास्टर अलि बढी उमेर भएको हुनुहुन्छ । अधिकांशको प्रविधिमा पहुँच छैन तर उनीहरुकै राजनीतिमा बढी पक्कर भयो । विद्यालयहरुमा लगानी छ तर खेर गइरहेको छ । सरकारले विद्यालय सञ्चालनको अनुमती दिएको छ तर शिक्षक छैन । कतै भवन छैन कतै विद्यार्थी छैन । विद्यालयको कामकाज पारदर्शी छैन । अहिलेसम्म कतिपय बिद्यालयमा पुस्तक पुगेको छैन । व्यवस्थापन समितिका कठपुतली भए । शिक्षामा सुधार कसरी हुन्छ अभिषेशले चिन्ता व्यक्त गर्नुभयो ।

हेडमास्टर बनाउने कोर्ष
सक्षम शिक्षक उत्पादन गर्ने हो भने, विश्वविद्यालयबाट शिक्षक बन्ने कोर्ष र हेडमास्टर बन्ने कोर्षको सुरूवात गर्नुपर्छ । कोर्षको डिजाइन युनभर्सिटीले गर्नुपर्छ । कोचिङ्ग पढेको भरमा शिक्षक बनाउने प्रथा हटाउनुपर्छ । शिक्षक कर्मचारीको तलव उच्च हुनुपर्छ । राजनीतिक दलको संगठनलाई खारेज गर्नुपर्छ । प्रधानाध्यापकलाई पावरफुल बनाउनुपर्छ । तलबको दोब्बर भत्ता, शिक्षकको प्रमोशन र कारवाही गर्ने अधिकार हेडमास्टरलाई दिनुपर्छ । विद्यालयहरुमा सुधार अनुदान दिनुपर्छ । अहिले अनुगमनको जिम्मा स्थानीय तहलाइ दिएको छ तर उ आफै असक्षम रहेको उहाँको दावी छ ।

अभिशेकको सपना
नेपाल सरकारले आर्थिक सहयोग गरे, शिक्षा क्षेत्रमा लागेका विश्वका अभियन्ताहरुलाई नेपालमै भेला गराएर सामुदायिक विद्यालयको सुधारको लागि संसारलाई सन्देश दिने सोच अभिशेकको रहेको छ । अबको पाँच वर्षभित्रमा संयुक्त राष्ट्र संघमा गएर हतियार र युद्धमा होइन, शिक्षामा लगानी गर्नुपर्छ भनेर बोल्ने उहाँको सपना छ ।

–परशुराम साहबाट

तपाईको प्रतिक्रिया